प्राचीन कालमा यौन स्वतन्त्रता

kharibot

विपुल सिजापति

हाम्रा पूर्वज सेक्सको मामिलामा खुल्ला हृदयका थिए र यसलाई पाप मान्दैनथे, बरू उनीहरूले नै कामसुत्र लगायत अन्य पाँच शास्त्र संभोगलाई कला मानेर ज्ञान दिनका लागि लेखेका छन् । तर हाम्रा पाखण्डी पण्डितहरूले, जो जिब्रोबाट केवल नाम संकिर्तन गरेर माेक्ष पाइने ज्ञान बाँड्छन र अलाैकिक आदर्शका कुरा छाँट्छन्, तिनले यौनको अपबाख्या गरिदिए, यौनलाई पापको पुरी भन्नलाई अलिकति पनि हच्किएनन् । सेक्स या यौन शब्द सुन्ने बित्तिकै जिब्रो टोकेर नाक खुम्चाउँने पण्डितहरू नै ६४ आसनका ज्ञाता पनि हुन्छन् र बन्द कोठा भित्रको चरित्रले अनेक काण्ड मच्चाउँछन् ।

यो संसारमा प्रकृति हाबी छ, कोहि अछुतो छैन, यौनलाई अप्राकृतिक मानेर बाबा बनेकाहरू पनि यौनकै कारण चर्चामा आएका छन्, जेल परेका छन्, आशाराम, रामरहिम त्यसको प्रत्यक्ष उदाहरण हुन्, नारायण पण्डितले त अर्काकी श्रीमती नै भिक्षा मागेका थिए भन्ने सुनियो । अर्थात्, यी कथित पाखण्डी पण्डितहरू प्रकृतिसँग बेइज्जत हुने गरेर हारेका थिए ।

भारतबर्ष भन्नाले यसभित्र नेपाल पनि पर्छ र धर्म र संस्कृति एक हुनाको कारणले भारतमा भएका परिवर्तनको असर नेपाल तथा नेपाली संस्कृति तथा परंम्परामा पनि पर्नु स्वाभाविक हो । सन् ९५० देखि सन् ११५० सम्मको युग एउटा परिवर्तनको समय थियो र यसबेला साधुसन्त र महात्माहरूको खुबै प्रभाव थियो । उनिहरूका वाक्य ब्रम्हवाक्य हुन्थे ।

उनीहरूबाट बैराग, सन्यास र ब्रम्हचर्यलाई अत्यधिक महत्व दिँदै मानिसको अन्ध-श्रद्धाको लाभ उठाएर सेक्सलाई पापको संज्ञा दिईयो, नरकको घोर सजायँको डर देखाईयो । मानिसलाई सेक्स केवल बच्चा जन्माउने कार्य मात्र हो भन्ने बुझाइयो ।

तर भारतवर्ष भित्रकै सांस्कृतिक इतिहास हेर्ने हो भने भारतवर्षमा वसन्त पञ्चमीदेखि सुरु हुने वसन्तोत्सवमा पाहुना या मित्रसँग यदि अर्धाङ्गिनी राजी भएमा गरिएको सहवासलाई पाप मानिन्नथ्यो । पृथ्वी समेत प्रकृतिले परिवर्तन हुने ऋतुमा मानिस परिवर्तन नहुने कुरै भएन । वसन्त ऋतुमा सालकाे परागले, जसलाई फाग भनिन्छ, एक अर्कालाई हिर्काएर युवायुवती स्वच्छन्द प्रेमालाप गर्थे, मदिरा (भिरमाहुरीको महबाट बनेको मदिरा, मिड) पिउँथे र संभोग पनि गर्थे । यही फाग खेल्ने परम्परा पछि फागुको रूपमा (होली गलत को ) बिकशित भयो ।

कुन्तीले सूर्यबाट विवाह पूर्व कर्ण जन्माएकी थिइन् । मत्स्यगन्धा अक्षत योनी (भर्जिन) थिइन्, जसलाई गर्भाधान गरेर परासरले वेद ब्यास जन्माएका थिए र यिनै मत्स्यगन्धालाई, जो योजनगन्धाको नामबाट प्रख्यात भइन्,  भिष्मका बुवा शान्तनुले विवाह गरेका थिए । व्यासले आफनै बुहारी र दासी समेतलाई नियोग बिधिद्वारा गर्भबती बनाएर धृतराष्ट्र, पाण्डु र बिदुर जन्माएका थिए । पाण्डवहरू पनि पाण्डुका पुत्र थिएनन्, कुन्ति र माद्रीले अन्य पुरुषसँग नियोगद्वारा नै जन्माएका थिए ।

काशीका राजपण्डितकी बिधवा पुत्री हेमवती अत्यन्त सुन्दरी थिइन् । चन्द्रदेव !? मोहीत भएर यिनीसँग रतीराग गरे र चन्द्रवर्मन जन्मे । बिधवाबाट पुत्र जन्मिएपछि हेमवती काशीबाट निकालिइन् र उनी खजुरापुरमा आई बसिन् । पछि चन्द्रवर्मन खजुरापुरका शक्तिशाली राजा बने र उनले  त्यहाँ एउटा विशाल शिव मन्दिर निर्माण गरे जसको प्रतेक शिलाका भित्तामा कामसुत्रको ६४ आसन कुँदन लगाए ।

कृष्ण पूर्ण पुरुषोत्तम परमेश्वरमा कृष्णजी गोपिनीहरूलाई कामज्ञान यसरी दिन्छन्, "जसरी आत्माशान्तीको लागि प्रार्थना जरुरी छ, शरीरको लागि भोजन जरुरी छ त्यसरी नै संभोग एक शारीरिक भोक हो । यो देह बासनालाई तृप्त पार्नु त्यति नै जरुरी छ जति आत्मशान्तीको लागि प्रार्थना र शरीरको लागि भोजन । जति बेला वासना जागृत हुन्छ तब संभोग गर यसलाई अतृप्त राख्नु पाप हो, मनहिंसा र देहहिंसा हो । पतिबाट अतृप्त छौ भने पतिलाई भन र फेरि पनि अतृप्त भए अन्य पात्रबाट तृप्ती लिऊ । कुमारीहरू पनि चिन्नेजान्ने पुरुष, साथी प्रेमीसँग आफ्नो वासना तृप्त गर्न सक्दछन् । तर कुमारीहरूले गर्भवती नहोस् भनेर ध्यान राख्नु जरुरी छ । संभोग गर्नु र गर्भवती हुनु पाप होईन् बच्चा जन्माएर त्याग्नु, मार्नु पाप हो । सुद्ध मनले गरिएको संभोग पाप होइन् ।"

एक कुम्ले गोपीनीले सोधीन्, "म त कुरूप छु, मलाई कसैले विवाह गर्दैन, मैले कसरी आफ्नो वासना शान्त गरुँ ?"

कृष्णले भने, "यदि कोही मानेनन् भने हस्तमैथुन गर ।" कृष्णले पछि ती कुम्ले गोपिनीको कल्याण गरेर अतिसुन्दर बनाई दिए । 

भागवत गीतामा लेखिएको छ, देहवासनाय अतृप्तीः इति आत्महिंसाः पापाय समः । अर्थात्, देहवासनालाई अतृप्त राख्नु आत्महिंसा झैँ हिंसा र पाप हो । 

कहिल्यै झुठ नबोल्न भनिएका धर्मात्मा युधिष्ठिरलाई पनि रूपवती द्रोपदीसँग सहवासकाे चाहनाले नै झुठ बोल्न लगायो,

"एष नः समयो राजन् रत्नस्य सहभोजनम्
न च तं हातु मिच्छामः समयं राज सत्तम"
"हे राजन रत्नको एकसाथ भोग गर्नु हाम्रो नियम छ । हे राजाहरूमा श्रेष्ठ, हामी यस नियमलाई छोड्न चाहदैनौं ।" आदिपर्व अध्याय १९६ श्लोक २५

पाञ्चाली, कृष्णा, द्रौपदीको रूप लावण्यबाट मोहित युधिष्ठिरले यहाँ पहिलो झुठ बोलेका छन् । यदि पाण्डवहरूका बीच अखण्ड त्यस्ताे नियम हुँदो हो त अर्जुनद्वारा बिजित सुभद्रा, उलुपी र भीम द्वारा बिजित हिडिम्बा चैँ किन पञ्चभोग्या भएनन् !

अहिल्या र इन्द्रको (कौशिक इन्द्र, वेदका  होइनन्) राजिखुसी संभोग भएको थियो, अहिल्याले इन्द्रलाई "कृतार्थास्मी" भनेकी छिन्, यौनतृप्तीको लागि धन्यवाद दिएकि छिन् । इन्द्रले बलात्कार गरेका थिएनन् । तर स्वतन्त्र यौनका विपक्षधर पण्डितहरूले गौतम ऋषीबाट श्राप दिलाएर अहिल्यालाई शिला बनाएका छन् । स्वस्थानी कथामा, तपमा लीन पतिहरूबाट यौन अतृप्त ब्राह्मणीहरू महादेवको लिङ्ग देखेर पछि लागेको कथा छ। दुबै कथा बीचको अन्तर र दिन खोजिएको सन्देश धेरै पृथक छन् ।

आफन्तको मृत्युमा घाटमा जाँदा मानिसमा एक प्रकारको वैराग्य उत्पन्न हुन्छ जसलाई मसान वैराग्य भनिन्छ । यस वैराग्यले मानिसलाई संसार निरर्थक जीवन निसार लाग्दछ । तर यही मसान वैराग्यबाट श्रृष्टि नरोकियोस् भनेर हाम्रा पुर्खाहरूले घाट तथा मन्दिरका टुँडालमा नै  यौन आसन कुँदिदिए, संसारको गतिलाई रोक्नु या प्रकृति इतर जानू हुन्न भन्ने ज्ञान दिनलाई नै त्यस्ता यौन आसन बनाईए ।

यौनलाई कला मान्ने हाम्रा पूर्वजहरूले पछि गएर यौनिक स्वतन्त्रता पुरुषमा मात्र सिमित राख्न थाले, बहुपत्नी प्रथा ल्याए, देवदासी भनेर चढाइएका वालाहरू पुजारीका खेलौना भए, नगरवधुहरू, तवायफहरू बनाईए तर तर आफ्नै घरका नारीका लागि भने आन र सान भन्दै "अनर किलिङ्ग" गर्न समेत पछि परिरहेका छैनन् ।

सम्बन्धित समाचार