• २०८१ बैशाख १५ शनिबार

सपना पछ्याउँदै संघर्ष गर्दै स्वामी भट्ट

kharibot

काठमाडौं । सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ५ मा आमा नन्दादेवी भट्ट र बाबु हरिबल्लभ भट्टका जेठा छोराको रुपमा जन्मिएका हुन् स्वामी भट्ट । 

आफ्नो कलाकार बन्ने सपना पूरा गर्नको लागि सात वर्षअघि उनी काठमाडौँ आए । काठमाडौँ हरेक व्यक्तिको लागि आफ्नो भविष्य साकार पार्ने थलो बनिरहेको छ । चाहे जतिसुकै दुःख र कष्ट किन गर्नु नपरोस् ! आफ्नो सपना साकार पार्नकै लागि स्वामी भट्ट पनि काठमाडौँ आए । जहाँ उनले सोचेजस्तो सहज थिएन । 

आफूलाई असहज हुन्छ भन्ने उनलाई नलागेको पनि होइन तर आफ्नो लक्ष्यप्राप्तिकै लागि उनी जस्तोसुकै दुःख, कष्ट सहन सक्ने अठोटसाथ काठमाडौँ आए । साँच्चै सहज भएन उनलाई । बिहान, बेलुकाको छाक टार्न धेरै समस्या पर्यो । उनले बाँच्नकै लागि धेरैथरि काम पनि गर्नुपर्यो । घरको आर्थिक अवस्था राम्रै भए पति कलाकार बन्नको लागि घरबाट कुनै सहयोग थिएन । ठूलाबडा र धनीमानीका छोराछोरीलाई त काठमाडौँमा पढाउन सकिँदैन भनिन्छ भने एउटा सामान्य पण्डित्याइँ गर्ने बाबुले काठमाडौँमा छोरालाई राखेर पढाउनसक्ने अवस्था हुने नै भएन । 

काठमाडौँमा बस्न कोठा नपाएपछि सडकपेटीमा सामान राखेर कुखुराको फर्ममा सुत्न थाले स्वामी । पानी किन्न नसकेर अरुले घटघट खाएको हेरेरै आफ्नो प्यास उनले मेट्नुपर्यो । उनले भने, ‘रहर नभएर यो मेरो बाध्यता थियो ।’ भोकले सताउँथ्यो । आकुलव्याकुल भएपछि उनी ज्यामी काम गर्न लागे । ज्यामी कामबाटै आएको पैसाले उनले आफ्नो खाना र सपना साकार पार्नतिर लागे । आफ्नो खानाबाट बचेको पैसा जम्मा गर्दै नृत्य तथा अभिनयमा लागे भट्ट । 

बानेश्वरदेखि वसुन्धारासम्मको दूरीमा उनका पाइतालाहरु खिइए । थकाइले लखतरान नपारेको कहाँ हो र ! झन्, ज्यामी काम गर्दाको पीडा सम्झिँदा पनि अहिले उनका आँखा रसाउँछन् । ज्यामी काम गर्दाको पीडा धेरै भएपछि त्यो काम छोडेर होटलमा भाँडा माझ्नथाले । हिँडाइको थकानले उनलाई साइकल किन्न मन लाग्यो, त्यसको लागि उनीसँग जेनतेन पैसा थियो । साइकल त किने तर आफ्नो साइकलको हावा भर्ने पैसाले पनि उनलाई धेरै पटक सताएको उनले सुनाए । उनले भने, ‘कहिले कहिले त भेट्टाएकै पैसाले साइकलको हावा भरेँ ।’

नक्सालमा काम गर्दा पर्खाल फोर्नुपर्ने भयो । आफू काम गर्न आएकाले उनले सक्दिन पनि भनेनन् । पर्खाल फोर्ने काम कहिल्यै नगरेका उनले ह्याम्बर चलाउँदा उनको हातबाट रगतको धारा नै फुट्थ्यो । फरक फरक संघर्षको दौडान उनी धेरै पटक धुरुधुरु रोएका थिए । आँखाबाट आँशु बगाए, निधारबाट पसिना चुहाए, हातमा ठेला उठे, गोडाहरु थकानले लत्रक्कै पर्थे तर पनि उनले हिम्मत भने कहिल्यै हारेनन् । किनभने उनलाई थाहा थियो संघर्ष गर्नेले नै सफलता पाउनसक्छ । आफ्नो कलाकार बन्ने लक्ष्यप्राप्तिको लागि जीवनसँग लड्नुको विकल्प पनि त उनीसँग थिएन । त्यही जिजीविषाले उनी डटिरहे, खटिरहे । 

संघर्षको दौडधूपका क्रममा उनले लगाएको जुत्ता फाट्थ्यो, सिउने पैसा उनीसँग हुँदैनथ्यो । सुन्दा कुनै फिल्मको काल्पनिक दृश्यजस्तो तर यो भट्टको ‘रियल लाइफ एक्सपेरियन्स’ थियो । दुःखका अनुभवहरु साह्रै निर्मम हुन्छन् । एक दिन बानेश्वर चोकैमा रहेको जुत्ता सिउने एक जना दाइसँग आफ्नो फाटेको जुत्ता सिलाइमागे भट्टले तर सिलाइसकेपछि उनको ओठ एकाएक निलो हुनपुग्यो, जब उनले आफ्नो खल्तीमा १० रुपैयाँ मात्रै चाल पाए । किनकि जुत्ता सिलाएबापत उनले २५ रुपैयाँ तिर्नुपर्ने भयो । १० रुपैँयामा नै जुत्ता सिउन आग्रह गर्दा सिलाइदिनेले मानेनन् । यो क्षण त्यस्तो क्षण बन्यो जब उनले आफूलाई पनि ती दाइसँग जुत्ता सिलाउने काइदा सिकाइदिन आग्रह गरे । 

जुत्ता सिउने मधेशी मूलका थिए । उनले तिमी के जात, के थरको भनेर सोधे । उनले आफु वैष्णव, बाहुनको छोरा भएको बताए । बाहुनको छोरो त्यसमाथि वैष्णव, जुत्ता सिलाउने छालाको काम ! तिनले सिकाइदिन मानेनन् । तर भट्टलाई बाँच्नको लागि काम, सीप दुवै चाहिएको थियो । जातभात, सानो र ठूलो काम छान्नु भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न जस्तोसुकै काम गर्नुपर्ने थियो उनलाई । धेरै आग्रहपछि उनले जुत्ता सिलाउने काम सिके, त्यही गरे । जुन उनको दुःखी जीवनको आडभरोस बन्यो ।  

खास गरी सीप सिक्न र काम गर्न कुनै जातले छेक्दैन भन्ने दृढता र स्पष्टताबाट प्रेरित भएकै कारण भट्टलाई जुनसुकै काम गर्दा ग्लानि भएन । एउटा श्रमजीवीले काम पाउनु त्यो नै ठूलो कुरा सोचे भट्टले । त्यसो त उनले जुत्ता सिउने कामअघि नै होटलको भाँडा माझ्नेदेखि कुल्ली कामसम्म गरिसकेका थिए । त्यसैले त ब्राह्मणको छोरा भए पनि उनले जुत्ता सिउने काम समेत छाडेनन् । उनले जीवनमा कहिल्यै हार खाएनन्, त्यो नै उनको जीवनको प्रेरणा हो । सानोतिनो आफ्नो कामसँगै आफ्नो कलाकारितालाई सिक्ने काम जारी राखे । 

आफ्नो सपना पछ्याउन हरकेही काम गरिछाड्ने सपनाबाज साबित गरेका भट्ट अब जीवनको परिभाषा आफैँ दिनसक्ने भएका छन् । संघर्षको दौडानसँगै उनले अभिनय सिक्ने क्रममा एक दिन टिभी हेरिरहँदा यात्रा जिन्दगी नामक टेलिचलचित्र प्रसारण भइरहेको थियो । टिभीको स्क्रिनमा आफू देखिन पाए भन्ने लालसा राखेर उनले अभिनय गर्न इच्छुक कलाकारको मागसहित फोन नम्बरमा उनको आँखा पुग्यो । यो २०६७ सालको कुरा थियो  । त्यसपछि उनको भेट ऋषिराज आचार्यसँग भयो । उनले आफ्नो अभिनयको इच्छा प्रकट गरे । प्रशिक्षणमा आचार्यलाई उनको कला मन पर्यो । त्यहाँबाट उनी सपनाको नजिक नजिक पुगे । कलाकारिता सुरु गरे, यात्रा जिन्दगीको नामक टेलिसिरियलबाट । 

त्यसपछि उनको भाग्य उदायो । १२ वर्षपछि खोलो त फर्किन्छ भन्ने कथन छ । उनको संघर्षले पनि अब उनलाई सुखद नतिजा दिनथाल्यो । लगातार आफन्त, झट्का, जिरे खुर्सानी, भद्रगोलमा समेत अभिनय गर्ने मौका पाए । यी टेलिसिरियलहरु नेपाली टेलिसिरियलका चर्चित नामहरु हुन् । यिनकै दबदबा रहन्थ्यो टेलिभिजन स्क्रिनमा । उनले टेलिसिरियलसँगै ठूलो पर्दाको चलचित्र वधशालामा समेत अभिनय गर्न पाए । त्यससँगै  दाङ स्वर्गद्वारी टिभीमा प्रसारित हुक्का चिलिम कमेडी सिरियलको कथा लेखन र निर्देशनको भूमिका समेत उनले निभाइसकेका छन् । सानैदेखि गीत, गजल, मुक्तक, लेखनमा पोख्त स्वामी नृत्य र अभिनयमा पनि उत्तिकै प्रखर छन् । विगतमा काठमाडौँले जितेको बताउने उनी अब काठमाडौँलाई आफूले जित्ने बताउँछन् । 

यति अनुभव र संघर्षपछि अब उनको मन दृढ भएको छ । अब आफूमा केही छ र गर्न सक्छु भन्ने आत्मविश्वास जागेको उनले सुनाए । 

आधुनिक जमानाका र कलाकारितामा पोख्त स्वामीले जीवनमा धेरै संघर्ष गरे । दुःख पछि सुख आउँछ भन्ने कुरा स्वामीबाट प्रस्ट हुन्छ । जति उनले दुःख गरेका छन् र सफलता पनि हासिल गर्दै गएका छन्, यो सबै उनलाई भगवानले आफूमाथि कृपादृष्टि राखिदिएझैँ लाग्छ । सात वर्षअघि काठमाडौँ आउँदा उनी अकस्मात् बिरामी परे । बेला–बेला पागलजस्तो हुने, घाँटी समात्ने, पानी मात्र खाँदा नै दैनिक २० पटकसम्म पखाला लाग्ने रोग लाग्यो उनलाई । नेपालदेखि भारतसम्मका अस्पताल चहारे । तर उनलाई कुन रोग लाग्यो भनेर पत्तासम्म लागेन । उनले भने, ‘भगवान् पशुपतिनाथको शरणमा पुग्दा मेरो रोग आफैँ निको भयो ।’ ब्राह्मणको छोरा उनी कहिले कहिले जजमानी समेत गर्छन् । 
दुःखदायी विगत लिएर वर्तमानसँग संघर्ष गरिरहेका उनी भविष्यचाहिँ उज्वल बनाउनतिर मरिमेटिरहेका छन् । अघि बढ्नेकै यात्रा छोटिने आत्मविश्वासले अहिले उनलाई सानैदेखिको आफ्नो सपना साकार पार्न लागेको छ । ‘एक दिन पक्कै सफल हुनेछु’, उनले दृढता पोखे ।
 

(खरीबोटका लागि स्वामी भट्टसँग कविता घिमिरेले गरेको कुराकानीमा आधारित )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै