• २०८१ बैशाख ८ शनिबार

फूलको थुंगासमेत नपाएका शहिदका सालिक

kharibot

तनहुँ । पृथ्वी राजमार्गको छेउमा सहिद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा सहिद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको सालिक ठडाइएको छ । ढुंगामा कुँदिएको सालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ । ढुंगा बिछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन् । 

आइतबार देशभर सहिद दिवस मनाइएको छ । देश परिवर्तनका निम्ति क्रान्तिमा होमिएर प्राणको आहुति दिएका सहिदहरूको सालिकमा माल्यार्पण गर्दै योगदानको चर्चा गरेर विभिन्न स्थानमा दिवस मनाइयो । तर, राजमार्गको छेउमा रहेको कोत्रेको सहिद पार्कमा भने केही कार्यक्रम भएन । 

स्थानीय सरकार, स्थानीयवासी, राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु कसैको नजर परेन । र, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा लागेर कोत्रे बजारमा २०१८ सालमा सहादत प्राप्त गरेका ती सहिदको सालिकले सहिद दिवसको दिनमा पनि एउटा फुलको थुंगो पाएन । सालिकमा माल्यार्पण भएन । सहिद दिवसको दिनलाई मात्रै भए पनि पार्क परिसर सरसफाइ गरेर चिटिक्क बनाउन सकेनन् कोत्रेवासीले । 

शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा पनि पृथ्वी राजमार्गको छेउमा जनयुद्धका सहिदहरूको सम्झनामा स्मृति पार्क बनाइएको छ । पार्कमा जनयुद्धका सहिदको बलिदानीलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । त्यहीको मूर्तिको छत्रछायामा बसेर आइतबार एक घण्टा सहिदको स्मरण गर्नलाई पनि सहिद स्मृति पार्क निर्माण समितिले कन्जुस्याइँ गर्‍यो । 

२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिद कृष्णप्रसाद पौडेलको सालिकले पनि सहिद दिवसको दिन फुलको थुंगो पाएन । शुक्लागण्डकी नगरपालिका-८ पाटनमा उनको स्मृतिमा पार्क त बनाइएको छ । तर, पार्कमा राखिएको सालिकले फुलको थुंगोसमेत नपाएको बेला उनको योगदानको चर्चा हुने भएन नै ।

यी त केबल प्रतिनिधि सहिदका सालिक हुन् । वर्षभरी बेवास्ता गरे पनि कम्तीमा एक दिन सहिद दिवसमा समेत सहिदका सालिकले फुलको थुंगो पाउन मुस्किल देखिएको छ । देशभर सहिद दिवस मनाइरहँदा सहिदका सालिकले एउटा फुलको थुंगोसमेत नपाउनुले सहिदको योगदानको अपमान भएको महसुस गर्छन् सहिद परिवार । 

सहिद कृष्णप्रसाद पौडेलका पुत्र हिमाल पौडेल सहिदलाई एक दिन मात्र नभई हरेक दिन सम्झनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सहिदलाई सम्झेर मात्र हुँदैन । सहिदले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ । के सपना देखेर प्राणको आहुति दिएका थिए ? के प्राप्ति भइरहेको छ ? राजनीतिक दलहरूले मूल्याङ्कन गर्न सक्नुपर्छ ।’

देशमा तीन तहका सरकार छन् । विभिन्न शासन व्यवस्था परिवर्तनका भएर संघीयता कार्यान्वयनमा आएको छ । त्यसका लागि हजारौं सहिद बनेको भुलेका छन् तीनै तहका सरकारले ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले कोरोना संक्रमणका कारण कार्यक्रम गरेर सहिद दिवस मनाउन नपाएको बताए । उनले भने, ‘हामीले सहिदको योगदान बिर्सन्न हुँदैन । एक दिन मात्रै होइन हरेक दिन स्मरण गनुपर्छ । तर यसपालि कोरोना कहरले गर्दा कार्यक्रम गरेर मनाउन पाएनौं’, उनले भने ।

व्यास नगरपालिका–८ पुलिमराङ अर्थात् सहिद गाउँमा भने सहिदको योगदानको चर्चा गर्दै दिवस मनाइएको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको क्रान्तिमा होमिएर पुलिमराङका ६ जनाले सहादत प्राप्त गरेका थिए । आइतबार व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने लगायतका जनप्रतिनिधि पुलिमराङस्थित सहिद स्मारक पार्कमा पुगेर सहिदको  सालिकमा माल्यार्पण गरे । 

सहिदका गाउँलेलाई सम्बोधन गर्दै मेयर न्यौपानेले गुरुयोजना अनुसार सहिद स्मृति पार्क निर्माणलाई सहयोग गर्ने बताए । पुलिमराङ चिनाउन व्यासले वर्सेनी अल्ट्रा म्याराथन गर्दै आइरहेको थियो । यसपालि कोरोना कहरले हुन नपाएको म्याराथन अवस्था सामान्य भएमा फागुन ७ गते प्रजातन्त्र दिवसमा गर्ने उनको प्रतिबद्धता छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै