• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ-रक्सौल रेल मार्गको विस्तृत अध्ययन गर्न सहमति

kharibot

बारा । काठमाडौँ-रक्सौल रेल सञ्जाल निर्माण अघि बढाउन रेल मार्गको विस्तृत अध्ययनका लागि सहमति भएको छ । नेपाल–भारत अन्तरदेशीय रेल सञ्जाल निर्माण अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको साढे ३ वर्षमा काठमाडौँ–रक्सौल रेलमार्गको विस्तृत अध्ययन गर्ने सहमति भएको हो । 

सो सहमतिसँगै भारतको कोंकण रेलवे कर्पोरेशनका अधिकारीहरू रेलमार्गको अध्ययन गर्न दशैं लगत्तै नेपाल आउने सहमति भएको बताईएको छ ।

भारतमा भएको नेपाल–भारत क्रशर बोर्डर रेल्वे सम्बन्धी संयुक्त कार्यदलको बैठकले १८ महिनामा अध्ययन सम्पन्न गर्ने सहमति गरेको छ । सो अनुरूप भारतका अधिकारीहरू नेपाल आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । 

उक्त बैठकमा नेपाल तर्फबाट नेतृत्व गरेका मन्त्रालयका सहसचिव केशव कुमार शर्माले दशैं लगत्तै उक्त कम्पनीका अधिकारीहरू नेपाल आउने जानकारी दिए ।

गत २०७४ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच यो आयोजना अघि बढाउँने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । महासचिव शर्माका अनुसार दशैं लगत्तै उनीहरूले अध्ययनको काम शुरू गर्ने छन् ।   

रेल मार्गको अध्ययन भने भारतले नैं अनुदानमा गरिदिने भएको छ । यसमा कति खर्च हुँन्छ भन्ने विषय नेपाललाई बताइएको छैन । दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भए पछि काठमाण्डौं–रक्सौल रेल मार्गको प्रारम्भिक अध्ययन भएको थियो ।

सोही अध्ययन अनुसार दशैं लगत्तै आउने टोलीले रक्सौल–जीतपुर–निजगढ–शिखरपुर–सिस्नेरी–सतीखेल हुँदै काठमाण्डौं सम्मको रूटको अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ । प्रारम्भिक अध्ययनले उक्त रेल मार्गको दूरी १ सय ३६ किलो मिटर लामो हुँने र लगानी झन्डै ३ खर्ब रूपैंयाँ हुँने प्रक्षेपण गरेको थियो ।

रेल विभागका महानिर्देशक दिपक कुमार भट्टराईले अब इन्जिनीयरिङ्ग, आर्थिक तथा प्राविधिक लगायत विस्तृत अध्ययन भई अन्तिम प्रतिवेदन भारतीय पक्षले बनाइदिने जानकारी दिएका छन् । प्रतिवेदन तयार भए पछि लगानीका लागि भारत सरकारलाई पनि अनुरोध गर्ने छ । सहयोग नपाए नेपालले अन्य कुनै स्रोत जुटाउनु पर्ने छ ।

नेपाल कै पूर्वपश्चिम विद्युतीय रेल मार्गमा पर्याप्त लगानी हुँन नसकेका बेला अन्तरदेशीय रेल मार्गमा लगानीको स्रोत जुटाउँन नेपाललाई चुनौंती रहेकाे छ ।

रेलमार्गमा ठूलो लगानी हुँने हुँदा यसले दिने प्रतिफलका विषयमा पनि गहन अध्ययन हुँन आवश्यक देखिएको छ । नेपालको वैदेशिक व्यापारको ठूलो अंश भारतले ओगटेको छ । आयात निर्यातको ठूलो अंश र यात्रुको आवत जावत पनि हुँन सक्ने हुँदा लगानीको प्रार्थमिकतामा यो रेल मार्ग हुँनु पर्ने अधिकारीहरू बताएका छन् । 

अहिले सम्म नेपालले भारत तथा तेस्रो मुलुकबाट पैठारी गर्ने वस्तु तथा सामग्री बिरगंज बन्दरगाहबाट पुनः लोड गरेर मालवाहक सवारीमा काठमाण्डौंमा ल्याउँने गरेको छ । 

ट्रकबाट ल्याईएका अधिकांश सामग्री काठमाण्डौं उपत्यका मैं बढी खपत हुँन्छन् । सडक मार्ग हुँदै ल्याउँदा २० घण्टा देखि कतिपय अवस्थामा २ दिन सम्म लाग्ने गर्दछ । सवारी साधन बिग्रने, सामग्री बिग्रने, ड्यामरेज शुल्क र ढुवानी खर्च बढी लाग्ने जस्ता समस्या यसमा रहेका छन् ।

माल वाहक सवारीबाट सामग्री ल्याउँदा मूल्य नैं बढी पर्ने लगायतका कारण देखाउँदै उनले एउटै रेलमा धेरै सामग्री ल्याउन सकिन्छ र यसले धेरै कुरामा लाभ दिने बताए ।

विद्युतीय रेल हुने भएकाले नेपालको ऊर्जा खपतका लागि राम्रो माध्यम पनि बन्ने उनले तर्क गर्छन् । नेपालसँग विद्युत् उत्पादन गर्न सक्ने प्रचुर सम्भावना हुँदा रेल सञ्चालनका लागि आवश्यक पर्ने इन्धन आयात गर्ने रकम बाहिर नजाने उनी बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै