काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।
काँग्रेसले यस अघि आयोगमा पठाएको मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको छ ।
नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस/आर्य कोटामा परेका थिए ।
आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय बुधबार सकिदैछ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ काँग्रेसले ४० स्थान प्राप्त गरेको छ ।