• २०८१ बैशाख १४ शुक्रबार

एमाले-माओवादी एकतासम्बन्धी कार्यदलको समय १० दिन थप हुने

kharibot

काठमाडौँ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ । 

केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको सो कार्यदलको आजको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने ठानिएको कार्यदलका सदस्य केन्द्रका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 

अब दैनिकजसो बैठक गरेर सबै विषयको टुंगो लगाइने उनले बताए । यही फागुन १० गतेको एकता संयोजन समितिको बैठकले १५ दिनभित्र अन्तरिम विधान र दुई पार्टीको संगठन एकताबारे खाका तयार गर्न कार्यदल गठन गरेको थियो । 

सोही बैठकले वैचारिक विषय मिलाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदलले पनि आगामी चैत ५ गतेसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । 

दुई दलबीच यही फागुन ७ को एकता संयोजन समितिले तय गरेको सात बुँदे एकताका प्रारम्भिक आधारमा केन्द्रित भई संगठन र वैचारिक विषय मिलाउन खोजिएको हो । यी विषय मिलेपछि चैतभित्र एकता गर्ने तयारी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै