• २०८१ बैशाख ८ शनिबार

सीमामा खटिएका स्वास्थ्यकर्मीको बिजोग, संक्रमित हुँदा पनि काम गर्नुपर्ने बाध्यता

kharibot

धनगढी । भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यर्की आफै कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन् ।

सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्थासमेत नहुँदा उनीहरू समास्यमा परेका छन् । ‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफन्टा नाकास्थित स्वास्थ्य विटका संयोजक गणेश साउँदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन् ।’ 

सीम नाकामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जानकारी गराइएको उनले बताए । सीमाको व्यवस्थापन गर्ने तीनवटै निकायलाई जानकारी गराइएको भए पनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए ।

‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरु सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ ।’ 

साउद आफैलाई समेत कोरोना संक्रमण भएको छ । तीन दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा आफैलाई कोरोना पोजेटिभ देखिएको उनले बताए । कोरोना पोजेटिभ देखिए पनि नाकामा काम गर्ने जनशक्ति नहुँदा आराम गर्न नपाइएको उनले बताए । ‘पखाला चलेको छ, ज्वरो आएको छ, शरीरका जोर्नी दुखेर धेरै समस्या भइरहेको छ,’ उनले भने, ‘श्वास फेर्न पनि केही समस्या भइरहेको छ, तर पनि काम गर्न छोडेको छैन, वैकल्पिक जनशक्ति नभएका कारण बाध्य भएर काम गर्नुपरेको छ ।’

उनले सामान्य अवस्थामा होटेलमा खाना खाने गरेको बताए । ‘तर संक्रमित भएपछि होलटमा जान मिलेन,’ उनले भने, ‘घर जाँदा पूरै परिवार जोखिममा पर्छन् भन्ने डरले सीमाकै सुरक्षा भवनलाई आइसोलेसन बनाएर बसिरहेको छु, यता बस्न धेरै समस्या छ, न त खाने व्यवस्था छ, न त राम्रो बस्ने व्यवस्था नै ।’

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बारेमा ढिलो गरी मात्रै जानकारी पाएको बताए । ‘उहाँहरूलाई दुई चार दिनअघि नै कोरोना संक्रमण भएको रहेछ,’ मेयर थापाले भने, ‘मैले मंगलबार मात्रै जानकारी पाए, अब व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गछौं ।’

आफू राष्ट्रिय सभाको निर्वाचनका लागि धनगढी रहेको बताउँदै उनले फर्केपछि मात्रै उनीहरूको थप व्यवस्थापन गरिने बताए । तर कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीलाई फोन गरेर आवश्यक पर्ने सामग्री खरिद गर्न भनिएको उनले बताए ।

‘तत्काल खानका लागि समस्या नहोस् भनेर नजिकैको पसलबाट सामान लगेर बिल ल्याउन भनिएको छ,’ मेयर थापाले भने, ‘अन्य व्यवस्थापन भोलि गछौं, थप स्वास्थ्यकर्मी चाहिए हामी पठाउन तयार छौं ।’ मेयर थापाले स्वास्थ्यकर्मीलाई जोखिम मोलेर काम गर्न नदिइने बताए । ‘हामीसंग नगरपालिकामा अझै १९–२० जना स्वास्थ्य कर्मचारी छन्,’ मेयर थापाले भने, ‘उनीहरूलाई सीमामा खटाएर भए पनि त्यहाँ कार्यरत कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई आराम दिइने छ, त्यसका लागि उहाँहरूसँग परामर्श हुने छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै