• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलको मेगा अक्सनमा नेपालका १५ सहित १२ सय १४ खेलाडी दर्ता

kharibot

काठमाडौँ । यस वर्षको आईपीएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा हुँदैछ । शनिबार, भारतीय क्रिकेट कन्ट्रोल बोर्डले  मेघा अक्सनका लागि कुल १२ सय १४ खेलाडीहरूको सूची जारी गरेको छ ।

यी खेलाडीमध्ये ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन् । दुई दिनसम्म चल्ने यस मेगा लिलामीमा १० टोलीको सहभागिता रहनेछ । लिलामीमा २७० क्याप्ड खेलाडी, ९०३ अनक्याप्ड खेलाडी र ४१ एसोसिएट देशका खेलाडी दर्ता भएका छन् ।

यसपटक धेरै ठूला खेलाडीले प्रतियोगितामा भाग लिने छैनन् । वेस्ट इन्डिजका लेजेन्ड क्रिस गेलले लिलामीमा आफ्नो नाम दर्ता गरेका छैनन् । योसँगै अस्ट्रेलियाका मिचेल स्टार्क, इंग्ल्याण्डका साम कुरान, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिस वोक्सले पनि लिलामीमा आफ्नो नाम समावेश गरेका छैनन् ।

यदि प्रत्येक फ्रेन्चाइजीले आफ्नो टोलीमा २५ खेलाडी छानेमा लिलामीबाट २१७ खेलाडीहरू खरिद गरिनेछ । जसमध्ये ७० विदेशी खेलाडीको नाम हुनेछ । सबै टोलीले आ–आफ्नो खेलाडीको कोटा पूरा गर्ने विश्वास गरिएको छ । यस्तो अवस्थामा लिलामीमा दुई सयभन्दा बढी खेलाडीको नाममा बोली लाग्ने सम्भावना छ ।

१७ भारतीय खेलाडी र ३२ विदेशी खेलाडीको आधार मूल्य २ करोड रहेको छ ।

मेगा लिलामीका लागि जारी गरिएको २ करोडको आधार मूल्यको सूचीमा ४९ खेलाडी रहेका छन् । यस सूचीमा १७ भारतीय छन् भने ३२ विदेशी खेलाडी छन् । भारतका रविचन्द्रन अश्विन बाहेक श्रेयस अय्यर, शिखर धवन, इशान किशन, सुरेश रैनाको नाम यो लिस्टमा छ ।

विदेशी खेलाडीमा डेभिड वार्नर, कागिसो रबाडा, ड्वेन ब्राभो बाहेक प्याट कमिन्स, एडम जाम्पा, स्टिभ स्मिथ, शकिब अल हसन, मार्क वुड, ट्रेन्ट बोल्ट र फाफ डु प्लेसिस जस्ता ठूला नाम छन् । फ्रेन्चाइजीहरूद्वारा सर्टलिस्ट गरिएका नामहरू फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुने मेगा लिलामीमा बोलपत्रको लागि राखिनेछन् ।

आईपीएल २०२२ का लागि ३३ खेलाडीलाई रिटेन गरिएको छ । ८ टोलीले २७ खेलाडीलाई रिटेन गरेका छन् । योसँगै आईपीएलका २ नयाँ टोलीले ६ खेलाडी आफ्नो टोलीमा थपेका छन् । केएल राहुललाई लखनउले १७ करोडमा आफ्नो टोलीमा थपेको छ ।

योसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि बनेका छन् । यसअघि आरसीबीका पूर्व कप्तान विराट कोहलीले पनि २०१८ देखि २०२१ सिजनसम्म मात्र १७ करोड कमाउने गरेका थिए । लखनउले पनि केएललाई आफ्नो टोलीको कप्तान बनाएको छ ।

सन् २०१८ पछि आईपीएलको पहिलो ठूलो लिलामी हुन लागेको छ । आइपिएल २०१८ को मेगा लिलामीमा कुल ८ टोली थिए । यस पटक लिलामीमा १० टोलीले भाग लिनेछन् । १० टोलीले मिलेर ३३ खेलाडीमा ३३८ करोड रुपैयाँ खर्च गरेका छन् ।

विदेशी खेलाडी कुन देशबाट कति ?

आइपिएलको मेगा अक्सनमा नेपालबाट १५ खेलाडी दर्ता भएका छन् । तर उनीहरुको नाम भने खुलाइएको छैन । त्यस्तै अफगानिस्तानबाट २०, अस्टेलियाका ५९, बंगलादेशका ९, इङल्याण्डका ३०, आयरल्याण्डका ३, न्यूजिल्याण्डका २९ खेलाडी दर्ता भएका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, वेस्टइन्डिजका ४१, जिम्बाबेका २, भूटानक एक, नामिबियाका ५, नेदरल्याण्डका १, ओमानका एक, स्कटल्याण्डका एक, युएईका एक र अमेरिकाका १४ खेलाडी मेगा अक्सनका लागि दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै