• २०८१ बैशाख ६ बिहीबार

अप्रेशन बतास: नारायणहिटी संग्राहलयदेखि मानहुँकोटसम्म !

kharibot

नारायणहिटी संग्राहलय परिसरमा रेस्टुरेन्ट प्रकरण बाहिर आएपछि बतास समुह संलग्न रहेका एक पछि अर्को योजनाको खुलासा भैरहेको छ । कर्मचारी र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर बतास समुहले अहिलेसम्म नारायणहिटी संग्रहालय परिसर, पशुपतिको मैत्री धर्मशाला देखि तनहुँको मानहुँकोटसम्म आफ्नो कब्जामा लिएको खुलासा भएको छ ।

नारायणहिटी संग्राहलय जस्तो ऐतिहासिक महत्व बोकेको ठाउमा निजी समुहलाई रेस्टुरेन्ट खोल्न दिने सरकारी अनुमतिले पनि यस समुहको राजनीतिक र कमर्चारीतन्त्रमा रहेको पहुँच बारे स्पष्ट हुन्छ । तर अहिले समाजिक सञ्जाल, मिडियाका कारण सरकारलाई बतास समुहका यी सबै बाहिर आएका संलग्नतामा कारवाही अगाडी बढाउने दबाब पनि बढेको छ । यसै क्रममा नारायणहिटी संग्रहालय परिसरमा बनेको रेष्टुरेन्टको संरचना शुक्रबारबाट भत्काउन शुरु गरिएको छ । यस बाहेक सरकारले विभिन्न छानबिन समिति समेत बनाएर अनुसन्धान अगाडी बढाएको छ ।

नारायणहिटी संग्राहलय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ ।

रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । उनका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् । 

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ । 

समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए ।

समितिले ती विवदित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ । समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।  

पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । 

नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो । पाँच सदस्यीय उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहेका छन भने मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव रहेका छन् ।

उक्त समितिलार्ई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालार्ई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएका छन । 

उक्त धर्मशालालार्ई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लार्ई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ । 

मानहुँकोटमा पनि बतास समूहको नजर

तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदामाले तरङ्ग पैदा गराएको हो । 

पाँचौँ बुँदामा लेखिएको छ– मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित् प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया  अगाडि बढाउने निर्णय गरियो ।

यो निर्णयले तंरग ल्याउनुको कारण हो व्यास हिल्स प्रालि बतास समूहले खडा गरेको कम्पनी भएकाले । बतास समूह पछिल्लो समय निकै विवादित छ । 

बतासले खडा गरेको व्यास हिल्सले व्यास नगरपालिका–५ मानहुँकोटमा रहेको सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा लिने प्रस्ताव गरेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 

व्यास–५ का वडाध्यक्षसमेत रहेका  श्रेष्ठका अनुसार व्यास नगरपालिकाले बनाएको भ्युटावरभन्दा तलपट्टिको ५० रोपनी सार्वजनिक जग्गा भाडामा लिन खोजेको छ । जुन जग्गा दमौली बजारतर्फ फर्किएको छ ।  बतासले मानहुँकोटको निजी जग्गासमेत खरिद गरिसकेको चर्चा चल्न थालेको छ ।

गत वर्षदेखि चर्चामा आएको मानहुँकोटमा बतासको आँखा लागेको छ । बतासको व्यास हिल्सले मानहुँकोटमा चार अर्ब २३ करोड रुपैयाँको लगानी प्रस्ताव पेस गरेको श्रेष्ठले बताए । 

‘पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन चलाउने, मानहुँकोटमा सिसाको पुल, होटल रेष्टुरेन्ट चलाउन खोजेको छ । जग्गाको मासिक भाडा बुझाउनेसँगै आम्दानीको पाँच प्रतिशत रोयल्टी बुझाउने गरेर प्रस्ताव पेस भएको छ’, उनले भने । 
बतासको व्यास हिल्सले गत वर्ष नै मानहुँकोटमा रिसोर्ट लगायतका परियोजना बनाउन पेस गरेको प्रस्ताव स्वीकृत गरेर अगाडि बढाउने निर्णय बिहीबार मात्र गरिएको हो । बतासले प्रस्ताव पेस गरे पनि भाडामा दिनेबारे प्रदेश र संघीय सरकारसँग अनुमति लिनुपर्ने उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौलीको जग्गा पनि भाडामा :

बतासले तनहुँमै कृषि सामग्री कम्पनी लिमिटेड दमौलीको जग्गा पनि भाडामा लिएको छ । उसले जग्गा भाडामा लिएवापत बुझाउनुपर्ने २५ लाख रुपैयाँ भन्दा बढी भाडा नतिरेको पाइन्छ । कम्पनीको दमौली बजारमा रहेको ६ हजार ९६२ वर्गफिट जग्गा भाडामा लिएर ४२ वटा सटर बनाई बतासले भाडामा लगाएको छ । 

३० असार २०७४ मा सम्झौता गरेर पाँच बर्षका लागि जग्गा भाडामा लिएको बतासले गत आर्थिक बर्षको भाडा २६ लाख ६० हजार ६३९ रुपैयाँ बुझाएको छैन । दमौलीको जग्गा भाडा कृषि सामग्री कम्पनी लिमिटेड पोखराले बुझ्ने गर्दछ ।

आर्थिक बर्ष २०७७÷७८ असार मसान्तसम्म दमौलीको जग्गा भाडा मात्र बतासले २७ लाख ३५ हजार ३३९ रुपैयाँ बुझाउनुपर्ने थियो । समयममै भाडा नबुझाएपछि दुई लाख २५ हजार ३०० रुपैयाँ विलम्ब शुल्क लागेको छ ।

जग्गा भाडा र विलम्ब शुल्क गरेर २९ लाख ६० हजार ६३९ रुपैयाँ मध्ये तीन लाख रुपैयाँ मात्र यो आर्थिक बर्षमा बतासले बुझाएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराका एक कर्मचारीले बताए । ‘कोरोनाले व्यवसाय धरासयी भएकाले भाडा बुझाउन सक्दैनौँ भनेर पटक–पटक बतासले पत्रचार गरिहेको छ । हामीले पनि भाडा तिर्न ताकेता गर्दै पत्र पठाईरहेका छौँ । तर भाडा बुझाउदैँ ’, ती कर्मचारीले भने ।

चालु आर्थिक बर्षको मंसिरसम्मको पनि ४५ हजार ५०० रुपैयाँ विलम्ब शुल्क बुझाउन बाँकी रहेको उनले जानकारी दिए । हरेक महिनाको ५ गतेभित्र भाडा बुझाउनुपर्ने हुन्छ । भाडा ५ गतेभित्र नबुझाएमा दिनको एक सय रुपैयाँका दरले विलम्ब शुल्क लाग्ने जनाइएको छ । कार्यालयका ती कर्मचारीका अनुसार बतासले कृषि सामाग्री कम्पनी लिमिटेड पोखरालाई बुझाउनुपर्ने अघिल्लो आर्थिक बर्षको भाडा समेत बुझाएको छैन ।

आरजुको नाम किन आयो ?

बतास समुहको सल्लहाकार रहेको भन्ने खबर बाहिर आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले विज्ञप्ति नै निकालेर आफु यस समुहमा सम्बन्धित नरहेको स्पष्ट गरेकी छन् । तर उनी केहि दिन अघिसम्म बतास समुहको सल्लाहकार रहेको खुलासा भएको छ । विवादमा आउने देखे पछि उनको नाम बतास समुहको वेभसाइटबाट केहि दिन अघिमात्र सल्लाहकारबाट हटाइएको पाइएको छ ।

यसबाट पनि बतास समुहको राजनीतिक पहुँच र त्यसबाट यस समुहले उठाइरहेको अनुचित फाइदा कति छ भन्ने बुझ्न सकिन्छ । अहिले अगाडी आएका विषय भन्दा धेरै ठाउमा यस समुहको संलग्नता रहेको हुनसक्ने अनुमान अहिले गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै