गजलका सोह्र श्रृङ्गार

kharibot

गजल यस्तै हुनुपर्छ भनेर, विशेषतः नेपाली गजल, कसैले ठोकुवा पनि गर्ने अवस्था रहेन, किनभने गजलमा अनेक धार भित्रिएका छन् । पुरातन धारमा पनि अरबि गजलहरूमा रदिफ कम प्रयोग गरिन्छ भने फारसी गजलहरूमा रदिफ बिहिन गजल कमै लेखिन्छ । अरबी, फारसी र उर्दु गजलहरू बहरमै लेखिन्छ, गैर बहरका गजलहरू खारेज हुन्छन् । तर अन्य भाषामा, अझ भनाै शुद्ध हिन्दी र नेपालीमा गजल बहरमै लेख्न  धेरै वाधाहरू पनि छन् र मुख्य वाधा भनेकाे व्याकरण र शब्द उच्चारण हुन् । माेतीरामले लखनवी धारकाे गजल भित्र्याए, दिल्ली धार अछुताे रह्याे । ज्ञानुवाकरले गजलकाे पुनर्जागरण गरे, प्रातःस्मरणिय छन्, तर जहाँ उनका लयलाई भने पछ्याएनन् भने गजल भनिएका कतिपय गजल अगजल हुन्, कन्टेन्टलाई महत्त्व दिनुपर्छ भने पनि गजलकाे स्थापित तानमा नबुनिएका गजल गजल हुन सक्दैनन् ।

गजलको जन्म अरबी भाषामा भए पनि याे इरानको फारसी भाषामा यसलाई हुर्कियाे । फारसी सायरहरू आफ्नो हातमुखको जोहो गर्न त्यसबेलाका शासकको झुठो तारिफ गर्नका लागि पढिने कसिदाबाट नै गजलको सुरुवात भएको मान्यता छ । बिलासी शासकहरू सुरा र सुन्दरीका बिच आफ्नो बारेमा भनिएका झुठा तारिफ सुनेर दङ्ग पर्दथे । तारिफका साथसाथै सुन्दर स्त्रीको र सुराको बारेमा गरिएको वर्णनले शासकहरू खुसी हुने हुँदा कसिदामा रक्सी र स्त्रीकै मात्र बखान र बयान गरिन्थ्यो । आजको समयमा जस्तो गजलमा बिभिन्न बिषयहरू समेटिएका थिएनन् त्यसैले गजलको मतलब नै स्त्रीको बर्णन भने जस्ताे हुन । गजल फारसी भाषामा हुर्किएकाे हुँदा यसका नियमहरू र जति पनि बहरका शास्त्र बने सवै, फारसीमा नै बने । 

दाेहा, न्याउला आदि दुई पदिय काव्य जस्तै देखिए पनि गजल यि बिधा भन्दा अलिकति फरक बिधा हो, किनभने यो अाफ्नै विशिष्ट नियममा बाँधिएर लेखिन्छ । उसो त गजल आफैमा एक षोडशी बराबर छे । रदिफ, काफिया, लय, तखल्लुस, मीटर भाव आदि गजलका कोमल र आकर्षक अङ्गहरू हुन् ता पनि यसलाई एक नवयुवतीझै सिंगार्नको लागी लगाईदिने गहनाहरू बारे जानेका, बुझेका केही कुराहरु प्रस्तुत गरिरहेको छु ।

१. भाषाः

गजलमा भाषाको अत्यधिक महत्व हुन्छ त्यसैले यसमा परिस्कृत भाषा प्रयोग गरिन्छ । फारसी शायरहरूले गजल तथा सेरहरूमा सरल शब्दको प्रयोग गर्नु पर्ने कुरा उल्लेख गरेका छन् । सरल शव्द प्रयोग गरिएका गजलहरू सरल तथा सवैलाई बुझ्न सजिलो हुन्छ । प्रतेक गजलमा प्रयोग गरिने भाषा उत्तम, सरल र भाव सम्प्रेषण गर्न सक्षम हुनु पर्दछ जसले रचनामा लय प्रवाह, गती, कोमलता र मीठास उत्पन्न गर्दछ र यसको प्रभाव अन्तरमनसम्म पर्दछ । राम्रा, मीठास युक्त र ठेट अर्थ दिने र सेरमा व्यक्त गर्न खोजिएको भावलाई दुरुस्त उजागर गरिदिने शब्दको प्रयोग गर्नु अति राम्रो मानिन्छ ।

उपमा र अलंकारको उपस्थिति ज्यादा भएमा सेर बुझ्न कठिन हुन्छ र त्यस्तो सेरलाई कमसल मानिन्छ । त्यसैले गजलमा प्रयोग हुने भाषाको प्रतीकात्मकता, संकेतात्मकता र संक्षिप्ततालाई ध्यान दिनु जरुरी देखिन्छ । सेरमा प्रयोग हुने शब्द चयनमा गजलगोहरु सचेत हुनु जरुरी छ । नेपाली भाषामा ह्रस्व र दीर्घ मात्र उल्टो भएको खण्डमा भाव बिग्रन्छ । सेरमा प्रयुक्त शब्दले सेरको मिठास कतिको बनाएको छ, त्यो गजलगोमा भरपर्ने कुरा हो । सेरमा लामो शब्द या वाक्यको प्रयोग गर्नुको साटो एक शब्दले अर्थाउन सके त्यसलाई अव्वल सेर मानिन्छ । यस्ता शब्द प्रचलनमा भए पनि अथवा नभए पनि प्रयोगमा ल्याउदा केही हानि छैन, उल्टो सेरको तौल राम्रो हुन्छ र शब्द पुनः प्रचलनमा आउँछ । व्यक्त गर्न खोजिएको भावलाई सही तरिकाले प्रस्तुत गर्न सक्ने भाषा या शब्दको प्रयोग गजलको पहिलो श्रृङ्गार हो । सरलतासँग शिल्पसौन्दर्य झल्काउँदै गहिरो भाव छाड्न सफल भएमा मात्र सेरको अस्तित्व दिगो रहन्छ ।

भेलाभए स्वार्थीहरु निमुखाको सत्यानाश
जहाँ छैन संवेदना त्यही राजधानी भयो
– भक्ति प्रसाद पौड्याल

२. प्रस्तुति :

हरेक सेरलाई कसरी लेखिएको छ, यो धेरै नै महत्वपूर्ण कुरा हो । दुई पंत्तिको सेरमा भेग कुरा समेटिएको हुन्छ । पढने बित्तिकै मनमा चस्स लागेर गंम्भिर असर उत्पन्न गर्न सक्ने सेरहरु दिगो रहन्छन् । भनिन्छ, जबसम्म चोट खाईदैन तब सम्म असर महसुस हुँदैन र गजल लेख्नु शोखको विषय मात्र हैन, गजलगो बनेर एउटा कुरा व्यक्त गर्नु र त्यसै कुरालाई चोट खाएको हृदयले प्रस्तुत गर्दा प्रस्तुतिमा फरक पर्छ नै । अर्थात् व्यथालाई भित्र सम्म महसुस नगरी र दिलमा नलिई व्यक्त गरिएको भाव सतही हुन्छ ।

साथीले चिट्ठीमा लेख्यो मुस्कान मीठो तेरो
यार त्यो तस्बिर म गाउँमा हुँदाको होला
– दिनेश ज्ञवाली

३. बिलक्षणताः

जीवनका प्राप्त अनुभव र ज्ञानलाई आकर्षक र चमत्कारपूर्ण रुपमा नवीन, आकर्षक र अद्भुत रुपमा गजलमा पेस गरिने कलालाई गजलगोका बिलक्षणताका रुपमा लिईएके छ । सेरहरुलाई कौतूहलतापूर्ण बनाएर अज्ञात तथा रहस्यात्मक कुराहरुलाई बोध गराउने कला बिलक्षणता भित्र पर्दछन् । गजलगोको कल्पना शक्तिको परिचय समेत यसले दिन्छ । यो गजल या सेरको अर्को गहना हो । कविले साधारण कुरालाई पनि बिलक्षण तरिकाले प्रस्तुत गर्दछन् र परिकल्पनालाई साकार रुप दिन्छन् ।

वैद्यले भन्थे घाउमा फूल पिसेर लाउनू
हुन्नथ्यो निको काँडाले घाउ सिएको नभए
– सरोज अनुराग

४. व्यथा:

गजललाई चित्कार करुणा, व्यथा, दुःख आदीका काव्य पनि भनिन्छ । गजलका सेरहरू यिनै संचारी भावले लछप्प भिजेका हुन्छन् । सेरमा गजलगोले कतिको व्यथा या करुणा भर्न सकेको छ ? यो नै गजलको अर्को गहना हो । गजलगोले आफैले भोगेको या अनुभूत गरेको व्यथा र चोटको दुखाईलाई  शव्दमा उतार्दा गजल करुण रसमा लछप्प भिज्न जान्छ, शव्दशव्दमा आत्मा निचोरिएको हुन्छ, अन्तरआत्माको पुकार हुन्छ र सवैभन्दा ठूलो कुरा रचनामा इमानदारिता र सत्य हुन्छ । यहाँ उल्लेखित पञ्चतत्वले हरेक हृदयलाई अवश्य द्रवित गर्छ नै । यसरी लेखकका रचनाका सार पाठकमा पनि उत्तिकै प्रभावकारी ढङ्गले पुगेर आहः भन्दै दुख महसुस गरोस्, यही नै गजलको अर्को गहना हो । 

बच्चा रोएको हेर्छे स्तन सुकेकी आमा
चौलानी पानी पनि फाट्छ घरिघरि
–पंक्तिकार

५ चित्रकारीता :

व्यक्त भावले पाठक या श्रोताका मनमा दर्शाईएको स्थितिको हुबहू चित्र कोर्न सक्नु गजलको अर्को श्रृङ्गार हो । प्रेमका नारी लज्जा, बहुलट्ठीपन्, क्रोध, व्यथा आदि अनुभुतीलाई अरुले समेत अनुभूत गर्नसक्ने  अनुभव हुने गरेर सेरमा भर्नु अर्को गहना हो । 

बेखबर हुँदै ठिक्क छ त्यता तिमीलाई
उता पलपल मेरो इमान जाँचिदै छ
– नारायण गाउँले

६. शिष्टताः

मुगल संस्कार, तौरतरिका, तमिज, अदब आदिका प्रभाव सुरु देखिनै गजलमा परेको देखिन्छ । कसिदा पनि साशकको सानमा पढिन्थ्यो र पढदा पनि अदव र तमिजका साथ आदर सन्मान गर्दै पढ्नु पर्दथ्यो भने हिन्दुस्तानमा पनि यसको बिकास सोही अनुसार नै हुनगयो । यसमा प्रयुक्त हुने भाÈा तथा शव्दहरु उच्च आदरार्थि र कोमल हुन्थे र सत्रुलाई सम्बोधन गरिदा समेत आदरार्थि र कोमल शव्दहरु नै प्रयोग गरिन्थ्यो । सिधा आक्षेप, लांक्षना र गाली बेइज्जती गरिँदैन थियो ।

गजल उर्दुबाट बिकसित भएको हुँदा गजल तथा सेरहरू मुलायम र आदरयुक्त हुने गर्दछन् । सेरमा सिधा आक्षेप लगाउनु सोभनिय कुरा होइन, गजल भनेकै शत्रुलाई पनि मिठास पूर्वक मानसम्मान गरेर सम्बोधन गरिने काव्य हो, त्यसैले ठाडो र तिछरो शब्दको प्रयोगले गजलको मिठास मर्दछ । हजुर, निगाह जस्ता उच्च आदरार्थि शब्दहरुले सेरलाई आदरयुक्त, कोमल, मिठासपूर्ण र रसिलो बनाएको छ । यस्ता शब्दहरूको अधिकतम प्रयोग भएमा सेर मिठा, कोमल र आदरयुक्त हुन्छन् । उर्दु गजलको हकमा कुरा गर्ने हो भने यी तत्व अति वान्छनीय मानिन्छ र यो पनि गजलको आभुषण नै हो ।

च्यातेर प्रेम पत्र मेरो हजुरले क्या निसाफ भो !
इज्जत जति निगाह भो त्यति अक्षर कहाँ थिए ?
– पंत्तिकार 

७. शब्द र अर्थको सन्तुलन र उत्कण्ठा :

सेरमा शब्दको सही चयन गरेर पहिलो पंत्तिले नै पाठकको हृदयमा एक उत्कण्ठा एउटा उत्सुकता जन्माइदिनु पर्छ, हृदयमा एउटा हुकहुकी लेराउँन सक्नु पर्छ र अर्को हरफमा के भनिएको छ या उत्पन्न उत्सुकता या हुकहुकिलाई कसरी सम्बोधित् या समादान गरिएको छ भनेर जान्नको लागि चाँडै पढौं भन्ने लालसा उत्पन्न गराउँने हुनु पर्दछ । 
यसरी पहिलो पंत्तिले उव्जाएको उत्कण्ठालाई दोस्रो पंत्तिका सन्तुलित शव्दले अर्थ प्रष्ट हुनेगरि गरिने समाधन गजलको अर्को श्रृड्डार हो ।  

मलामी हो अस्तु मेरो ठूलै निस्किनेछ 
मायालु छ मुटु भित्र डढ्न गाह्रो होला 
– पंत्तिकार 

८. भावको गहिराइ:

थोरै शब्द खर्चेर गहिरो भाव दिन सक्नु गजलको अर्को श्रृङ्गार हो । सरल रुपमा पढ्दा सामान्य अर्थ दिने यस्ता सेरका भावको गहिराइ भने नाप्न नसकिने हुन्छ । तलको सेरलाई नै हेरौं । हेर्दा सामान्य अर्थ लागे पनि यसको भावको गहिराइ अनन्त छ । मानिसको एक सिङ्गो चरित्र प्रस्तुत गरिएको छ यस सेरमा । भावावेषमा जब केहि कार्य गरिन्छ भने त्यसको नतिजा उपलव्धि शुन्य नै हुन्छ ।

जब खहरे मत्थर हुन्छ
बाटोमा नयाँ पत्थर हुन्छ
– दीपक खड्का

९. उखान टुक्काको प्रयोग:

नेपाली गजलमा समाजमा प्रचलित उखान टुक्काहरुको अत्यधिक प्रयोग भएको पाइँदैन तर यसको व्यबस्थित प्रयोगले गजल या सेरलाई उच्च सौन्दर्य दिन्छ । यस्तै गजलमा बिम्ब, प्रतिक तथा व्यंगलाई सरल ढंगबाट प्रयोग गर्न सकिन्छ तर यिनका प्रयोगले गजल क्लिष्ट भने हुनुहुँदैन । 

रमाउँछु म जहाँनेर, भुलेर यो जाली संसार,
त्यै ठाउँलाई गफाडीको चोक, भन्छ मेरो साथी ।
– सानिध्य म्याग्दी

१०. नेपालीकरण:

गजलमा यथासक्य ठेट नेपाली शब्दहरू राख्नु उचित हुन्छ । लेखकले सेरमा व्यक्त गर्न खोजिएको भावलाई हुबहु पाठक सम्म संप्रेषण गर्नको लागि प्रचलनमा नभएका शव्दहरुलाई पनि प्रयोगमा ल्याएमा कुनै आपत्ति छैन । त्यस्ता शव्दहरु पुनः प्रयोगमा आउँदा शव्द जागृत भएर प्रचलनमा आउँछ र अन्य लेखकहरुले पनि प्रयोग गर्ने माध्यम पाउँछन् भने लेखकको अन्तरमनको भाव पाठकले सतप्रतिशत बुझ्न सक्दछन् । गजललाई यसरी नेपालीकरण गर्दा प्रयोग गरिने भाषा उत्तम, सरल र भाव संप्रेषण गर्न सक्षम हुनु पर्दछ जसले रचनामा प्रवाह (लय), कोमलता र मीठास उत्पन्न गर्दछ र यस्को प्रभाव अन्तरमन सम्म पर्दछ । अनौंठो तर मीठासयुक्त शब्दको प्रयोग जसले सेरमा व्यक्त गर्न खोजिएको दुरुस्त भाव प्रदान गर्नु अति राम्रो मानिन्छ ।

आखिरीमा ऊ आएमा छोपो मेरो झिकिदिनु (छोपो = लासको मुख छोप्ने कपडा)
उसको रुप आँखा भरी भर्नु जस्तो तोष कहाँ!
– पंत्तिकार 

११. तत्वज्ञान र जीवन दृष्टि :

गजलका सेरहरुले तत्व ज्ञान दिँदै गजलगोका जगत र जीवन सम्बन्धी दृष्टि उजागर गर्नु पनि गजलको एक गहना हो । हरेक साहित्य समाजलाई सहि दिशातर्फ उन्मुख गराउने साधन भएकोले जगत र जीवनलाई यथार्थ रुपमा अर्थ्याउनु र सत्यको पहिचान गराउँने तात्विक बचन पनि गजलको एक गहना हो । गजलका सेरहरूले समाजका बिभिन्न कुराहरुलाई प्रतिबिम्बित गर्ने भएकोले लेखकले समाजका बिकृतीहरुलाई पाठक समक्ष छर्लङ्ग दर्शाइदिएर मार्ग प्रशस्ती गर्ने कार्य गर्न सक्नुपर्दछ ।   

अरु खै ! के गर्छन् चारधामको जलले 
म आँगनमा आमाको पाउ पखाल्छु 
– पंत्तिकार 

१२. आक्षेप र दोषारोपण रहित :

सेरमा सिधा आक्षेप लगाउनु सोभनिय कुरा होइन, गजल भनेकै शत्रुलाई पनि मिठास पूर्वक मान सम्मान गरेर आदरार्थि र कोमल शव्दहरु प्रयोग गरेर सम्बोधन गरिने काव्य हो, त्यसैले ठाडो र तिछरो शब्दको प्रयोग गरेर सिधा आक्षेप, लांक्षना र गाली बेइज्जती गर्दा गजलको मिठास मर्दछ । 

बहुतै खुसी पो देख्दछु आज हजुरलाई
बज्रन्छ कि त काल गै दुश्मनको शिरमा
– पंत्तिकार 

माथिको सेरमा कसैको रिसलाई श्लील तरिकाले व्यङ्ग गरिएको छ र त्यसको नतिजाबाट कसैको ज्यान समेत गमाउन सक्छ, तसर्थ होसियार हुन पनि भनिएको छ । आफ्नाको बिगार हुनु भन्दा दुश्मनको बिगार होस् भनेर सचेत गराईएको छ । यस सेरमा प्रयुक्त हजुर उच्चआदरार्थि शव्दहरुले सेरलाई आदरयुक्त, कोमल, मिठासपूर्ण र रसिलो बनाईएको छ । उर्दु गजलमा यी तत्व अति आवश्यक मानिन्छ र गजलको आभुषणको रुपमा लिईन्छ । 

१३. लिङ्गभेद, सुफिवाद र रहस्यवाद:

फारसी भाषमा लिङ्गभेद नहुने भएका कारण फारसी भाषामा लेखिएका गजलहरू पढ्दा गजलले स्त्री पुरुष दुवैलाई एकसाथ बुझाउने गरेको पाईन्छ र पाठकको लिङ्गानुसार नै अर्थ लाग्न जान्छ । अर्थात्, स्त्रीले पढे पुरुष तर्फ लक्षित गरिएर लेखिएको भान हुन्छ भने पुरुषले पढे स्त्री तर्फ लक्षित गरिएर लेखिएको भान हुन्छ । यस प्रकारका गजलहरुमा यसैले गजलमा तिमी, ऊ, उसको को प्रयोग ज्यादा गरिन्छ । गजलमा यस प्रकारको प्रयोग वास्तवमा नै अनौंठो र सुन्दर प्रतित हुन्छ ।

धर्मग्रन्थ बिहिन सुफिसन्तहरू संसारलाई अस्विकार गर्दै एकेश्वरवादलाई मानेको देखिन्छ । ईश्वर, अल्लाहलाई समान रुपमा प्रेम गर्दै एकान्तमा गरिने मौनप्रार्थना नै रहस्यवादमा परिवर्तन भयो । पछि गएर गीता, कुरान, त्रिपिटक, बाइबल सवैका सार बुझेका सुफिहरुले निर्गुण निराकारको अर्चना गर्न थाले ।  सुफिहरु मानवता र रहस्यका कुरा गर्दथे र जगत नै प्रेममय ठान्दै प्रेमलाई नै सारतत्वका रुपमा ग्रहणगरेका छन् । यसैको असर गजलमा पनि देखियो र रहस्यात्मक सेरहरु पनि लेखियो । 

सुफि सन्तहरुको प्रभाव पश्चात गजलमा अत्यधीक प्रयोग भएको सुरा र सुन्दरीलाई अध्यात्मिक रंगमा घोलेर रक्सिलाई समर्पण र सुन्दरीलाई प्रेमको पवित्र खानीका अर्थमा स्वीकारिन थालियो भने नसालाई इस्वर प्रति आस्था र समर्पणको उच्चतम माप मानिन थालियो । यसरी गजलमा व्याख्या गरिएको लौकिक प्रेमलाई सुफि प्रभावी गजलगोहरुले अलौकिक, अध्यात्मीक प्रेम भन्दै संगीतलाई इश्वर खुसी पार्ने माध्यममा मानेर गाइन थालियो । 

सुफिवादको प्रभावमा गजलमा कसैलाई पनि तोकेर या किटान गरेर सिधा आक्षेप लगाइनु राम्रो होइन भन्ने स्वीकार गरियो । प्रकृती र चराचर प्रेम, मानवता, भाईचारा, आपसमा प्रेम सद्भाव र जीवनका कणकणलाई सूक्ष्मरुपमा नियालेर व्याख्या गर्दै गजलमा पस्किनु सुफिवादकै असर हो ।

यो नजर थिर थियो कोठीमा 
बात कोहनूरको चलि रा’थ्यो 
– पंत्तिकार 

माथिको सेरमा कुनै शब्दले कुनै लिङ्ग छुट्याउँदैन । सर्सर्ति अर्थमा कुनै युवतीको कोठीलाई कोहनूरसँग तुलना गरिएको छ तर सुफिवाद र रहस्यवादको छायाँ पनि यसमा परेको छ । यहाँ कोठीलाई भौतिक वस्तु या मन्दिरको रूपमा लिईएको छ भने कोहनूरलाई ईश्वरको प्रतिकको रूपमा लिईएको छ । मन्दिरको ईश्वरलाई हेर्दै उसैको महिमाको बखान भइरहेको भन्ने अर्थ सेरले दिएको छ । 

१४. लय:

गजल एक गेयात्मक विधा भएकोले लय अत्यावश्यक छ । लय बिनाको गजलको त कल्पना पनि गर्न सकिदैन । मुसायरमा गजल वाचन गर्दा ताल बाजा ढोलक मादल, तबला, मृदंग आदि र सुर बाजा, हारमोनियम, बाँसुरी आदि प्रयोग नगरिने हुँदा गजल छन्द या बहरमा ढालेर वाचन गरिन्छ । यदि गजल छन्द या बहरमा नभएमा आफ्नै तरन्नुममा ढालेर पनि पढिने गरिन्छ र तरन्नुममा नपढिने गजल या भनौं बिना लय वाचन गर्ने शैलीलाई तहफुल लफ्ज भनिन्छ ।

गजल कसिदाबाट बिकसित भएकोले र समूहमा सुनाईने भएकोले पनि सुनाउँदा यति या बिश्राम मिलाएर लयबद्ध रूपमा सुनाइने हुँदा लयलाई प्राथमिकता दिईएको पाईन्छ। गजल वाचन गरेर श्रोतालाई सुनाईने या गाइने भएको हुँदा लयको आवश्यकता पर्दछ । लयलाई सहज बनाउँन वहर र छन्दको निर्माण भए जसले लय श्रृजना हुने एक सूत्र दियो । यदि वहर या छन्दको ज्ञान छैन भने पनि आफ्नै धुन या तरन्नुममा गजल लेखेर गजलगोले सुनाउँन सक्नु पर्दछ । लय बिहिन गजल गजल मानिदैन ।

मुगलकालमा मुसायरा (गजल वाचन कार्यक्रम) बहादुर शाह जफरको पालामा आएर झन मौलायो । बहादुर शाह जफर आफै पनि गजलका सौकिन र सायर थिए र उनले समय समयमा मुसायर चलाउँदथे । उनको दरबारमा हुने मुसायरा साँझको नमाज पछि सुरु भएर बिहानको आजान (बिहानको नमाज पढने सङकेत, घोषणा) सुने पछि सकिन्थ्यो । यस्ता मुसायरामा सायरले सेरका पहिलो हरफ आफ्नै तरन्नुम (लय) मा या बहरमा चार पा“च पटक दोहर्याउँदा पनि श्रोता उत्सुक भएर सुन्न बस्दथे र तिनीहरुको जिज्ञासा जब मतलाए सानि ले शान्त पार्दथ्यो तब वाह वाह र सुभान अल्लाह सुभान अल्लाह भनेर सायरको तारिफ गरेर फेरि अर्को सेर सुन्न तल्लिन हुन्थे । बहादुर शाह जफर पछि यस्ता मुसायरा शेख र नवावहरुको कोठीमा सुरु हुन थाल्यो ।

१५. व्दिअर्थि तखल्लुसः

तखल्लुसको बारेमा भन्नु पर्दा व्दिअर्थि भाव दिने तखल्लुस अति उत्तम मानिन्छ । पाठकले सेर पढ्दा तखल्लुस प्रयोग भएको मेसो पाएन भने मात्र उक्त प्रयोगलाई सफल मान्नु पर्दछ ।

जता हेरुँ अँध्यारै छ
खोजूँ रवि कता तिर ?
रवि प्राञ्जल

१६. रदिफको सही प्रयोग:

उसो त बिना रदीफको पनि गजल हुन्छ जसलाई गैर–मरद्दफ गजल भनिन्छ तर यदि गजलमा रदिफ प्रयोग गरिएको छ भने यसको सही प्रयोग हुनुपर्दछ । रदिफको गौण शक्ति के हो भने यसले मिसरामा काफियासँग मिलेर सेरलाई पूर्णता र अर्थ दुवै दिन्छ र सेरका भावसँगै रदिफ पनि मिलेर अर्थ खुलाउँछ । रदिफलाई मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदान गर्ने हुनैपर्छ ।

गजलका हरेक सेरमा दोहरिने रदिफ कुनै अलंकारको लागि मात्र हैन यसले सेरमा मिसिएर अर्थ दिन सक्नु पर्दछ । कतिपय गजलगोले यसलाई खाली नमुना मात्र बनाएर झुण्डाउने गर्दछन्, त्यो गलत हो । रदिफ सेरसँग यसरी मिसिनु पर्दछ कि त्यो सेरकै एउटा अङ्ग पनि बनोस् र अर्थ पनि देओस् ।

मिसरामा पूर्णत् अलगथलग र अर्थबिहिन अवस्थामा रदिफ बसेको छ या प्रयुक्त छ भने यो रदिफ दोष ले गजल नै बन्दैन । रदिफलाई मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदान गर्ने हुनैपर्छ । अन्यथा यसलाई गजल भन्न मिल्दैन ।

वास्तवमै गजल एक बिशिष्ठ विधा भएकोले यसलाई लेख्न र बुझ्न पनि उन्नत मस्तिष्कको आवश्यकता पर्दछ । सेरहरुमा लुकेका भावको गहनता, गजलको मर्म र सेरको भित्री आशय बुझ्नेहरुको माझ मात्र गजल या सेर भन्न र सुन्न राम्रो हुन्छ । सतही वाह वाह भन्दा गम्भीर रूपमा सेरको आशयलाई बुझेर वाह गर्ने माझ सेर भनिनु पर्दछ । सेरको आशय बुझ्नु सबैको वशको कुरा हैन भन्ने बुझाई छ पंक्तिकारको, किन भने सेरमा समाहित गंम्भीर भाव बुझ्न यसै किसिमको आशक्ति हुनै पर्दछ ।

सेरबाट निस्कने अनौठा, सत्य भावले गर्दा श्रोताले अहो क्या सत्य बचन भन्यो, वाह! भन्ने वाक्य निकाल्दछ । गजलगोको पारितोषिक त्यही नै हो ।
*पुरानै पाठ

सम्बन्धित समाचार