• २०८१ बैशाख ७ शुक्रबार

माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

kharibot

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिए ।

बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले गर्भवतीहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको गहतराजले बताए । घरघरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्शअनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका उनले जानकारी दिए ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनुभएका महिलाहरुलाई अहिलेसम्म फर्काउनु नपरेको उनले बताए । बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाइने समस्याले गर्भवतीलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले त्यो समस्या समाधान भएको वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।

गत वर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङ बताउछन् । विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरेका,अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम दिएकोले सेवा प्रभावकारी भएको छ भने स्थानीयवासीलाई सहज पनि भएको छ ।

माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरका लागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए । ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनका लागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै