• २०८१ बैशाख ७ शुक्रबार

महानायक विवादमा शोभित बस्नेत: राजेश हमाललाई ढोगेका हुन् त ?

kharibot

काठमाडौँ । पछिल्लो समय निर्देशक शोभित बस्नेत चर्चामा रहेका छन् । निर्देशक बस्नेतले महानायक राजेश हमालको बारेमा गरेको टिप्पणीका कारण उनी चर्चामा रहेका हुन् ।

हुन त आफ्नो फिल्मको रिलिजक बेला विवादमा आउने र चर्चा कमाउने प्रचलन फिल्मकर्मीहरुको पुरानै चलन हो । यहि चलनमा निर्देशक बस्नेत होमिएर अहिले चर्चामा रहेका छन् ।     

आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उनले भुवन केसी मात्र नेपाली फिल्मको असली महानायक भनेर टिप्पणी गरेपछि विवादमा तानिएका बस्नेत अहिले राजेश हमालसँग माफी मागेको भन्दै चर्चामा छन् ।   

बस्नेतले हमालले फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेकाले यो उपाधिको हकदार हुन नसक्ने तर्क गरेका थिए ।

बस्नेतको यस्तो टिप्पणीपछि उनको सामाजिक सञ्जालमा निकै आलोचना भयो ।  यति सम्मकी उनी निर्देशित फिल्म बहिस्कार गर्नेसम्मका कुरा उठ्यो । लाखौंको लगानीमा बनेको फिल्म बहिष्कारको कुरा उठ्नासाथ बस्नेत आफ्नो टिप्पणीबाट पछि हटे । उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर दर्शकसँग माफी नै मागे ।

 साथै उनले अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्दै आफुलाई सच्याउने प्रयास गरे ।  

गत हप्ता पत्रकार प्रकाश सुवेदीले ‘महानायक’ विवाद टुंग्याउन निर्देशक बस्नेतलाई राजेश हमालसँग भेट गर्ने माहोल जुराइदिए । २ घन्टा लामो भेटमा हमालले शोभितसँग कुराकानी गरेको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक भाइरल भएको छ । 

योसँगै शोभितको टाउकोमा राजेश हमालले हात राखेको भिडियो पनि सामाजिक सञ्जालमा कम्ता भाइरल छैन । राजेश हमालसँग माफी माग्दै शोभितले टाउको झुकाएरै ढोगेको भन्दै उक्त भिडियोलाई धेरैले टिकटकमा पोस्ट गरेका छन् । 

बस्नेतले हमाललाई ढोगेको भने नभएको खुलेको छ । भिडियोमा हमालले शोभितलाई सोधेका छन्, ‘हेयर स्टाइल तपाईंले प्रत्येक दिन चेन्ज गर्नुहुन्छ ?’ जवाफमा शोभित हाँस्दै भन्छन्, ‘प्रत्येक दिनभन्दा पनि चेन्ज भइरहेको छ ।’ हमाल फेरि सोध्छन्, ‘कपालले साथ दिइरहेको छ ?’ शोभित फेरि जवाफ फर्काउँछन्, ‘हजुर, साथ दिइरहेको छ ।’ राजेश हमाल फेरि सोध्छन्, ‘कपाल आफ्नै हो नी ?’ शोभितले ‘आफ्नै हो’ भनेर जवाफ फर्काउँछन् । 

शोभितले आफ्नो कपाल सक्कली भएको बताएपछि हमालले ‘तानौ न त’ भन्छन् अनि शोभित जुरुक्क उठेर हमाल भएतिर आफ्नो टाउको झुकाउँछन् । हमालले शोभितको टाउकोमा हात राखेर उनको कपाल तानेपछि ‘कपाल आफ्नै रहेछ’ भन्दै उनी हाँस्छन् । 

तर, शोभितले फेसबुकमा पोस्ट गरेको भिडियोमा उनी राजेश हमालसँग कुराकानी गर्दा नर्भस भने देखिएका छन् । उक्त भेटमा उनले अब कहिल्यै ‘महानायक’ विवाद नझिक्ने वाचा गर्नुका साथै पहिला नजानेर, नबुझेर वा आवेशमा भनेका कुरामा हमालसँग माफी मागेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै