• २०८१ बैशाख १४ शुक्रबार

मालदिभ्समा ४५ दिनपछि सङ्कटकाल हटाइयो

kharibot

माले, मालदिभ्स  ।  मालदिभ्स सरकारले ४५ दिनदेखि जारी सङ्कटकाललाई बिहीबारदेखि लागू हुनेगरी हटाएको छ । 

राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखि जारी सङ्कटकाल हटेको घोषणा गरेका छन् । 

मालदिभ्स टाइम्समा विहिबार प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, “मालदिभ्सको सर्वोच्च अदालतमा कार्यरत दुई न्यायाधीशद्वारा संविधान बमोजिम बनेको सरकारलाई सत्ताबाट हटाउने अभिप्रायका साथ संविधान र स्थापित कानूनी मुल्य र मान्यता विपरित हुनेगरी राजनीतिक नेतृत्वसँग मिलेर निर्णय दिएपछि यसबाट राष्ट्रिय सुरक्षामा खतरा हुने बताउँदै सरकारको आग्रहमा घोषणा भएको सङ्कटकाल यही मार्च २२ देखि लागू हुने गरी हटाइएको छ ।” 

विज्ञप्तिमा भनिएको छ, “महाअभियोजनकर्ताको कार्यालयको सहयोगमा मालदिभ्सको प्रहरी सेवाले भ्रष्टाचार तथा अन्य अपराधजन्य संवैधानिक सङ्कटलाई अनुसन्धान गरी अघि बढ्न सकिने देखिएकाले सङ्कटकाललाई हटाउने निर्णय भएको छ ।” 

सर्वोच्च अदालतले फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेपछि राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै राष्ट्रपति यमीनद्वारा गत फेब्रुवरी ५ देखि १५ दिनका लागि जारी गरिएको सङ्कटकाल समय थप ३० दिनका लागि बढाई ४५ दिन पुर्याइएको थियो । 

सङ्कटकालका समय वर्तमान प्रशासनद्वारा मालदिभ्सका सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा एक अर्का न्यायाधीश र पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई संवैधानिक रूपमा बनेको सरकार ढाल्ने षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै