समस्यासँग कुस्ती खेल्ने राधिका

खरीबोट

काठमाडौं । आमा पवित्रा खनाल र बाबु गोपाल प्रसाद घिमिरेकी एक्ली छोरी हुन् ताप्लेजुङ जिल्लाकी राधिका दाहाल । बाल्यावस्थाको सात कक्षासम्मको पढाइ फिरन्ते किसिमबाट अगाडि बढेको राधिकाको बाल्यावस्था दुःखदायी रह्यो । सानै उमेरमा आमाले उनलाई छोडेर मामा घर गएपछि र बाबाको सरकारी जागिर भएको कारण बाबासँगै उनी पनि सँगै गएकाले उनले एकै ठाउँमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन् ।     

महिनावारीअगाडि नै विवाह

सानै उमेरमा आमाले छोडेर गएपछि र बाबाको सरकारी जागिर भएकाले दुर्गम क्षेत्रमा बसाइको स्थान परिवर्तन भएसँगै हजुरआमासँगै बस्दै आएकी राधिकाको विवाह सानै उमेरमा भयो । महिनावारी हुनुभन्दा अगाडि नै विवाह गरे धर्म हुन्छ भन्ने हजुरआमाको सोचाइको कारणले सानै उमेरमा विवाह भएको बताउने राधिकालाई विवाह के हो भन्ने नै थाहा नभएको उनको भनाइ छ । सुरुमा त उनले विवाह गर्न मानिनन् । उनी भन्छिन्, ‘सुरुमा त भागेँ, हजुर आमाले फकाउनुभयो २-३ दिन बसेपछि पुनः घर आउने भनेपछि विवाह गर्न मानेँ ।’ बालविवाहलाई निरन्तरता दिने त्यो समयदेखि नै साँच्चै महिलाहरुको हक, हित र अधिकारबारे कसैले वास्ता नगर्ने गरेको उनको दुःखेसो छ ।

सानै उमेरमा विवाह भएको र पढाइलाई निरन्तरता दिन नसकेको बताउने राधिकाको घर परिवार असाध्यै ठूलो थियो । विवाहपछि पढाइलाई निरन्तरता दिन नसकेकाले उनले आफ्नो पढ्ने इच्छा पूरा गर्न पाँच वर्ष कुर्नुपरेको थियो । उनी भन्छिन्, “पढ्ने इच्छा पूरा गर्न पाँच वर्ष पर्खेर पनि पढाइलाई निरन्तरता दिएँ र आठ कक्षा पास गरेँ, यसैमा खुसी छु ।’ विवाहित महिला, घरमा धेरै जना, उनलाई भ्याइनभ्याइ हुन्थ्यो तर पनि पढ्ने इच्छाशक्तिले गर्दा आफ्नै साथी पढाएर आर्थिक खर्च जुटाइन् । यसरी उनले पढाइलाई आफूबाट टाढा हुन दिइनन् ।

उनी भन्छिन्, “पढाइमा अब्बल भएको कारणले आफ्नै साथीलाई पढाएर खर्च जुटाउन सकेँ ।” आमा र बाबाले सानै उमेरमा छोडेर अन्तै गएकाले मातृस्नेह के हो भन्ने नै थाहा नपाएको समेत उनको भनाइ छ । उनी भन्छिन्, ‘मेरो लागि मातृस्नेह कुन चराको नामजस्तै भएको छ ।’ चार वर्षको सानो उमेरमा आमाले छोडेको, भोकले खाना माग्न जाँदा छिमेकीले खाना दिनुको सट्टा अगुल्टाले हानेको त्यो क्षण उनको जीवनकै सबैभन्दा दुःख लाग्दो क्षण हो ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको

फर्क फर्क जाऊ समाऊ मानिसहरुको पाउ ...।        
मल्हम लगाउ आर्तहरुको चह¥याइरहेको घाउ ...।।
 

कविताजस्तै बच्चालाई माया, प्रेम गर्न नजान्ने हाम्रो समाजप्रति व्यंग्य गर्दै देवकोटाको कवितामा जस्तै सहयोग गर्नेको कमी भएको बताउने राधिकालाई सबैभन्दा ठूलो धर्म मानवसेवा नै हो जस्तो लाग्छ ।  पारिवारिक बिछोडले एउटा सन्तानलाई कत्रो र कस्तो प्रभाव पार्छ भन्ने आफैले भोगेकी तथा बुझेकी राधिका अभिभावकहरुले आफ्ना सन्तानलाई पालनपोषण गर्न सक्नुपर्छ नत्र सन्तान जन्माउने अधिकार छैन भनी खबरदारी गर्न चाहन्छिन् ।

उदाहरणीय पात्र

सानै उमेरमा पारिवारिक माया र ममताको वातावरणबाट टाढिएकी र सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी राधिकाले आफ्नै संघर्षबाट नेपालीमा एम.ए., अंग्रेजीमा एम.ए. (अध्ययनरत), समाजशास्त्रमा एमफिल गरेकी छिन् । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने कुरालाई चरितार्थ गर्न सफल उनी एक संघर्षशील नारी हुन् ।

‘शिक्षा केको लागि ?’

आफ्नो जीवनमा धेरै संघर्ष गरेर शिक्षा प्राप्त गरेकी राधिकाले आफ्नो जीवनबाटै धेरै शिक्षा पाएकी छिन् । शिक्षा व्यक्तिको तेस्रो आँखा बताउने उनी शिक्षाले व्यक्तिको वर्ग निर्धारण गर्ने बताउँदै भन्छिन्, ‘मेरो विचारमा शिक्षा रचनाका लागि, पुनर्निर्माणका लागि र भविष्यको खोजी गर्ने परिवर्तनका लागि अपरिहार्य हुन्छ ।’

महिलाहरु पछाडि पारिए

आफ्नो जीवनमा धेरै संघर्ष गरेकी राधिकालाई पुरुषको तुलनामा महिलाहरु पछाडि पर्नुको कारण विभिन्न विद्वानहरुले प्राकृतिक भिन्नता, आर्थिक, चेतनाको कमी, घरायसी परिधिमा सीमित गर्ने जस्ता कारणले महिलाहरु पछाडि पर्छन् भन्ने गरिए पनि यतिले मात्र नभई आफूभन्दा बढि क्षमता भएका महिलालाई इन्टेन्सनल्ली महिलाहरु अगाडि गए भने आफ्नो अस्तित्व धरापमा पर्ने डरले महिलालाई दमन शोषण गरिने गरेको बताउँछिन् ।

महिलाको हैसियतलाई पछाडि पार्ने काम समय—समयमा गरिने गरेको यत्रतत्र देखिएको बताउँदै उनी प्रसिद्ध लेखिका एवं नारीवादी महिला तस्लिम नसरिन र गत वर्षको अमेरिकी राष्ट्रपति चुनावमा पराजित डेमोक्र्याट महिला हिलारी क्लिन्टनको उदाहरण दिन्छिन् ।

जबसम्म महिला एकता कायम रहँदैन तबसम्म पितृसत्ताले महिलाहरुबीच विभाजन र भूमिका लगाएर महिलामाथि शासन गरिरहने उनको विचार छ । भन्छिन्, ‘महिलामाथि हुने गरेका विभेदबारे चुप लागेर बस्ने हो भने समस्या कहिल्यै समाधान हुनेछैन, हामी महिलाहरु एक साथ अगाडि बढ्नैपर्छ ।’ आफैले भोगेको कथा सुनाउँदै राधिका आफूजत्तिको मान्छेलाई त एकेडेमिक मान्छेले जंगली भनी गाली गरेको उनलाई सम्झना छ ।  

रुचि

सानैदेखि संघर्ष गर्दै आएकी राधिकाका धेरै रुचि तथा इच्छाहरु छन्, त्यसमध्ये फिल्म हेर्ने, गीत सुन्न उनलाई मन पर्छ रे । भन्छिन्, ‘फिल्म साहित्य हो, साहित्य समाजको दर्पण हो ।’ समाजशास्त्रको विद्यार्थी भएको नाताले समाज ‘सेन्टर’मा हुने गरेको उनी बताउँछिन् । यो ग्लोबल समयमा हामी सबै ग्लोबल नागरिक भएकाले यही अवधारणालाई त्याग्न नमिल्ने समाजशास्त्रीय चेतभाव बोकेका सबै प्रकारका फिल्म हेर्ने, गीत सुन्ने उनको बानी छ ।

भविष्य

सानै उमेरबाट नै संघर्ष गर्दै आएकी राधिकाको आफ्नै सपना छ । समाज र देशको लागि केही गर्ने उनको लक्ष्य छ । अझ भनौँ विभिन्न संघ÷संस्था तथा सामाजिक क्षेत्रमा आबद्ध राधिकाको जीवनको लक्ष्य भनेको नेपालमा प्राकृतिक प्रकोपबाट विपदमा परेका बालबालिकाहरुको क्षेत्रमा काम गर्नु हो । उनीहरुलाई उचित शिक्षा दिएर नीतिनिर्माणको तहमा पु¥याउने तथा समाज परिवर्तनको मूलप्रवाहलाई टेवा पुर्याउने हो । मानिसको जीवन लिनका लागि मात्र होइन, नयाँ पुस्तालाई केही दिनको लागि पनि भएको उनको उदार भावना छ ।

बालबालिकालाई सहयोग गर्नको लागि देवघाटमा पुराण लगाएर आर्थिक सहयोग संकलन गर्नेदेखि बुद्ध एकेडेमीमा अर्फान (असहाय) बच्चाहरुलाई डाक्टर, इन्जिनियर बनाउन समेत सफल भएकी राधिकाले हाल भद्रघले स्कुलको माध्यमबाट धादिङ, सिन्धुपाल्चोक, गोरखालगायतका विभिन्न छ जिल्लाका पीडित परिवारका ३० बच्चा ल्याएर पाल्ने कामको थालनी समेत सुरु गरेको बताइन् ।

हालै मात्र तराईमा भएको विनाशकारी बाढीबाट पीडित परिवारको लागि राहत संकलन कार्यमा समेत उनी क्रियाशील रहेकी छिन् त्यस्तै पश्चिमाञ्चलमा मौलाएको छाउगोठपीडित बालिकाहरुलाई प्राविधिक शिक्षा दिलाएर आफ्नो खुट्टामा उभिनसक्ने बनाउने चाहना समेत राधिकाको छ ।

  • खरीबोट डटकमका लागि कविता घिमिरेले ताप्लेजुङ जिल्लाकी समाजसेवी राधिका दाहालसँग गरेको कुराकानीमा आधारित

 

सम्बन्धित समाचार

जब म छोराको आँखा हेर्छु, मलाई बलात्कार गर्ने मान्छे देख्छु !

क्याथरिन (नाम परिवर्तन) आफ्नै साथीबाट बलात्कृत भएपछि गर्भवती हुनपुगिन् । उनले गर्भवती प्रेग्नेन्ट (दुई जिउकी) भएको थाहा पाएर पनि एबोर्सन (बच्चा फाल्ने) नगर्ने निर्णय लिइन् र उसलाई जन्म दिइन् । उनको

टुथब्रस र टावेल कतिसम्म प्रयोग गर्ने ? जानी राखौ 

काठमाडौँ । हामीले दैनिक रुपमा प्रयोग गर्ने कतिपय चिजहरु लगातार लामो समयसम्म प्रयोग गरिरहेका हुन्छौ । हामीलाई थाहा हुदै यी चिजहरु कति लामो समयसम्म प्रयोग गर्नुपर्छ भनेर । हामीले दिनहुँ प्रयोग

स्थायी परिवार नियोजनपछि सेक्स जीवन बढी आनन्दमय 

काठमाडौँ । हाम्रो जीवनशैलीलाई ससानो कुराले पनि ठुलो असर गरिरहेको हुन्छ । तर हामीलाई यसको असर र प्रभावको बारेमा प्रयाप्त जानकारी हुदैन जसको कारणले हामीले यसबाट हुने फाइदा या राम्रो

सेक्सको एडिक्सन बारे जानकारी छ ? यसरी पाउन सकिन्छ छुटकारा  

काठमाडौँ । मानव जीवनमा सेक्सको आफ्नै महत्व छ । समाजको विकास र सामाजिक संरचनाको विकासमा सेक्सले आफैमा महत्व राख्दछ तर यसको दुरुपयोग भयो बहने यो त्यति नै हानिकारक हुन् जान्छ