काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
नेपालले भारतविरुद्ध खेलेको टिमबाट तीन परिवर्तन गरेको छ । बंगलादेशविरुद्ध खेलमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठलाई शुरुवाती प्लेइंग इलेभेनमा समावेश गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, सुमन अर्याल र सुमन लामालाई यस खेलमा बेन्चमा राखेका छन् ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेल्दै छन् भने अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका छन् ।
नेपालले यस खेलमा कम्तिमा बराबरी खेलेमा फाइनलमा प्रवेश गर्नेछ भने बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता रहेको छ ।
आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलमा भारतले जितेमा मात्र फाइनलमा स्थान बनाउनेछ भने माल्दिभ्सलाई फाइनलमा पुग्न बराबरी खेले पनि पुग्नेछ ।