• २०८१ बैशाख ७ शुक्रबार

बागलुङ नगरपालिकाले ल्यायो सिंचाईका लागि ड्रिलिङ र लिफ्ट योजना

kharibot

फाइल तस्वीर

गलकोट । अहिले दम्काको फाँटमा हरियाली छ । वर्षा राम्रो भएकाले यहाँ राम्रो धान फल्ने किसानको अपेक्षा छ । बागलुङ नगरपालिका–१३ स्थित उक्त फाँट नगरपालिकाकै सबैभन्दा ठूलो उर्वर क्षेत्र हो । बर्खाको भल छोपेर लगाइएको धानबालीमा सधैं आकाशे पानीकै भर पर्नुपर्छ । आकाशे पानीकै भरमा धेरै धान फल्ने उक्त खेत हिउँदमा भने प्राय बाँझो हुन्छ ।

दुई हजार २०० रोपनीको फाँटमा सिञ्चाइको अभावका कारण हिउँदमा बाँझो रहने र बर्खाको समयमा आकाशे पानीको भरपर्नुपर्ने बाध्यता रहेको कृषक सोग्रेन्द्र खत्रीले बताए । “दम्काफाँटमा मेरो मात्रै चार रोपनी खेत छ, अन्य क्षेत्रको तुलनामा यहाँ दोब्बर धान फल्छ, निकै उर्वर भूमि हो दम्काको फाँट तर हिउँदमा खेती लगाउने कुरै छोडौँ, बर्खामा समेत खेत रोप्नसमेत हम्मेहम्मे पर्छ । अहिले अत्यधिक पानी परेकाले खेत हरियाली भएको हो । ”

उनले भने, “खेतभन्दा माथि खोला नभएका कारण सिञ्चाइको व्यवस्था हुन सकेको छैन, अहिले ड्रिलिङ र लिफ्टिङ गरेर सिञ्चाई गर्ने गरी आयोजना शुरु हुने खबरले निकै खुसी लागेको छ ।” उक्त फाँटमा सिञ्चाइका लागि  नगरपालिकाले महत्वकांक्षी योजना ल्याएको हो । नगरपालिकासँगको निरन्तर पहलबाट पहिले ड्रिलिङ प्रविधिमार्फत पानी निकाल्नका लागि बोलपत्र आह्वान गरिएको वडा नं १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

उर्वर भूमी बाँझो रहेका कारण चालु आर्थिक वर्षमा केही रोपनीलाई पुग्ने गरी जमिनमुनीबाट पानी निकालेर सिञ्चाई गर्नका लागि रू २३ लाख छ हजार विनियोजन गरिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । “नगरपालिकाकै ठूलो उर्वर फाँट हिउँदमा बाँझै र बर्खामा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यतालाई हामीले मनन गर्दै ड्रिलिङ प्रविधिमार्फत पानी निकालेर सिञ्चाईका लागि  दुबै योजना एकसाथ अघि बढाएका छौँ” नगर प्रमुख पौडेलले भने “उर्वर भूमि सिञ्चाईको अभावमा बाँझै रहँदा परनिर्भरता बढ्छ, त्यसैले चालु आर्थिक वर्षमै ड्रिलिङ गरेको पानीले पुरै फाँट सिञ्चाई गरिने छ ।”

ठेक्का सम्झौता भएको तीन महिनाभित्रै जमिनमुनीबाट पानी निकालिने नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो । उनका अनुसार दम्का फाँटको केही भागमा सिञ्चाई पुग्ने गरी जमिनमुनीबाट पानी निकालिनेछ । उक्त योजना बागलुङ नगरपालिका–१को रामरेखास्थित चिल्डेन लाइफ बोर्डिङ स्कुल तथा धौलागिरी अस्पतालमा प्रयोगमा ल्याइसकिएको छ ।

सिञ्चाईका लागि कुलो निर्माण गरी पानी ल्याउन असम्भव भएकाले नगरपालिकाले महत्वकांक्षी योजना अघि सारेको हो । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयअन्तर्गत रहेको रुपाताल संरक्षण तथा एकीकृत विकास योजना कार्यालयमार्फत् अहिले कालिगण्डकीको पानी लिफ्टिङका लागि सौर्य उर्जा प्रयोग गर्न अध्ययन भइरहेको छ ।

यसैवर्ष विस्तृत आयोजना प्रतिवेदन बनाएर लिफ्टिङमार्फत पानी तानिने  रुपाताल संरक्षण तथा एकीकृत विकास योजनाका इन्जिनियर कृष्ण विकले जानकारी दिए । कालिगण्डकीमाथि रहेको दम्काफाँटमा सोलार प्यानल राखी उत्पादन भएको विद्युतलाई नदी किनारमा इनार बनाएर पानी तान्न प्रयोग गरिने यसबाट हिउँद र बर्खा दुवै याममा सिञ्चाई गर्ने योजना रहेको छ ।

दुई हजार २०० रोपनी जग्गामा पूर्ण रुपमा सिञ्चाई गर्न सके नगरपालिकामा धान तथा गहुँ उत्पादनमा उल्लेख्य वृद्धि हुनाका साथै एकीकृत रुपमा व्यावसायिक तरकारी खेती गर्ने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै