• २०८१ बैशाख ८ शनिबार

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारीमा छौँ – शिक्षामन्त्री पौडेल

kharibot

फाइल तस्वीर

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताएका छन् ।

म्याग्दीको बेनीमा आज भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयक मार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताए । 

“पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,” उनले भने, “भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेको छ ।”

अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरुलाई प्राथमिकीकरण गरेर तीनमहिने कार्ययोजना बनाउन लागेको जानकारी दिए । 

सङ्घीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको मन्त्री पौडेलले बताए । शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताए । 

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आउनुभएका मन्त्री पौडेल जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । मन्त्री पौडेललाई एकाइका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिविधि, विद्यालय भवन पुनर्निर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएको थिए । 

प्रेस सेन्टरको सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताए । “समग्र विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उनले भने, “प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध छ ।”

मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्नुपर्ने बताए । बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै