• २०८१ बैशाख १४ शुक्रबार

नेपाल टेलिकमले पनि सुरु गर्‍यो मोबाइलमा सापटीको व्यवस्था, कसरी लिने ? 

kharibot

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरेका हुन् । 

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताए ।

नेपाल टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्याको हिसाबले पहिलो रहेको प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकोले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरियता वृद्धि गर्न थप बल पुग्ने बताए । 

नेपाल टेलिकमकी प्रबन्धनिर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने बताइन् । उनले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने बताइन् । 

कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिनेछ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिनेछ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । 

यसरी लिनसकिन्छ सापटी 

कमसेकम ३ महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुनेछ । कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि ‘एस.टी.ए.टी.यू.एस.’ (स्टाटस) लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ ।

त्यसैगरी यो सेवा बन्द गर्नका लागि ‘एस.टी.ओ.पी.’ (स्टप) लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि ‘एस.टी.ए.आर.टी.’ (स्टार्ट) लेखेर १४७७ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।
 
सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै