• २०८१ बैशाख १५ शनिबार

प्रगतिवादी कविद्वय डा.रजनी र सुस्मिताका दुई दर्जन कवितावाचन सम्पन्न

kharibot

काठमाडौँ । विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४४औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । 

प्रगतिवादी नेपाली साहित्यका सशक्त कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपालका एघार÷एघारओटा  प्रतिनिधि कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्दै कार्यक्रम सम्पन्न भएको छ । 

जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी प्रमुख अतिथि रहेको सो समारोहमा वरिष्ठ कवि मञ्जुल, वरिष्ठ साहित्यकार माया ठकुरी र वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, माननीय सानु पहाडीलगायत उपस्थिती थियो । कार्यक्रममा टिप्पणीकारका रूपमा विदुला घिमिरे उपस्थित थिइन् ।  

हरेक महिनाको दोस्रो शुक्रवार उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने कहिले एक जना  र कहिले एक जनाभन्दा बढी प्रगतिवादी साहित्यकारका एक दर्जन वा केही बढी कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको चवालिसौँ शृङ्खलामा अहिलेको समयका सशक्त प्रगतिवादी कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपाललाई ल्याइएको राम विनयले जानकारी दिए ।          

समारोहकी कविनायक डा.रजनी ढकालले जनसाहित्यिक मञ्च, नेपालले विगत पौने चार वर्षदेखि थालनी गरेको यो अभियानमा आफ्ना कविता सुनाउने अवसर दिएकोमा गौरवबोध भएको बताउदै उनले ‘नेपाल आमालाई सम्झिएर’, ‘पहिलो पहर’, ‘तिम्री आमा बानिरा भएकी छ’, ‘चाहिन्न कुनै नाम’, ‘समय’, ‘अपहरण समयको’, ‘आर्या हुँ’, ‘आँसु’, ‘सहयात्री’, ‘तिमी’, र ‘नभत्किने जीवन’ शीर्षकका एघारओटा कविता वाचन गरेकी थिइन् । 

त्यसैगरी अर्की कविनायक सुस्मिता नेपालले एकैपटक यति धेरै कविता सुनाएको भने आफ्नो पहिलो अवसर पनि हो भन्दै ‘आमा’, ‘फाटेको मनको आकाश’, ‘अक्षरहरूमा चामल’, ‘अनुहारबाट आफैँ हराउँदा’, ‘ताल चार’, ‘किबोर्डमा औँलाहरू चाल्नखोज्दा’, ‘सम्झना’, ‘एकान्त’, ‘उध्रिएको जीवन’, ‘आँसु’ र ‘कविताको घर’ शीर्षकका एघारओटा फरक फरक परिवेशका कविता वाचन गरेकी थिइन् । 

दुबै जनाका वाचित झन्डै दुई दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक विदुला घिमिरेले कविता भनेको कल्पना, विचार र तालको संयोजन रहेको बताउदै कवितामा नारीमनका पीडा र उत्पीडनलाई साधारणीकरण गरेर छताछुल्ल पार्ने काम गरिएको टिप्पणी गरेकी थिइन् । पितृसत्तात्मक सामाजिक संरचनाका कारणले नारीले भोग्नुपरेका उत्पीडनलाई कलात्मकता प्रदान गरिएको बताउदै उनले वाचित दुबै कविका छोटोछरितो बान्कीका कविता सुन्दर विम्ब प्रतीकले युक्त, भावगाम्भीर्यका, सरल अभिव्यक्तियुक्त सुन्दर संयोजनसहितका रहेको टिप्पणी गरेकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय