काव्यको प्रारम्भ विन्दु वेद

खरीबोट

वेद संसारकै प्रथम लिखत ग्रन्थ हो । यस ग्रन्थ नै सनातन धर्मको मूल पनि हो । वेदलाई नियालेर अध्ययन गर्ने हो भने यसमा सर्वप्रथम काव्य भेटिन्छ । सनातन हिन्दु सभ्यताको आधार या प्रारम्भ नै प्रतिभावान् कवि र तिनका काव्यबाट भएको छ भनेर भन्नु अत्युक्ति नहोला । वेदमा जीवन, जगत र अज्ञात ईश्वरको जुन अनेक रहस्यहरूका पत्रहरू छन्, जसलाई सामान्य मस्तिष्कले बुझ्ने, परिकल्पना गर्ने या व्याख्या गर्ने चेष्टा गर्न सक्दैन । आफू भित्रसम्म पसेर अध्ययन गर्ने, ब्रह्माण्डको फैलावटलाई बुझ्ने या अदृश्य परलोकको परिकल्पनालाई सादृश्य शब्दमा व्यक्त गर्ने क्षमता केवल कविमा मात्रै निहित हुन्छ र कविको कर्म काव्य हो (लोकोत्तरवर्णनानिपूर्ण कविकर्म काव्यम्) ।

वेदलाई श्रुति पनि भनिन्छ । वेद संस्कृत भाषाको “विद” धातुबाट बनेको मानिन्छ जसको जान्नु या ज्ञान हो । यहीँ निर प्रश्न उठ्छ, आखिर वेदले के जान्नु या ज्ञानको बारेमा सङ्केत गर्छ ? संसारमा भाषासँगै लोकगीतको पनि विकास हुँदै गयो । संसारको हरेक भाषाका आदिम कालदेखि अहिलेसम्म लोकगीतमा भएको एउटा अवच्छिन्न तत्त्व भनेको श्लोकको (कप्लेट) पहिलो र दोश्रो पाउको अन्त्यमा हुने अनुप्रास युक्त शब्द हो, जुन आदिम कालदेखि हालसम्म प्रचलनमा रहेको छ ।

गीत या कवितालाई चिरकालसम्म सम्झनको लागि, गाउनको लागि, या सुललित बनाउन श्लोकको अन्त्यमा अनुप्रासको प्रयोग गरिन्छ । अनुप्रासको अझ विकसित रूप भनेको दुई पाउमा अनुप्रासको प्रयोगको साथसाथै लयमा समानता ल्याउन दुई पाउ बीचको उच्चारण लम्बाई (फोनेटिक लेन्थ या मिटर) बराबर बनाउने प्रचलन भयो । त्यसको अझ विकसित रूप भनेको दुई पाउको फोनेटिक लेन्थमा पनि ह्रस्व दीर्घको समेत समानता (सिलेविक इक्वेलिटि) ल्याउने कार्य भयो ।

यही सिलेविक इक्वेलिटि ल्याउने गणितीय सूत्रलाई अवेस्ताको भाषामा “जेन्द” र संस्कृत भाषामा “छन्द” भनिन्छ, जसको विकास असुर (इरान) राज्यमा भएको थियो । वेदले सङ्केत गरेको विद् धातुको जान्नु या ज्ञान भनेको यही छन्द निर्माण गर्ने ज्ञान थियो । काव्य या लोकगीत मौखिक नै भए पनि त्यसमा अन्त्यानुप्रास, स्वरमा आरोह अवरोह, भाव, विषय र मिटर आदि हुन्छन् नै । यो एक प्रकारको प्राविधिक ज्ञान नै हो र शब्द खेलाउँदै गाइने काव्यमा जो कोही यसमा दक्ष हुन पनि सक्दैनन्, र जो दक्ष हुन्छन् ती कवि हुन् ।

प्राचीन  कालमा आदिम संस्कृत बोल्नेहरू चर्षणी (यायावर या पशु लिएर चरन खोज्दै हिँड्ने फिरन्ता) थिए । वास्तवमा लोकगीत जन्मिने स्थान भनेको यिनै चरनहरू हुन् । गोठालो या बस्तु चराउन जाँदाको एकान्तमा नै मनबाट विभिन्न गीत र भाका फुर्ने गर्दछन् । चर्षणीहरू पशु पालक थिए, त्यसैले उनीहरूको भाषामा लोकगीतको पनि विकास भएको थियो । यही लोकगीत नै वास्तवमा मौखिक काव्य थियो, जसको विस्तारित र विकसित रूप ऋग्वेद र अवेस्ताका मन्त्रहरू हुन् ।

ऋग्वेद र अवेस्ताका मन्त्रहरूको मौखिक रूप या काव्यहरू यति बेला नै विकसित भइसकेका थिए । यिनै चर्षणीहरू नै उशना कविहरू (उशना कवि भन्नाले ऋग्वेद अगाडिका ती कविहरू हुन् जसले मौखिक रूपमा गीत या काव्य गरे÷गर्न सिकाए) हुन् जो ऋग्वेद या अवेस्ता कालभन्दा धेरै अगाडिका हुन् ।  

“बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्”–जैमिनिय ब्राह्मण (०१–१२५)
बृहस्पति देवताहरूका पुरोहित थिए र उशनाकवी (शुक्राचार्य) असुरहरूका ।

ऋग्वेद कालका कविहरू प्राचीन मन्त्र या श्लोकहरूको समेत प्रयोग गर्दथे ।
इदाहि ते वेविषतः पुराजाः प्रत्नासः आसु पुरुस्कृत सखाय
इे माध्यमास उतनूतनास यतावमस्य पुरुहूत बोधि ३ २३ १३

तान् पूर्वया निविदा हूमहे वयम् भगं मित्रमदिति दक्षमस्त्रिधम्
अर्यमण वरुणं सोममंश्विना सरस्वती नः सुभगामयस्करत् १ ८९ ३

यसैले ऋग्वेदका कविहरूले ऋग्वेदमा पूव्र्वेभिः स्तोमेभिः (प्राचीन) र मध्मेभिः या नूतनेभिः शब्दको प्रयोगको आधारमा मन्त्रहरू अर्वाचीन या प्राचीन भनेर छुट्टाएका छन् । ऋग्वेदका कविहरू आफ्ना मन्त्रहरूलाई नवीन कालको स्तोत्र भन्दछन् । ऋग्वैदिक कालका कविहरूले प्राचीन या मध्यकालको उशना कविहरूको काव्य संस्कार र परम्परा भन्दा भिन्न र नयाँ प्रयोग गर्ने भएकाले ऋषिहरूले यसो भनेका हुनन् ।

वेद र अवेस्ता दुवै नै प्राचीन कालदेखि नै श्रुतिको आधारमा अगाडि बढेको हाराहारीकै काव्य हुन् । यही मौखिक काव्यबाट शिक्षित र दीक्षितहरूले इ.पू. १४०० मा गिलगमेशको काव्य क्युनिफर्ममा लेखे । वेद पूर्व सुमेर सभ्यतामा उशना भनिए पनि वेद कालमा भने यसरी कविता गर्ने, भाषामा छन्दको निर्माण गर्न सफल हुने सुशिक्षित कविहरूलाई नै “आर्य” भनिन थालियो, यी आर्य कुनै जाति विशेष थिएनन्, विभिन्न जाति र टोटेमका थिए । यिनै सुशिक्षित कवि वर्ग थिए जसले, कविता, काव्य महाकाव्य र शासकहरूको यश गान गर्दै सबाई, कसिदा आदि विधाहरूको जन्म दिँदै गए । सुरुमा सुशिक्षित कविहरूलाई आर्य भनिए पनि पछि आर्य शब्दको अर्थ विस्तार भयो र सुशिक्षित र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई पनि आर्य भनिन थालिए ।

आर्य

आर्य वास्तवमा कुनै जाति नभएर समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू थिए । प्राचीन सभ्यतामा बलवान योद्धा नै गणपति या सहायक हुने गर्दथे । गणपति पछिको महत्त्वपूर्ण पूजनीय या मान्य व्यक्तिहरू भनेका गणपति, पुजारी, पुरोहित, कवि, सेनापति, लेखक (जो पिक्टोग्राफ या क्युनिफर्ममा लेख्न जान्दथे) विश्वकर्मा (हतियार र शिल्पकार) र घोडा सधाउन जान्ने सइस आदि नै आर्य थिए । सुमेर सभ्यतामा कीलाक्षरमा (क्युनिफर्म) लेख्ने विद्वानको त्यति नै सम्मान हुन्थ्यो जति सम्मान एक महान् सेनापतिको हुने गर्दथ्यो । कीलाक्षर भाषालाई लिखतमा उतार्ने लिपिभन्दा एक चरण अघिल्लो प्रक्रिया थियो, यसपछि भने लिपिको विकास भयो । गिलो माटोको स्लेटमा पातो भएको किल्लाले खोपेर त्यसलाई सुकाएपछि हलुका आगोमा पोलेर लिखत राख्ने कार्य कीलाक्षर हो । कीलाक्षरमा इतिहास देखि काव्यसम्म लेखिएका छन् र विश्वको पहिलो लिखत काव्य “गिलगमेसको वीर गाथा” हो ।

पुरोहित र पुजारी धर्म, राजनीति, इतिहास र काव्यका जानकार हुन्थे । दरबारको पुरोहित र पुजारी बन्ने अवसर केवल पुरोहित र पुजारीका छोरा, सन्तान या नजिकका आफन्तले पाउँथे, किनभने ती पुजारीबाट, दीक्षित र शिक्षित हुन्थे, इतिहासको ज्ञान पाएका हुन्थे, दरबारको प्रचलनसँग परिचित हुन्थे । एक किसिमले यो पुजारी बन्ने गुण या योग्यता थियो । वैदिक कालमा गाउँको रक्षार्थ उँचो टङ्गिन (डाँडा) मा सानो सैन्य दस्ता राखिएको हुन्थ्यो, जसलाई पुर या दुर्ग भनिन्थ्यो, गाउँको मुखियालाई ग्रामणी भनिन्थ्यो । गाउँभन्दा अलि ठूलो क्षेत्रलाई विश र मुखियालाई विशपति भनिन्थ्यो । विशभन्दा ठूलो क्षेत्रलाई जन भनिन्थ्यो । गाउँ र विश जन अन्तरगतका हुन्थे । जनका रक्षक (गोप्ता जनस्यः) लाई राजन भनिन्थ्यो । बाइसे चौबिसे राज्य जस्तै यी जनहरू परस्परमा युद्ध गरिरहन्थे । ऋग्वेदमा पुरोहित, सेनानी तथा ग्रामणी भनेर तीन अधिकारीहरूको उल्लेख छ । ऋग्वेदमा पुरको हित गर्ने पुरोहितको लागि ब्राह्मण शब्दको प्रयोग पनि गरिएको छ । युद्धको नेतृत्व जनपति गर्दथे, पुरोहित राजाको साथमा जान्थे र विजयको लागि प्रार्थना गर्दथे । पुरोहित शिक्षक, पथप्रदर्शक र मित्रको रूपमा जनपतिको मुख्य साथी हुन्थे, जनपति पुरोहितको सम्मान गर्दथे । पुरोहित प्रभावशाली व्यक्ति हुन्थे । ऋग्वेदका अनुसार वशिष्ठ र विश्वामित्र दुवै राजा सुदासका कवि र पुरोहित थिए ।

एव इत नु दाश राज्ञ सुदासम् प्र आवत् इन्द्रः ब्राम्हणाः वः विशिष्ठाः
“हे वशिष्ठहरू, दाशराज्ञ युद्धमा तिमीहरूले पूजा गरेको कारणले नै इन्द्रले सुदासलाई सहायता गरे ।”

विप्र, ब्राह्मण र कवि

“वृह” धातुमा “मन्” जोडिदा ब्रह्मन् शब्द बन्दछ । ब्रह्म शब्दको अर्थ प्रसार, व्याप्ती या फैलनु हो भने मन् को अर्थ विचार शक्ति, मनन या चिन्तन हो । यसरी ब्रह्मन शब्दको अर्थ बिचार शक्ति, मनन चिन्तनको व्याप्ति या प्रसार लाग्दछ । मनुष्य जब बाहिर हेर्दछ तब ब्रह्माण्डको अनन्त विस्तारको परिकल्पना गर्न पुग्दछ भने आफै भित्र हेर्दा पनि अनन्त गहिराई पाउँदछ । यी दुबैबाट अनन्त आत्मिक परिकल्पना र अनन्त ब्रह्माण्डको अवधारण उत्पन्न हुन्छ । ऋग्वेदका कविहरूले यी दुवै अवधारणा ऋग्वेदमा व्यक्त गरेका छन् ।

ऋग्वेदमा “त्वद् विप्रो जायते वाज्यग्ने” (हे अग्नि ! बलवान पुरुष तिम्रो सहायताले विशेष ज्ञानी हुन्छन्) भनेर अग्नि द्विअर्थी शब्दमा प्रयोग गरेका छन् । सामान्य अर्थमा अग्निको उपासनाले या सहायताले विद्वान पुरुष विशेष ज्ञानी हुन्छन् (विद्वान या प्रबुद्ध हुन्छन्) मेधा सम्पन्न विप्रलाई यसैले प्रदीप्त गर्छ भनिएता पनि अग्निलाई कविको साधनाबाट प्रज्वलित हृदयको उज्यालो भन्ने अर्थ पनि लाग्दछ । चाहे अग्नि होस या सविता, दुवैले “धियो यो नः प्रचोदयात्” को अर्थमा मनुष्यको रचनात्मक क्षमता भएको बुद्धिलाई प्रेरित गर्ने देव हुन् र विप्र यसका उपासक हुन् ।    

वैदिक कालमा पुरोहित र पुजारी सँगसँगै राजाको तारिफमा गीत गाउने र कविहरू पनि राजाका प्रिय थिए । यिनीहरूको आयको श्रोत नै राजाबाट पाउने बकसमा सम्पत्ति या धन हुन्थ्यो । यी पुजारी, गायक र कविहरू कहिलेकाहीँ कुनै कसुरमा देश निकालामा पनि पर्दथे, युद्धमा राजा हारे यिनीहरू पनि पलायन हुन्थे या नयाँ विजेता राजाको कृपामा त्यही राज्यमा या दरबारमा बस्न पनि पाउँथे । यस्ता पुजारी, गायक या कविहरू ससाना राज्य या कबिलामा पनि हुन्थे । पूजा गर्ने, कविता गर्ने या गीत गाउने नै यिनीहरूको पेसा थियो । यिनीहरूको पेसा वंशाणुगत रूपमा निखारिँदै गयो । आफ्नो पेसा देखाएर राजा या कबिलाको नायकको कृपामा बाँच्ने भएकाले धनको आशामा यिनीहरू चलायमान भइरहन्थे, एक राज्य या कबिलाबाट अर्को राज्य या कबिलामा गइरहन्थे ।

वंशाणुगत रूपमा इतिहासको ज्ञान, शिक्षा, गीत गाउने कला, कविता गर्न सक्ने सामथ्र्य, फुलबुट्टे तारिफ गर्न सक्ने कला र दरबारी प्रचलनको यथेष्ट जानकारीका कारण यिनीहरूलाई ब्राह्मण या विप्र पनि भनिन्थ्यो । ऋग्वेदका ऋचा लेख्नेहरू यिनै ब्राह्मण या विप्रहरू थिए । सुरुमा जो कोही ब्राह्मण हुन सक्थे तरपछि ब्राह्मणका सन्तानलाई मात्रै ब्राह्मण भनिन थालियो, ब्राह्मण जात हुन पुग्यो । ऋग्वेदमा श्लोक, गीत, तारिफ, इतिहास, युद्धको जानकारी आदिका मन्त्र या ऋचा छन् भने इन्द्र, अग्नि, मित्र, वरुण आदिसँग धनको लागि याचना गरिएका थुप्रै मन्त्र छन् । ब्राह्मण कर्म वैदिक कालमा पेसा या व्यवसाय नै थियो । सोह्र संस्कार, कर्मकाण्ड र हरेक पुराणमा दानको महिमा लेखेर दान लिने सुपात्र ब्राह्मणलाई मात्रै बनाइनु, कर्मकाण्ड या पूजाको पुरोहित र होता ब्राह्मण नै हुनुपर्ने विधान बनाइनु, पुराणकथा वाचनमा व्यास, गणेश, र वेश्या (पुराण वाचन गर्ने ब्राह्मणको पत्नी) सबै ब्राह्मण नै हुनुपर्ने नियम बनाउनु कर्मकाण्ड, पूजाआजा आदिलाई एकक्षत्र ब्राह्मणीकरण गर्ने व्यवस्थापकीय कार्य थियो ।

संस्कृत

संस्कृत भाषाको उद्गम थलो कहाँ हो या यो कुन जाति विशेषको भाषा हो भन्ने कुरा अझै विवादित छ । भाषा, लोकगीत र तेलमा एक समानता के छ भने यी तीनै कुराहरू वृत्ताकार रूपमा फैलन्छ । ऋग्वेदका ऋचाहरू लेख्ने काम अफगानिस्तानको स्वात घाँटीमा भएको कुरामा दुई मत छैन । यदि संस्कृत त्यहीँको जातीय या क्षेत्रीय भाषा भएको भएको भए त्यसको प्रचलन पछिसम्म हुनुपर्ने थियो, जुन भएको छैन । अवेस्ता र ऋग्वेदका ऋचाहरू लेख्ने काम इरान र अफगानिस्तानको स्वात घाँटीमा भएको कुरामा दुई मत छैन । यदि संस्कृत त्यहीँको जातीय या क्षेत्रीय भाषा भएको भएको भए त्यसको प्रचलन पछिसम्म हुनुपर्ने थियो, जुन भएको छैन । अफगानिस्तानमा संस्कृत भाषी छैनन्, संस्कृतसँग मिल्दो नजिकको भाषा पनि त्यहाँ छैन । अफगानिस्तानबाट पूर्वतिर आउँदै गर्दा पनि संस्कृत भाषी छैनन्, बरु भारतको दक्षिणी भेगको तमिल भाषासँग मिल्ने ब्राहुई भाषा बोल्ने छन् । संस्कृत भाषाको केन्द्र सप्तसिन्धु मान्ने हो भने यसको अलिकति पनि प्रभाव दक्षिणका तामिल, तेलगु, कन्नड र मलयालम भाषामा छैन । संस्कृत विशाल जनसमुदायमा बोलिएर जनसमुदायमै भिजेको भाषा थिएन, यो सीमित वर्गमा बोलिने प्रयोग गरिने भाषा थियो, रह्यो र आम मानिसको या आम मानिसले बुझ्ने भाषा पाली थियो, यसैले भारतीय इतिहासको प्राचीन शिलालेख पालीमा छन् । यसरी संस्कृत भाषाको विकास केन्द्र मितन्नी सभ्यता नै देखिन्छ, यहीँबाट संस्कृत पूर्वमा इरान, अफगानिस्तान हुँदै भारत आएको देखिन्छ भने अफगानिस्तानबाट एक समूहले पश्चिममा लिथुवानियासम्म लगेको देखिन्छ ।

संस्कृतका तीन चरण छन्, आदिम काल, जति वेला यस भाषाका शब्दहरूको प्रयोग १७०० इ.पू.को कस्साइट र १४०० इ.पू.को मितन्नी सभ्यतामा पाइन्छ । मध्यकाल ऋग्वेद या अवेस्ताको मौखिक प्रारूपको अवस्थालाई मान्न सकिन्छ भने ऋकसंस्कृत देखि पाणिनीको व्याकरण या रामायण कालपछिको समयलाई लौकिक संस्कृत काल मान्न सकिन्छ । आदिम कालमा यस भाषालाई के भन्ने गरिन्थ्यो, यस भाषाको अन्य कुनै नाम थियो त्यो स्पष्ट खुलेको छैन, तर मध्यकालमा भने यसलाई देव भाषा भनिएको छ । सर्वप्रथम देव भाषाको लागि संस्कृत शब्दको प्रयोग वाल्मीकिले रामायणको सुन्दर काण्डमा गरेको विद्वानहरूको मत छ । अर्कोतिर पाणिनीले अष्टाध्यायी व्याकरण (६०० ई.पू.) बनाएपछि मात्र यस भाषाको नाम संस्कृत रहन गएको केही विद्वानहरूको तर्क छ । तथापि, वेदमा संस्कृत हुनु पूर्व नै यो भाषा प्रयोगमा थियो भन्ने प्रमाण १७०० इ.पू.को कस्साइट र १४०० इ.पू.को मितन्नी सभ्यतामा पाइन्छ । कस्साइट सभ्यतामा सुरियस (क्गचष्बक) मरुत, भग, (द्यगनबक) अभिरथ (ब्दष्चबततबक) जस्ता नामहरूको प्रचलनले प्रागसंस्कृतको अभ्यास यस सभ्यतामा थियो भन्ने प्रमाणित हुन्छ । इ.पू. ३५०० तिर युफ्रेटस र टिगरिस नदीको माथिल्लो इलाकामा मितन्नीहरूको शासन थियो । मितन्नी राज्यको सीमा भूमध्य सागर किनारदेखि उत्तरी अस्सिरिया र दक्षिण–पूर्वी मोसोपोटामियासम्म थियो । हित्तिहरूको सीमासँग जोडिएको मितन्नीहरूको उत्तर–पश्चिमी सीमामा लगातार भएको आक्रमणका कारण मितन्नी राजा मतिउअजाले हित्ति राजा शुब्बिलिमासँग एक सन्धि गरे, जुन सन्धिको क्युनिफर्म ट्याब्लेट सन १९०७ मा बोगाजकोईमा फेला प¥यो । कार्बन डेटिङ अनुसार यस क्युनिफर्मलाई १४०० इ.पू. तिरको मानिएको छ । यसै क्युनिफर्म सन्धिमा तुसरत, आर्ततम, इन्द्र, वरुण, नासत्य आदिलाई सन्धिको साक्षी हुन प्रार्थना गरिएको छ । मितन्नीहरू हुर्रियन भाषा बोल्दथे, तथापि ऋकसंस्कृत भाषाको प्रभाव राजवंशमा पनि परेकोले यस वंशका राजाहरूको नाम किर्तय्, सत्वर्ण, वरतर्ण, बरात्तर्ण, आर्ततम, अर्थसुमेढ, तुष्यरथ, मतिवाज, क्षत्रवर, वसुक्षत्र, परात्तरणा आदि ऋकसंस्कृत भाषामा हुनु र दरबारियाहरूको नाम पनि पुरुष, दुश्रत्त, सुवरदत्त, इन्द्रोता, सुबन्धु आदि हुनुले त्यति बेला नै आदिम संस्कृत विकसित भइसकेको स्पष्ट हुन्छ । यसका अतिरिक्त वैदिक ऋषिहरूले प्रयोग गर्ने आर्य शब्द हित्ति, लीडिया, मीडिया, शुशा र बेबिलोन भाषामा पनि प्रयोग भएको पाइएको छ ।

संस्कृत भाषाको इतिहास हेर्दा यो भाषाको मूल प्राचीन प्रोटो इन्डो युरोपियन नामको आदिम भाषा भएको देखिन्छ । विद्वानहरूका अनुसार यो भाषा बोल्ने सुरुवाती मानवहरू मध्य एसियाको कजाकस्तान र वरिपरिका क्षेत्रकामा रहन्थे । संसारमा कजाकहरू नै घोडालाई तालिम दिने र घोडाको व्यापार गर्ने जाति थिए । घोडाको प्रयोगको प्रचलन बढ्दै जाँदा यी कजाकहरू बिभिन्न ठाउँमा छरिन थाले र प्रागसंस्कृत भाषा बोल्ने समूहबाट छुट्टिएकाहरू इरानमा आए र त्यहाँ उनीहरूको भाषा बदलियो, जसलाई प्रोटो इन्डो इरानियन भाषा भनिन्छ । इरानका इलाकामा प्रोटो इन्डो इरानियन भाषा बोल्नेहरूको पनि एक शाखा अझ पश्चिम सिरिया तिर लाग्यो र यहाँ आएपछि प्रागसंस्कृत भाषा बोल्न थाले । यिनै प्रागसंस्कृत बोल्नेहरू नै देव जाति कहलिए, त्यसैले संस्कृतलाई देव भाषा पनि भनिन्छ । देव या कजाकहरू खेती किसानी गर्दथे, भेडा चराउँथे । यिनै देव जातिको संस्कारको छाप आज पर्यन्त कर्मकाण्डमा देख्न सकिन्छ । भेडाको ऊनलाई पवित्र मान्ने, जौ को प्रयोग गर्ने, कुशको प्रयोग गर्ने आदि प्रचलनहरू देव जातिको संस्कारकै स्मरण हुन् ।

विश्वको भाषाको इतिहास अध्ययन गर्दा ऋकसंस्कृत जस्तै भाषा बोल्नेहरू चार स्थानमा पाइएका छन्, या भनौँ चार सभ्यताले ऋकसंस्कृत जस्तै भाषा बोल्ने गर्दथे । अवेस्ताको भाषा ऋकसंस्कृतसँग मिल्दोजुल्दो छ भने लिथुवानियाको प्राचीन भाषा पनि ऋकसंस्कृतको निकटतमको भाषा हो । अझ यो भन्दा अगाडि जाँदा सुमेरियन सभ्यतामा मितन्नीहरूले पनि प्रागसंस्कृतसँग मिल्दो भाषाको प्रयोग गर्दथे । ऋकसंस्कृत, अवेस्ता, लिथुवानियाको रोमुवा र मितन्नी सभ्यताको भाषालाई दाँजेर अध्ययन गर्दा वैदिक संस्कृत र अवेस्ता उही समयका देखिन्छन् । रुस नजिकको लिथुवानियामा रोमुवा धर्म मानिन्छ । यस धर्ममा हिन्दुहरूले जस्तै स्नान गरेर अग्नि अनुष्ठानमा प्रसाद चढाएर भजन गाउने गर्दछन् । यज्ञ या अनुष्ठानको यो रूप वैदिक यज्ञ जस्तै भएकोले यसलाई अर्वाचीन मान्नु पर्ने हुन्छ भने यी तीनैभन्दा मितन्नी आदिम संस्कृत भाषा वर्गमा राखिन्छ । यस आधारमा संस्कृत संस्कृत कुनै जातीय या क्षेत्रीय भाषा नभएर भारतीय उपमहाद्वीपमा बाहिरबाट आएको भाषा थियो भन्ने स्पष्ट हुन्छ ।

भाषा, लोकगीत र तेलमा एक समानता के छ भने यी तीनै कुराहरू वृत्ताकार रूपमा फैलन्छ । ऋग्वेदका ऋचाहरू लेख्ने काम अफगानिस्तानको स्वात घाँटीमा भएको कुरामा दुई मत छैन । यदि संस्कृत त्यहीँको जातीय या क्षेत्रीय भाषा भएको भएको भए त्यसको प्रचलन पछिसम्म हुनुपर्ने थियो, जुन भएको छैन । अफगानिस्तानमा वेद लेख्ने काम सुरु भयो, तर संस्कृत भाषी यहाँ छैनन्, संस्कृतसँग मिल्दो नजिकको भाषा पनि त्यहाँ छैन । अफगानिस्तानबाट पूर्वतिर आउँदै गर्दा पनि संस्कृत भाषी छैनन्, बरु भारतको दक्षिणी भेगको तमिल भाषासँग मिल्ने ब्राहुई भाषा बोल्नेहरू छन् । संस्कृत भाषाको केन्द्र सप्तसिन्धु मान्ने हो भने यसको अलिकति पनि प्रभाव दक्षिणका तामिल, तेलगु, कन्नड र मलयालम भाषामा छैन ।

संस्कृत विशाल जनसमुदायमा बोलिएर जनसमुदायमै भिजेको भाषा थिएन, यो सीमित वर्गमा बोलिने प्रयोग गरिने भाषा थियो, रह्यो र आम मानिसको या आम मानिसले बुझ्ने भाषा पाली थियो, यसैले भारतीय इतिहासको प्राचीन शिलालेखहरू पालीमा छन् । यसरी संस्कृत भाषाको विकास केन्द्र मितन्नी सभ्यता नै देखिन्छ, यहीँबाट संस्कृत पूर्वमा इरान, अफगानिस्तान हुँदै भारत आएको देखिन्छ भने अफगानिस्तानबाट एक समूहले पश्चिममा लिथुवानियासम्म लगेको देखिन्छ ।
वैदिक सभ्यतामा रथ र घोडाको ठूलो महत्त्व देखाइएको छ । मितन्नीहरू रथको प्रयोग गर्दथे, उनीहरूले रथलाई हलुका बनाउन सिङ्गो गह्रौँ र भद्दा पाङ्ग्राको ठाउँमा पाङ्ग्रामा “स्पोक” को प्रयोग गर्न थालिसकेका थिए । घोडालाई तालिम दिने किक्कुलीको प्रशिक्षण ग्रन्थ पनि मितन्नीहरूले लेखि सकेका थिए, जुन ग्रन्थलाई वेदभन्दा पनि पुरानो र विश्वको सबैभन्दा पुरानो अभिलेख मानिन्छ । यस अभिलेखमा एक, त्रय र अश्व जस्ता थुप्रै आदिम संस्कृतका शब्दहरू छन् । मितन्नीहरू रथ चलाउन निपुण योद्धालाई “मर्य” भन्दथे, यही मर्य शब्द ऋग्वेदमा इन्द्रको सहयोगी योद्धाहरूको लागि प्रयोग गरिएको छ । यिनै आधारमा डेविड एन्थनी आफ्नो किताब “द ह्विल एन्ड ल्याङ्गवेज” मा प्रागसंस्कृत भाषा ऋग्वेद अगाडि नै मितन्नी सभ्यतामा भएको मान्दछन् । बेबिलोनका कस्साइटहरूका सुरिअ (सूर्य), मरुत्तस (मरुत), बुगुस, इन्द्रस आदि देवताहरू पनि ऋग्वेदमा आउनु अगाडि नै अस्तित्वमा थिए ।  

माथिको तथ्यको आधारमा आदिम संस्कृतको विकास मितन्नी सभ्यतामा भएको स्पष्ट हुन्छ । यस आधारमा वैदिक संस्कृत भाषाको सिधा सम्बन्ध मितान्नी सभ्यता र मितन्नीसँग देखिएता पनि यिनै मितन्नीहरू नै आर्य भने होइनन्, यिनैले नै ऋग्वेद लेखेका पनि होइनन्, अपितु मितान्नी राज्य नष्ट भएपछि त्यहाँबाट निस्किएर इरान हुँदै अफगानिस्तान आइपुगेका पुरोहित, पुजारी र क्युनिफर्म लेख्न सिपालुहरूले वैदिक संस्कृतलाई परिष्कृत बनाए, लिपिको विकास गरे र काव्यको अभ्यासका क्रममा छन्द र अलङ्कारको विकास गर्दै अभ्यासका श्लोकहरूलाई नमुनाका रूपमा सङ्कलन गर्दै लगे, जसलाई पछि त्रिवेद भनियो र विभाजन गर्दा प्रथममा ऋग्वेद प¥यो ।

भाषामा शुद्धता बिस्तारै र धेरै काल क्रमपछि आउँछ भने उच्चारणमा भिन्नता हरेक चार कोशको दुरीमा हुने गर्दछ । यो उदाहरण संस्कृत भाषामा पनि लागु हुन्छ । उदाहरणको लागि हरह्वेती र सरस्वती नदीको नामलाई लिन सकिन्छ । संस्कृत भाषा भारतकै उपज होइन भन्ने यो सानो प्रमाण मात्र हो । अवेस्ताका थुप्रै शब्दहरू जुन दीर्घ छन्, संस्कृतमा ती ह्रस्व भएर आएका छन् । सुरुमा उच्चारणगत आधारमा दीर्घ उच्चारण हुने शब्दहरू समय क्रममा पछि गएर ह्रस्व उच्चारण हुने गर्दछन् । उदाहरणको लागि सूूर्य र ईश शब्दको समास सुरेसलाई लिन सकिन्छ । नेपाली भाषामा कतिपय शब्दहरू यस्ता छन् जुन लेख्दा दीर्घ लेखिन्छ तर उच्चारण गर्दा भने ह्रस्व उच्चारण हुने गर्दछ । फूल लेख्दा दीर्घ लेखिन्छ तर उच्चारण ह्रस्व हुन्छ । यसको कारण के हो भने लामो अभ्यासपछि शब्दको उच्चारण आफै छोटिन पुग्छ र ह्रस्व उच्चारित हुन जान्छ । हरह्वेती नदीको वर्णन अवेस्ताको पछिल्लो भागतिर पाइन्छ जब कि सरस्वती नदीको वर्णन ऋग्वेदको प्राचीन मण्डलमै पाइन्छ । यदि ऋग्वेदलाई अगाडिको मान्ने हो भने अवेस्तामा पनि हरह्वेती नदीको वर्णन अगाडि नै हुनुपर्ने थियो । तर अवेस्ताको पछिल्लो भागमा वर्णन भएको नदी ऋग्वेदको अघिल्लो मण्डलमा हुनु र हरह्वेती र सरस्वती दुईको उच्चारणमा आउने ह्रस्व उच्चारणले पनि अवेस्तामा प्रचलित संस्कृत भाषा वेदभन्दा अगाडिको देखिन्छ ।

देव जाति  

प्रागवैदिक कालमा जनघनत्व बाक्लो थिएन, भन्नै पर्दा सय डेढ सय मानिसको बसाइ भएको ठाउँ नै पुर हुने गर्दथ्यो र सुरक्षाका लागि भौगोलिक दुरी आवश्यक पनि थियो । यी पुरका बासिन्दाहरू एकै जातका भए पनि टोटेमका आधारमा भने भिन्न जाति जस्ता भएर बस्दथे, यसैले भाषा र संस्कारमा पृथकता हुनु स्वाभाविक थियो । देव जाति यही नै हुन् भनेर भनेर ठोकुवा गर्न मुस्किल छ तथापि, देव जाति (जो हिमवत क्षेत्रबाट आएका थिए) र असुर (जो मध्य एसियामा बस्दथे) जाति एकै स्थानमा रहन्थे, यहीँ काव्यको सृजना भइसकेको थियो तथापि यो मौखिक अभ्यासकै क्रममा थियो, फोनेटिक रूपमा । मौखिक अभ्यासकै क्रममा फोनेटिक रूपमा रहेको गीत र काव्यमा वरुण र इन्द्र दुवै असुर रूपमा थिए । सिरविन्दा, इलविसा, अश्व जोडिएका नामहरू दास, दस्यु असुर शब्दहरू इरानमा प्रचलित र पौराणिक कथाहरूमा प्रयोग भएका नाम हुन् । बिद्युतको रूपमा इन्द्रलाई देखाउने आकाशिय बिजुलीका देवता साँपको रूपमा आएका दानवहरूलाई मारेको कथा हिताइत सभ्यताको पौराणिक कथामा पनि पाइन्छ । छन्द निर्माणको ज्ञान आर्यले इरानमै हुँदा जानिसकेका थिए भन्ने कुरा ऋग्वेद र अवेस्ताको भाषा समानता र छन्दमा एकरूपताले प्रस्ट पार्दछ । “अनास” को अर्थ नाक नभएको होइन, स्पष्ट भाषा बोल्न नसक्ने भन्ने बुझिन्छ । आर्यहरूले अनास भनेकाहरू ऋकसंस्कृत बोल्न नजान्नेहरू हुन् । वरुण र इन्द्र दुवै जना देव र असुर जातिमा मान्य थिए, तथापि दुवैमा जातीय सोच अनुसारको अदृश्य भिन्नता भने छर्लङ्ग उजागर भइसकेको कुरा अवेस्ता र ऋग्वेदबाट बुझ्न सकिन्छ ।

यसबाट के देखिन्छ भने कजाकहरूको प्रागभाषाबाट विकसित भएको संस्कृत केवल ग्रन्थ र कविता गर्ने कवि, पुजारी र पुरोहितमा मात्र सीमित रह्यो, यो भाषा जनमानसको भाषा हुन सकेन । आर्यहरूले वेदलाई अस्पृश्य बनाइ राख्ने चेष्टामा वेदलाई पछिसम्म पनि मौखिक रूपमै राखे र संस्कृत भाषाको लागि कुनै लिपिको विकास समेत गरेनन् । यस आधारमा संस्कृत कुनै जातीय या क्षेत्रीय भाषा नभएर भारतीय उपमहाद्वीपमा बाहिरबाट आएको भाषा थियो भन्ने स्पष्ट हुन्छ ।
परावर्ती इरानमा नक्षत्र र चन्द्रको पूजा गर्ने प्रधान पुजारीलाई बरमक (मग जातिका प्रधान या पुजारी) भनिन्थ्यो, यी मगहरू नै पछिका मज्द धर्मावलम्बी भनिन्थ्यो । सूर्य सबै सभ्यतामा पूज्य देव थिए, तर हिमवत क्षेत्रका देवहरूले अग्निलाई सूर्यकै प्रतिरूप मान्दथे । हिमवत क्षेत्रका देवहरू, जो घोडा सुमर्न दक्ष थिए, सुमेर क्षेत्रमा मिसिन आएका थिए । देव जाति अग्नि पूजक थिए, ऋग्वेदका ऋचा लेख्ने ऋषिहरूले आफ्नो पुरातन देव अग्निलाई बिर्सिएका थिएनन् र विशेष देव अग्निको वन्दना, पूजा गर्दथे र तिनबाट आशीर्वादको कामना पनि गर्दथे । असुरहरू भने मित्रको रूपमा सूर्यको उपासना गर्दथे । दुई संस्कार र संस्कृतिको मिलापमा सुमेरहरूले पनि अग्निलाई स्वीकार गरेर पुज्न थाले तर अग्निलाई पवित्र मानेर लास जलाउने कार्य भने गरेनन् ।

अवेस्ता र वेदको उद्गम स्थान एक

माथि नै चर्चा गरियो कि इरानको पूर्वी भाग र अफगानिस्तानमा ऋकसंस्कृत बोल्नेहरू साथै रहन्थे । ऋग्वेद, अवेस्ता र प्राचीन इतिहासको अध्ययन गर्दा देव असुरको भूमि अफगानिस्तान र इरानको बीचको भाग थियो जुन तुर्कमेनिस्तानसम्म फैलिएको थियो । यसै क्षेत्रमा ऋकसंस्कृतका उशना कविहरूले कविताको विकास गरिसकेका थिए जुन मौखिक रूपमा थियो । लिपिको विकास नभइसकेको अवस्थामा पनि ती कविहरूले छन्द र अलङ्कारको प्रयोग कवितामा गर्न जानिसकेका थिए, जसको प्रत्यक्ष प्रभाव अवेस्ताको गाथा र ऋग्वेदमा देख्न सकिन्छ । स्पष्ट रूपमा भन्नु पर्दा यति बेला नै अवेस्ता र वेदको छन्दमा अलङ्कारको प्रयोग सहितको मौखिक स्वरूप तयार भइसकेको थियो । ऋग्वेद र इरानी धर्मग्रन्थ “अवेस्ता” को भाषा र शब्दहरू ७० प्रतिशत मिल्दछ भने उपास्य देवताहरू पनि लगभग उही छन् । यसैबाट आर्य र अवेस्ताका कविहरूको मूल एकै भएको स्पष्ट हुन्छ । यी दुवै ग्रन्थहरूमा अग्नि, इन्द्र, वरुण, मरुत आदि देवताहरू समान रूपमा पुजिएका छन् । प्रागवैदिक इरानी र वैदिक आर्यहरूको प्रार्थना, उपासना र कर्मकाण्डमा कुनै भेद देखिँदैन । दुवै अग्नि, सूर्य, वायु आदि प्राकृतिक तत्त्वहरूको उपासना गर्दथे, अग्निहोत्र कर्म गर्दथे । मिथ्र (मित्र) सूय्य (सूर्य), वयु (वायु) होम (सोम) अरमइति (अमति) अद्दमन (अर्यमन) नइर्यसंह (नराशंस) आदि  दुवैका देवता थिए । असुरहरू पनि ठूल्ठूला यश्न (यज्ञ) गर्दथे, सोम पान गर्दथे । अथ्रवन (अथर्वन्) नामक याजक (ब्राह्मण) काठमा काठको घर्षण गरेर अग्नि उत्पन्न गर्दथे । अवेस्तामा पनि हप्तहिन्दु (सप्तसिन्धु, हरव्वेती (सरस्वती हरयू (सरयु) आदि क्षेत्र र नदिका नाम उल्लेख छन् । वैदिक आर्यहरूले जस्तै असुरहरू पनि मधुको (मह) प्रयोग यज्ञादि कार्य कर्मकाण्डमा प्रयोग गर्दथे । वेदमा जस्तै अवेस्तामा पनि समान रूपमा गाथ (गाथा) र मन्थ्र (मन्त्र) छन् । वेदमा जस्तै यस पनि यश्न (यज्ञ)को बारेमा चर्चा गरिएको छ ।  

अवेस्तामा वरुणलाई अहुरमज्द (असुर महान) को संज्ञा दिइएको छ । यसैको अनुकरण गर्दै वेदमा पनि इन्द्रलाई थुप्रै स्थानमा असुर नै भनिएको छ । प्रागवैदिक कालमा वरुण सशरीरका थिए, पुराणका अनुसार वरुणले देव असुरहरूका बीच सन्धि गराएका थिए । बोगाजकोइ अभिलेखमा पनि सन्धिको साक्षीमा वरुणको नाम हुनुले वरुण त्यति वेलाका शक्तिशाली शासक थिए भन्ने स्पष्ट हुन्छ । असुरहरूको पुजारीलाई “मारगी” भनिन्थ्यो । यी मारगीहरूलाई यश्नको लागि सोम रस निचोर्ने र यज्ञमा पशुको बलि दिने अधिकार थियो । मिथ्र (मित्र) अहुर (असुर) अर्त (ऋतु) विम (यम) गन्दरेव (गन्धर्भ) अतर (अग्नि) अपाम नपात (आपः, जल) आदि थुप्रै ऋग्वैदिक शब्दहरू असुर शब्दहरूकै विकसित रूप हुन् । सोम रस, यज्ञ र पशु वली आर्यहरूले यिनै असुर सभ्यताबाट सिकेका हुन् ।

ऋग्वेदका सुरुका ऋचाहरू अफगानिस्तानी क्षेत्रमा लेखिएता पनि ती ऋचाहरू प्राचीन कालको समाजको एकतर्फी कथा सुनाउन अभिशप्त छ । ऋग्वेदको यम–यमी संवाद प्राचीन कालको समाजको झलक हो र यसको आधार इरानी असुर सभ्यता भएको कुरा अवेस्ताबाट छर्लङ्ग हुन्छ, जसमा दाजु बहिनीको यौन सम्बन्धलाई नाजायज मानिएको छ । ऐतरेय ब्राह्मणमा रोहिताश्वको बलिको प्रसङ्ग छ । रोहिताश्व नाममा भएको अश्व शब्द इरानी सभ्यताको देन हो । यसै गरेर ऋग्वेदको शुनशेफको बलिको प्रसङ्ग पनि छ भने प्रह्लादको वधको कथा हिरण्यकशिपुसँग जोडिएको छ । यी मध्ये रोहिताश्व र शुनशेफ दुवैको बलिको तर्पण वरुणलाई गरिएको छ । वरुण असुरहरूका आदिम देव हुन् र हिरण्यकशिपु पनि असुर जातिकै थिए । यी तीनै कथाले नरबलिको प्रचलन असुर जातिमा थियो भन्ने प्रस्ट हुन्छ । इरान निकट वर्ती क्षेत्रमा अझै महिलाहरू ऐलनु ऐलनु (ब्ष्लिग) भन्दै छाती पिटेर रुने गर्दछन् । यो प्रचलन सम्भवतः बलिको लागि पुत्र छिनिँदाको प्राचीन मातृ रोदनको अवशेष हो । ऋग्वेदमा यही अमानवीय संस्कारको विरोध विश्वामित्र ऋषिले गरेका थिए र शुनशेफलाई उन्मुक्त गरेका थिए ।

वैदिक संस्कृतिमा जसरी अग्नि प्रधान देवता मानिएको छ अवेस्तामा पनि अग्निको महत्त्व त्यति नै छ, फारसी र वैदिक दुवै संस्कारमा आज पनि अग्नि विना कुनै यज्ञ पुरा हुँदैन । आर्यहरू अग्नि र शिखालाई अत्यन्तै महत्त्व दिन्छन् । पूजा अर्चना, होम, मृत्यु र अन्य कार्यहरूमा समेत अग्निको प्रयोग हुन्छ । पूजामा बत्ती, व्रतबन्ध या अन्तिम संस्कारमा पनि अग्नि नै प्रयोग हुन्छ । यज्ञोपवीत जनैका फुर्का र टुप्पीलाई पनि अग्नि बराबर मानेर शिखा भनिन्छ । जसरी सूर्यलाई आदिदेव भनेर वेदले मान्दै आएको छ त्यसै गरेर अवेस्ताले पनि सूर्यलाई मान्दछन् र अग्निलाई सूर्य बराबर मान्दछन् । तर मृत देहलाई अग्निमा जलाउने कार्यलाई भने सुर भनेर निन्दा गर्छन् । अवेस्ताको पहिलो पुस्तक वेन्दिदादको प्रथम फर्गद (अध्याय) अहुरमज्द स्पितमलाई (सबैभन्दा धर्मात्मा, उदार, उपकारी) भन्छन्, “मज्दको उपासक कसैलाई मुर्दा जलाउँदै गरेको देखेमा मारी दिनु ।”

अवेस्ताको गाथा र ऋग्वेदका ऋचा लेख्ने कविहरू विभिन्न जाति, गोत्र, स्थान, टोटम र सभ्यताबाट आएका थिए । यी मध्ये असिरियन सभ्यताबाट पनि कविहरू आएका थिए भन्ने कुरा ऋग्वेदका ऋचाहरूबाट प्रस्ट हुन्छ । वेद या अवेस्ताका ऋचाहरू लेखिएका समय एकै थियो, अगाडि पछाडि थिएन, समयको ठूलो अन्तर थिएन ।

आमित्रे वरुणे वयम् गर्भिः जुहुहुमः अत्रिवतु । ५ ७२ १
“हामी मित्र र वरुणको निमित्त अत्रिको समान गीतहरूले होम गर्दछौँ ।”
प्रश्यावाश्च धृष्णुया अर्च मरुत् भिः ऋक्कभिः । ५ ५२ १
“हे श्यावाश्च, जोड जोडले गाउने मरुतहरूको साथै उच्च स्वरले गाऊ ।”
अवत्सारस्य स्पृणवाम रण्वभिः शविष्ठम् वाजम् विदुषाचित् अध्र्यम् । ५ ४४ १०

“अवत्साको मीठो गीतले हामी महान शक्ति प्राप्त गर्ने कोसिस गर्नेछौँ, जसलाई जो जान्दछन् उही पाउँछन् ।” प्रागवैदिक कालमा, जति वेला सुर असुर एकै साथमा थिए, त्यति वेला होम, अग्नि पूजनको अभ्यास एकैसाथ गर्दथे । यज्ञादि कार्यमा पुराना गीत गाउने प्रचलन (स्वस्ति वाचन) अद्यापि कायमै छ ।

अवेस्तामा जसरी जगत् रचयितालाई अहुमज्द (महाअसुर) भनिएको छ, ऋग्वेदमा पनि ईश्वरलाई असुर शब्द नै प्रयोग गरिएको छ । यहाँ अर्थगत भिन्नता नभएर केवल उच्चारणगत भाषिक असमानता मात्र छ । ऋग्वेदका प्रारम्भिक ऋचाहरूमा, सृष्टि उत्पत्ति सूक्तहरूमा सृजनशील मूल प्राकृतिक सृष्टि कण या शक्तिलाई सुर र असृजनशील र सृजनामा व्यवधान उत्पन्न गर्ने शक्तिलाई असुर भनिए पनि देव या ईश्वरलाई समेत असुर शब्द प्रयोग गरिएको छ ।

“प्र ये मित्रं प्रार्यमणं ...” ऋग्वेद १०.७९.९
जो दुष्टहरू मित्र, अर्यमा, मरुत वरुणदेव आदिको अपमान गर्छन्, त्यसलाई हे इन्द्र तिमी तिखो बज्रले मार ।

ऋग्वेदको यो ऋचा सुर असुर भेद हुनु पूर्वको हो । यस ऋचामा भएका मित्र अर्यमा र वरुणदेवहरू पूर्व कालका र अभौतिक प्रतीत हुन्छन्, तथापि ती समान रूपमा पूज्य र स्तुत्य छन्, तर यति वेला इन्द्र भने भौतिक शरीरका देखिन्छन्, बलवान देखिन्छन्, दण्ड दिन समर्थ देखिन्छन्, सुर असुर दुवैका पूज्य देखिन्छन्, यसैले दण्ड दिनको लागि इन्द्रलाई आह्वान गरिएको छ । मन्त्रकै आधारमा हेर्दा सुर असुर दुवैले माने पनि मित्र, अर्यमा, मरुत, र वरुणलाई देव नमान्नेहरूको पनि त्यति बेला उपस्थिति थियो भन्ने स्पष्ट हुन्छ, तर ती को थिए कतै स्पष्ट भने छैन । पुराणका कथा अनुसार उत्तर–पश्चिमको इलावर्त क्षेत्रमा बस्नेलाई दैत्य र दानव मानिएको छ । पुराणका कथा अनुसार यी दैत्य या दानव जाति वीर योद्धा थिए र यिनीहरूले कहिल्यै वेद या यज्ञ पूजनलाई स्वीकार गरेनन् । देवासुर सङ्ग्रामको मुख्य क्षेत्र हेर्दा इन्द्रको अन्तिम युद्ध असुरहरूसँग नभएर इलावर्तका दैत्य र दानवसँग (मंगोलियन जातिका या मंगोलियन जातिका प्रजाका असुर राजा बलिसँग) भएको स्पष्ट हुन्छ । सम्भवतः यिनै दैत्य र दानव जाति नै प्रागवैदिक इरानी आर्यहरूले सङ्केत गरेका मित्र, अर्यमा मरुत र वरुणलाई नमान्ने जाति हुनु पर्दछ ।  

देव असुर भेद

ऋग्बैदिक काल पूर्व सुर असुर एकै थिए र दुवै असुर नै कहलाउँथे । यी दुवै एकेश्वरवादी नै थिए र अवेस्तामा उल्लिखित अहुरमज्द (परमदेव) दुवैका मान्य थिए । तथापि, यहाँ के प्रस्ट हुनु जरुरी छ भने एकेश्वर वादी या अहुरमज्दलाई मान्ने भनेका खाली पुरोहित या पुजारीहरू मात्रै हुन्, जसको धार्मिक बिचार शासकहरू पनि मान्दथे । शासक या योद्धाहरू लड्नमै व्यस्त रहने हुँदा यिनका पराक्रमका गाथा या धार्मिक बिचार अवेस्ता या वेद लेख्ने भनेका केही गन्तीका असुर या आर्य कविहरू या पुरोहित पुजारीहरू नै हुन् ।

 एकै थलोमा बसोबास गर्ने यी असुरहरू पछि मतभेद उत्पन्न हुनाले छुट्टिन पुगेको देखिन्छ । वेद तथा जेन्दअवेस्तालाई दाँजेर यसका भाषाकै आधारमा पनि मूल थलोबाट प्रव्रजन (देशान्तर) भएको स्पष्ट देखिन्छ । अवेस्ताको प्राचीनतम मानिने गाथा अध्ययन गर्ने हो भने त्यहाँ पनि असुर र गैह्र असुर बीच सङ्घर्ष भएको देखिन्छ । यो सङ्घर्ष देशी र विदेशी बीचको सङ्घर्ष नभएर अवेस्ता या अहुरमज्दलाई मान्ने र नमान्ने (अवेस्तन र गैरअवेस्तनहरू) बीचको सङ्घर्ष थियो । यसबाट सहजै असुर र देवहरू बीच मनोमालिन्य या सङ्घर्ष चल्दै थियो भन्ने स्पष्ट हुन्छ । देवगुरु बृहस्पति र शुक्राचार्यका कथाले पनि यसलाई पुष्टि गर्छ ।

“बृहस्पति देवानां पुरोहित आसीत्,
उशना काव्योऽसुराणाम्” –जैमिनिय ब्रा.(०१–१२५)
बृहस्पति देवताहरूका पुरोहित थिए र उशनाकवी (शुक्राचार्य) असुरहरूका ।

ऋग्वैदिक कालमा नै बिस्तारै सुर शब्द संस्कृतमा देवताको लागि र असुर शब्द बलवान् शत्रु र दैत्यहरूको लागि प्रयोग हुन थालेको हुँदा असिरियनहरूसँग मत विभाजन भएको स्पष्ट देखिन आउँछ । अवेस्तामा भने देवताको पुरानो उपाधिलाई असुर शब्दले नै कायम राखेको देखिन्छ । अवेस्तनले आफ्नो पुरानो मत अनुसार नै देवताको लागि असुर शब्दमै कायम हुनु तर आर्यले भने सुरुमा असुर र पछि असुरको बदलामा सुर भन्दै लग्नुमा अवेस्ता नै ऋग्वेदभन्दा जेठो पनि देखिन आउँछ भने मतभेद पनि स्पष्ट झल्किन्छ । असुरहरूको तुलनामा आर्यावर्तीहरूले भने आफूलाई अझ बढी सभ्य र शिक्षित देखाउँदै आफूहरूलाई समर्थन गर्नेहरूलाई वानर र विरोध गर्नेहरूलाई भने असुर शब्दको अधिक प्रयोग गर्दै लगेर एकले अर्कालाई सुर उपासक या असुर उपासक भनेर निन्दा गर्न थालेपछि भने दुवै स्पष्ट रूपमा विभाजित भएको देखिन्छ ।

ऋग्वेद र अवेस्ताको भाषा र छन्दको आधारमा यी दुवै काव्यको मूल एकै थियो भन्ने प्रस्ट हुन्छ, दुवैले काव्य साधना एकै स्थानमा गरेका थिए भन्ने स्पष्ट हुन्छ । तथापि अवेस्ता वरुणमय छ भने ऋग्वेद इन्द्रमय छ । वरुण इन्द्रभन्दा निश्चय नै अगाडिका हुन् तथापि वरुणकै हाराहारीका प्रभावशाली एवं वीर गणनायक थिए भन्ने कुरा हित्ति र मितान्नीको युद्ध सन्धिको साक्षीको रूपमा इन्द्र पनि उपस्थित हुनुले स्पष्ट पार्दछ । अवेस्तामा वरुणको महिमा हुनु तर इन्द्रको कुनै महत्त्व नहुनु र वेदमा भने इन्द्र नै सर्वेसर्वा हुनुले वेद इरानबाट छुट्टिएपछिको उपज हो भन्ने स्पष्ट देखिन्छ ।

इन्द्र

वेदमा इन्द्रको रूप वर्णनको आधारमा यिनी कुनै शीतोष्ण क्षेत्रका थिए भन्ने कुरा स्पष्ट हुन आउँछ । देवासुर सङ्ग्रामको क्षेत्र, हित्ति मितान्नी युद्धमा इन्द्र साक्षी हुन र इन्द्रको रूप वर्णनको आधारमा हेर्दा इन्द्र तुर्कमेनिस्तान, काजाकिस्तान, ताजिकिस्तान या उत्तर पश्चिम तिब्बत मध्ये कतैका योद्धा भएको अनुमान गर्न सकिन्छ । रसियन भाषामा बाख्रालाई कोजा भनिन्छ । संस्कृत भाषाको माउ काजाकिस्तानतिरकै बासिन्दाले बोल्ने गर्दथे । यी सबै क्षेत्रलाई हेर्दा इन्द्र सम्भवतः यतै कतै बीचको स्थान तासकन्दतिरका या अजरबैवजानतिरका या इन्द्रलाई कौशिक भनिएबाट कुश हुने क्षेत्र कुशागारका पनि हुनसक्नछ भन्ने सहज अनुमान लगाउन सकिन्छ । इन्द्र र इन्द्र समर्थक देव गोरा वर्णका हुनु, माउ संस्कृतसँग नजिक हुनु, बोका या भेडा चराउने हुनु आदि धेरै कुराहरूले यस मतलाई अझ पुष्टि गर्दछ ।

इन्द्रका बाबु कुनै गणका गणपति थिए । इन्द्रले आफ्नै बाबुको हत्या गरेर गणपति भएका थिए । इन्द्र साहसी र पराक्रमी भएकाले छिट्टै नै आदित्य हुन पुगे । उनको ख्याति हित्ती, मितन्नी र बेबिलोनियासम्म प्रचलित भयो । तथापि उत्तरको दैत्य र दानव जातिसँग भने इन्द्रको कहिल्यै मिलाप भएन । सम्भवतः दैत्य र दानव जाति प्राचीन कालदेखि नै यज्ञ र अग्नि पूजाका विरोधी थिए । पश्चिमतिर स्थापित सुमेर राज्यहरूसँग लडेर हार व्यहोरेका इन्द्रले यता लड्नुभन्दा पूर्वतिर बढ्न उचित ठानेर आफ्नो सत्ता बिस्तारको लागि पुलोमा दैत्यकी छोरी शचीसँग विवाह पनि गरेका थिए । स्थापित सुमेर सभ्यतासँग धेरै पटक लडेर हार व्यहोरेका इन्द्रले अन्तिम पटक इलावर्त क्षेत्रमा आक्रमण गरेका हुनसक्छ, तर यहाँ पनि हारको कारणले इन्द्र सहितका योद्धाहरू दक्षिण पूर्वतिर झरेको सहज अनुमान लगाउन सकिन्छ । पुराणलाई आधार मानेर हेर्दा देवासुर सङ्ग्राम जम्बू द्वीपको इलावर्त क्षेत्र (हालको किर्गिस्तान क्षेत्र) मा पटक पटक गरी १२ पटक युद्ध भएको देखिन्छ ।

ऋग्वेदमा दास र दस्युसँग सङ्घर्षको कुरा देख्न पाइन्छ । तर यसमा पनि दासको भन्दा त्वचमसिक्निम् (कालो छाला भएका) मृघ्रवाक (मिथ्या या संस्कृत बाहेक अन्य भाषा बोल्ने) दस्युहरूसँग अधिक सङ्घर्ष भएको र यिनैको अधिक हत्या भएको देखिन्छ । यसलाई आधार मान्ने हो भने इन्द्र इरानबाट अफगानिस्तानतिर बढ्दै गएको बुझ्न सकिन्छ । दस्यु शब्द इरानी शब्द भएकोले सम्भवतः अफगानिस्तान र त्यहाँबाट दक्षिणतिरका यी दस्यु जाती आर्यहरूको सप्तसिन्धु आगमन अगाडि नै इरानबाट त्यस क्षेत्रमा उपस्थित भइसकेका थिए कि अडकल लगाउन सकिन्छ ।  

वेदले इन्द्रलाई प्रधान देवता मान्दछ । इन्द्र वैदिक युग पूर्वका सत्ताधारी प्रमुख व्यक्ति भएको देखिन्छ । यिनै इन्द्रको सर्वोच्चतालाई हाँक दिने कार्य सर्वप्रथम त्वष्टा अर्थात् विश्वकर्माले गरेको देखिन्छ । त्वष्टा देव जातिका थिए तर यिनकी पत्नी असुर जातिकी थिइन् । त्वष्टा, उनकी पत्नी र पुत्र विश्वरूप पनि त्वष्टा सरह इन्द्रका विरोधी थिए । एक दिन इन्द्रले त्रिशिराको (विश्वरूप) हत्या गरिदिए । विश्वरूपको वध पश्चात् वैदिक युग पूर्वका आर्य बीच फाटो आएर खुल्ला सङ्घर्षको सुरुवात भयो । इन्द्रले इरानी भूमिमै विश्वरूपको हत्या गरेकाले उनी डराएर लुक्न गए, इन्द्रको अभावमा नहुषलाई इन्द्र बनाइयो तर पछि नहुषलाई पदच्युत गरेर पुनः इन्द्रलाई नै पदभार दिइयो ।

वेदमा उल्लिखित बलशाली वृत्त असुर या बृत्तासुर (परावैदिक कालमा सुर असुर भिन्नता नभएकोले दुवैलाई असुर नै उल्लेख गरिएको पाइन्छ) त्वष्टाद्वारा पालित या चेला थिए, जो इन्द्रको विरोधी र त्वष्टाका समर्थक थिए । विश्वरूपको हत्या पश्चात् यिनै बृत्तासुरले इन्द्रलाई हायल कायल पारे । पुराणको कथा अनुसार बृत्तासुरको वध गर्न दधीचिको हाडबाट बज्रको निर्माण भयो र त्यही बज्रले बृत्तासुरको वध इन्द्रले गरे । बृत्तासुरको अन्त्य पश्चात् भने त्वष्टा समर्थक मूल स्थानबाट देशान्तर हुन बाध्य भए  भने इन्द्र समर्थकहरू पनि दक्षिणतिर पलायन भए । यहीँबाट सुर असुर स्पष्ट रूपमा छुट्टिए । त्वष्टालाई वरुण समर्थकहरूले पनि समर्थन गर्ने भएकोले वेदमा पछि आएर वरुणको सम्मान नगण्य हुन पुगेका कारण पनि यही हो । यहीँबाट इन्द्र विरोधी असुर कहलाइए भने उता अवेस्ताले इन्द्रलाई दुष्टको संज्ञा दिन थाल्यो । जेन्द अवेस्ताको प्रथम पुस्तक बेन्दिदादको पहिलो फर्गदमा आश्रयको खोजीमा हिँडेका त्वष्टा पुगेको सोह्र स्थानको वर्णन सहित अन्तिम स्थान रंघ नदीको किनार भनिएको छ, जुन अहिले इरानमा पर्दछ । वेद इन्द्र समर्थक ऋषिले लेखेका हुँदा वेदमा इन्द्रको स्तुति र त्वष्टाको निन्दा छ, जब कि, अवेस्तामा अहुर्मज्द (असुर महान्) भनेर महिमा गान गर्दै इन्द्रको निन्दा गरिएको छ । असुर सुरलाई यतिसम्म घृणा गर्दथे कि अवेस्तनीले गर्ने यज्ञोपवीत जस्तै संस्कारमा इन्द्रको विरोध गर्ने शपथ लिन लगाइने गरिन्थ्यो । वेदमा इन्द्रको स्तुति अत्यधिक गरिएको छ । वेदका अधिकांश मन्त्रहरूमा इन्द्र सोमपानमा अधिक रुचि राख्ने एक पराक्रमी योद्धा देखाइएको छ । इन्द्र पहिला सशरीरका थिए, स्वातघाँटिमा आएपछि भने इन्द्र पद हुन गएको देखिन्छ ।

“त्वाम सुतस्य पीतये प्रत्नम् इन्द्र हवामहे कुशिकासः अवस्यवः ।” ३ ४२ ९  
“हे प्राचीन इन्द्र, हामी कुशिकका सन्तान सहायता चाहँदै तिमीलाई सोमरस पिउनको लागि बोलाउँदछौँ ।”

वेदमा सर्वाधिक स्तुति गरिएको यिनै इन्द्रको अवेस्तामा भने उल्लेख नै छैन । अवेस्तामा वरुणलाई ब्रह्म मानिएको छ, जति वेला अवेस्ता लेखियो इन्द्र त्यति वेला सशरीरका भएकाले देव त मानिए तर देवता नमानिएको हुनसक्छ ।

“उभे पुनामी रोदसी ...” ऋग्वेद १.१३३.१
“म यज्ञद्वारा ती विस्तृत भूभाग जलाई दिन्छु जहाँ इन्द्रलाई मानिँदैन ।”

ऋग्वेदको यी ऋचाहरूबाट एकातिर इन्द्रको अतिशयोक्तिपूर्ण प्रशंसा गरिएको छ भने अर्कोतिर असुर र देव जातिको स्पष्ट विभाजन पनि देखिन्छ । यस ऋचामा आर्यहरूको रोष स्पष्ट झल्कन्छ भने अर्कोतिर अनार्यहरूप्रति घृणा र द्वेष फैलाएर इन्द्रलाई उत्तेजित तुल्याउन अभ्यर्थना गरिएको पनि देखिन्छ । यी ऋचाहरूका पछाडि इन्द्र पूजक देव र मित्र, वरुण, अग्नि, वायु र यम बाहेक अन्य कुनै पनि कल्पित देव पूजकहरू बीच मनमुटाब र एक आपसमा ईष्र्या र प्रतिस्पर्धा भएको देखिन्छ भने इन्द्रलाई प्रधानता दिएको पनि स्पष्ट हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने आर्य कविहरू सबै एकै जाति, स्थान र सभ्यताबाट आएका थिएनन्, यिनहरूमा पनि इन्द्रलाई मान्ने र नमान्ने मत थियो । यही मत पछि गएर पुराण कालमा छताछुल्ल भयो, इन्द्रको स्थानमा विष्णु र शिव शक्तिशाली देवको रूपमा आए भने कृष्णको पालामा इन्द्रको पतन नै भयो । आर्य भनिएकाहरू एकै जातिका भएको भए यस्तो पक्कै हुँदैनथ्यो होला !

सोमपानको प्रचलन देवभूमिबाट नै आएको देखिन्छ । यही सोमपानको विवादमा इन्द्रले विश्वरूपको हत्या गरेका थिए । वैदिक कालमा आर्यहरू बीच सोमपान गर्ने र नगर्ने दुवै प्रकारका मानिसहरू प्रशस्त थिए र सोमपान गर्ने नगर्ने भन्ने बारेमा पनि ऋषिहरूमा मतभेद कायम रहेको देखिन्छ । यही मतभेद अवेस्तामा पनि उल्लेख भएको छ । देवोपासकहरू मज्जाले सोमपान गर्दथे । इन्द्रलाई अत्यधिक सोमपानमा अभिरुचि थियो । इन्द्रको सम्पूर्ण विवरण हेर्दा, स्वरूप वर्णन र सोमपानमा रुचिलाई लिएर हेर्दा यिनी कुनै शीतोष्ण क्षेत्रका थिए भन्ने स्पष्ट हुन्छ । अवेस्तामा उल्लेख भए अनुसार असुरहरूमा पनि सुरापान गर्ने र नगर्ने भन्ने बारेमा मतान्तर थियो, तर पछि सुरापनालाई स्वीकार गरेको देखिन्छ । असुरहरूले अति नै महत्त्व दिएको र ईश्वर मानेको अग्निमा आर्यहरूले मृत देहलाई जलाउने कार्यलाई अपवित्र मानिन्छ । यदि यो असुरहरूलाई निचा देखाउन उनीहरूको पुरातन संस्कारको बर्खिलापमा आर्यहरूले अग्नि दाह गरेका हुन् भने यसले पनि अवेस्तासँगै हुर्किएर पछि अलग भएको देखाउँछ ।

जेन्द अवेस्ता र वेदलाई समानान्तर राखेर अध्ययन गर्ने हो भने राजनीति, युद्ध र धार्मिक आस्थामा मतभेद प्रस्ट देखिन्छ । वेदमा इन्द्रको स्तुति अत्यधिक गरिएको छ । वेदका अधिकांश मन्त्रमा इन्द्र सोमपानमा अधिक रुचि राख्ने एक पराक्रमी योद्धा देखाइएको छ । वेदमा सर्वाधिक स्तुति गरिएको यिनै इन्द्रको अवेस्तामा उल्लेख नै नहुनु आश्चर्यको कुरा हो । एकातिर आर्यहरूले इन्द्रलाई ईश्वर समान मानेर स्तुति गरिएको असह्यता नै आर्य र असुरहरू बीच मनमुटाब र मतान्तरको मूल कारण देखिन आउँछ भने अर्कोतिर आर्यहरूले एकेश्वरवाद र निर्गुण निराकार ईश्वरको अस्तित्वको समानान्तर अनेकन् अदृश्य ईश्वरहरूको परिकल्पनाले पनि फाटो आएको अनुमान लगाउन सकिन्छ । एकातिर यज्ञादि होम गरेर देवतालाई सन्तुष्ट गर्ने आर्यका कार्यको विरोध बढ्दै जान थाल्यो भने अर्कोतिर इन्द्रलाई पनि नमान्ने हुनाले आर्यहरू बीचमै दुई गुटको निर्माण हुन थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

उभे पुनामी रोदसी ऋतेन द्रुहो दहामि सं महीरनिन्द्राः
अभिव्लग्य यत्रं हता अमित्रां वैलस्थानं परि तृव्हा अशेरन् ऋ. १.१३३.१
“म यज्ञव्दारा ती विस्तृत भूभाग जलाई दिन्छु जहाँ इन्द्रलाई मानिदैन ।”

ऋग्वेदको यो ऋचामा एकातिर आर्यहरूको रोष स्पष्ट झल्कन्छ भने अर्कोतिर अनार्यहरूप्रति घृणा र द्वेष फैलाएर इन्दलाई उत्तेजित तुल्याउन गरिएका अभ्यर्थना पनि देखिन्छ । यी ऋचाहरूका पछाडि देव र इन्द्र पूजक र मित्र, वरुण, अग्नि, वायु र यम बाहेक अन्य कुनै पनि कल्पित देव अपूजकहरू बीच मनमुटाबको खुलस्त कारण स्पष्ट भएको त छैन तर एक आपसमा ईर्ष्या र प्रतिस्पर्धा भने बढ्दै गएको देखिन्छ । यही इष्र्याका कारण दुवैका बीच धार्मिक र सांस्कृतिक विषमता र मतभेद उत्पन्न हुन थालेको स्पष्ट देखिन्छ । फलतः एकले अर्कालाई सुर या असुर भनेर होच्याउने प्रवृत्तिको थालनीका साथसाथै वैचारिक, धार्मिक र सांस्कृतिक रूपमा विभक्त दुई समूहका बीच सङ्घर्ष र युद्धको सुरुवात भएको देखिन्छ । दुई समूह बीच भएको यही सङ्घर्ष र युद्धलाई वेद तथा पुराणमा देवासुर सङ्ग्राम नामाकरण गरिएको छ ।

अवेस्ता र वेदको तुलनात्मक अध्ययन गर्ने हो भने अवेस्ता भौतिकवादतिर ढल्किएको छ भने वेद अध्यात्मवादतिर ढल्किएको छ, यसलाई असुर र देव बिचार धाराको रूपमा पनि लिन सकिन्छ । यही बिचारको द्वन्द्व कारण नै देवासुर संग्रामपछि आर्यहरू इन्द्रको पछि लागेर आए । यो विभाजन फलदायक पनि रह्यो किन भने छुट्टिएका आर्यहरूले ऋग्वेदबाट छन्दलाई लिपिबद्ध गर्ने कामको थालनी गरे र नयाँ छन्दको सृजना गर्ने कार्य पनि गर्न थाले । ऋग्वेदका ऋचाहरू छन्दमा पनि छन्, गायनमैत्री पनि छन् र गद्यमा पनि छन् । यसो हुनुको कारण भनेको ऋग्वेद जति बेला लेखिँदै थियो त्यति बेला छन्दको विकास हुँदै थियो ।

ऋग्वेद र काव्य

ऋग्वेदका सूक्त, मन्त्र या मण्डलहरू गद्य, गायनमैत्री र छन्दमा छन् । यस आधारमा गद्य र गायनमैत्रीलाई प्राचीन र नयाँ नयाँ छन्दको आविष्कार भएको आधारमा छन्दलाई अर्वाचीन मान्न पनि सकिन्छ । रामायण र महाभारत छन्दमा लामो अभ्यासपछिको परिष्कृत महाकाव्य हो भने ऋग्वेद छन्दको सुरुवाती अवस्थाको धार्मिक ढाँचाको काव्यात्मकता सहितको लेखनी हो ।

ऋग्वेदका सुरुका ऋचाहरू अफगानिस्तानी क्षेत्रमा लेखिएका हुँदा ती प्राचीन र वर्तमान कालको आर्य समाजको एकतर्फी कथा सुनाउन अभिशप्त छ । उदाहरणको लागि ऋग्वेदको यम यमी संवादलाई लिन सकिन्छ, जुन प्राचीन कालको समाजको झलक हो र यसको आधार इरानी असुर सभ्यता भएको कुरा अवेस्ताबाट छर्लङ्ग हुन्छ, जसमा दाजु बहिनीको यौन सम्बन्धलाई नाजायज मानिएको छ । ऋग्वेदमा उल्लेख भएको रथ, घोडा असुर, दास आदि शब्दहरू पनि इरानी सभ्यताबाटै ऋग्वेदले सिकेको हो । इन्द्रको पुरुषार्थको बयान गर्न आतुर गर्भित ऋचाहरूले भने वर्तमानका छनक दिन्छन् । ऋग्वेदमा प्रयोग भएका ३०० जति शब्दहरू स्पष्ट रूपमा इन्डो–युरोपियन भाषा समूहभन्दा बाहिरबाट लिइएका छन् ।

सप्तसिन्धुमा आइसकेपछि द्रविड, मुण्डा, किराँत आदि जातिहरूसँगको सांस्कृतिक मिलापबाट यी शब्दहरू वेदमा आएको स्पष्ट हुन्छ । ऋग्वेदमा प्रयोग भएका चुमुरि, धुनि, पिप्रु, शम्बर, पणी, दस्यु आदि शब्दहरू भने सप्तसिन्धुमा आए पछिका भएकाले यी शब्दहरू प्रयोग भएका ऋचाहरू निश्चय नै अर्वाचीन हुन् । वेद प्राचीन बाइबिल या कुरानभन्दा वेद अधिक ऐहलौकिक र मानवीय छ, यसका ऋचाहरूको संरचना धार्मिकभन्दा धेरै काव्यात्मक छन् । वैदिक ऋषिहरू ऋचामा अपौरुषेयताको कुनै दाबी गर्दैनन्, यहाँ कुनै एक शक्तिमान ईश्वर भन्दा अनेक देवताहरू छन् जसको कृपाको आकाङ्क्षी ऋषिहरू छन् । आर्य भौतिकवादी थिएनन् तर भौतिकवादीहरूसँग (चार्वाक तथा प्रकृति पूजक) उनीहरूको वैचारिक मतभेद थियो । यसैले आर्यहरूले संस्कृत भाषा, लिपि र छन्द निर्माणको ज्ञानलाई सीमित राख्दै लगे, अपितु वेदलाई पनि सामान्य जन समक्ष ल्याउन चाहेनन् । आर्य आफूलाई अन्य भन्दा उत्तम, श्रेष्ठ पूज्य मान्य कुलीन र धर्मप्रति निष्ठावान् ठान्दथे । यसैले लिपि, भाषा र छन्दको ज्ञान पनि आफू समान उपयुक्त या योग्य व्यक्तिलाई मात्र दिन चाहन्थे । यस ज्ञानको लाभ या वेद पाठ कुनै कुपात्रले नगरुन् भन्ने सक्दो कोशिश उनीहरूले गरे । वेद या छन्दका रचनाकारहरूले आफ्नो ज्ञान उपयुक्त र योग्य विप्रहरूको बीचमा मात्र हरेक पीढीमा सीमित राख्दै सम्प्रेषित गर्दै गए, यिनै विप्र पछि ब्राह्मण भए । यस कार्यले वेद र छन्दलाई एक रहस्य बनाइदियो । एकातिर यो केवल ज्ञान सम्पदा माथि एकाधिकार गर्ने कोशिश मात्र थियो भने यही कारणले ब्राह्मणहरू सामान्यजनभन्दा पृथक् र उच्च पनि हुन पुगे ।

वैदिक ऋषि वास्तवमा विलक्षण थिए । यिनैले संस्कृत भाषा र छन्दहरूको समेत विकास गरेका थिए भने काव्यमा अलङ्कार र वक्रोक्तिको सुरुवाती प्रयोग पनि यिनैले गरेका थिए । वैदिक ऋषिहरूको आध्यात्मिकता ज्ञान केन्द्रित थियो । भाषा, लिपि, छन्द, अलङ्कार र वक्रोक्तिका ज्ञानी पुरोहित र विप्र या ब्राह्मणहरू सदैव शासक या दरबारको संरक्षणमा रहेर दान दातव्यमा आश्रित भए । यसले समाजमा शासक, ब्राह्मण, व्यापारी (पणि) र शासित वर्ग जन्मिन पुग्यो । आफूलाई उच्च र ज्ञानी ठान्ने विप्र या ब्राह्मण आर्यहरूले सदैव ऊर्जाको प्राथमिक श्रोतहरूलाई बुझ्ने कोशिश गरिरहे, यिनीहरूको रुझान पनि त्यतैतिर गयो । ऋषिहरूले पानी र आगोमा ऊर्जा या शक्तिको श्रोत देखे भने मानिसको चेतनाको केन्द्र भाषा हो भन्ने ठहर गरे । यिनीहरूले पानीमा बिजुली देखे र बिजुलीको मूलमा पूज्य अग्नि, जुन अग्निलाई पुज्न आर्यले असुर सभ्यताबाट सिकेका थिए ।  

यसैले आर्यले भाषालाई पनि त्यही रूपमा लिए । यसैबाट श्रेणी विभाजनको कार्य पनि भयो र शारीरिक श्रम गर्ने र नगर्ने दुई वर्ग मध्ये शासक र ब्राह्मण पहिलो वर्गमा पर्न गए । श्रेणी विभाजनबाट पछि वर्ण विभाजन पनि हुन गयो । शासकको आश्रयमा रहेका ब्राह्मणहरू कुनै शारीरिक श्रम गर्दैन थिए, यसैले शारीरिक श्रम हेय र शूद्रको काम हुन गयो । शारीरिक श्रम नगर्ने तप्काले मानसिक श्रम गर्न थालेकाले भाषा, गणित, दर्शन, ज्योतिष, खगोल विज्ञान आदिको विकास पनि सम्भव भयो । यही ज्ञान र शासकको आस्था र समर्थनले शासित वर्गलाई दण्डित गर्ने अधिकार (पर्यायवाची श्राप) पनि पाए । तर वेद, लिपि र संस्कृत भने झन् श्रम नगर्ने वर्गमा मात्र सीमित हुन गयो, सामान्य जनबाट यसको दूरी बढ्दै गयो । यो श्रमजीवी र उच्च वर्ग बिचको हिमालय नै बन्न पुग्यो ।

स्वामी दयानन्द सरस्वतीले ऋग्वेदको भाष्य लेख्ने क्रममा ऋग्वेदलाई अपौरुषेय भनेका छन् । उनका अनुसार वेद ईश्वरद्वारा नै उत्पत्ति भएको हो । सृष्टिको आदिमा ईश्वरले अग्नि, वायु, आदित्य र अङ्गिराद्वारा चार वेदलाई प्रकशमा ल्याए (हरेक बाट एक वेद प्रकट भयो) भनेका छन् । उनी भन्दछन्, वेदमा मन्त्र सबै छन्दमा छन् । व्यासले केवल चारै वेदका संहिताको सङ्ग्रह मात्रै गरेका हुन् र जुन सूक्त र मन्त्रमा ऋषिको नाम छ, ती मन्त्र तिनै ऋषिले लेखेको मान्नु गलत हुन्छ । ऋचा त उहिल्यै बनिसकेका थिए, ती ऋषि केवल उक्त मन्त्रका द्रष्टा र प्रकाशक मात्रै हुन् ।

वेदका सबै ऋचा छन्दमा छैनन्, गद्य, पद्य र गायनमैत्री ऋचा प्रशस्त छन् । वेदमा छन्दमा भएका ऋचा या मन्त्रलाई ऋप् भनिन्छ, छन्दमा नभएका तर गाउन मिल्ने ऋचालाई साम भनिन्छ भने गाउन नमिल्ने या छन्दमा नभएको गद्यात्मक ऋचा या मन्त्रलाई यजुः भनिने गरिन्छ । वेदलाई त्रयी भन्नुको वास्तविक कारण यही हो । वेदका ऋचालाई कविले (ऋषिले) बडो परिश्रम पूर्वक कण्ठ गर्ने गराउने अभ्यासले संरक्षित गर्दै ल्याएकाले यसलाई आम्नाय पनि भन्ने गरिन्छ । ऋग्वेदमा एक सय बाह्र जना ऋषिले आफ्ना ऋचामा आफ्नो नाम लेखेर, फलानाको पुत्र भनेर, कुनै ऋषिको सन्तान या कुटुम्ब भनेर आफूलाई चिनाएका छन् । ऋचाका रचयिता कविले आफूलाई सन्तान या कुटुम्ब भने पनि ती मध्ये कतिपय भने चेला हुन् । यसरी नाम लेख्ने ऋषिमा ऋषि अत्रिका सन्तान र कुटुम्ब धेरै देखिन्छन् । यसरी नाम लेख्नेमा अत्रिका छोरा प्रतिक्षत्र, वव्रि, छन् भने इश, द्वित, सस, विश्वसायन, सप्यवध्रिं, पौर, बहुवृक्त, एरुचक्रि, यजत, रातहव्य, अर्चनाना, श्रुतविद, श्यावाश्व, स्वस्ति, प्रतिप्रभ, प्रतिभानु, प्रतिरथ, सदापृण, गातु, अवस्यु, वभ्रु, विश्ववाण (महिला) आदिले आफूलाई अत्रिका सन्तान भनेका छन् । यसै गरेर प्रयस्वत्स बुद्ध, गविष्ठिर आदिले आफूलाई अत्रिका कुटुम्ब भनेर चिनाउँदै ऋचा लेखेका छन् । माथि उल्लेख भएका ऋचा लेख्ने ऋषिको सङ्ख्या देख्दा ती सबै अत्रिका पुत्र नभएर कुटुम्ब र चेला भएको प्रस्ट बुझिन्छ । ऋषि परुच्छेप राजा देवदासका कुटुम्ब भनिएता पनि यी ऋषि कवि या पुजारी हुन् । यी कविले वेदका ऋचामा पहिलो पटक शब्द अलङ्कारको प्रयोग गरेका छन् । यिनका ऋचा पढ्दा यिनी छन्दका साथसाथै ऋचाहरूमा कतै छेकानुप्रास अलङ्कार, कतै लाटानुप्रास अलङ्कार त कतै यमक अलङ्कार अलङ्कारको प्रयोग गरेकाले यी ऋषि अलङ्कारको प्रयोग गर्नमा पोख्त देखिन्छन् ।

१. जातवेदसे विप्रं न जात वेदसम्
२. मन्मभिर्वि प्रेभिः शुक्र मन्मभि
   विशः प्रावंतु जुतये विशः
३. सुवीर्यम् ररावम् सन्तम
सुवीर्यम् द्युम्नहूतिभिः यजत्रम द्युम्नहूचिभिः
४. वरीमभिः युम्नसाता वरीयभिः

ऋग्वेदमा थुप्रै कथाहरू छन्, संवादहरू छन् । ऋचाबद्ध यी कथाहरू कथा तथा उपन्यासका प्रथम विन्दु हुन् भने संवाद नाटकको । ऋग्वेदको दशम मण्डलमा भएको यम–यमी संवाद, इन्द्र र उनका पुत्र वासुकि ऋषिको संवाद, पुरूरवा–उर्वशी संवाद, नचिकेता–यम संवाद सरल समाजका मानिसहरूले लेख्न सक्ने संवाद होइनन्, यी कविहरूको कवित्वबाट उब्जिएका संवादहरू हुन् जो ऋग्वैदिक सभ्यताको परिचायक हुन् । ऋग्वेदमा भएको शुनशेफको कथा सानो खण्डकाव्य हो । कवितामा कविले यसरी आफ्नो नाम लेख्ने कार्य अझै पनि हुन्छ, गजलमा यसरी नाम या उपनाम राख्ने कार्यलाई तखल्लुस भनिन्छ । गजलमा तखल्लुस राख्ने परम्परा फारसी भाषाबाट भएको मानिन्छ । कविता गर्ने या महाकाव्य लेख्ने परम्परा पनि सुमेर सभ्यताबाट सुरुवात भएको इतिहासलाई हेर्दा वेदका ऋचा लेख्ने कवि यतैबाट दीक्षित र शिक्षित भएर आएका थिए र अफगानिस्तानमा बसेर ऋचा लेख्ने, सङ्कलित गर्ने र लेख्न सिकाउने कार्य कविबाट भएको थियो ।  

ऋग्वेदका ऋचा गहिरिएर अध्ययन गर्ने हो भने ऋग्वेद छन्दमा ऋचा लेख्ने अभ्यास थलो हो, नयाँ नयाँ छन्दको निमार्ण गर्ने कार्यकक्ष हो । उदाहरणको लागि यस ऋचामा वशिष्ठले नयाँ छन्दको निर्माण गर्दा इन्द्र खुसी भएका छन् ।

“यत् शक्वरीषु वृहता रवेण इन्द्रे शुष्मम् अदधात वशिष्ठाः ।”

जबदेखि तिमीहरूले शक्वरी छन्द गाएका छौ तिमीहरूले इन्द्रलाई पुष्ट (खुसी) गरेका छौ ।

वेदका धेरै ऋचा बाबु, छोरा नाति र चेलाले लेखेका छन् । गुरुकुलका प्रमुख या पिताले आफ्ना छोरा चेलालाई छन्दको अभ्यास गराउने क्रममा, स्तुति, याचना, प्रार्थना र इतिहास, घरायसी कुरा, पतिपत्नीका गुनासा, नाता सम्बन्धका कुराहरू आदि ऋचा मार्फत लेखेर सङ्कलन गरेको छ । ऋग्वेदको एक ऋचा राजा वृषागिराका पाँच छोरा ऋज्राश्व, अम्बरीष, सहदेव, भयमान, र सुराधसले मिलेर तयार पारेका छन् । यस ऋचामा इन्द्रको स्तुति गाइएको छ । यस ऋचाबाट राजका छोरालाई काव्य सिकाउने प्रचलन सुरु भएको देखिन्छ । राजका छोरालाई काव्य सिकाउने क्रममा ती युवराजले यो ऋचा छन्दमा तयार पारेको देखिन्छ ।

ऋग्वेदका थुप्रै ऋचाहरूमा वशिष्ठले गरेको काम, स्तुति, पूजा आदिको बारेमा लेखिएकोले छ । यी ऋचाहरू लेख्ने ऋषि वशिष्ठका चेलाहरू हुन् । वशिष्ठ व्यक्ति नभएर पुरोहित पद हो । प्रथम वशिष्ठ कालसम्म मित्र वरुण र इन्द्र सशरीर भएका देखिन्छन् । तर पछिको एक मन्त्रमा इन्द्रलाई प्राचीन भनी उल्लेख गरिएकोले अर्वाचीन कालमा इन्द्र पद भएको र सशरीरका इन्द्र देवतामा पर्न गएको छ ।

ऋग्वेद र अनुवंशीय कवि

वेद अपौरुषेय होइन । वेदका ऋचा लेख्ने ऋषि पनि अधिकांश कुनै ऋषिका छोरा, पत्नी, कुटुम्ब र चेला नै छन्, यसैले मन्त्रद्रष्टा भनिने यी ऋषि वास्तवमा बाबु या बाजेबाट काव्य लेख्ने अनुवंशीय कवि मात्र हुन्, काव्यमा नयाँ छन्द बनाउने अभ्यर्थी हुन्, अलङ्कारको प्रयोगार्थी हुन् । ऋग्वेदमा आफ्नो परिचय दिँदै ऋचा लेख्ने थुप्रै कविले अनुवंशीक कवि भएको प्रमाणित गर्दछ ।

कुशिकका छोरा गाधी हुन्, गाधीका छोरा विश्वामित्र हुन्, विश्वामित्रका छोरा मधुच्छन्दा र ऋषभ हुन्, मधुच्छन्दाका छोरा जेताले पनि ऋचा लेखेका छन् ।

ऋषि प्रजापतिले आफूलाई विश्वामित्रका कुटुम्ब भनेका छन्, तर यी विश्वामित्रका चेला हुन् ।
ऋषि कण्वका छोरा मेधातिथि र प्रस्कण्व हुन् ।
ऋषि अङ्गिराका छोरा हिरण्यस्तूप, सव्य, कुत्स र प्रभूवसु हुन् (यिनले अङ्गिगराको सन्तान भनेका छन्) ।
ऋषि मरीचिका छोरा कश्यप हुन् ।
ऋषि गोतमका छोरा वामदेव र रहूगण हुन् । रहूगणका छोरा नोधा हुन् ।
ऋषि वशिष्ठका छोरा शक्ति हुन्, शक्तिका छोरा पराशर हुन्, पराशरका छोरा व्यास हुन् ।
ऋषि अत्रि राजा कक्षीवानका पुरोहित थिए । ऋषि अत्रिको सन्तान (या चेला) एवया, मरुत हुन्, ऋषि अत्रिका नाति वय्य हुन्, वय्यका छोरा सत्यश्रवा हुन् ।
ऋषि भावका पुत्र स्वनयकी पत्नी रामशा हुन् ।
ऋषि उचथ्यका छोरा दीर्घतमा हुन्
ऋषि अगस्त्यकी पत्नी लोपमुद्रा हुन् ।
ऋषि भृगुका सन्तान (चेला) सोमाहुति हुन् ।
ऋषि भृहस्पिका पुत्र शम्यु हुन्
ऋषि त्रसदस्यु राजा थिए । यिनी दुर्घका नाति तथा पुरुकुत्सका छोरा हुन् ।
ऋषि भारद्वाज बृहस्पतिका छोरा हुन् । यी ऋषिले लेखेका भनिएका कतिपय ऋचा हुबहु अन्य ऋषिले लेखेका ऋचा जस्तै छन्, आजको भाषामा भन्दा अरूका ऋचा कपि पेस्ट गरेर ती ऋचा मा आफ्नो नाम घुसाएर आफ्नो बनाएका छन् ।

ऋग्वेद कविहरूको देन

जसरी कवितामा प्रशंसा गर्दा या व्यक्तिको बढाइँ गर्दा व्यक्ति खुसी हुन्छन्, त्यसरी नै ईश्वरको महिमा गाउँदा, स्तुति गर्दा ईश्वर खुसी हुन्छन् र वाञ्छित फल दिन्छन् भन्ने सोच वैदिक कविहरूको देखिन्छ ।  ईश्वरलाई खुसी पार्न धूप बाल्ने, अग्निमा मासु हालेर त्यसको धुवाँले ईश्वरलाई प्रसन्न बनाउने प्रचलन सुमेर सभ्यतामै प्रचलित थियो, यी संस्कार वैदिक आर्यहरूले वेद र वेदपश्चात् पनि अपनाएका छन् । ऋग्वेदमा कवि अत्यन्तै सम्मान सूचक शब्द हो । ऋग्वेदमा कवि शब्द देवताहरूको लागि पनि प्रयोग गरिएको छ ।

पुरा भन्दुर्युवा कवि रमितौजा अजायत
इन्द्रो विवय कर्मणे धतो वजी पुरुष्टतः १ ११ ४
 
त्वमग्ने प्रथमो अंगिरस्तमः कविर्देवार्ना परिमूषीन व्रतम्
विभुर्विश्र्वस्मै भुवनाय मेधिरो द्विमाता शयुः १ ३१ २
 
त्वग्ने प्रथमो अंगिराऋषिर्देवो देवानामभवः शिव सखा
तव व्रते कवयो विद्यनापसो जायन्तमसतो १ ३१ १
 
त्वेषं वयं रुद्र यज्ञसाधे वङ्कु कविमवसे निद्वयामहे
टारे अस्यतु दैव्यहेलो अस्यतु सुमतिमिद् वयमस्या वृणीमहे १ ११४ ४
“जो बुद्धिमान र ज्ञानी हुन् तिनै कवि हुन्, काव्य रचना गर्ने कवि हुन् ।”

यप प्रागाच्छसनं वास्यर्वा देवन्द्रीया मनसा दीध्यानः
अजः पुरो नीयते नाभिरस्या नु पश्चान् कवयोःयन्ति
“इन्द्रले कवि पुत्र उशनालाई धन दिएर सम्बर्धन गरे । कविको पुत्र काव्य हो, कवि जे भन्दछन् त्यो पनि काव्य हो ।”
त्वं वृध इन्द्र पूव्र्यो भूर्वरिवस्यन्नुशने काव्य
परा नववास्त्वमनुदेयं महेपित्रे दाथ स्वंनपातम् ६ २० ११  

माथि नै भनियो, ऋग्वैदिक काल अगाडिदेखि पुरोहित, पुजारी, कविहरू र ऋचा पाठ गर्ने गायकहरू समेत राजाको दानमा आश्रित थिए । यसैले यी कविहरूले दान, धन, भूमि र गाईको आशा र कामना गर्दै थुप्रै ऋचाहरू लेखेका छन्, गायकहरूले तीनै ऋचाहरू गाएर देवहरूलाई प्रसन्न पारेर धन प्राप्त गर्ने आशा गरेका छन् । यी कवि र गायकहरूको काम नै देवताहरूलाई प्रसन्न पार्न तिनको स्तुति, महिमा, पराक्रम आदि लेख्नु थियो । ऋग्वेदको एक ऋचामा ऋषि वशिष्ठले नयाँ शक्वरी छन्द बनाउँदा इन्द्र खुसी भएका छन् । ऋग्वेदकै एक ऋचाबाट गीत गाउनेलाई पनि थुप्रै पुरस्कार दिने चलन थियो भन्ने देखिन्छ । यसबाट वेद कालमा छन्दमा कविता लेख्ने विद्यालय या गुरुकुलहरू पनि भएको स्पष्ट हुन्छ ।

समष्टिमा भन्नु पर्दा ऋग्वेद याचना, प्रार्थना, इतिहास, आदि काव्यको छन्दमा अभ्यास गरिएको पुलिन्दा हो ।

गिरः वर्धन्ति अत्रयः गिरः शुभन्ति अत्रयः ५ ३९ ५
“अत्रिहरूको उन्नति गीतबाटै भएको छ गीतकै कारण शोभा (सम्मान) पाउँछन् ।”

नुत्वाम् अग्ने ईमहे वसिष्ठाः ईशानम् सुनो सहसःवसूनाम् ।
“हे अग्नि, साहसको सन्तान धन सम्पत्तिको मालिक तिम्रो वशिष्ठ र उसका सन्तान बढाइँ गर्दछन् ।”

प्रश्यावाश्च धृष्णुया अर्च मरुत् भिः ऋक्कभिः । ५ ५२ १
“हे श्यावाश्च जोड जोडले गाउने मरुतहरूको साथै उच्च स्वरले गाऊ ।”

अवत्सारस्य स्पृणवाम रण्वभिः शविष्ठम् वाजम् विदुषाचित् अध्र्यम् । ५ ४४ १०
“अवत्साको मीठो गीतले हामी महान शक्ति प्राप्त गर्ने कोशिश गर्नेछौँ, जसलाई जो जान्दछन् पाउँछन् ।”

आमित्रे वरुणे वयम् गर्भिः जुहुहुमः अत्रिवतु । ५ ७२ १
“हामी मित्र र वरुणको निमित्त अत्रिको समान गीतहरूले होम गर्दछौँ ।”

सृज्जषष् तुर्शम् परा अदात वृचीवतः देववाताय शिक्षन् । ६ २७ ७
“शिक्षाको लागि उसले तुर्वश सृज्जयलाई र वृचीवान देववातलाई दियो ।”

स्वः यवः मतिभिः तुभ्यम् विप्राः इन्द्राय वाहः कुशिकासः अक्रन् । ३ ३० २०
“हे इन्द्र, कुशिकका विप्र सन्तान सुखको कामना गर्दै आफ्ना गीतहरूको साथै चढाउनका लागि प्रसाद लिएर आएका छन् ।”

इमा ब्रम्ह सरस्वती जुषस्व वाजिनीवति याते मन्म
गृत्समदाः ऋतवरि प्रिया देवेषु जुह्वति । २ ४१ १८

“पवित्र र पुज्न योग्य सरस्वती देवी, देवताहरूको प्रिय गृत्समदहरू जुन बिचार (सायद छन्द) ल्याउँछन्, त्यसलाई स्वीकार गर ।”
एव अग्निम् सहस्यम् वसिष्ठः राय कामः विश्वप्न्यस्य स्तौत् । ७ ४२ ६

“यस प्रकारले वसिष्ठले धनको इच्छा गर्दै साहसी अग्निको स्तुति गरेका छ ।”
त्वम् कविम् चोदयः अर्कसा तौ तम् कुत्साय शुष्णम् दाशुके वर्क । ६ २६ ३

यस ऋचामा कविलाई प्रेरणा दियौँ भनिएको छ । यहाँ प्रष्ट कविको कुरा भएको छ ।
एतत् त्यत् ते इन्द्र वृष्णो उक्थम् वर्षगिराः अगिभृणन्ति राधः
ऋज्राश्वः प्रष्टिभिः अम्बरीषः सहदेवः भयमानः सराधाः । १ १०० १७

यस ऋचामा इन्द्रलाई प्रसन्न गर्नको लागि वर्षगिरा भजन गाउँछौँ भनिएको छ ।

आर्य कुनै जाति नभएर ऋग्वेदका ऋचा लेख्ने ऋषि या कविहरू नै थिए, आदिम संस्कृत बोल्ने यी ऋषि या कविहरूले चर्षणी कालमै मौखिक रूपमा काव्य गर्न सिकेका थिए र यो अभ्यास इरान अफगानिस्तान हुँदै अन्त्यमा सप्तसिन्धुमा आएर वेदमा उतारे ।  

सम्बन्धित समाचार