• २०८१ बैशाख १३ बिहीबार

सुनाइका मुख्य चार प्रक्रिया !

kharibot

सून्नु आधारभूत सिकाइ सीप हो । पहिलो सीप हो । सूचना प्राप्त गर्ने,अर्थको रचना गर्ने , प्रभावकारी संचारमा भाग लिने र प्रतिक्रिया दिने  सक्रिय र महत्त्वपूर्ण  प्रक्रिया नै सुनाइ हो ।

सुन्नु स्वाभाविक र प्राकृतिक  क्रिया हो । यो कुनै नैतिक र वयस्क  निर्मित सामाजिक नियम मात्र होइन् तथापि स्थापित गर्न कोशिश गरिन्छ ।  परिणाममा बालकले सुन्दैन सुन्ने धैर्य, ध्यान र एकाग्रता गुमाउदै जान्छ । जो अहिले यत्रतत्र देखिदैछ। सामाजिक जगतमा सुनेपछि बोल्नुपर्छ बोल्दा शुद्ध उचारण गर्नुपर्छ,वाक्य गठन,अर्थ निर्माण सहि हुनुपर्छ भन्ने जुन बनिबनाउ मान्यता छ त्यो नै बालकको सुनाइ सीप विकासको मुख्य चुनौती हो र बाधक हो ।

बस्तु,घटना र बाताबरणका तत्व र प्रक्रिया हेर्ने काम आँखाले स्वतः गर्छन्, बोल्नेकाम मुखले, स्पर्श गर्ने काम छालाले,लेख्ने हातले र सुन्ने कानले तर यी सबको  नियन्त्रण र निर्देशन मस्तिष्कबाट प्राप्त हुन्छ। मस्तिष्कसँगको तादाम्यता नहुदा सम्म यी कार्यहरु फगत पानीका फोका र हावाका पदचाप जस्तै हुन्छ्न् । टुंगोले कुनै काम हुदैनन्।बिषयबस्तुमा दिमाग,कान र मनको संयोजन गर्दै ध्यान दिएर समयको खर्च नगर्दासम्म प्रभावकारी सुनाइ सीप विकास  हुदैन् ।

प्रायः शिक्षकहरु केटाकेटीलाई चूप लगाउनु सबैभन्दा जरूरी कुरा हो, नत्र तिनले केही सिक्न सक्तैनन् । केही शिक्षकहरु त मेरो क्लासमा विद्यार्थी  हल्ला नगरी चुपचाप बस्छ्न भन्दै मख्ख पर्छन् ।  उनिहरु कान ठाडो पार्न लगाउनु,बोर्ड्तिर हेर्न  लगाउनु,चूप लगाउनु सुनाइ सिपको तयारी ठान्छ्न् तर कान र ध्यान तथा कान र दिमागको सम्बन्धबारे बुझेका हुदैनन् । परिणाम हेरेपछि निराश हुन्छ्न् । खासमा सुनाइ सिपको मुख्य आशय पनि यहि सम्बन्ध हो।सुनाइको उत्सुकता,रुचि र आनन्दले यो स्थापित गर्छ भन्ने न्युनतम कुरा पनि नबुझ्नु दु:खद कुरा हो । सतही कुराको मात्र ध्यान दिनेलाई गाठी कुरा बुझाउँन सार्‍हो छ ।

शिक्षकलाई लाग्छ कि मेरा कुरा सुनेन भने विद्यार्थीहरुले केही सिक्दैनन् । उदण्ड र अनुशासनहिन हुन्छन्। महत्वपूर्ण कुरा छुटाउँछन् । नसुन्नु भनेकै  सरको बेइज्जती र व्यवास्था गर्नु हो भन्ने बुझाइ शिक्षकको हुन्छ। अधिकांस अभिभावकहरुको सोचाइ पनि त्यस्तै हुन्छ । किन होला -- सुन्नु र नसुन्नु बालकको जैविक अधिकार र स्वभाविक क्रिया हो भन्ने कुरा नबुझेको ? किन नबुझेको --त्यो त शिक्षक र अभिभावकको नियन्त्रणमा छैन् बालकको कान र दिमागको कुरा हो भनेर । बालकको लागि महत्त्वपूर्ण कुरा छ तर बालक सुन्न मानिरहेको छैन् तथापि उसलाई त्यो तर्फ आकर्षित गर्नु एउटा कला हो । यो शिक्षक र अभिभावकसगँ हुनु पर्छ ।

प्राकृतिक आवाज सुन्नु,छुट्याउनु र अर्थ दिनु सुनाइ सिपको एक पक्ष भयो भने सामाजिक हिसावले बोल्नको लागि तयारी हुनु अर्को पक्ष भयो । सुनाइ सीप विकासले सामाजिकिकरणको लागि आधार तय गर्ने गर्छ । ध्यान दिने, बुझ्ने,सम्झने,मुल्यांकन गर्ने र प्रतिक्रिया दिने जस्ता प्रक्रियाहरु सुनाइ सिपमा हुन्छ्न् । यदि स्रोताले शान्त रहने,चाख देखाउने,जोड दिने,आँखाको सम्पर्कमा रहने,नोट लेख्ने,रचनात्मक तवरले सुन्ने,सम्पूर्ण मानसिक शक्ति लगाउने, पृष्ट्पोषण दिने हो भने सजिलै सुनाइ सीप विकास हुन्छ। समाजसँग सजिलोसँग सम्बन्ध स्थापना गर्न सकिन्छ।आफ्ना बिषयहरु अभिव्यक्त गर्न कुनै कठिनाइ हुन्न । भनाइ नै छ --जो धेरै सुन्छ  ऊ कम बोल्छ तर उक्त बोली दमदार हुन्छ । ऊसँग तथ्य र तर्क हुन्छ।गहिरिएर हेर्दा सुनाइ सीप अन्तर्गत चार प्रकृया स्पष्टरुपबाट उल्लेख गर्न सकिन्छ ।

१) क्रमको ध्यान:

ध्यान अति आधारभूत कुरा हो।सुन्नुपर्ने व्याक्ति अर्थात् बक्ताको कुरा अघि बढ्दै जाँदा उसले पहिले भनिएका कुरा नबिर्सीकन तिनलाई मनमा सिलसिलाबद्ध रूपमा मिलाउँदै जानुलाई नै क्रमको ध्यान भनिन्छ । एकल शब्द ध्यानपूर्वक सुन्नुले क्रमको ध्यान,अर्थको रचना,धैर्य र प्रतिक्रिया सम्मलाई बुझाउँछ । पछाडिका वाक्य सुन्दा अगाडि वाक्यको अंश नबिर्सिने र त्यससँग सम्बन्धित गर्दै जाने सीप यस अन्तर्गत  पर्छ। यो सुनाइमा एकाग्रताबाट मात्र संभव हुन्छ ।

बास्तवमा ध्यानपूर्वक सुन्नु एउटा सम्पूर्ण सीप हो, जसमा सुनिरहिएका कुराको क्रमको बोध, अर्थको संयोजन,संयम र प्रतिक्रियाको विकासले एकीकृत काम गर्छन् । यी चारैवटै क्रिया सामाजिक अन्तरक्रियात्मक छन्, अर्थात् यिनका माध्यमबाट हामी अरूसँग सम्बन्ध निर्माण गर्छौं।त्यति मात्र होइन प्राकृतिक आवाज,संकेत र परिस्थितिलाई सुनेर बुझेर अर्थ र परिणाम आंकलन गर्छौं। मसिनो गरि सुन्दा हाम्रो अनुभवले यो संभव हुन्छ। यी कुराको तात्पर्य के पनि हो भने, सुनाइको क्रिया समाजको जीवनमा व्याप्त नियम र प्राकृतिक नियम ,क्रिया र प्रक्रिया अन्तर्गत संचालित हुन्छन् ।

२) अर्थको रचना:

महत्त्वपूर्ण कुरा भनेको अर्थको रचना हो।बक्ताले भन्न खोजेको अर्थ र स्रोताले बोध गरेको अर्थ एउटै हुनु आवश्यक छ। सुन्नुपर्ने व्याक्ति अर्थात् बक्ताको  कुरामा प्रयोग गरिएका शब्दहरूलाई मनमनै अर्थ,रूप र भावमा अनूदित गर्दै जानुलाई अर्थको रचना भनिन्छ। यसमा बुझ्ने र सम्झिने प्रक्रियाहरु हुन्छ्न् । त्यसलाई क्रमिक रुपमा फल्लो गर्नु पर्छ । यसमा बक्ताको वाक्य वा अभिप्रायको अर्थ र स्रोताले निर्माण गरेको अर्थबिच एकरुपता कायम भयो भने मात्र सहि सुनाइ हुन्छ तर अहिले शब्द र अर्थको बहुप्रयोगले बुझाइ छुट्टै पनि हुनसक्छ । अर्थ का माध्यम हुन्छन्— शब्द । तिनैले बोधको ढोका खोल्छन् । कथा श्रवणले शब्दको अर्थ, त्यसको गहिराइ र व्यापकतासँग थप परिचीत हुन गहन भूमिका खेल्छ। त्यसैले बालकको लागि कथा सुन्नु बहुत लाभप्रद हुन्छ । सुन्दै जादा अर्थको रचना गर्ने,धैर्य रहने,बौद्धिक क्षमतामा अभिवृद्धि हुँदै जान्छ ।

३) संयम:

सुन्नुपर्ने व्याक्ति अर्थात् बक्ताको बीचमा अर्काको कुरा काटेर आफ्नो कुरा भन्ने लोभ नियन्त्रण गर्नुलाई यहाँनेर संयम भनिन्छ। संयम असल जीवनशैली एक उत्कृष्ट गुण हो जुन सुनाई सिपमा राम्रोसँग प्रयुक्त हुन्छ । सुनिरहेको बेला सुन्ने कुरा नटुङिगदै बिचैमा प्रश्न सोध्नु र आफ्नो बिचार राख्ने लालसा र हतारोपनले सुनाइमा बाधा पैदा गर्छ।यो पनि सत्य हो कि  कन्टेन्टले ध्यान खिचेको छ वा त्यसैमा केन्द्रित छ भने संयमता प्रकट हुन्छ । त्यसैले कन्टेन्ट,धैर्य र समयको तालमेल मिलाउनु पर्छ। धैर्यवान,कम बोल्ने र शान्त रहने व्यक्तिले स्वभावैले बढी सुन्छ ।

तर अहिले समस्या यसैमा छ।को संयम रहने र ? तुरुन्त प्रतिक्रिया दिनु अहिलेको मानिसको पर्याय जस्तै देखिन्छ । डिजिटल र स्मर्ट्नेस ठान्ने प्रवृत्तिले यस्तो हुन गएको हुनुपर्छ ।

४) प्रतिक्रिया :

सुन्नुपर्ने व्याक्ति अर्थात् बक्ताको कुरा टुंगिएपछी स्रोताले बिषय वा विचारको मूल्यांकन गर्दै आफ्नो कुरा राख्ने कार्यलाई प्रतिक्रिया भनिन्छ । प्रतिक्रियाले सुनाइको स्तर, व्यापकता, वास्तविकता र उत्कृष्टताको निर्धारण गर्छ भने वक्ताको लागि पृष्ट्पोषण प्राप्त हुन्छ । यहाँनेर  सुनेका कुराको आन्तरिकिकरण गरेर स्वबुझाइको स्तरमा अभिव्यक्ति प्रकट हुन्छ । स्रोताले सहमत असहमतका बुदाँ तथा तथ्य प्रस्तुत गर्छ यो वैज्ञानिक हुन्छ । यो नै समाज र प्रकृतिका नियमहरुसँग परिचित,स्वीकृत  र परिस्कृत हुने अवस्था बन्छ । आफ्नो पहिचानको लागि धारणा राख्ने सुन्दर अवसर मिल्छ । त्यसको लागि ध्यान दिनु अर्थात् क्रमको ध्यान,अर्थको रचना,संयम र प्रतिक्रियाको संयोजन आवश्यक हुन्छ । भन्दै भन्छ्न्- नी धेरैका कुरा सून्नु आफ्नो विचार बनाउनु र त्यो अनुसार अगाडि बढ्नु ।

निष्कर्ष :

सुनाइ सिपका भित्री  चार तत्व; क्रमको ध्यान, अर्थको रचना, संयम र प्रतिक्रिया । श्रोतालाई वाक्यको क्रमको अटूट बोध भइरहने, उसले शब्दहरूलाई रूप र भावसँग जोडेर निरन्तर अर्थ निर्माण गरेर बुझ्ने र बीचमा स्वयं बोल्ने इच्छा माथि नियन्त्रण कायम गर्दै अन्त्यमा प्रतिक्रिया दिने भएमा सुनाइ उत्कृष्ट हुन्छ । यदि कन्टेन्टमा उपयुक्त शब्द चयन,उत्कृष्ट शैली,मीठो स्वर,अर्थबोध र उत्सुकता निमार्णको सहि प्रक्रिया छ भने बालकको ध्यान  स्वतह आकृष्ट भैहाल्छ र ध्यान दिएर सुन्छ । परिमाणमा सुनाइ सिपको विकास हुन्छ । यसर्थ सुनाइ सीपको प्रभावकारीता स्रोता र वक्ता दुबैमा निर्भर हुने कुरा भयो । सुनाइ सीपमा वक्ताको कुरामा स्रोताले ध्यान दिने, बुझ्ने, सम्झने, मूल्यांकन गर्ने, पृष्ट्पोषण दिने जस्ता प्रक्रियाहरु मसिनो गरि  संलग्न हुने नै भए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै