• २०८१ बैशाख ६ बिहीबार

पाल्पामा तरुलको व्यापार फस्टायो

kharibot

फाइल तस्बीर

पाल्पा । जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ  तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि  निकै फस्टाएको हो ।

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो ।

तानसेनका बजार क्षेत्रमा जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ । तरुल उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने चलन छ । माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ ।

तानसेन नगरपालिका–२ का कुशल पाण्डेयले पछिल्ला दुई दिनको अवधिमा २०० किलो तरुल र सखरखण्डको व्यापार गरेको बताउनुभयो । पहिला तरुलको माग यति धेरै थिएन, मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ । उनले भने, “ अन्य तरकारीभन्दा तरुल बिक्री बढी छ ।”

तानसेन नगरपालिका–२ नारायणस्थानकै तरकारी व्यवसायी विक्रम अधिकारीले तरुलको मागअनुसार पूर्ति गर्न समस्या भएको बताए । तानसेन बजारमा स्थानीय जङ्गल तथा खेतबारीमा उत्पादित तरुल बिक्रीका लागि राखिएको छ । अहिले दैनिक ५० किलोभन्दा बढी तरुल बिक्री हुँदै आएको उहाँको भनाइ थियो । मकरसङ्क्रान्ति नजिकै आएपछि दैनिक ५० किलोग्रामसम्म तरुल बेच्न थालेको अधिकारीले बताए ।

बगनासकाली गाउँपालिका–३ आर्यभञ्याङका यमबहादुर घर्तीमगरले अहिले गाउँमा उत्पादित तरुल सदरमुकाम तानसेनमा थोक मूल्यमा बिक्री गर्दै आउनुभएको छ । गाउँमा उत्पादित तरुल उहाँले तानसेनमा मात्र चार क्विन्टल बिक्री गरी आम्दानी गर्नुभएको छ । थोक रु १२० मा बिक्री हुन्छ । वनमा फलेको तरुल खनेर तानसेन बजारमा बिक्री गर्नेहरु पनि अहिले कमी छैन । डोकोमा बोकेर एक किलोग्रामका पोकामा तरुल हातमा झुण्ड्याएर बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन् ।

प्रतिकिलो रु १२० देखि रु १५० सम्म तरुल बिक्री हुन्छ । दैनिक १५ देखि २० किलोग्राम बिक्री हुँदै आएको तिनाउ गाउँपालिका–४ सत्यवतीका ओमप्रकाश दर्लामीले बताए । पाल्पाको पूर्वी क्षेत्रमा उत्पादित तरुल जिल्ला बाहिर निर्यात हुँदै आएको छ  तर पाल्पालगायत पहाडी जिल्लामा व्यावसायिक तरुल खेतीप्रति स्थानीय सरकारको चासो देखाइएको छैन  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै