• २०८१ बैशाख १३ बिहीबार

सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँ र कम मनाङमा: ३२ जिल्लामा वृद्धिदर ऋणात्मक

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४ प्रतिशत) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) रहेका छन् ।

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा (३.३२ प्रतिशत) र सबैभन्दा कम रामेछाममा (–१.६५ प्रतिशत) रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ ।

ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ । सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै