काठमाडौँ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज बंगलादेशविरुद्ध १-१ गोलको बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो ।
नेपालका लागि खेलको ८९औ मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई बराबरी गरेका थिए ।
यस अघि खेलको ७९औ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमानले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै बंगलादेशले पहिलो हाफमा नेपालविरुद्ध १-० गोलको अग्रता लिएको थियो । बंगलादेशले खेलको नवौं मिनेटमा गोल गर्दै नेपालविरुद्ध १-० गोलको अग्रता लिएको हो । बंगलादेशका लागि सुमोन रेजाले गोल गरेका थियो ।
यो बराबरीपछि नेपालको ४ खेलमा ७ अंक भएको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब आजै हुने भारत र माल्दिभ्सबीचको खेल पछि फाइनल खेल्ने अर्को टिमको टुंगो लाग्ने छ । यस खेलमा फाइनलमा पुग्न भारतले जित्नै पर्ने अवस्था छ भने माल्दिभ्सले बराबरी खेलेमा फाइनल पुग्ने छ ।