• २०८१ बैशाख १४ शुक्रबार

पशुपति क्षेत्र मगन्तेरहित घोषणा

kharibot

काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । 

कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए । 

उनले भने, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।” कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्ने बताए । 

कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाए । अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताए । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिए । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गरेका थिए । 

मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्थापना गरिने सो अवसरमा जानकारी गराइयो । हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै