• २०८१ बैशाख ७ शुक्रबार

हरि खड्काविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

kharibot

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।

अख्तियारको विज्ञप्ति: 

महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको हुँदा नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै