• २०८१ बैशाख १४ शुक्रबार

वन क्षेत्रको जग्गा हडप्न होडबाजी !

kharibot

बारा । पछिल्लो समय बाराको निजगढ नगरपालिका-१० लालमा वन क्षेत्रको जग्गा हड्प्नेहरूको होडबाजी चर्को चलेको थियो । डिभिजन वन कार्यालय, बारा र मातहतका निकाय रतनपुरी सब डिभिजन वन कार्यालयले अतिक्रमित जमीन पटक—पटक हटाउने गरे पनि आफ्नों अनुकूल पारेर घेराबार सार्दै अतिक्रमण बढेको हो ।

यसअघि जग्गा हड्प्नेहरूले आँफूसँग प्रमाण छ भन्दै अधूरो प्रमाण देखाए पछि निजगढ नगरपालिका र वडा कार्यालयले समेत अतिक्रमण हटाउँन पटक—पटक जानकारी गराए पनि बेवास्ता गरे पछि सब डिभिजन वन कार्यालय, रतनपुरीका प्रमुख एवंम् सहायक वन अधिकृत रविकान्त श्रीवास्तवले माथिल्लो निकायको निर्देशन अनुसार नदी उकास जमीन कब्जा वा अतिक्रमण नगर्न भन्दै सरोकारवाला निकाय र व्यक्तिलाई जानकारी गराउँदै घेराबार हटाएका थिए । 

तर, वन कर्मचारीको निगरानीमा कमी आउन थाले पछि मौका छोप्दै पुनः अतिक्रमण भइरहेको हो ।

भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगद्वारा खटेको सर्भे टोली बस्तीमा पुगे पछि त्यस्ता प्रकृतिको जमीन हत्याउँन सकिन्छ भन्ने मनसायले नदी उकास र वन क्षेत्रको जमीन हडप्ने कोशिश गर्दै घेराबार लगाउँने गरिएको स्थानीय स्रोतले बताएको छ ।   

सरकारले सुकुम्बासी समस्या समाधान गर्ने गरी अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउँने उद्देश्यले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर प्रक्रियागत रूपमा सर्भे टोली खटाएको छ ।

सर्भे टोलीले सरकारले निर्देशन दिएका क्षेत्राधिकार भन्दा बाहिर जमीनको नाप, नक्शा गर्न पाउँदैन । उक्त निर्देशिकामा तोकिए अनुसार सुकुम्बासी र अव्यवस्थित बसोवास गर्नेहरूले ३ र ४ नम्बरको फारम भरी सम्बन्धित गाउँपालिका, नगरपालिकाको वडा कार्यालयको सिफारिशसहित आवश्यक कागजात पेश गर्नु पर्ने हुन्छ । 

सर्वे टोलीले निजगढ नपाको सिगौल, लाल र रतनपुरीमा झन्डै एक महिना देखि नापी गरिरहेका छन् ।

सर्भे टोली प्रमुख सुजित कुमार यादव र लाल सर्भे टोली प्रमुख अभिषेक पटेलले दशक देखि जोतभोग, खनजोत गरेका विवाद रहित जमीनमा मात्रै काम गर्ने गरेको, जसमा निर्देशिकाको समेत पालना गर्दै काम अघि बढाएको बताएका छन् ।

यस अघि निजगढ नगरपालिका वडा नं.१० लालमा करिब १० हेक्टर अतिक्रमित जग्गा मध्ये २ हेक्टरको घेराबार, तारबार हटाइसकेको छ भने, बाँकी हटाउँने तयारीमा रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख एवंम् डिएफओ मन्जुर अहमदले बताएका छन् । 

वन कर्मचारीले जमीन छोड्न पटक पटक सम्झाउँदा–बुझाउँदा पनि अटेर गर्दै अतिक्रमण गर्न नछोडे पछि सुरक्षाकर्मी सहिँत वन कर्मचारीहरू पुगेर यस अघि घेराबार हटाएका थिए ।

गत बिक्रम सम्बत् २०२२ साल जिल्ला भूमि सुधार कार्यालय, बाराले नापी–नक्शा गरी छुट्याएको जग्गामा समेत घेराबार गर्दै नदी उकास वनको जमीन कब्जा हुँदै आएको स्रोतले जनाएको छ । 

भू-माफियाहरूले लाल खोलाको तटबन्धमा वन कार्यालयको निर्देशनमा स्थानीय सामुदायिक वन समूहले बाँस रोप्न रोपेको स्थान, फूटबल चउर लगायत स्थान सम्म अतिक्रमण बढाएका छन् ।

लाल बस्तीको पश्चिम—दक्षिणमा पर्ने लालखोलामा यस अघि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, परवानीपुरले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण अन्तर्गतको बजेटबाट तटबन्ध गरेसँगै नदी उकास र निजगढ–काठमाण्डौं फास्ट ट्र्याक र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अघि बढ्दै गर्दा खाली भएको वन क्षेत्रमा गिरोहले आँखा गाडेको छ ।

गत २०५०/०५१ साल अघि खोलाको बाढी बस्तीमा पस्ने त्रासले सुरक्षित स्थान भनी साबिक रतनपुरी वडा नं.९ लाल पूर्वको खेल्ला चउरमा बस्न दिए पछि उनीहरू त्यहाँ बसेका थिए । अहिले तिनै मध्ये केहीले नदी उकास जमीनमा आँखा गाडेका छन् ।

त्यस क्षेत्रमा २०५७/०५८ सालमा जिल्ला वन कार्यालय, बाराले करिब ४० हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरे पनि त्यसलाई मास्दै हड्प्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै