• २०८१ बैशाख १२ बुधबार

देउवा एकलौटी रुपमा अघि बढ्न खोजेको शेखर कोइराला समूहको निष्कर्ष

kharibot

काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ । 

उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । 

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । 

'निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ' भर्चुअल बैठकमा सहभागी एक नेताले भने, 'यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।'

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो । 

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् । 

सभापति देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको वेवास्ता गरेको भन्दै आलोचना भएको थियो । 

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै