डिल्लीरमण रेग्मीलाई 'असफल राजनितिज्ञ' सिद्ध गराउन पुस्तकालय नै किन लागेको छ ?

खरीबोट

डिल्लीरमण रेग्मी पुस्तकालय लाजिम्पाटमा अवस्थित छ ।  डिल्लीरमण रेग्मी विकास समिति पनि छ जो मलाई लाग्छ पुस्तकालयको सम्बर्धन र विकास तथा डिल्लीरमण रेग्मीको नाम फैलाउने उद्देश्यले सरकारले गठन गरेको हुनुपर्छ ।

तर, २०६० साल  देखि विकास केही भएको छैन।   पुस्तकालयले नै भरखरै प्रकाशित गरेको पुस्तिकामा पुस्तकालय बारे पाठकहरु अनभिज्ञ रहेको  र त्यसैले गर्दा अब पुस्तकालय भवन भत्काई  “स्पेस” भएको नयाँ भवन बनाउन लागेको जानकारी दिएको छ। पुस्तकालय आउने विद्यार्थीहरु र पुस्तकालयको कर्मचारीहरुले पनि “स्पेस” भएको नयाँ भवन चाहेको लेखिएको छ। मेरो बाबाले मलाई लेखेको अन्तिम बकसपत्रमा “घरहरु भत्काउन पाईदैन" भनेर लेखिएको छ जो म अवन्तिका रेग्मीको मृत्युपछि पनि कायम रहनुपर्छ।  "मर्मत" गर्ने अधिकार पनि म जीवित रहुनजेल केवल मलाई छ। सरकारलाई होइन। हाम्रो घरलाई भत्काएर नयाँ भवन बनाउने अनुमति मैले दिएको छैन ।

कथित विकास समितिबाट भएको गैरकानूनी र अपराधिक क्रियाकलापहरुको लामो लिस्टनै तैयार पार्न सकिन्छ।  एकतिर घर नष्ट गर्ने, डिल्लीरमण रेग्मीको संकलन गर्नु भएको पुस्तकहरु विनाश गर्ने उसले   लक्ष्य लिएको छ । त्यस्तै अर्कोतिर डिल्लीरमण रेग्मीलाई एउटा "साधारण" ब्यक्ति भनेर प्रचार प्रसार गर्ने ।  समितिले प्रकाशन गरेको अत्यन्त निम्न कोटिका पुस्तिकाहरु मध्ये एकमा डिल्लीरमण रेग्मीलाई "असफल राजनितिज्ञ र सफल इतिहासकार मानिनु हुन्छ", "वहाँ राजनीतिमा धेरै सफल हुनु भएन तर इतिहासमा भने नाम कमाउनु भयो" भनिएको छ, त्यस्तै "मध्यम वर्गिय परिवारमा जन्मेर पनि सम्पन्न परिवारसंग सम्बन्ध भएर पढ्न पाउनु भयो" इत्यादी इत्यादी लेखिएको छ ।

स्वर्गीय डिल्लीरमण रेग्मीलाई  तल खसाल्ने लक्ष्य अनुसार समितिकै पहलमा निकालेको हुलाक टिकटको दोस्रो संस्करणमा उनको चित्रमुनि  इतिहासकार लेखेको छ। यो हुलाक टिकट उहाको सतवार्षिकीको उपलक्ष्यमा  समितिकै पहलबाट प्रकाशित भएको रहेछ। यसमा अहम भूमिका पुस्तकालय प्रमुख भोला श्रेष्ठको छ ।  समितिको सदस्य सचिव समेत रहेका उहां मेरो बाबालाई असफल राजनीतज्ञ सिद्ध गर्न हात धोएर लाग्नुभएको छ । 

वहाँले टिकटको पहिलो  संस्करणमा रहेको "राजनीतिज्ञ" शब्दलाई हटाउन भूमिका खेल्नु भयो।  हो! वार्षिकी पुष ३ गते जो केही दिनपछि आउँदैछ  एउटा कार्यक्रम गरेर उनको नामको पुरस्कार त्यही समितिले दिन्छ । पुस्तकालय परिसर बर्षको एक पटक सफा गरिन्छ। गमलामा रंग लगाइन्छ । एक वर्षसम्म जमेका लेउ र चराका विष्टा घोटेर पखालिन्छ। अनि कस्तो विडम्बना! उनै भोला श्रेष्ठ, उनै तुलसी भट्टराईले डिल्लीरमण रेग्मी बारे भाषण गर्छन्।  तुलसी भट्टराई समितिको दुई वर्ष अगाडीसम्म अध्यक्ष हुनुहुन्थ्यो । वहाँकै पहलमा हाम्रो घर भत्काएर नयाँ भवन खडा गर्न सरकारले विकास समितिलाई १ करोड दिएको रहेछ। त्यो रकम समितिको नाममा ब्याङ्कमा मौजुद छ ।

साथै भट्टराईलाई सरकारले नयाँ भवन बनाउन ७ करोड दिने आश्वासन दिएको रहेछ तर लालपूर्जा हातमा नपरेकोले काम अगाडी बढ्न नपाएको रहेछ। यो सबै हाल प्रकाशित पुस्तकालयको पुस्तिकामा लेखिएको छ।"डिल्लीरमण रेग्मीको सपना पूरा गर्नेछ" यो नयाँ पुस्तकालय भवनले पनि भनिएको छ । त्यस्तै पुस्तिकामा कसरी विकास समितिले लालपूर्जा आफ्नो हातमा ल्यायो बढो घमन्ड साथ त्यसको वर्णन गरिएको छ र त्यस लालपूर्जा हात पर्नमा अहम भूमिका खेल्ने भोला श्रेष्ठलाई पटक पटक धन्यवाद दिइएको छ। पहिले “टेक्निकल” कारणले लालपूर्जा लिन नसकेको  पनि लेखिएको छ। धेरै मेहेनतपछि - प्रदेश ३ को मुख्यमन्त्री देखी कहाँ कहाँ भनेर लालपूर्जा शिक्षा मन्त्रालयको नाममा ल्याइएको नालीबेली  पनि लेखिएको छ।   

यस पुस्तिकामा डिल्लीरमण रेग्मी पुस्तकालय बारे  केही पृष्ठ छन्। अरु सबै बाहिरका अरु पुस्तकालयहरुको बारे र अरु कुराहरु। पहिला पहिला वर्ष प्रकाशित भएका पुस्तिकाहरु जस्तै।  मैले  सर्बोच्च अदालतमा रिट हालेको र  सम्माननिय अदालतले  मेरो पक्षमा अन्तरिम आदेश दिई सक्दा  पनि गैरकानूनी तरीकाले लाल पूर्जा हात पारेको कुरा अत्यन्त घमण्डको साथ  प्रकाशित गर्नु भनेको म चान्चुने मान्दिन । मैले डकैती गरे भनेर  खुलमखुला  ऐलान गर्ने यी महानुभावहरुको हिम्मत जो छ त्यसले वहांहरु जिरो नैतिक चरित्र भएका हुन् भन्ने प्रमाणित गर्छ नै त्यस्तै हाम्रो  देश अपराधिक गिरोहको मुठ्ठीमा छ भन्ने पनि फेरी  पुष्टी गर्छ । 

समितिको अर्को चलखेल डिल्लीरमण रेग्मीबारे जथाभाबी किताब निकाल्ने। गत वर्ष  पुस्तकालय सहायक कुमार नेपालले  "डिल्लीरमण रेग्मी मेरो नजरमा" नामको पुस्तिका प्रकाशित गर्नुभयो । पुष ३ गते मेरो बाबाको जन्मदिन पारेर वहाँको किताब यही हाम्रो हलमा विमोचन गरियो। नेपालको पुस्तिका कपोकल्पित कुराहरुले भरिएको छ। एक स्थानमा नेपालले "वहाँको राष्ट्रीय कांग्रेस त्यति फस्टाउन पाएन" भन्नु भएको छ। उक्त पुस्तिकाको सम्पादन भोला श्रेष्ठले गर्नुभएको छ। मेरो बाबाको सबैभन्दा नजदीकको ब्यक्ति भनि कुमार नेपाललाई देखाई समितिले बुनेका  झूटहरुलाई  आधिकारिकता दिन नियोजित तरिकाले पुस्तिका प्रकाशन गरिएको छ ।

त्यस्तै कुमार नेपालको पुस्तिका भन्दा एक दसक अगाडी प्रकाशित पुस्तक त्यो त झन् एउटा नमूना नै छ। त्यस पुस्तकले मैले मेरो बाबाको नाममा बनाएको वेबसाइटबाट थुप्रै सामाग्री लिएको छ तर साभार सम्म पनि दिएको छैन। मैले यु एस लाईब्रेरी अफ कांग्रेसमा पुगी ल्याएको पाम्प्लेट राखेको थिँए त्यो पनि उक्त पुस्तकमा छ। त्यस्तै राष्ट्रीय कांग्रेसको जनवरी २५ मा भएको पहिलो मिटिङको पनि सबै पृष्ठ  राखेको थिँए त्यो पनि उक्त किताबमा छ ।

त्यस्तै मैले वेबसाइटमा राखेको सबै फोटोहरु पनि त्यस पुस्तिकामा छ। कुमार नेपालको पुस्तकमा पनि तिनै फोटोहरु राखिएका छन्। मेरो कपिराइट छ भनेर लेखेको छु वेबसाइटमा तर त्यसको कुनै वास्ता गरिएन। यसले गर्दा  मैले वेबसाइटमा राखेका सामाग्रीहरु  हटाईसके र अरु राख्ने मेरो हिम्मत छैन ।  जे राखे पनि  समितिले सीधा आफ्नो अधिकार जमाई हाल्छ ।  मैले मेरो बाबाले त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा दिनुभएको भाषण  राखेको थिए । त्यो पनि पुस्तकमा राखेको  छ ।

तर पुस्तकको शिर्षक छ "डिल्लीरमण रेग्मीको १९४०-१९५० को दशकको राजनैतिक क्रियाकलापहरु।"  दिक्षान्त समारोहको भाषणको उनको १९४० देखी १९५० सम्मको राजनैतिक  गतिविधिसँग केही सम्बन्ध छैन। यी त सबै परिशिष्टमा राखिएका भए। पुस्तकको पहिलो ७५ पेजमा डिल्लीरमण रेग्मीको १९४०-१९५० को राजनैतिक क्रियाकलापको वर्णन छ तर म त्यसमा लेखिएको हरेक परिच्छेदलाई त्यही समयका दस्तावेजहरु निकालेर काट्न सक्छु।

गहन अनुसन्धान गर्न लगाएर निकालेको पुस्तक भनेता पनि यसले मेरो बाबाको बारे विभिन्न प्रकाशित पुस्तकहरुमा लेखिएका झूठहरुलाई दोहोर्‍याउने सिवाय अरु कुनै काम गरेको छैन।  यो निम्नकोटीको रद्दिको टोकरीमा फ्याक्न लायकको पुस्तक विश्वको ठूला ठूला विश्वविद्यालयहरुको पुस्तकालयमा पुगेको छ। आधिकारिक दस्तावेज बनेको छ।

तर, १२-१३  वर्ष अगाडीसम्म विकास समिति  डिल्लीरमण रेग्मीको नामलाई  पूर्णरूपमा मेट्न भने लागेको थिएन। पूरानो घर म्युजियम हुनु पर्छ भनेर विकास समितिका एक अध्यक्षले भन्नु भएको थियो। नौ वर्ष अगाडीसम्म हरेक वर्ष स्मारिकाहरु पनि निक्लन्थे तिनमा प्रकाशित कतिपय लेखहरु मेरो बाबालाई गिराउन लेखिएका किन नहुन्। तर भोला श्रेष्ठ  यस पुस्तकालयको हाकिम भएर आएपछि नयाँ पुस्तकालय भवन बनाउने उद्देशले गैरकानूनी कार्यहरु शुरु भयो।

यद्यपी त्यो भन्दा अगाडी पनि विकास समितिले गैरकानूनी कार्य नगरेको भने होइन।

जब नयाँ भवन बन्छ त्यो सरकारको रकमले बन्छ र त्यसमा डिल्लीरमण रेग्मीको संकलनहरु जो धेरै नासिईसके बचेकाले सानो ठाउँ ओगट्नेछन्। केही बर्षमा उनको नाम हटाईनेछ र अर्कै नाम राखिनेछ आखिर उनी "असफल राजनितिज्ञ" त हुन्। यही उद्देश्य परिपूर्ति गर्न भोला श्रेष्ठ आएका छन्। त्यसैले उनको कार्यकाल पनि लम्बिदै गएको छ। ९ बर्ष भैसक्यो उनले हामीमाथि अन्याय गरेको। पुस्तकालय कर्मचारीहरुलाई दुख दिएको भनेर पूर्व पुस्तकालय हाकिम पशुपति अधिकारीलाई हटाइयो तर भोला श्रेष्ठ? उनलाई छुने कसले? उनी माथि कारवाही गर्ने त परै जावस्।

"चार पाँच सय वर्षसम्म जिउँदो रहने गरी  पुस्तकालय बनाएस्”  भनेर भनेको अनुसार मैले हाम्रो घरलाई अठार बर्ष अघि एउटा पुस्तकालयमा  परिणत गरे। मेरो बाबाको सपना पूरा गर्ने कार्यमा  यो पहिले खुड्किलो थियो।  तर मलाई “अनाधिकृत” मान्छे भनि  ब्वासोहरुले  खेदे, धपाए ।   

२० बर्ष अगाडी मेरो बाबाको निर्जीव शरिरको अपहरणबाट शुरु गरिएको हामी दुई माथिको अन्यायको यो कथाको अन्त्य त हुन्छ नै।  हाम्रो घर भत्किनेछ।  ब्वाँसोहरुले घेरिएर बसेको छु म माथि जे पनि हुन सक्छ । तर म  यत्तिकै सजिलैसँग पनि जानेवाला छैन ।

सम्बन्धित समाचार