[कथा] कुरकुरे – भाग १

खरीबोट

आश्चर्यमा उसका आँखा तनक्कै तन्किए । नसोचेको एक्लोपनाले भित्र आमाशयबाटै खल्लो रस पैदा गरे पछि ऊ सुटुक्कै फर्किइ । 
“ला ! उषा हराई ।”
“फोन पनि उठ्दैन ।”
“तीन घण्टा भैसक्यो अब के गर्ने ?”

बल्लतल्ल उषाको फोन उठेपछि आयूष प्रितम, सुगारीका सबैको सातो जाने गरी गौरी चिच्याई –“ओइ उषा तँ कहाँ छेस् ?” 
गौरीको तिखो आवाजले उषा पनि झस्किइ र भनी –“म घरमा ।”
त्यसपछि गौरीले सात्तो खाई –“राक्षस्नी जान्छु पनि नभनि गइस्?” 
”तेर्रो आमा राक्षसनी, तेरो पोईलाई लिएर झाडी भित्र छिर्दा तैंले मलाई सोधेर गाथिस् ??”

लाउड स्पीकरमा सुनिरहेका आयूष, प्रितम, शुगारीका र बोल्दै गरेकी गौरी सबै छक्क परे । सधैं हाँसेर बोल्ने उषा कसरी त्यति रुड भएर बोल्न सकि ? सोच्दा सोच्दै उताबाट जवाफ आयो –“अब देखी मसंग कोही नबोल ।” 

अघिल्लो दिन सबैलाई फोन गर्दा ऊ एकदमै उत्साहित थिई । हुन त आफ्ना मिल्ने दौतरीहरुसँग भेट्ने रमाइलो गर्ने कुराले को उत्साहित नहोला र ? त्यसमाथि सँगै घुम्न जाने कुरा त विषेश नै भै हाल्यो । अरु पनि त उत्तिकै उतसाहित थिए । प्रितमले भनेको थियो –“वाउ ! नाइस प्लान उषा । मलाई त त्यो प्राक्टिकलको दिन एक घण्टा घुम्दैमा फेरी फेरी जान मन लाग्याथ्यो त्यहाँ ।” 

गौरी पनि उत्साहित थिई भनेकी थिई –“क्या जङ्गल छ है ! त्यो हिटलरको मुर्दाले त पार्कमात्र घुमायो जङ्गलतीर जानै दिएन त्यो दिन । कस्तो ठिस बुढो ।” 

त्यो दिन उसले बल्ल बुझि उत्साहित त सबै थिए तर प्रत्येकको उत्साह फरक थियो । परीक्षाको ह्याङओभर हटाउन बनाइएको गोदावरी भ्रमण योजना उसको निम्ति कोत पर्व झैं भयानक भयो । जङ्गबहादुरको तरबारले भाइभारदार, बस्नेतकाजीहरु टुक्रिए झैं त्यो दिन उषाको दिल छियाछिया भएर टुक्रियो । 

साँझ आयूषले फोन ग¥यो –“सरी यार मलाई त लागेको थियो तिम्ले लोन्ली फिल गर्छौ भनेर । गौरीले तिम्लाई सबै थाहा छ भनी”

”के सबै ?” उषा ठूस्किई ।
“आई मिन हाम्रो अफेयर ।” 
“अफेयर ???”

बिहान बेलुका जतिखेरै ऊ सँगैं हुने गौरीले यत्रो कुरा उसलाई ढाँटी । उषालाई शङ्का लागेको कुरा सहि निस्कियो । ऊ त्यत्तिकै र्मूमूरीई “थुक्क बेष्ट फ्रेन्ड रे !”

त्यो रात उसको निम्ति अत्यन्तै लामो भयो । निदाउन खोजी खाली आँखामा दिउँसका दृश्यहरु आई पूग्ये । माइक्रोमा प्रितमले शुगारीकाको कम्मरमा च्याप्पै समातेर बसे देखि नै ऊ एक्लीदै गएकी थिई । बोटानिकल गार्डेनको टिकट काटेर भित्र छिरे पछि त उसलाई कसैले पूछेन । बाहिरिया केटाहरुको कर्के नजरले उसलाई बरु साथ दियो तर उसका आफ्नै साथीहरुको साथ उसले पाइन । एकै छिन भन्दै दायाँ–बायाँ छलिएका साथिहरु भेला हुन्छन् अनी फोटो खिचौंला भन्दै ऊ लोकेशनहरु हेर्दै बसी । लोभलाग्दा फूलहरु, सानो तलाउमा पौडिरहेका माछा  अनि बिचमा फक्रिएको कमल पूmललाई व्याकग्राउण्डमा पारेर उसले सेल्फी खिचि । टन्टलापुर घाम चर्किरह्यो । खोल्सामा कलकल बगीरहेको पानीमा उसले आफ्नै धमीलो अनुहार देखी । पानीमा चिप्लिएको बाहना गर्दै एक हुल केटाले उसको जीउ भरी पानी छ्यापी दिए । उसलाई रीस पनि उठेन न ऊ खूसि नै भई । 

अलि पर अग्लो ठाउँमा  उभिएर उसले साथीहरु गए तिर नजर दौडाइ । अँह पर–पर सम्म पनि कोही थिएनन् ।  हरियो दूबो मथि थचक्क बसी । प्लाष्टिकको झोलामा कुरकुरे र फ्यान्टा थियो । उसले एउटा फ्यान्टा र एक प्याकेट कुरकुरे निकाली । प्याकेट खोलेर केही टुक्रा कुरकुरे हातमा लिइ र फेरी साथीहरु हेरी अंह अझैं कोही देखिएन । 

जता हेर्थी उता प्रेम गर्ने जोडी मात्रै देखन थाली । उसलाई आपूm मात्रै एक्लो लाग्न थाल्यो । फेरी खोल्सामा गई र चिसो पानीमा आपूmलाई र्चुलुमम डुबाई । घामले सूकाउनु अघि आफैंलाई हेरी । कपडा टाँसिएको छती भित्र मुटु एक्लै धड्की रह्यो । आकाश हेरी, बरु एक्लो थिएन । कालै सही बादलको साथ थियो।

यसरी  उसले एक घण्टा कुरी । भिजेको कपडा सुकाइवरी घामले फेरी पोल्न थाल्यो त्यसपछि ऊ जुरुक्क उठी र पर–पर जङ्गलतीर छिरी । हेर्दै जाँदा पर झाडिमा उसले आयुष र गौरीलाई देखि । बिचरा उषालाई के थाहा उत्साहको कति औं प्रहर थियो त्यो । मिलनको अन्तरङ्ग एकान्तलाई टाटे घामले तताउँदै थियो । गौरी यसरी अँठ्ठिएकी थिई मानौं जाँतोका दुई घट्ट कतै अड्किएर प्यासका दानाहरु पिस्दै थिए । जङ्गलमात्र देखिन पुरै वन मान्छे नै देखी ओठले ओठ चपाउादै गरेको मात्रै देखिन् उसले ।

 “छि !” उसको मूखबाट निस्किएको आवाजले गौरी झस्किइ । ऊ फनक्क फर्किएर फटाफट दगुरी । बोटानिकल गार्डेनको त्यो सानो तलाउ नीर आइ पुग्दा गौरीले फोन गरेर भनी –“बस्दै गर् ल हामी पन्ध्र मिनेट जतिमा आइ पुग्छौं ।”

उसले दुई मिनेटमा छिचोलेको बाटो उसका साथीहरुलाई अझै पन्ध्रमिनेट लाग्नेवाला थियो । उसले बल्ल आज चाल पाई उसका साथीहरु कति फास्ट थिए भनेर । कुरकुरेको प्याकेट खोलेर सबै तलाउमा छरि दिई । माछाहरुको भोकले तलाउको पानी छचल्कीयो । डस्बीनमा प्लाष्टिक र भरी बोतल फ्यान्टा कोचिदिएर ऊ गाडी चडी । आधा घण्टामा गाडीले सातदोबाटो पु¥यायो । 

“बहिनी झर्ने हैन ?”
खलासी ट्वाल्ल उसलाई हेर्दै थियो । गाडीबाट झर्दै गर्दा उसले देखी गाडीमा समेत ऊ एक्लै थिई ।

कक्षा नौका सबै परीक्षाहरु सकिसकेको थियो । स्कुल छुट्टी भएकाले साथीहरु सँगको भेटघाट पनि दिनहुँ हुन्नथ्यो । उषालाई आफ्नो जीन्दगी एकदमै खल्लो लाग्न थाल्यो लौकाको जूस जस्तो । उसलाई रीस मात्रै उठ्थ्यो । आमासँग झर्केर बोल्थी बासँग ठसक्क पर्थी । छोरीको पारा देखेर बा सन्कन्थे – “झन् ठुली भई झन् विग्रदै गई । जा ! दश रुप्पे लिएर ‘सोमत’ किनेर खा ।” 

गोदावरी काण्डको तेस्रो दिन गौरी उषालाई भेट्न आई । ठँस्किएर कति चल्थ्यो, दौतरीक साथ र चौतारिको शितल उस्तै हुन् मनै फूरुङ्ग बनाउने  । फेरी गौरी त उषाको सानैको साथी । नाङ्गै दगुर्दा देखिको । त्यहि आत्मियतमा अल्झिएर त सम्बन्धले एक अर्काको साना साना सूचना पनि खोज्दो रहेछ । गौरी उसको र आयुषको समबन्ध दिल खोलेर सुनाउन आएकी थिई । रिसाएकी उषालाई फकाउनु थियो । 

“ओइ हेर त पहिलो चोटी आयुषले टच गर्दा म त रोइँछु ।”
“कहिले नि ?”

“त्यो त आठ कक्षा मै ।” गौरीको उत्तर सुनेर उषाका आँखा रगत चुस्न तयार लामखुट्टेको सूँढ झैँ तनक्क तन्किए । 
“आयुष र म त नाइट पनि हानी सक्यौं नी !”
 “के नी त्यो भन्या ?”
“छ्या ! यो त लास्टै स्लो छे । घर बाहिर उ र म मात्रै नाइट बस्या के ।”
“छि !”
“के को छि ? कस्तो मजा हुन्छ ।” 
“कहाँ मुन्टिस नी!”
“आयुषले त पैसा पनि लेर गाथ्यो होटलमा बस्ने भनेर । मलाई क्या डर लाग्यो अनि प्रितमको नयाँ बनाउँदै गरेको घरमा बस्द्या ।”

गौरीको कुरा उषालाई सपना जस्तै लाग्यो । त्यो चिसो खण्डहर घरमा आधी रात के खोजेर बसे होलान् गौरीहरु ? घरबाट कसरी हिड्न सके त्यसरी ?

“तर थाहा छ रमाइलै भएन । राती त कस्तो डर लाग्ने र छ । कहिले कुकुर कराउने, कहिले बिरालो कराउने । आधि रातमा माथिल्लो तल्लाबाट इट्टा खसेर सातो गयो । म त सिमेन्टको बोराले मूख छोपेर घुँक्क–घुँक्क रोएँ । प्लेन उड्दा त नयाँ घर कस्तो थर्कने र छ । धन्न आयुष थियो ।” 
“ए साँच्ची....” उसले केही सम्झीए जस्तो गरी ।
“त्यही रात त हो नी हाम्ले फस्ट किस गरेको ।”
मन त उषाको पनि कहाँ नकुत्कुतिएको हो र तर मुखले “छ्या” गरी । 
“कस्ती के यो त जती खेरै छ्या –छ्या भन्छे । कसले न उसको मुखमा के के कोच्याइदे जस्तो ।” गौरी कपाल मिलाउँदै खित्खिताई । उसको स्लीभलेस वानपसिमा उषालाई समेत ऊ राम्री लागी । मुहारको चमकमा उषाले नयाँ गौरी देखी आँटिली, पोटिली गौरी । 

त्यसपछि उनीहरु घरबाट पर चोकतीर गए । पानीपुरीवाला उनीहरुको स्वागतमा उहिल्यै उपस्थित थियो । गौरी उफ्रि उफ्रि पानी पुरी खाइरही । आफ्नी साथीको खुसी उषालाई पहिलो चोटी कस्तो कस्तो लाग्यो । अच्चम्मको उसले उफ्रि रहेकी गौरीको काखी मूनि छाती निर राती डोब देखी ।
”ओइ के भो तेरो त्यहाँ ?”
”चूप !” उसले लजाउँदै वानपिस तन्काई । 
एकटकले हेरी रहेकी उषा फेरी चिच्याई –“घाँटिमा पनि छ त ।” गौरीले मुखमा हाल्न लागेको पानीपुरी भुइमा खस्यो । गौरी रिसाइ ”हेर–हेर ! अरु पनि हेर्छेस ?”
उषाको कौतुहलता अझै सकिएन –“आगोले पोलेको जस्तो छ त !”
“ह्या ! तँ बुझ्दििन्” गौरी दिक्क भई । 
उषा छक्क परी । सानो घाउ लाग्दा समेत उसलाई देखाउन आउने गौरीले छाती र घाँटीको त्यो छाउ किन लुकाउन खोजी ? एकै वर्ष त भयो होला उसले गौरीको चाकको पिलो निचोरी दिएको, अहिले किन घाँटिको घाउ देखाउन लजाउँदै छे गौरी ? वाँच्नु पर्ने अनेक देखिदो र छ । मन भरी अनेक कुरा बोकेर त्यो दिन उषा र गौरी आ–आफ्नो बाटो लागे । 
बिचरी उषा प्रेम गरेकी भए पो बुझोस् प्रेमका आयामहरु । बाइट र फाइट जस्ता प्रेममय प्राणायामहरु । उसको धड्कन त बढेकै थिएन कसरी मुटुको चालमा ध्यान लगाओस् ? 

घर पुगेर उषा घोत्लीरही । गौरीका कुराहरु मन भरी आइ रहे । कालो रात, बादलले बेरिएको आकाश मुनी कुनै एकान्त ठाउँमा गौरीले जस्तै नाइट हानेको कल्पना गर्न थाली ऊ । खास के छ र रमाइलो ? अहँ उसले कल्पनामा कुनै रमाइलो पाइन । अन्धकारको अनन्त त्रास सिवाय उसको मनमा केही आएन ।  फेरी को सँग जाने जसले अन्धकारमा, चीसो रातमा तातो स्वासको साथ देओस् ? कोही पनि त थिएन । 

उषाका आँखा भरी गौरीको शरीरका आगोले पोलेजस्ता दागहरु आएर ताल तालमा नाँच्न थाले । घाउ लाग्दा अरु रुन्छन्, कराउछन्, मलमपट्टिको अपेक्षा गर्छन तर उसकी गौरी घाउसँग लजाउँछे । त्यसपछि आफ्नै बच्पन देखिकी साथी गौरी उसलाई रहस्यमय लाग्न थाली । 

उसले फेसबुक खोली अनि गौरीको प्रोफाइल र्हेन थाली । फेसबुक अकाउन्ट खोलेको छ महिना हुँदै थियो गौरीको तर एघार सय सत्र साथीहरु थिए । कहाँ सत्तरी कहाँ एघार सय सत्र उषा छक्कै परी । फोटोहरु हेरी । कमेन्टहरु पढी । सेक्सी, क्यूट, बिन्दास, हट । के के हो के के कमेन्ट पनि । इन्ट्रेस्टेड इन मेन । उषाका आँखा त्यतै उड्किए । गौरीलाई मेन मात्रै मन पर्छ ? उषा छक्क परी । 

फेसबुक बन्द गर्दै थिई पछाडीबाट आएको आवाजले ऊ झस्याङ्ग भई । 
“जती खेरै कम्प्यूटर, जती खेरै फेसबुक, के भा छोरी तँलाई  ?”

ढोकामा उभिएकी आमा उसलाई फिटिक्कै मन परेन । सन्किइ –“जति खेरै जति खेरै आपूm चाँही ढोकामा जति खेरै चियाउन किन आउनु परो ?”

प्रचण्ड महाकालीको जस्तो छोरीको आवाज र अनुहार देखेर आमालाई पनि रिस उठ्यो –“खाना खान मुन्टिस्योस् ।” आमा ठम्ठमिदै किचन तिर लागिन् । खाना पस्केको पन्ध्र मिनेट पछाडी उषा डाइनिङ टेबलमा गई । घ्वार कुर्सि तान्दा भूईको कार्पेट च्यातियो । 
छोरी आएको थाहा पाए पछि उसका बा पनि किचनमा आए र उषा सगैंको कुर्सिमा बसे । 
”हेर, छोरी अब त तँ ठूली भइस् । आमासँग पनि त्यसरी बोल्ने हो ? नम्र भएर बोल्नु पर्छ । व्यवहार गर्न सिक् । भोली अर्काकोमा गएर यस्तै गरिस् भने घर बिग्रदैन ? ............ ।”

के के हो के के । बाउको लेक्चर सुनेर उसका आँखा पिल्पिलाए । बाउले सम्झाए भनेर हैन हप्काए भनेर । उसलाई खादै गरेको खाना भूईमा पोखिदिन मन लाग्यो । बाउको लेक्चरको कडा जवाफ दिन मन लाग्यो । बाउसँग मुखमुखै लाग्दा आमाको लबटा भेटिने पूर्व अनुभवले मात्रै ऊ समालि । नत्र त उसले जानेकी थिई । कोहीलाई के धन्दा घर ज्वाईलाई खानको धन्दा । बेकारको चियोचर्चो । हुन्छ नी तरिका ।

कोठा भित्र छिरेर उषाले चुकुल लगाई । मन त्यतिकै मुर्मुरि रह्यो । भर्खरै मर्न मन लागेको मनलाई छोपेको सिरक भित्र फोनमा टुइटुई म्यासेज बज्यो – 
“हाइ ! म्यासेज किन रिप्लाई नगरेको ?”

क्षितिजको म्यासेज पढेर ऊ मुर्मुरिई । मनमनै हपारी – तेरो बाउलाई रिप्लाई गर्छु । 
यता फर्कि उता फर्कि । उठौं की बसौं जस्तो । उँडौं की गुडौं जस्तो । 

गौरीलाई केटा मन पर्छ उसलाई चाहि किन मन पर्दैन ? उसले एकपटक गौरीले भनेको सम्झि –“ओइ तँ केटा भएको भए ।”
“किन नी ?”
“कस्तो मजा हुन्थ्यो । मलाई केटाहरु क्या मन पर्छ ।”
गौरी केटा भएको भए उसलाई मन पथ्र्यो कि पर्दैनथ्यो होला ? उसले त्यसरी पनि सोची । 

फेरी कक्षाहरु सुरु भए । नयाँ क्लासरुम, नयाँ किताब । गौरीले नेपाली किताबको गाता देखाउँदै उषालाई भनी–“ओइ उषे हेर त । यो अनमोल केसी हो । क्या ह्याण्डसम छ है ?”
उसले गौरीको मन राखिदिन अँ हो त भनी तर उसलाई उसकै नेपाली किताबको प्लेन गाथा राम्रो लाग्थ्यो । केसी होस् की हमाल होस् । जिन्दगी नै बैरागिएर बित्दै थियो । न कुनै हिरो न कसैको पोष्टर ।

गौरी कक्षा दशमा पुगेपछि हाँसेको हाँस्यै गर्ने भएकी थिई । ऊ हाँस्दा अरुलाई समेत डिस्टर्ब हुनेगरी हाँस्थी । एक दिन नेपाली शिक्षक छन्द कविता लय हाली हाली वाचन गर्दै थिए गौरी मज्जाले खित्खिताइ । शिक्षक टक्क अढिए र भने –“गौरी उठ् !”

गौरी जुरुक्क उठी । कक्षामा सन्नाटा छायो । शिक्षक बाहिर निस्किए । विद्यार्थी वाल्ल परे । “ओइ किन हाँस्या ?” 
“ओइ किन ?”
“किन ओइ ?”
“ए किन हाँस्या ? ”

प्रश्नै प्रश्नमा रग्मगियो कक्षा कोठा । गौरी पुलुक्क आयुष र उषा तिर हेर्थी अनि घोसे मुन्टो लाउँथी । एक छिन पछि एउटा हातमा सिस्नोको मुन्टो बोकेर आउादै गरेका शिक्षकलाई विद्यार्थीहरुले देखे । सबको सात्तो गयो । झरिलो सिस्नाको मुन्टो फस्ट बेन्चमा राखेर शिक्षक बुट बजार्दै दुई चोटी कक्षाको अगाडी पछाडी ओहोर दोहोर गरे । सब मौन छन् । सबको मन बेचैन छ । शिक्षकले देखे गौरीका आँखा पिल्पिलाइ सकेका थिए । 
त्यसपछि शिक्षक अगाडी गएर सोधे – “तिमीहरुले सोधेनौ किन हाँसिछे गौरी ?”
”सोध्यौं सर । भन्दै भन्दिन ।” एकै पटक दश बाह्र जनाको जवाफ आयो । त्यसपछि शिक्षकले फेरी अर्को प्रश्न सोधे–“तिमीहरुलाई कुरकुरे बैंस भनेको थाहा छ ?”

(यस कथाको दोस्रो भाग आगामी शनिबार प्रकाशित गरिने छ -सम्पादक)