• २०८१ बैशाख ८ शनिबार

जागिरे जीवनको १८ वर्षसम्म बिदा र भत्ता नलिने कर्मचारी सिलवाल

kharibot

भक्तपुर । कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था किन न होस्, कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी सायदै पाउन मुस्किलपर्छ । विशेष गरी सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ ।

एक दिन बिदा बाँकी भएसम्म बिदा लिने कर्मचारी हामीले धेरै पाउँछौँ । सरकारले कर्मचारीलाई उपलब्ध गराउने भैपरी, घर, बेतलबी, बिरामी, भ्रमण र विशेषलगायतका बिदा लिने, यातायात तथा हवाई सेवादेखि होटलको बिलसमेत पेश गर्ने र कतिपयले बिदाको दुरुपयोगसमेत गर्ने गरेको यथार्थ धेरै पाइन्छ । तर मध्यपुरथिमि नगरपालिकामा विगत १८ वर्षदेखि स्थायी रुपमा कार्यरत एक कर्मचारीले भने अहिलेसम्म कुनै पनि बिदा र अतिरिक्त सेवा सुविधा नलिई इमान्दारीका साथ काम गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

विसं २०२६ असोज १ गते भक्तपुरको गठ्ठाघरमा जन्मनु भएका केशव सिलवाललाई मध्यपुरथिमि नगरपालिकामा काम गरेको १८ वर्ष बितेको छ । कानून अधिकृतमा एक वर्ष करारमा काम गर्दै २०५९ भदौ ३ गते मध्यपुरथिमि नगरपालिकामा स्थायी भएर कानून अधिकृतमा सेवा प्रवेश गर्नुभएका सिलवालको इमान्दारिताको चर्चा जहाँतहीँ चल्ने गरेको छ ।

कानून अधिकृतबाट २०६७ सालमा वरिष्ठ कानून अधिकृत हुँदै २०७४ मा कानून तथा प्रशासन महाशाखाको निर्देशकको रुपमा सिलवाल कार्यरत छन् । यस नपाका स्थायी सेवा सुरु गरेदेखिनै सूचना अधिकारीको समेत जिम्मेवारी सम्हाल्दै आएका उनले जनप्रतिनिधि आउनुपूर्व नगरपालिकामा आउने मुद्दामध्ये अदालत पठाउनु नपर्ने मुद्दाको निरुपण गर्नेदेखि प्रशासनको जिम्मेवारीसमेत सम्हाल्दै आएको छ । 

यस नगरपालिकामा १८ वर्षको सेवा अवधिमा उनले जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि आएपछि गरी २९ पटक निमित्त प्रमुख भएर नगरपालिकाको प्रमुख जिम्मेवारी समेत सम्हालेको उनको भनाइ छ । मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तह उतीर्ण गर्नुभएका उहाँले यस नपामा कानून तथा प्रशासन महाशाखाअन्तर्गत शिक्षा, कृषि, सहकारी, स्वास्थ्य, लेखा, राजस्व, सामुदायिक, प्रशासन, महिला विकास, वडा कार्यालयलगायतका १४ वटा शाखाको नेतृत्व गर्दै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनले भने, “नगरपालिकाका कार्यक्रम, योजना, अनुगमन, सुपरिवेक्षण गर्ने, यहाँका शाखामा कुनै समस्या आएमा सुल्झाउने, शाखाको काम कारबाहीको रेखदेख गर्ने लगायतका जिम्मेवारी सम्हाल्दै आएको छु ।” २०५६ सालदेखि बिहान एक कलेजमा कानून विषयको अध्यापन गराउदै आएका उनी कलेजपछि सिधैँ नगरपालिकाको कार्यालय जाने गर्छन । दैनिक पौने १० बजे अगाडिनै नियमित रुपमा कार्यालय प्रवेश गर्ने सिलवाल अरु कर्मचारी आउनु अगावै कार्यालय पुग्ने र पाँच बजेपछि अरु कर्मचारी निस्किएपछि मात्रै आफ्नो कार्यकक्षबाट निस्कने गरेको यहाँका कर्मचारी बताउँछन् ।

कार्यालयलाई अत्यावश्यक पर्दा उनी रातिसम्म बसेर पनि काम गर्ने गरेको सुनाए । महाशाखा निर्देशक सिलवालले भने, “जागिरे जीवनको १८ वर्ष लामो अवधिमा मैले आफ्नै घरपरिवारमा विवाह तथा व्रतबन्ध हुँदा पाँच दिन र जनप्रतिनिधि आएपछि नगरपालिकाकै काममा जापान जाँदा पाँच दिन गरी १० दिन बाहेक अहिलेसम्म कुनै दिन बिदा बसेको छैन, नत कुनै सुविधा र भत्तानै लिएको छु ।” अतिरिक्त समयमा काम गरेबापत पाइने ओटीदेखि बिदा नलिएबापत लिने अन्य सुविधा, कुनै पनि भत्ता वा थप तलब सुविधा केही नलिएको उनको भनाइ छ । 

सूचना अधिकारीसमेत रहेका सिलवालले भने, “एक कर्मचारीले वर्षमा ६ दिन पर्व बिदा, ६ दिन भैपरी आउने बिदा र ३० दिन घर बिदा गरी ४२ दिन बिदा पाउँछन्, यसलाई जोड्ने हो भने पनि १८ वर्षमा ७५६ दिन म बिदा बस्न पाउथेँ तर मैले १० दिन बाहेक ७४६ दिन बिदा नलिई कार्यालयलाई दिएको छु, मैले बिदा नलिएबापत थप तलब, अन्य सुविधा वा कुनै पनि शीर्षकमा भत्ता लिएको छैन ।” 

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकामा इमान्दार कर्मचारीको रुपमा उनलाई लिने गरेको बताए । उनले भने, “म नगरप्रमुख भएर आएको चारवर्ष नाघिसकेको छ, सिलवालले म आएपछि जापान जान बाहेक अरु दिन बिदा लिएको थाहा छैन, दिएको सबै जिम्मेवारी पूरा गर्ने र कार्यालय समयभन्दा पहिला आउने र कार्यालय समय भन्दापछि जाने, जस्तोसुकै अप्ठ्यारो काममा सुल्झाउने इमान्दार कर्मचारीको रुपमा नगरपालिकाले सिलवाललाई पाएको छ ।”

नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले सिलवालप्रति कार्यालयमा कसैले गुनासो नगरेको सुनाउँदै गुनासो गर्ने ठाउँ नै नराखी उनले काम गर्दै आएको बताए । उनले पाउने बिदा पनि नलिइ काम गरेको देख्दा छक्क परेको उनले बताए । 

सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ६ बजे घरबाट निस्केर कलेजमा दुई वटा कानून विषयको अध्यापन गराएर सिधैँ नगरपालिका जाने उहाँको दैनिक तालिका नै हो । विभिन्न निकायमा स्रोत व्यक्तिको रुपमा समेत सिलवालले पहिचान बनाउँदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै