• २०८१ बैशाख १४ शुक्रबार

मौलिकता हराएको तीज

kharibot

काठमाडौँ । नेपाल पर्वै पर्वको देश हो भन्दा पनि फरक नपर्ला किनकि महिना/दुई महिनामा अझ कतिपय त १५ दिनको अन्तर पनि हुँदैन, एउटा पर्व मनाउन नभ्याउँदै अर्को पर्व आइहाल्छ । अनि नेपालीहरु वर्षको एक दिन त हो नि भनी भनी दर्जन बढी पर्व बडो उल्लासका साथ मनाउँछन् । भदौ महिना लागिसकेको छ र यही ८ गते पर्छ नेपाली महिलाहरुको उल्लासमय पर्व हरितालिका तीज ।     

नेपाली समाज आधुनिक बन्दै गर्दा नेपालीहरुले मनाउने र मान्दै आएका विभिन्न रीतिरिवाज, चाडपर्वहरुबारे बहस हुनथालेका छन्, यो खुसीकै कुरा हो । यही सन्दर्भमा वर्षेनी यही बखत आउने तीजलाई लिएर धेरैले मुख फोर्ने गरेका छन् । विशेषतः तीजको मौलिकता परम्परागत र युगीन समयसँग जोडिए पनि अहिले भने यसलाई साझा पर्वको रुपमा जोड्न थालिएको छ । तीज आउनु केही दिनमात्र बाँकी रहँदा विभिन्न संघ-संस्थाले आयोजना गर्ने ‘दर खाने कार्यक्रम’लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । त्यसो त पानी पनि नखाई व्रत बस्ने नवपुस्ताका युवतीहरुको तीजप्रतिको लगाव र चासोका रुपमा पनि लिनसकिन्छ ।

ज्योति मगर र सुरेश रानाको तीज गीत :

अझ रोचक कुरा त तीज आएको संकेत एफएम रेडियो र टिभीहरुमा बज्ने गीतहरुले अघिल्लो हप्ता-दश दिनदेखि नै दिनथाल्छन् ।  खास गरी तीज नेपाली हिन्दू महिलाहरुको ‘महान् चाड’बाट अब विस्तारै दोहोरी गाउने, सामाजिक विकृति÷विसंगतिविरुद्ध गीतका माध्यमद्वारा विद्रोहको आह्वान गर्ने, मीठो खाने, पति–पत्नीबीचको सम्बन्ध थप मजबुत बनाउने र प्रेमभाव व्यक्त गर्नेतिर अघि बढ्दै जाँदा तीज मनाउने शैलीलाई लिएर विरोधका स्वरहरु पनि नुसनिएको होइन ।

अनावश्यक तडकभडक, धनदौलतको प्रदर्शन, छाडा गीतहरुको गायन, घरपरिवारका सदस्यका आन्तरिक कुराहरु गीतमा समावेश गरिदिने, एक÷दुई दिन मनाउने पर्वलाई १५ दिनअगावैदेखि दर खानथाल्ने, ‘रुढीवाद’लाई प्रश्रय दिने, पौराणिक महत्वलाई कुल्चेर आधुनिकताको नाममा देखावटी संस्कृतिलाई मलजल गर्नथालेको जस्ता कुराहरु समेत समाजमा सुनिनथालेको छ । यसले एक किसिमको बहसको ढोका खोलिदिएको छ ।

धेरैजसो नारीहरु तीज पर्व भएकोले यसलाई मनाउनपर्ने धारणा राख्छन् । उनीहरुका अनुसार तीज नारीका पीरव्यथा पोख्ने एउटा माध्यम पनि हो । विवाह गरेर गएकी चेली माइती घर आउने आफ्ना पीर व्यथा पोख्ने तथा मिठो मसिनो खाने चाडका रुपमा उनीहरुले तीजलाई लिएका छन् ।

गायिका कोमल ओली र पशुपति शर्माको नयाँ तीज गीत :

तीज हाम्रो महान् पर्व : घिमिरे
तर कतिपयले भने हिजोआज तीज मान्ने चलन संस्कृतिको बचाउ गर्नेभन्दा पनि विकृतिको पृष्ठपोषण गर्ने पर्वको रुपमा विकास भएको धारणा राख्छन् । राष्ट्रिय महिला आयोगकी प्रमुख भगवती घिमिरे तीजलाई नेपाली महिलाहरुको महान् पर्वका रुपमा मान्नुपर्ने बताउँछिन् । ‘कोही कोहीले संस्कृति जोगाउनेभन्दा पनि विकृति ल्याउने किसिमका गीत तथा खाने÷लाउने परम्परा कायम गरेका छन्’, उनी भन्छिन्, ‘तर सबै यस्तै मौलिकताविपरीत छन् भन्न मिल्दैन ।’ यद्यपि तीजको नाममा विकृति पनि सँगसँगै भित्रिएको भने उनलाई पनि लाग्छ ।

‘तीज गीतमा मौलिकता हराउनथाल्यो’
त्यस्तै समाजसेवी विनीता अर्याल अहिले तीजमा धेरै खर्च गर्ने गरेको भए पनि तीजका नाममा खर्च मात्र नगरेर समाजसेवा गर्ने दिदीबहिनीहरु पनि भएको  उल्लेख गर्छिन् । घिमिरेजस्तै उनलाई पनि तीज गीतमा भने मौलिकता हराउन थालेको प्रतीत हुनथालेको छ । उनी भन्छिन्, ‘संस्कृति सम्वद्र्धन हुने खालका तीज गीत गाउनुपर्छ ।’ त्यस्तै व्यवसायी आभानी सिंह नयाँ तीज गीतमा मौलिकता हराएकाले पुराना तीज गीत मात्र सुन्ने गरेको बताउँछिन् ।

अग्रज लोक तथा दोहोरी गायक राम प्रसाद खनालले गाएको मौलिक तीज गीत :

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष एबम तीजका गीतमा सधैं मौलिक पनको प्रयोग गर्दै आएका अग्रज लोक तथा दोहोरी गायक राम प्रसाद खनाल भन्छन् "तीज नेपालीहरुको एउटा महान र साँस्कृतिक पर्ब हो जहाँ महिलाहरुले अाफ्ना बर्ष दिन भरिका दु:ख पिँडाका गीतहरु खुलेर गाउने नाच्ने गरिन्छ । यस बाहेक समाजमा घटेका घटनाक्रम, सामाजिक कुराहरु सबैलाई समेटेर तीज का भाखामा गीत बनाउने र नाच्ने गरिन्छ । तीजमा नयाँ कपडा फेर्ने, सक्नेले गहनापात पनि जोहो गर्ने चलन पनि छ  ।"
खनाल अगाडि भन्छन् "तर अहिले तीज भनेको हुनेखानेले तडक भडक देखाउने, अरुले पनि त्यही सिको गर्न खोज्ने, तीजका नाम मा छाडा गीत सँस्कृती भित्र्याउने, पैसावालहरु गायक गायिका बन्ने, मोडल बन्ने, कलाकार बन्ने अस्वस्थ होड चलेको देख्दा दु:ख लाग्छ । आफूलाई लोक गायक गायिका भन्ने र तीजको नाम मा रात्यौलीको पात्र बन्नेहरु को कारण तीज पनि पीडित भैरहेको छ । तीजमा मौलिक तीज गीत गाउने नाच्ने मनोरन्जन गर्ने हरु पनि हुनुहुन्छ वहाँहरुलाई समाजले चिन्नु पर्दछ र नाङ्गा भुतुङ्गाहरुलाई किनारा लाउनुपर्दछ यसमा दर्शक श्रोताको ठुलो हात हुन्छ । पुरुषहरुको सहभागिता तीजमा हुनै हुन्न भन्ने होइन तर अहिले अत्ती बढी भयो यसमा पनि हामी सबैले सोच्नु पर्दछ भन्ने मलाई लाग्दछ ।"

 

खाने र लाउनेमा विकृति !
नेपाली नारीहरुले गाउने तीज गीत तथा आफ्ना पीर व्यथाहरु पोख्ने प्रचलन अहिले तीजमा हराउँदै गएकोले पनि पछिल्लो समय तीजमा विकृति भित्रिएको ठान्न थालिएको छ । त्यस्तै एक महिनादेखि नै दर खाने तथा रमाइलो गर्ने प्रचलनले तीजमा हर्षाेल्लास थप्नुको साटो तीजको मौलिकतामा आँच पु¥याएको छ ।  महङ्गा लुगा तथा गहरगहनाले झकिझकाउ भएर भोजभतेर गर्ने, तडकभडक गर्ने, छाडा शब्दहरुयुक्त गायनमा रमाउने आदि कुराहरुले गर्दा तीज मनाउने शैली धेरै नै अगाडि बढेको र मौलिकता बिर्सिनथालेको हो कि भन्ने शंका गरिनथालेको हो ।

गीत सुन्दै लाजमर्दो !
नारीहरुले आफ्ना पीरव्यथा समेटेर गाइने गीत हिजोआज मनाइने तीजको समयमा सुनिनथालेको धेरैले टिप्पणी गर्नथालेका छन् । त्यसको सट्टा छाडा तथा विकृतियुक्त गीतले स्थान पाएको उनीहरुको दाबी छ । उनीहरुको त्यस्तो दाबीलाई बलियो बनाउन भर्खरै आएको नयाँ तीज गीत शंखर चालिसेको ‘कट्टुमा बुट्टा’ भन्ने गीतलाई लिन सकिने खालको छ । यो गीतमा न कुनै पिर, न कुनै व्यथा समेटिएको छ । छोटा र समाज तथा परिवारले सँगै बसेर सुन्न र हेर्न नसकिने यस्ता गीतहरुले नै तीजको महत्व घटाउने उनीहरुको दाबी छ ।

अग्रज लोक तथा दोहोरी गायक राम प्रसाद खनालले यसै बर्ष गाएको नयाँ मौलिक तीज गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै