• २०८१ बैशाख ४ मंगलबार

मस्तिष्कमा ऊर्जा कसरी भर्ने ?

kharibot

काठमाडौं  । कलि युगको आशय “अँध्यारो युग” हो । हाम्रो सौर्यमण्डलले राशीचक्रलाई पूरा परिक्रमा गर्नको लागि २५,९२० वर्ष लगाउँछ । यदि तपाईंले यो चक्रलाई दुई भागमा बाँड्नुभयो भने, चारवटा युगहरू दुईपटक आउनेछन्, यसरी कुल आठ युगहरू हुन्छन् । यिनमा कलि युग र सत्य युग मात्र एक आपसमा जोडिएका हुन्छन्— अर्थात्, दुईवटा कलि युग र दुईवटा सत्य युग सँगसँगै आउँछन् । जबकि, अन्य दुई द्वापर युगहरूबिच दुईवटा कलि युग अनि दुई त्रेता युगहरूबिच दुईवटा सत्य युग आउँछन् ।

कलि युग फरक हुनुको कारण के हो भने, जुन 'विशाल सूर्य'  को वरिपरि हाम्रो सौर्य मण्डलले परिक्रमा गरिरहेको हुन्छ, यस युगमा ती बिचको दुरी निकै बढी हुन्छ । यी दुईबिच जति दुरी बढ्दै जान्छ, यस धरतीमा मानिसहरूको बुद्धिमत्ता र समझदारी त्यति नै कम हुन्छ । कलि युगमा यी दुवैबिच अत्यन्तै बढी दुरी हुने भएकोले मानव बुद्धि सबैभन्दा तल्लो स्तरमा हुन्छ । जबकि, त्यसपछिको युगमा सौर्य मण्डल 'विशाल सूर्य' को नजिक पुग्ने भएकोले मनुष्यको बुद्धिमत्ता निखारिन थाल्छ, प्रस्फुरित हुन थाल्छ । यहाँ सम्म भनिएको छ कि जसैजसै हाम्रो सौर्य मण्डल 'विशाल सूर्य' को नजिक जान्छ, मनुष्यको प्रणालीमा हुने विद्युतीय र चुम्बकीय बललाई बुझ्ने र प्रयोग गर्ने मानव क्षमता बढ्दै जान्छ । जब तीबिच दुरी बढ्दै जान्छ, त्यो क्षमता घट्दै जान्छ ।

मूलतः तपाईंको मस्तिष्कमा हुने स्नायु–तन्त्रहरू कुन रूपमा स्फुरित हुन्छन्  भन्ने कुराले नै तपाईंको बुद्धिमत्ता निर्धारण गर्दछ । यदि तपाईंले मस्तिष्कले कसरी काम गर्छ भनेर देखाइएको कृत्रिम आकृति  हेर्नुभयो भने, तपाईंले प्रष्ट देख्नुहुनेछ कि यो वास्तवमा बिजुलीले चम्किरहेको वा जगमगाइ रहेको जस्तो देखिन्छ । किनकि, मस्तिष्कले कति विद्युतीय शक्ति थाम्न सक्छ भन्ने कुराले नै तपाईं कति राम्रो र सुस्पष्ट तरिकाले सोच्न सक्नुहुन्छ भन्ने कुरा तय गर्दछ । हाम्रो सौर्य प्रणालीलाई सञ्चालित गर्ने भौतिक नियमहरूलाई नियालेर अहिले भौतिक शास्त्रीहरूले यो पत्ता लगाएका छन् कि अब केही गरेपनि मानव मस्तिष्क अझ विकासित हुन सक्दैन । जबकि, यही कुरा योग विज्ञानमा धेरै पहिल्यैदेखि भनिएको छ ।

यस्तो हुनुको कारण के हो भने, यदि तपाईंले न्युरोनको आकारलाई बढाउनुभयो भने, मस्तिष्क अझ बढी क्षमतावान् त हुन्छ, तर यसले असाध्यै धेरै ऊर्जा खपत गर्छ । तपाईं यत्तिकै यहाँ बसिरहँदा पनि कुल ऊर्जाको २० प्रतिशत हिस्सा मस्तिष्कमा खर्च हुन्छ । यसको अर्थ के हो भने, शरीरको सबैभन्दा धेरै ऊर्जा खपत गर्ने अङ्ग भनेकै मस्तिष्क हो । यदि तपाईंको मस्तिष्क ठूलो बनाइयो भने, तपाईंले आफ्नो क्षमताभन्दा बढी ऊर्जा मस्तिष्कमा पुऱ्याउनु पर्ने हुन्छ । अर्कातर्फ, स्नायुहरूको आकारलाई बढाउनुको सट्टा यदि तपाईंले स्नायुहरूको सङ्ख्या बढाउनुभयो भने, तपाईं त्यही मात्राको ऊर्जाले राम्रोसँग काम गर्न सक्नुहुन्छ । तर, यतिखेर तपाईंको मस्तिष्कमा स्नायुहरू जुन रूपमा संयोजित छन्, तपाईंले तिनको सङ्ख्या बढाउनुभयो भने, त्यसबेला तपाईंले सङ्केतहरूको स्पष्टता गुमाउनु हुनेछ । केही अति सक्रिय बच्चाहरूको सन्दर्भमा यही भएको हुन्छ— उनीहरूको मस्तिष्कमा न्युरोनको सङ्ख्या सामान्य स्तरभन्दा निकै बढी हुन्छ । उनीहरू मेधावी र प्रतिभावान् त हुन्छन्, तर अस्तव्यस्त हुन्छन् । उनीहरू सीधा सोच्न सक्दैनन् । उनीहरूमा स्पष्टता नहुने हुँदा उनीहरूको सोचबाट केही ठोस परिणाम आउन सक्दैन ।

यसैकारण, न त मस्तिष्कको आकार बढाउनु फलदायी हुन्छ, न त स्नायुहरूको सङ्ख्या बढाउनु नै प्रभावकारी हुन्छ । वैज्ञानिकहरूले यो भनिरहेका छन् कि भौतिक नियमहरूअनुसार मानव मस्तिष्क अब थप विकसित हुन सक्दैन— तर, हामी यसलाई अझ राम्रोसँग प्रयोग गर्न सिक्न सक्छौँ । अहिले, मानिसहरू यसलाई एकदमै सामान्य तरिकाले प्रयोग गरिरहेका छन् । यदि तपाईंले यसलाई विवेकपूर्ण एवं परिष्कृत ढङ्गले प्रयोग गर्ने हो भने, तपाईंले आफ्नो मस्तिष्कको क्षमतालाई कैयौँ गुणाले बढाउन सक्नुहुनेछ ।

योग विज्ञानहरूमा धेरै पहिले यो भनिएको छ कि मानिसको बुद्धिमत्ता अनि यो मानव शरीरलाई थप विकास गर्न सकिँदैन, किनकि भौतिक नियमहरू चरम सीमामा पुगिसकेका छन् । जुन तरिकाले पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्छ अनि चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दछ, सोही अनुपातमा मानव शरीर जतिसम्म विकसित हुन सक्ने हो, त्यस सम्भावनासम्म पुगिसकेको छ । यसलाई अब थप विकसित गर्न सकिँदैन । तर साथसाथै, योग विज्ञानले यो पनि भनेको छ कि यदि हामीले केही निश्चित चीजहरू गर्ने हो भने, आफ्नो मस्तिष्कलाई प्रयोग गर्ने क्षमतालाई बढाउन सकिन्छ । यसो गर्ने एउटा तरिका ब्रह्मचर्य हो । ब्रह्मचर्यमार्फत तपाईं आफ्नो प्रणालीमा यस स्तरसम्म ऊर्जा सृजना गर्न सक्नुहुन्छ, जहाँ तपाईंको शरीरमा १० वा २५ वटा मस्तिष्कहरू हुने हो भनेपनि, तपाईं ती सबैलाई ऊर्जा प्रदान गर्न सक्नुहुन्छ । यदि तपाईंले चाहनुभयो भने, आफूभित्र आवश्यक शक्ति उत्पन्न गरेर, आफ्नो कुण्डलिनी शक्तिलाई जगाएर, आफ्ना ऊर्जाहरूलाई पूर्ण रूपमा सक्रिय गरेर तपाईं आफू वरपरका एक हजार मस्तिष्कहरूलाई ऊर्जाले भर्न सक्नुहुन्छ । मनुष्य यस किसिमले रहन सक्छ, जहाँ उसको बुद्धिमत्ता हजार वा दश हजार व्यक्ति बराबर हुन सक्छ, किनकि हामी आफूभित्र फरक तरिकाले निकै बढी ऊर्जा बढाउन सक्छौँ, जसको लागि ठूलो मस्तिष्क पनि चाहिँदैन अनि स्नायुहरूको सङ्ख्या बढाउनु समेत पर्दैन ।

कलि युगको अन्त्यमा कल्किको आगमन हुन्छ भन्ने मान्यता छ । वास्तवमा भन्नुपर्दा, समयको प्रकृति नै यस्तो छ कि न त कसैले यसलाई शुरु गर्नुपर्छ, न कसैले अन्त्य गर्नुपर्छ । यो अनवरत चलिरहन्छ । तपाईंको जीवनमा केही पनि नहुन सक्छ, तैपनि समय बितिरहन्छ । यहीमात्र यस्तो पक्ष हो, जसको ग्यारेन्टी लिन सकिन्छ ! मानिलिऔँ कि यदि तपाईंले वरदान पाएर अमर हुनुभयो भनेपनि, तपाईं समयलाई निरन्तर चलिरहनबाट रोक्न सक्नुहुन्न । त्यसैले, युग शुरु गर्न वा अन्त्य गर्न कसैको आवश्यकता हुँदैन । जब त्यसबेला “कल्कि सेतो वायुपङ्खी घोडामा आउने छन्” भनिएको थियो, यसलाई लाक्षणिक रूपमा भनिएको थियो । पखेटा भएको घोडा त भद्दा घोडा हुनेछ— बरु, घोडाको चारवटा दरिला र बलिया खुट्टाहरू हुनुपर्छ, होइन र ? त्यसैले, जब कल्कि सेतो घोडामा आउने छन् भनिएको थियो, अवश्य नै यसलाई प्रतिकात्मक रूपमा भनिएको थियो । जब युग समाप्त भएर अर्को युगमा जान्छ, तब प्रकाश उदय हुनेछ अनि यो प्रकाशले अन्धकार मेटाउनेछ ।

यदि कोठा अँध्यारो छ अनि मैले बत्ती बालेँ भने, अँध्यारो नष्ट हुन्छ । जुन कुरालाई साङ्केतिक रूपमा भनिएको थियो, त्यसलाई केही लन्ठू र छट्टुहरूले जस्ताको त्यस्तै प्रस्तुत गरिदिएका छन् । यसलाई प्रतीकको रूपमा भनिएको थियो । जसैजसै युगहरू अँध्यारो पक्षबाट गुज्रिन्छन्, त्यसबेला प्रकाश उदय हुन्छ अनि हामीमाथि बर्सिनेछ । तपाईंले नचाहनु भएपनि, अचानक तपाईंको मस्तिष्क जगमगाउनेछ अनि राम्रोसित काम गर्न थाल्नेछ, किनकि अर्को युगमा प्रवेश गरिएको हुन्छ । सम्भवतः तपाईंले “उज्ज्वल सोच” भन्ने अभिव्यक्ति सुन्नुभएको हुनुपर्छ । मानिसहरूले सदैव बुद्धिमत्तालाई उज्यालोसँग दाँजेर हेर्ने गरेका छन् ।

प्रकाश अथवा प्रज्ञा तपाईंबाटै आउनुपर्छ भन्ने छैन— यो दैवीय सम्भावनाको कारणले सम्भव हुन्छ, किनकि सौर्य मण्डल अर्को युगमा प्रवेश गरिरहेको हुन्छ । जसकारण, तपाईंको बुद्धिमत्ता वा प्रज्ञाको स्तर माथि उठ्नेछ । यो अलौकिक  उपहार हो, साथै अन्तरिक्षमा केही यस्ता तारामण्डलहरू  छन्, जुन उडिरहेको घोडा जस्तै देखिन्छन् । त्यसैले, कोही अवतरित भएर तपाईंको अन्धकार नष्ट गर्नेछन् भनिएको थियो । तर, यदि अन्धकारलाई हटाउनु पर्ने हो भने, कोही पनि घोडामा चढेर तल आउनुपर्दैन । यदि तपाईंले सानो ज्योति बाल्नुभयो भनेपनि, अन्धकार आफैँ मेटिन्छ । अन्धकार क्षणभङ्गुर हुन्छ, तैपनि मानिसहरू यसबाट उम्कन सक्दैनन्, किनकि उनीहरू गलत तरिकाहरू अपनाउँछन् । यदि तपाईंले ज्योति बाल्नुभयो भने, अन्धकार आफैँ हट्छ । यसैकारण, प्रतिकात्मक रूपमा यो भनिएको थियो कि एक दिव्य जीव वायुपङखी घोडामा आउनेछन् अनि अन्धकार हटाउनेछन्— यदि तपाईंले त्यो अन्धकारलाई आफूभित्र जीवित राखि नरहने हो भने !
–सदगुरुको प्रवचनमा आधारित

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै