• २०८१ बैशाख १४ शुक्रबार

संसद बैठक : भूकम्पपीडितलाई थप गरिएको १ लाखबारे स्पष्ट पार्न सरकारसँग माग  

kharibot

काठमाडौं । संघीय प्रतिनिधिसभाको बैठक अहिले नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा जारी छ । आधा दर्जन बढी सांसदहरुले विशेष समय लिएर बोलेका छन् । 

कसले के भने ? 
मोहन बानियाँले दुर्गम क्षेत्र विकास समितिबारे भनाइ राखेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्र विकास लगायतका १३ वटा समिति खारेज गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका थिए । 

मीनेन्द्र रिजालले 'ढुकुटी रित्तो भएको छैन, अर्थमन्त्रीले अतिरञ्जना गर्नुभयो' भनी टिप्पणी गरे । औद्योगिक निजीकरणको बहस आवश्यक रहेको उनले बताए । गरिबी निवारण र सशस्त्र द्वन्द्वपछाडि अर्थतन्त्र क्षतविक्षत भएको भन्दै कांग्रेसलाई दोष नलगाउन बरु माओवादीलाई भन्न आग्रह गरेका थिए । 

चीनले दिएको १४ अर्ब ९४ करोडबारे सदनलाई जानकारी गराऊ : अग्नि सापकोटा 
सांसद् अग्नि सापकोटाले अरनिको राजमार्ग विस्तारको स्थिति सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार संघीय प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले यसका लागि चीनले १४ अर्ब ९४ करोड रुपैयाँ दिए पनि सडक विस्तारको काम नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

उनले चीनसँग समन्वय गरेर तातोपानी नाका खुलाउन पहल गर्न समेत आग्रह गरे । तीन वर्षदेखि तातोपानी नाका बन्द हुनु राष्ट्रका लागि लज्जाको विषय भएको बताए । उनले करोडौँ राजस्व उठ्ने चीनसँग जोड्ने नाका तीन वर्षदेखि बन्द भएको भन्दै खुलाउन आग्रह गरे । राज्यले राजनैतिक र कूटनैतिक पहल नगर्दा राजस्वमा क्षति भएको र सिन्धुपाल्चोकका जनताले दुःख पाएको भन्दै खुलाउन पहल गर्न आग्रह गरे । रणनैतिक सुरक्षा चासो र जमिन सुरक्षा चासो ध्यान दिएर नाका खुलाउनुपर्छ ।

सन् २०१५ मा पूर्वराष्ट्रपति रामवरण यादव चीन जाँदा १४ अर्ब ९४ करोड रुपैयाँ अरनिको राजमार्ग विस्तारका लागि दिने भनेकोमा त्यसको यथार्थ स्थिति के हो ? स्पष्ट पारियोस् । त्यसबाहेक प्रधानमन्त्री ओलीको भ्रमणमा जाँदा दोहोरो सहमति भएको भन्दै त्यसको विस्तारको स्थिति बुझाउन आग्रह गरे । चीनले तीन अर्ब सुख्खा बन्दरगाह निर्माणमा दिएको भनिएको स्थितिमा स्पष्ट पार्न आग्रह गरे । भूकम्पपीडितलाई दिएको भनिएको एक लाख थप्ने निर्णयबारे स्पष्ट पार्न आग्रह गरे । पीडित जनतामाथि सरकारले छलछाम नगरोस् भनी आग्रह गरेका थिए । चीन र भारत शीतयुद्धको स्थितिमा रहेको भन्दै कूटनीतिक कौशल प्रदर्शन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

राजेन्द्र श्रेष्ठले जथाभावी घर भत्काएर बाटो विस्तार नगर्न आग्रह गरे ।

राजेन्द्र लिंग्देनले थपिएको राहत रकम दिइयोस् भन्दै मुख्यसचिवको गैरजिम्मेवार जवाफ दिएको भन्दै भत्र्सना गरे । धार्मिक पर्वविरुद्ध राज्य नै लागेको भन्दै आपत्ति जनाए । राज्यले रामनवमी, कृष्णाष्टमी, रामनवमीजस्ता विदा कटौती गरेकोमा आपत्ति जनाए । उनले देशमा धार्मिक गुरु र धार्मिक संघसंस्थालाई  आक्रमण गर्ने धम्की नै आउनथालेको बताउँदै कतै सुनियोजित रुपमा यसमा सरकार नै लागेको त हैन भन्दै प्रश्न गरे । 

आफू निर्वाचित पुरानो भद्रपुरबाहेक कालोपत्रे सडक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । डुबान रोक्न मेचीमा सरकारले चासो नदिएको भन्दै उनले आपत्ति जनाए । 

सांसद प्रेम सुवालले श्वेतपत्रबारे उल्लेख गरेका थिए । गाडीका लागि घर भत्काएर बस्ती उठाउने काम भएकोमा आपत्ति जनाए । काठमाडौंमा जनसंख्या धेरै भएको उनले बताए । जामका कारण २० प्रतिशत तेल धेरै खर्च भएको उनले बताए । चुनावमा अर्बौँ खर्च गर्ने पैसा कहाँबाट आयो ? रातो पासपोर्ट बिक्रीमा संलग्न बारे छानबिन गर्न आग्रह गरे । ७ लाख भूकम्पपीडितलाई तेस्रो किस्ता कहिले दिने भनी प्रश्न गरे । 

सांसद कृष्ण दाहालले भूकम्पपीडितलाई पुर्जा नदिँदा मकवानपुरका जनताले अनुदान नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण दिने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे । उनले सिन्धुलीमा रहेको कालिका कन्स्ट्रक्सनको क्याम्पमा बम विस्फोट गर्दा दर्जनौँ गाडी ध्वस्त भएको भन्दै जोकोही जिम्मेवारलाई कारबाही गर्न माग गरे । 

सांसद पम्फा भुसालले खोकनावासीको समस्या समाधान गर्न माग गरिन् । बाहिरी चक्रपथ निर्माणको नाममा घर नभत्काउन माग गरिन् । उनले यसले जनता आतंकित भएको भन्दै आपत्ति जनाइन् । फाष्ट ट्र्याक, प्रसारणलाइन, बाहिरी चक्रपथजस्ता विकासको नाममा बस्ती नभत्काउन उनले आग्रह गरिन् ।

ललितपुरमा पुनर्निर्माणले गति नलिएको भन्दै उनले स्वबासीको समस्या समाधान गर्न पुनर्निर्माण प्राधिकरण, भूमिसुधार, नापी लगायतका कार्यालयले फिल्डमै जानुपर्ने बताइन् । श्वेतपत्र भनेर देशै डुबेजसरी प्रस्तुत गरे पनि सकारात्मक कुरा नसमेटिएकोमा असन्तोष व्यक्त गरिन् । 

सांसद विरोध खतिवडाले पूर्वको एउटा नगरले जति बच्चा जन्मायो त्यतिवटालाई पाँच हजार दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । प्रदेश र केन्द्रका मन्त्रीहरु उही गाडी र झण्डामा हिँडेको भन्दै आपत्ति जनाए । मुख्यमन्त्रीबाहेक अन्य मन्त्रीलाई प्रदेशको मात्रै झण्डा प्रयोग गराउनुपर्ने बताए । सातै प्रदेशसभाका लोगो एउटै हुनुपर्ने उनले माग गरे । भूकम्पपीडितलाई आउँदो वर्षात्अगाडि नै यथोचित समाधान गरोस् । 

यस्तै, सांसद् यज्ञराज सुनुवारले भूकम्पपीडितलाई सहज अनुदान दिन माग गरे । सात सय ५३ स्थानीय तहमा बैंक नपुगेको भन्दै दुःख व्यक्त गरे । पीडितलाई थप एक लाख दिने निर्णय के हो ? जनतालाई बुझाउन सरकारलाई आग्रह गरे । 

गणेशसिंह ठगुन्नाले दार्चुला र धार्चुलाको विन्दुलाई भारत र नेपालको व्यापारिक नाका बनाउन पहल गर्न आग्रह गरे । अतिक्रमणमा परेको भूमि जोगाउन आग्रह गरे । पञ्चेश्वर परियोजना बनाउन टुंगोमा पुग्न आग्रह गरे । 

अहिले पनि संसदमा बैठक जारी छ । आजै प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको सम्बोधनपछि संसदको यो अधिवेशन अन्त्य हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै