• २०८१ बैशाख १३ बिहीबार

मुस्ताङको हिमपहिरोमा १२० चौरी बेपत्ता

kharibot

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ”, उनले भने, “भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौँरीमध्ये १०-१२ वटा मात्र भेटिएका छन् ।”

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३०  याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०-१२  मात्र देखिएको र बेपत्ता चाँैरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । 

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । 

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका थिए ।  क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११: ४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । 

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै