• २०८१ बैशाख १४ शुक्रबार

चारा घोटालाको पाँचौं मुद्धामा पनि लालु यादव दोषी ठहर

kharibot

काठमाडौँ । विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले दोषी ठहर गरेको छ ।

अदालतले फागुन २१ गते सजाय सुनाउनेछ र त्यस दिन लालु यादव अदालतमा उपस्थित हुनुपर्नेछ ।

चारा घोटालाका अन्य चार मुद्दामा लालु यादव यसअघि नै दोषी ठहर भइसकेका छन् ।

यो घटना करिब तीन दशक पुरानो हो । सीबीआईले यस मामिलामा ६४ वटा मुद्दा दर्ता गरेको थियो र तीमध्ये ६ मा लालु यादवको नाम थियो । यी मध्ये पाँच केस बिहारको विभाजन पछि झारखण्डमा सारिएको थियो ।

पटनामा एउटा मुद्दाको सुनुवाइ भयो । यसअघि लालु यादवलाई झारखण्डको सीबीआई अदालतले चारवटै मुद्दामा दोषी ठहर गरेको थियो । सीबीआई अदालतले मंगलबार अन्तिम मुद्दामा आफ्नो फैसला सुनाएको हो।

डोरान्डा ट्रेजरीबाट सन् १९९०–९१ र १९९५–९६ बीच अवैध रुपमा रकम निकालिएको थियो । यसमा लालुप्रसाद यादवसहित ९९ जनालाई आरोप लागेको थियो । पशु–कृषि विभागमा घाँस, औषधि र उपकरण खरिदको नाममा यहाँबाट पैसा झिकिएको थियो ।

यसअघिका चारवटा मुद्दामा दोषी ठहर भएर लालु यादवलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो । गत महिना सीबीआई न्यायाधीश एसके शशीले पाँचौं मुद्दामा सुनुवाइ पूरा गरेका थिए । पाँचौं मुद्दामा जम्मा १७० जना अभियुक्त थिए तर तीमध्ये ५५ जनाको मृत्यु भएको थियो । जसमध्ये ७ जना सरकारी साक्षी बनेका थिए भने २ जनाले अपराध स्वीकार गरेका थिए । जसमध्ये ६ जना फरार छन् ।

लालु यादव हाल धरौटीमा जेलमुक्त छन् । अदालतको फैसलापछि लालु यादवलाई हिरासतमा लिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै