• २०८१ बैशाख ८ शनिबार

शिक्षालाई प्रविधिमैत्री बनाउन मन्त्री पौडेलको आग्रह

kharibot

फाइल तस्वीर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकासमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

खुमलटारस्थित नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यालय निरीक्षण गर्दै सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताएका हुन् । मन्त्री पौडेलले नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए । मन्त्री पौडेलले भने “आजको युग विज्ञान तथा प्रविधिको युग हो, यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।”

नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न मुलुकसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिए । उनले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृत्ति विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधिबिना देश समृद्ध नहुने बताए । उनले नास्ट काठमाडौँमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैजानुपर्नेमा जोड दिए ।

नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सात वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिए । उनले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताए । ‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको जानकारी दिँदै उनले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवद्र्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै