मानसिक दरिद्रता !

kharibot

विपुल सिजापति

ज्ञान घोडा हो, विवेक लगाम र मान्छे सारथि । जो व्यक्ति आफूसँग भएको ज्ञानलाई विवेकले हाँक्न सक्दैन, ज्ञान र विवेकको जाँतोमा पिँधेर पढेको, सुनेको या देखेको कुराको मिहिन सत्य निकाल्न सक्दैन, त्यो व्यक्तिले केवल एउटा कुरा गर्छ, कसैको बिचार पत्याउँछ या पत्याउँदैन ।

कसैको बिचार पत्याए पनि एक जनाको  बिचारको दास हुन्छ र नपत्याए पनि अर्को एक जनाको बिचारको दास हुन्छ । हामी अधिकांश नेपाली यही नै गर्दै आएका छौँ, फलतः मानसिक रूपमा नै बिचारको दास भएका छौँ, आफ्नो छुट्टै बिचार, दर्शन र सिद्धान्त विकसित गर्न पछि परिरहेका छौँ । यसरी स्वतन्त्र सोच र प्राज्ञिक हुनुको साटो अरूको बिचार बोकेर हिँड्नुको कुनै उपलब्धि छैन ।

राजनीतिमा ढुङ्गा हान्नेहरू मूर्ख हुन्, तिनीहरू कहिल्यै सडकभन्दा माथि उक्लनै सक्दैनन् । शिरमा कात्रो बाँधेर बन्दुक बोक्नेहरू पनि बेवकुफ हुन्, यिनीहरू पनि परिवारलाई बिचल्लीमा छाडेर केवल नामको सहिद हुन्छन्, या शरीरमा गोली बोकेर भोकै बाँच्छन् र आफ्नो मूर्खतामा पछुताएर आजीवन कुण्ठा पोखेर बस्न बाध्य हुन्छन् । यिनीहरू आफ्नो ज्ञान र विवेक प्रयोग गरे सत्य जान्न खोज्दै नखोजी अरूको विचारमा अन्धो भएर दगुर्ने मानसिक दास हुनाले सडकमै रहन्छन्, शरीरमा गोली बोकेर बस्छन् या नामको मात्र सहिद हुन्छन् , शब्दले जतिसुकै तारिफ गरी टोपले पनि बिचल्लीमा रहेका परिवारका सदस्यले भने रातोदिन थुकिरहन्छन् । तर ढुङ्गा हनाउने र बन्दुक बोकाउनेहरूले मात्रै राज्यभोग गर्छन्, ती भनेका आफ्नो बिचार भएका हुन् र आफ्नो बिचार अरूलाई बोकाएर स्वार्थ सिद्धि गर्ने चलाख प्रयोगकर्ता हुन् । आँखा अगाडिको धरातलीय सत्य समेत नदेखेर बिचारको झोला बोक्नेहरू या त ज्युँदो लास हुन्, या भविष्यका फोगटिया सहिद ।

दर्शनले सोच बदल्छ, सोचले जीवन पद्धतिलाई । बुद्ध अनात्मवादका विचारक थिए र बुद्धको हाराहारीमै याज्ञवल्क्य आत्मवादी दर्शनका व्याख्याता । बुद्धले जसलाई प्रकृति भने याज्ञवल्क्यले त्यसैलाई आत्मा, आकाश ईश्वर भने । बुद्धले आफ्नो बिचारलाई सरल भौतिक उदाहरण दिएर प्रस्ट पारे, तथापि भने, “वत्स, यदि मैले भनेको कुरा पनि तिम्रो ज्ञान र विवेकले असत्य ठान्छ भने त्यो तिम्रो लागि असत्य नै हो, मैले भनेको भन्दैमा विश्वास नगर्नु ।“ याज्ञवल्क्यले आत्मा र ईश्वर प्रमाणीकरणको लागि अनेक बौद्धिक तर्कहरू दिँदै ब्रह्मलाई सत्य स्थापित गरे । यी दुवैको मृत्युपछि पूर्वीय दर्शनमा कुनै नयाँ दर्शन निस्केन । जति पनि विद्वानहरू निस्के ती सबैले यिनै दुई दर्शनको लास बोक्दै आए, लासमाथि आफ्ना महायान, बज्रयान, कुण्डलिनी, स्वर्ग नर्क आदि इत्यादि रङ्गिन बिचारका वस्त्र मात्र ओढाए, र यो रङ्गिन बिचार ओढाउने कार्य अद्यापि चल्दै छ । यिनै बिचार बोक्नेहरू “बुद्धम् शरणम् गच्छामी“ भनेर बुद्धको नाम जप्दै कुनै चमत्कारको आस र मोक्षको कामना गर्छन्, तर बुद्ध मार्गमा आफूलाई कहिल्यै डोर्याउदैनन्, बुद्ध वचनलाई कहिल्यै अपनाउँदैनन्, आत्मसात् गर्दैनन् ।

अधिकांश आत्मवादीहरू दर्शन बुझ्ने चासो राख्दैनन् या चाहँदैनन् । चासो राखुन् पनि कसरी १ जब आत्मवादको खोल ओढेका धूर्तहरूले सर्वसाधारणहरूलाई कर्मकाण्ड, चमत्कार र आशीर्वादबाट मोक्ष पाइने भ्रम छर्दै आएका छन् । यिनका भ्रम यति घिन लाग्दो भइसकेको छ कि सिरडि साइबाबा, सत्य साइबाबा या नेपालका बालयोगि आदित्य जस्ता भ्रामक देवहरू समेत जन्माएर तिनको नाममा अध्यात्मको मीठो माकुरा जाल फिँजाएका छन् र यो जालमा केवल तिनै व्यक्तिहरू परेका छन् या यसलाई अवलम्बन गरेका छन् जो आफूलाई बडो आध्यात्मिक या ज्ञानपूर्ण ठान्दछन् ।   

बाइसौँ शताव्दिमा पनि राजनीति र धर्मको बिचारबाट मानिस दास भइरहेका छन्, बिचार बोकाउन सक्षमहरू यसैको फाइदा उठाइरहेका छन् । प्रकृतिमा स्वच्छन्द रूपमा रमाएर हुर्किनु पर्ने बाल मस्तिष्कलाई बालापनमै धर्मको बिचार बोक्न बाध्य बनाइएकै कारण जेहादको नाममा द्विन टावर र मुम्बई आक्रमण भयो, अनाहकमा सर्वसाधारण मारिए, दोष लगाइयो साम्राज्यवादलाई, साम्राज्यवादको मोह बोक्ने फेरि धार्मिक नै देखिए ।

चाणक्यले भनेका थिए, यदि देशको युवा शक्ति गुम्बामा भिक्षु बनेर या मन्दिरमा जोगी बनेर रहने हो भने देशको रक्षा कसले गर्छ ? खेती कसले गर्छ ? यो प्रकृतिलाई निरन्तरता कसले दिन्छ ? देश, विश्व र प्रकृतिको निरन्तरताको लागि यिनका योगदान के ? गुम्बा र वेद विद्याश्रममा बालकलाई कोचेर मोक्षको मोह देखाउनु अपराध हो । अपराध नै हो, तर मानिसको मालिक बन्न चाहनेहरूले यही अपराध गर्दै आएका छन्, गरिरहेका छन् र तबसम्म गर्दै जानेछन् जबसम्म अरूका बिचार बोक्ने प्रवृत्ति ज्युँदो रहन्छ ।   

सत्य हो या होइन भनेर जान्ने प्रयास नगर्नु, सत्यको खोजी नगर्नु र आफ्नो ज्ञान र विवेकले नछानी सत्य मान्नु भनेको विचारको दास हुनु नै हो । यो मानसिक दरिद्रता नहटेसम्म मानिस विवेकी हुनै सक्दैन, अविवेकी मानिस सदैव परतन्त्र हुन्छ । हामी वास्तवमै परतन्त्र छौँ र त हामीले धर्म र बिचार मात्र परिवर्तन गरिरह्यौँ, सत्ता मात्रै परिवर्तन गरिरह्यौ तर शासकहरू कहिल्यै परिवर्तन गर्न सकेनौँ ।

समयले ल्याएको विकाशलाई मुठ्ठीभरका विचार बोक्नेहरूको सफलता ठानी रह्यौ, धर्म धर्ममा बाँडिएर, दल दलमा बाँडिएर दलदलमा जाकिएका हामी वास्तवमै उनीहरूका अघोषित विचारका दास हौँ । उनीहरू जस्ता धर्म र कानुनको थुप्रोमा छेद खोज्नेहरू पनि छन् र हामीहरू जस्ता धर्म र कानुनको थुप्रोमा सिस्टम खोज्नेहरू पनि छन्, हाम्रो खोज पनि जारी छ, उनीहरूको मोज जारी छ । मानिसमा मानसिक दरिद्रता रहेसम्म यो अभ्यास चली नै रहनेछ ।

सम्बन्धित समाचार