• २०८१ बैशाख १३ बिहीबार

ट्रम्पद्वारा नयाँ सामाजिक सञ्जाल 'ट्रुथ सोसियल' सञ्चालन गर्ने घोषणा

kharibot

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।  बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनलाई प्रतिबन्ध लगाएपछि ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट सधैका लागि बन्द गरिदिएका थिए ।

विषेशगरेर ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए । 

उनीहरुले हटाएपछि पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाईन सञ्चालन गरेका थिए । तर त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।  

उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम “ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको उनको सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहेका छन् ।

ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधि सम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।  

ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै