• २०८१ बैशाख १४ शुक्रबार

१९ वर्षको उमेरमा विमानबाट एक्लै संसार घुम्ने पाइलट

kharibot

काठमाडौँ । १९ वर्षीया महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर संसारभर यात्रा गरेकी छन् । उनी यस्तो गर्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन् । उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक-वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो ।

सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रूसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि बस्नुपरेको थियो । बेल्जियम फर्किएपछि उनलाई विमानस्थलमा परिवार, पत्रकार र समर्थकले न्यानो स्वागत गरेका थिए । उनको विमानसँगै बेल्जियमको रेड डेभिल्स एरोबेटिक डिस्प्ले टोलीका चारवटा विमान पनि त्यहाँ अवतरण गरेका थिए ।

विमानबाट ओर्लिएपछि उनले आफूलाई बेलायत र बेल्जियमको झण्डामा बेरेकी थिइन् । विमानस्थलमा उनले यो साँच्चै पागल अनुभव भएको बात्येकी थिइन् ।

पत्रकार सम्मेलनमा उनले ५१ हजार किलोमिटर उडानको चुनौती पूरा गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले भनिन्, "यात्रामा सबैभन्दा ठूलो कठिनाइ साइबेरियामा आयो । त्यहाँ धेरै जाडो थियो । यदि इन्जिन त्यहाँ रोकिएको भए बाँच्न धेरै गाह्रो थियो । म आफ्नो अनुभव मानिसहरूलाई बताउन चाहन्छु । साथै म चाहन्छु कि रोमाञ्चक चीजहरू गर्न आफुलाई प्रोत्साहन दिनुहोस् । तपाईसँग मौका छ भने त्यसो गर्नुहोस् ।"

अल्ट्रालाइट विमानमा संसारको यात्रा गर्ने पहिलो महिला

गत वर्ष अगस्ट १८ बाट सुरु भएको आफ्नो यात्रामा उनले पाँच महादेशका ६० भन्दा बढी ठाउँमा बिसौनी गरे । ब्रिटिश-बेल्जियम पृष्ठभूमि जारा रदरफोर्डका आमाबाबु दुवै पाइलट हुन् । उनले आफू अन्य केटीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित क्षेत्रमा लाग्न प्रोत्साहित गर्न चाहेको बताइन् ।

जाराका अनुसार यो यात्रालाई सफल बनाउन प्रायोजकहरुको राम्रो साथ मिलेको छ । थप रूपमा, बेलायतको ह्याम्पशायरमा रहेको उनको स्कूल र शार्क अल्ट्रालाइट विमान निर्माण गर्ने स्लोभेनियाली कम्पनी शार्कले पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो ।

जारा रदरफोर्ड अघि, विश्वभर एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला अमेरिकाकी शाइस्ता वाज थिइन्। उनले करिब पाँच वर्षअघि २०१७ मा यो काम गर्दा उनी ३० वर्षकी थिइन् । तर, पुरुषको हकमा यो कीर्तिमान हाल १८ वर्षीय पाइलट ट्राभिस लुडलोको नाममा छ । जाराले यसको बारेमा आफ्नो वेबसाइटमा लेखेकी छिन् कि उनीहरूले पुरुष र महिला पाइलटहरू बीचको दूरीलाई पहिलेको ११ वर्षबाट केवल ११ महिनामा घटाउने लक्ष्य राखेकी थिइन् ।

यो चुनौती पूरा गर्ने सबैभन्दा कान्छी महिला हुनुका साथै जारा रदरफोर्ड अल्ट्रालाइट विमानमा विश्व परिक्रमा गर्ने पहिलो महिला पनि बनेकी छिन् । योसँगै उनी विमानबाट एक्लै विश्व घुम्ने पहिलो बेल्जियम नागरिक पनि बनेकी छिन् ।

यात्रा अघि, यो मिसन पूरा गर्न तीन महिना लाग्ने अपेक्षा गरिएको थियो । तर धेरै ठाउँमा खराब मौसमका कारण उनको यात्रा ढिलो भएको थियो । साइबेरियामा उनको रुसको भिसा पनि सकिएको थियो ।

जब उनी अलास्काको नोम सहर पुगेकी थिइन्, ३९ उडानमध्ये तीनवटा मात्र समय तालिकामा सञ्चालन भइरहेका थिए । त्यसैले उनले त्यहीँ कुर्नुपरेको थियो ।

वास्तवमा, उनको राहदानी ह्युस्टनमा रूसी वाणिज्य दूतावासमा एयरमेल मार्फत पठाइएको थियो । तर नयाँ भिसाको म्याद पनि बेरिङ स्ट्रेट पार गर्नुअघि नै सकिएको थियो ।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा उनले भनिन्, "यहाँको तापक्रम -१८ डिग्री छ र मेरा हातहरू साँच्चै चिसो छन् । म यहाँ करिब एक महिनादेखि आएको छु ।" उनले भनिन्, "मैले विमान उड्नका लागि तयार राखेको छु । यहाँको मौसम राम्रो छैन । जहिले पनि म छोड्न चाहन्छु, कहिले रुसमा, कहिले नोममा, मौसम निकै खराब हुन्छ ।" जारा साइबेरियामा हुँदा, त्यहाँको तापक्रम सतहमा -३५ डिग्री र हावामा -२० डिग्री पुग्यो । र त्यसपछि एक मेकानिकले भयानक चिसोमा इन्जिन न्यानो राख्न विमानमा जाने हावा बन्द गरे ।

धेरै प्रयासको बावजुद, जारा एक हप्ताको लागि मगदानमा र त्यसपछि तीन हप्तासम्म अयानमा बसेकी थिइन् ।

सोही क्रममा इन्डोनेसियाको बन्दर उडारा रहाडी ओस्मान विमानस्थलमा मौसम खराब हुँदा विमानस्थलबाट बाहिर निस्कन आवश्यक कागजपत्र नहुँदा दुई रात त्यहीँ टर्मिनलमै सुत्नुपरेको थियो । क्रिसमस र नयाँ वर्षको अवसरमा यति धेरै कठिनाइ र घरबाट टाढा हुँदा पनि उनी इन्स्टाग्राममा पोष्ट गरिएको सन्देशमा मुस्कुराएको देखिएकी छिन् ।

यति मात्र होइन, उनले अर्को चुनौतीको सामना गर्नुपरेको छ । क्यालिफोर्नियाको जंगलमा लागेको आगोबाट फैलिएको धुवाँको बीचमा उनले आफ्नो विमान उडाउनुपरेको थियो । उनको विमान न्यू मेक्सिकोमा पिटोट ट्यूबको ब्लकका कारण दुर्घटनाग्रस्त भएको थियो । यसैबीच क्रिसमसको समयमा टायर फुटेपछि उनी सिंगापुरमै बस्नुपरेको थियो । जब उनी मेक्सिकोको भेराक्रुजको होटलमा थिइन्, उनले भूकम्पको झट्का पनि अनुभव गरेकी थिइन् । उनी भन्छिन्, "अचानक पूरै भवन हल्लाउन थाल्यो।  मलाई यति छिटो सिँढीबाट तल झरेको थिइनँ ।"

(बिबिसी हिन्दीबाट) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै