सरकारले डिल्लीरमण रेग्मीलाई किन अन्याय गर्नुपर्यो ?

खरीबोट

भुईचालो गएको बेला म अमेरिकामा थिए । मैले बिहान मात्र थाहा पाएं । अमेरिकामा बिहान हुँदा नेपालमा बेलुका । घरमा फोन गरेको कसैले उठाएन । त्यसपछि मैले फेसबुकमा दुई जनालाई मेसेज गरे । तीमध्ये एक थिए मेरो छिमेकी साथीको नाता पर्ने । उनीसँग फोन नम्बर मागें । सम्पर्क भयो । छिमेकी साथीबाट लाजिम्पाटमा मानिसहरु हताहत नभएको र  घरहरु पनि नभत्केको थाहा पाएं । एक पटक घर गएर हेर्देउ न भनें । त्यस्तै फेसबुकबाट मैले सम्पर्क गरेको अर्को थिए त्यही नजिकै रेस्टुरा र होम स्टे चलाउने भाई। 

भोलीपल्ट दुबैले गएर हेरे, बुझे र मलाई खबर गरे -"सब ठिक छ "  म पहिला पहिला खासगरी कान्तिपुर र काठमाण्डु पोस्टमा कहिलेकाही लेखहरु लेख्थे । खासगरी जल्दाबल्दा राष्ट्रिय मुद्दाहरुमा  लेख्ने मेरो रुचि छ । रात्रीमा सबै निदाएको बेला नेपालमा संघिय गणतन्त्र उदाएको केही दिन भित्र मैले लेखेको लेखलाई कान्तिपूरले पूरा पेज नै दिएको थियो । त्यसपछि त्यही विषयमा एकपछि अर्को लेखहरु पनि लेखें । 

ती अखबारहरुमा त्यसताका बराबर लेखहरु लेख्नेमा सरकारको कुनै मन्त्रालयको  सचिब पनि थिए । भुइचालो आएको केही दिनपछि तिनलाई पनि भनेको थिए - प्लिज मेरो घरमा गएर हेर्दिनुस्। तिनले केही दिनपछि मेसेजमा लेखे - "पुस्तकालय रहेको घर अगाडी एक ठौँउमा तलदेखि माथिसम्म चिरा परेको छ। गहिरो चिरा होइन। बाहिर मात्र छ । अरु सब ठीक छ।" 


 

पुस्तकालयका एक कर्मचारी फेसबुकमा मेरो साथी  थिए । मेरो फेसबुकमा मैले केही लेखे भने मलाई त्यस्तो लेख्नु हुन्न भनि मेसेज पठाउंथे । "फलानोको यी कुराहरु कसैलाई थाहा छैन दिज्यु । यी सब कुराहरु यसरी बाहिर ल्याउँदा डिल्लीरमण रेग्मीलाई नै नराम्रो हुन्छ । भुईचालो गएको ९ महिना जति पछि जनवरी २० (२०१६) मा उनले मलाई लेखेको थिए “दिज्युसँग अफिसियल कुरा गर्नु थियो …।” 

“अफिसको बिल्डिङ भूकम्पले विग्रिएकोले अर्को बिल्डिङ बनाउनु पर्ने भएको छ, अनि गभरमेन्टले पैसा पनि बिनियोजन गरेको छ, सो बिल्डिङ बनाउने भनेर सल्लाह गर्नुपर्ने थियो ।” 

ती कर्मचारीले "अफिस बिल्डिङ" भनेको पुस्तकालय घर । मलाई गल्लीको भुस्याहा कुकर जस्तै ठान्नेहरुलाई मेरो सम्झना कताबाट आएछ- मैले सोचें । उक्त कर्मचारीका अनुसार पुस्तकालय र म बस्ने घरको लालपूर्जा एउटै रहेछ। "ओल्ड बिल्डिङ सबै भत्काएर न्यु बनाउनुपर्छ, सो ग्यारेज पनि भत्काउनुपर्ने हुन्छ तर त्यो हजुरको तिर छ रे," मेसेजमा मलाई भनियो, “मैले अस्तिनै हजुरलाई भनेको थिंए नि, १.५ करोड।” 

सरकारले हाम्रो घर भत्काउन मात्र १ करोड ५० लाख दिएको रहेछ।  मैले नेपाल दुई महिनापछि आउँछु अनि कुरा गरौ भन्दा उनले लेखे, “हे हे हे, त्यो त धेरै ढिला हुन्छ दिज्यु” । मैले जवाफमा जे मन लाग्छ त्यही गरे भईहाल्यो नि त भने। "उसो भए अहिले नक्सा बनाउँदा ग्यारेजसम्म नै बनाउँदा हुन्छ त दिज्यु?।

“मिनिस्ट्री अफ एडुकेसनलाई चाँडोभन्दा चाँडो इस्टिमेट दिनुपर्ने भएकोले।” चाँडो इस्टिमेट दिएन भने सरकारले दिएको रकम “फ्रीज” गर्ने कुरा पनि खुलाए । अनि दिज्युसँग भएको कुरा हाम्रो चेयरम्यानलाई भन्छु भने ।  "चेयरम्यान" भन्नाले त्यस बेलाको डिल्लीरमण रेग्मी प्रतिष्ठानको अध्यक्ष तुलसी भट्टराई । उनलाई नेपाली कांग्रेस सरकारले अध्यक्ष नियुक्त गरेको थियो। भट्टराई  प्रज्ञा प्रतिष्ठानको आजीवन प्राज्ञ पनि हुन् ।


 

पुस्तकालय कर्मचारीसंगको त्यो दिनको फेसबुक कुराकानी अझै टुङ्गीएको थिएन। मैले आखिरमा भन्नुपर्ने कुरा भने "बाहिर १०-२० रोपनी जग्गा लिएर बनाउनु पुस्तकालय। यो म्युजियम हुन्छ ।"  जवाफ आयो, हे, हे, हे, हे।” अर्काको घर भत्काउन कति उत्सुक ! कति हतार ! ? 

म नेपाल फर्केपछि आदेश आयो – “चेयरम्यान भेट्न चाहनु हुन्छ।" म बस्ने घर र पुस्तकालय घर एकै क्षेत्रमा छ। तुरुन्त पुगें । पुस्तकालय हलमा भट्टराई सोफामा बस्नु भएको थियो। उठेर मलाई साइडको सोफामा बस्ने इसारा गर्नुभयो । म जस्तोलाई मान !  त्यहाँ पुस्तकाकयको कर्मचारीहरु सहित पुस्तकालय प्रमुख भोला श्रेष्ठ पनि हुनुहुन्थ्यो ।पुरानो घर भत्काई नयाँ भवन बनाउन नक्सा तयार भईसकेको र अन्डरग्राउन्ड पार्किङ् पनि बन्ने सुनाइयो । मलाई पनि नक्सा देखाउने भनियो ।

एघार बर्ष अगाडी फोरम पार्टीले पठाएको अघ्यक्ष जङ बहादुर  गिरी,  पुस्तकालय प्रमुख पशुपति अधिकारी र कर्मचारीहरुको हातबाट चरम भोगेको थिए ६ महिनासम्म लगातार । पछि पशुपति अधिकारीलाई कर्मचारीहरुले हटाए रे -उनीहरुलाई तिनले दुख दिएको हुनाले ।  तर मसंग भोला श्रेष्ठले अत्यन्त मिठोसंग बोले । उनको भिजिटिङ कार्ड पनि दिए। त्यो बेला म नेपाल एक महिना बसें । यद्यपि नक्सा भने देख्न पाइएन । म अमेरिका फर्कें ।  केही महिनापछि त्यही बर्ष अक्टोबरमा नेपाल फर्कंदा मैले भोला श्रेष्ठको अर्कै रुप देखें । उनले मेरो बाबा डिल्लीरमण रेग्मी कुनै ठूलो मानिस नभएको र आफूहरुले बनाएको खुब फुर्ति साथ भने । 


 

डिल्लीरमण रेग्मीको नाममा केही बन्ने यो अन्तिम चान्स भएको र त्यसलाई नबिगार्न मलाई चेतावनी  दिए । त्यसको केही दिनपछि मेरो र भोला श्रेष्ठबीच यस्तो परिस्थिति सृजना भयो कि मैले पुलिस बोलाउनु बाहेक अर्को कुनै विकल्प देखिन। दुई पुलिसहरु आएका थिए । भोला श्रेष्ठले पुलिसहरु सामू मेरो बारे केही थाहा नभएको र डिल्लीरमण रेग्मीले मदन रेग्मीको अनुमति लिएर पुस्तकालय सरकारलाई दिएको हो भने ।

अहिले ठ्याक्क ५ वर्ष भयो अमेरिका जाने मौका नपाएको । आएको १ बर्ष भित्र जानै पर्ने थियो केही दिनको भएपनि तर  म फर्कंदासम्म घर भत्काइदिने धम्की शिक्षा मन्त्रालयको पुस्तकालयहरु हेर्ने उपसचिबले दिएपछि म अमेरिका जानबाट आफैं रोकिएं । 

२०७४ साल कार्तिक ८ गते कान्तिपुर दैनिकमा पुस्तकालय सम्बन्धी एक रिपोर्ट छापिएको थियो । शीर्षक थियो “डिल्लीरमण पुस्तकालय पूर्वाधारहीन।” सरकारले रकम निकासा गरेको कुरा समेत उक्त समाचारबाट पुष्टी हुनगयो ।

समाचारमा पुस्तकालय पूर्वाधार विहिन लगायतका विभिन्न कुराहरु प्रकाशित छन् । “शिक्षा मन्त्रालय अन्तर्गत डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय भौतिक पूर्वाधारको अभावमा गुज्रीएको छ। लाजिम्पाट स्थित पुस्तकालय मुख्य भवन भूकम्पले चर्किएपछि सेवा प्रभावित भएको हो।"

“डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय समिति, २०६० अन्तर्गत सुचारु पुस्तकालयको चालु आर्थिक बर्षमा ६० लाख रुपैया बजेट छ । पुस्तकालयमा १० कर्मचारी कार्यरत छन् । भूकम्पबाट मुख्य भवन जरजर बनेपछि सीमित पाठकलाई मात्र सेवा दिने गरिएको छ ।"

राजधानी शहरमै रहेको यो पुस्तकालयले चाहे जस्तो पाठक बढाउन सकेको छैन। दैनिक तीस-चालिस जना मात्र आउने गरेको जनाइएको छ। वाइ फाइ, निशुल्क फोटोकपीको ब्यवस्था छ भने रेखदेखका निम्ति सीसी क्यामेरा  जडान गरिएको छ। प्रमुख श्रेष्ठका अनुसार नयाँ भवन निर्माणका निम्ति ७ करोड ५६ लाख प्रस्ताव गरिएको छ। उनले भने, “यी भवनमध्ये दुईवटा भत्काएर एउटै चारतले बनाउने प्रक्रिया अघि बढेको  छ।”  

“सरकारले पुस्तकालय भवन निर्माण योजना राखे पनि प्राविधिक कारणले ढिलाई भएको जनाइएको छ।" - (डिल्लीरमण पुस्तकालय पूर्वाधारहीन - इकान्तिपुर)

एक ठाउँमा सानो चिरा पर्दैमा सबै घरनै ध्वस्त पार्न खोज्नु कस्तो बदमासी । "जरजर" भएको भन्नु कस्तो अपराधी मन - जिउँदो मानिसलाई चिताको दाउराहरु मुनि थिचेर जलाए जस्तो ।  डिल्लीरमण रेग्मीको नाम निसान मेट्नको लागि त हो यो सबै भएको ? अध्यारोमा देशद्रोहीहरुले रचेका झूटो इतिहास कही कुनै दिन त्यसमा कसैले प्रकाश देखाइ देला भन्ने त्रासले। पैसाको खेलको अर्को पाटा त छँदैछ ।    

सरकारले घरको मर्मत कहिल्यै गरेन। पुस्तकालय सहितका ६ वटा घरहरु छन् । घरको अगाडीको भाग केही भएको छैन। सबैभन्दा हानी घरको कौसीहरु मुनिको कोठाहरु र  पछाडी पट्टी भागमा भएको छ। कौसीहरु भएको ठाउँहरुमा त्यहाँ परेका चिराहरुबाट बर्षा याममा पानी छिरेर भित्ता र सिलिङ् सब रसाएको छ। 

त्यस्तै अर्कोमाथि राखिएको ट्यान्की  भरिएर र बर्षाको समयको पानीको बाछिट्टा भित्तामा पर्ने र रसाएर भित्र जाने गर्दा मेरो बाबाको सुत्ने कोठाको भित्ताको एउटा भाग नै निक्लेको छ। तथापी मैले पाँच बर्ष भैसक्यो आजसम्म त्यो कोठामा कुनै मर्मत गरिएको छैन। हाम्रो घर भुइचालोले "जरजर" भएको होइन जानीजानी त्यस अवस्थातिर लगिएको हो। यो पालीको अविरल बर्षाले पोहर सालहरु भन्दा धेरै असर गरेको छ।

गत बर्ष अक्टोबरमा घर मर्मत गर्न सबै ठीक पारेको थिएं।  कन्ट्राक्टर र मजदूरहरु तैयार थिए। सिमेन्टी, कंक्रिट, बालुवा, सब आईसकेको थियो । भोला श्रेष्ठले इजाजत दिएनन् । मलाई धेरै चित्त दुख्यो, मैले उग्र रुप लिए । म चण्डी भएं, भोला श्रेष्ठको अफिस कोठामा पुगें । जुम मिटिङ्मा थिए उनि- टेबल पल्टाई दिएं । उनको ल्यापटप खस्यो तल कार्पेटमा। यो भोला श्रेष्ठ अपराधी हो भनेर चिच्याए- मेरो बाबा भनेर रोएं ।

भोला श्रेष्ठको अफिसमा मेरो बाबाको फोटो टाङिएको थियो- मेरो बाबा हामी माथिको अत्याचार सब हेरिरहेको थिए । मैले फोटो हटाए ।

त्यसको दुई हप्तापछी भोला श्रेष्ठले मर्मत गरेको निर्दय नाटक गरे। तीन बोरा सिमेन्टी प्रयोग भयो मर्मतमा । 

हामीले त राम्रो गर्न खोजेको हौ-किन हमला यसरी हामी बाबु छोरी माथि ? हामी माथि किन यस्तो अन्याय ? तर अन्याय त धेरै माथि भैराखेको छ ।  मैले अखबारमा लेखेर तपाईहरु सामू भन्ने मौका त पाँए । अधिकांश ले त्यति पनि पाउँदैनन् ।

सम्बन्धित समाचार