• २०८१ बैशाख ११ मंगलबार

उत्तर कोरियाले अहिले किन मिसाइल प्रक्षेपण गरिरहेको छ ?

kharibot

काठमाडौँ । उत्तर कोरियाले असामान्य परिस्थितिमा पनि लगातार मिसाइल परिक्षण गरिरहेको छ । उत्तर कोरियाले दुई छोटो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू जापानको तटबाट पानीमा प्रहार गरेको सोमबार बताइएको छ । जुन उत्तर कोरियाले परीक्षण गरेको पछिल्लो मिसाइल हो ।

क्षेप्यास्त्रहरू सोमबार बिहान प्योङयाङ नजिकैको विमानस्थलबाट प्रक्षेपण गरिएको दक्षिण कोरियाको सेनाले जनाएको छ । जापानले पनि परीक्षणको पुष्टि गरेको छ ।

यो दुई हप्तामा उत्तर कोरियाले गरेको चौथो मिसाइल प्रक्षेपण हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ र कडा प्रतिबन्धहरू लगाएको छ । तर पूर्वी एसियाली राज्यले नियमित रूपमा प्रतिबन्धलाई अस्वीकार गर्दै परिक्षण जारी राखेको छ भने नेता किम जोङ-उनले आफ्नो देशको रक्षालाई बलियो बनाउने प्रतिबद्धता पनि दोहोराई रहेका छन् ।

शुक्रबार यसले रेल कारहरूबाट छोटो दूरीको ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको बताएको थियो, जबकि केही दिन अघि यसले हाइपरसोनिक मिसाइलहरू भएको दाबी गर्ने दुईवटा परीक्षणहरू गर्‍यो, जुन पत्ता लगाउन समेत गाह्रो हुने बताइएको छ ।

अहिले किन मिसाइल प्रक्षेपण गरिरहेको छ ?

जनवरीमा परीक्षण र यसको समयलाई असामान्य विश्लेषण गरिएको छ । उत्तर कोरियाले देशमा राजनीतिक रूपमा महत्त्वपूर्ण घटनाहरूलाई लुकाउन वा अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासमा आफ्नो असन्तुष्टिको संकेतको रूपमा आफ्नो मिसाइल प्रक्षेपण गरिरहेको देखिन्छ ।

उत्तर कोरियाले सामान्यतया क्षेप्यास्त्र क्षमता विकास गर्न र परिचालन तयारी कायम राख्न हतियारहरू प्रक्षेपण गर्छ, र पछिल्लो परीक्षणहरूले यसलाई पुष्टि गरेको देखिन्छ । तर एकै समयमा देशको आर्थिक संकटका बिच भैरहेका यी प्रक्षेपणहरूले दिएको संकेत रहस्यमय मानिएको छ ।

अहिले उत्तर कोरियाले खाद्यान्न अभाव र कमजोर अर्थतन्त्रसँग संघर्ष गरिरहेको बताइएको छ । कोरोनाका कारण नाकाबन्दी भएपछि यसको मुख्य आर्थिक र राजनैतिक सहयोगी चीनसँगको व्यापार बन्द गरेको छ ।

किमले केहि समयअघि मात्र देशले जीवन र मृत्युको संघर्षको सामना गरिरहेको बताएका थिए । साथै उनले हाइपरसोनिक मिसाइलहरू विकाससहित आफ्नो सैन्य शक्ति बढाउने वाचा पनि गरेका थिए । उत्तर कोरियाले आफ्नो आणविक हतियार त्याग्न चाहने अमेरिकासँगको वार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेदेखि नै रोकिएको छ । उत्तर कोरियाले लगातार परिक्षण जारी राखेपछि बाइडेन प्रशासनले गत हप्ता उत्तर कोरियामा पहिलो प्रतिबन्धहरू लगाएको थियो । अमेरिकाको प्रतिबन्धपछि उत्तर कोरियाले कडा प्रतिक्रिया दिने चेतावनी दिएको केहि दिनमा नै अर्को मिसाइल परिक्षण गरेको छ ।

अहिले खासगरी उत्तर कोरियाको सहयात्री मानिएको चीन शीतकालीन ओलम्पिक गर्ने तयारीमा छ भने यसका लागि कोरोनाले उत्पन्न गरेको चुनौतीका साथै अमेरिका लगायतका देशले यस ओलम्पिकलाई कुटनितिक बहिष्कार गर्ने भनेपछि थप दबाबमा रहेको छ ।

विश्लेषकहरुले बेइजिङ उत्तर कोरियाको लगातारको मिसाइल परिक्षणबाट विरोध नगरे पनि कम्तिमा खुशी पनि नहुने विश्लेषण गरेका छन् ।

केहि समय अघि मात्र उत्तर कोरियाले चाँडै नै चीनसँग व्यापार पुनः सुरु गर्न सक्ने रिपोर्टहरु आएका छन् ।साथै उत्तर कोरियाले दक्षिण कोरियामा आगामी मार्चमा राष्ट्रपतीय निर्वाचन हुन लागेकाले पनि त्यस अघि लगातार परिक्षण गरेर विश्वको ध्यान आफूतिर केन्द्रित गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।

(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै