मैले किन सर्वोच्च अदालत गुहार्नुपर्यो ?

खरीबोट

मैले सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएपछि आफन्त र चिनजानका साथीभाई एवं मिडियाले चासो दिइरहेको छ । आखिर मैले किन सर्वोच्च अदालत गुहार्नुपर्यो ?

मेरो पिता डिल्लीरमण रेग्मी।  उहांलाई म बाबा भन्छु। आमा नुतन रेग्मी अथवा मामु । बाबा र मामुले मलाई पाँच महिनाको शिशु छँदा जैविक बाबुआमाबाट "छुट्ट्याई” उद्धार गरी पुनरजीवन दिनुभयो। आफैले बोकी हुर्क्याउनु भएको हो । लाजिम्पाटस्थित जुन डिल्लीरमण रेग्मी लाइब्रेरी छ, म  त्यही पुस्तकहरुबीच सरस्वतीको वासस्थानमा हुर्की बढेकी हुँ । म सानो छँदा बेलुका आमाको कोठाको खाटामा निदाए पछि मेरो बाबाले बोकेर लग्नु हुन्थ्यो सुत्न बाबाको कोठामा । मलाई ज्वरो आयो भने बाबालाई ज्वरो आउने। मलाई जुम्रा पर्यो भने बाबाको कपालमा जुम्रा ।  हामी दुई बीच नंग र मासुको सम्बन्ध थियो । एक अर्काका परिपूरक। थाहा पाए देखी बाबाको विश्वासपात्र, म बाबाको “डार्लिङ” र “मुटु।” म कति भाग्यमानी !

सिक्किम भारतमा बिलय हुनु अगाडि त्यहाँको राजा चोग्यालको निमन्त्रणामा गएको थियौ हामी तीन बाबा, मामु र म। त्यहाँ पुगेपछि मलाई ज्वरो आएछ। बालाई "तिमि मेरो नजिक नआउ ज्वरो सर्छ" भन्थे रे। चोग्यालले हामी बसेको गेस्ट हाउसमा मसंग खेल्न मेरै उमेरकी छोरीलाई पठाउनु हुन्थ्यो रे।  मलाई यी दृश्यहरु याद छैन तर दरबारको हलको अलिअलि याद छ। चोग्याले हामीलाई कलेजी बोर्डर भएको  गाडा पहेलो रंगको  बीचमा बुट्टा कुदेको  लगभग ५X३ फिटको उनीको कार्पेट उपहार दिनु भएको थियो। त्यो अहिले पुस्तकालयमा छैन। कसैको घरमा पुग्यो  या फ्यालियो भन्ने पनि थाहा छैन । 

मैले कहाँ गयो भनि सोध्दा हामीलाई के थाहा तपाईलाई थाहा होला भन्ने रुखो जवाब मात्र पाउँन सकेको छु । काँचको फ्रेम भित्र राखेको भए बच्ने थियो कि जस्तो पनि लाग्यो। यस्तो मैले बाहिर देशमा देखेको छु। ठूला ठूला महत्वका पुराना  कार्पेटहरुलाई कांचको फ्रेम भित्र सजाइएको। तर यहाँ काँचको फ्रेमभित्र हालेर मैले दिएको दर्जनौ सामान र फोटोहरु  विनाश भएका छन् ।  

डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको पुस्तक र अरु सामाग्रीहरु त्रिभुवन विश्वविध्यालयलाई शेषपछि जाने गरी मेरो पिताले २०३१ सालमा बकसपत्र बनाउनु भएको थियो । त्यस्तै लाइब्रेरी रहेको हाम्रो घर र त्यसले चर्चेको १ रोपनी १० आना मामु र बाबाको शेष पछि बिक्रि गर्ने र त्यस बाट आएको रकम आधा मेरो नाममा बैंकमा र आधा  छात्रवृत्तिको लागि प्रयोग गर्ने पनि बकसपत्रमा उल्लेख छ।  बचेको १ रोपनि १० आना मलाई शेषपछिको बकसपत्र गरिएको थियो जसमा मेरो लागि घर बनाइदै थियो । केही वर्षपछि बाबाले मलाई किताब घरमै राख्ने कि अन्त पठाउने भन्नि सोध्न लाग्नु भयो- म सात वर्षको थिए । किताबसंग मेरो ठूलो लगाव । मैले घरमै राख्ने बाहिर नदिने भन्न लाँगे । अनि अरुलाई पढ्न दिन्छेस त भन्न लाग्नु भयो । मैले दिने भने । सम्हाल्छेस् भन्दा सम्हाल्छु भने । ठूलो बनाउछेस् भन्दा–"गर्छु भने ।" यसलाई आधार मानी बाबाले २०३७ सालमा शिक्षा मन्त्रालयलाई हाम्रो घर शेषपछिको बकस पत्र गर्नु भएको थियो । 

उहाँ र मेरो आमा नूतनको लगानीबाट यो घर जग्गा किनेपछि नै २०१८ सालतिर घर र त्यसमा भएका किताबहरु र सामाग्रीहरु जसले त्यसै बेलासम्म एक लाइब्रेरीको रुप लिईसकेको देखिन्छ, त्यसलाई सरकारलाई दिने कागतमा अठोट गर्नु भएको रहेछ । मैले यो एक महिना अगाडि मात्र पूराना कागजातहरु केलाउँदा भेटाएको  छु । २० वर्षसम्म गुम्सिएको इच्छा म बाबाको जीवनमा आएपछि यथार्थमा बदलिएको रहेछ ।

तर, २०३७ सालको बकसपत्र  कथमकदाचित आफ्नो देहान्त भयो भने संकलन नष्ट हुन सक्ने देखि वहाँले सो गर्नु भएको थियो । म त १३ बर्षको थिए, मैले त्यस अवस्थामा सम्हाल्ने त कुरै थिएन । शेषपछिको बकसपत्र अनुसार  सरकारले पाउने घर सहित १ रोपनी १० आना थियो र त्यसमा मोटर जाने बाटो उसले मेरो लागि बनिरहेको घरको लागि जाने बाटोको लागि छोड्नु पर्ने सर्त पनि । 

२०३६ साल देखी मेरो आमाले मेरो लागि मलाई दिइएको १ रोपनी १० आना मा घर बानाउन शुरु गर्नु भयो र २०४० साल मा मेरो नाममा शेष पछिको बकसपत्र गरिदिनु भयो। यसै बीच म  १९ वर्ष हुँदा एक अत्यन्त नजिकका नातेदारले अत्यन्त गरुंगो कृस्टलको सजाउने फुलदानीले मेरो टाउकोमा प्रहार गरे । टाउको सट्टा कुमलाई अलिकति ले नछोएर भुईमा फूलदानी चकनाचूर भयो । त्यो देखि उक्त ब्यक्तिका दिदी बहिनीहरु "मोरो ले मार्यो भनेर" चिच्याए । तर, म भगवानको कृपाले बाँचे । त्यसको केहि महिना पछि विजयदशमीको दिन तिनै ब्यक्तिले हाम्रो मूल गेटनिर त्यहा जमिनमा आधा गाडिएको इट्टा उखेलि मेरो टाउकोमा प्रहार  गरे । फेरि लागेन । मेरो बाबालाई उक्त ब्यक्तिले मलाई मार्ने चिन्ता हुन थाल्यो । उनले त्यसको एक बर्ष जति पछि राजा बीरेन्द्रलाई  बोलाएर पुस्तकालय आफ्नो शेषपछि राज्यमा जाने यथार्थलाई झन बुलन्द गर्नु भयो । उक्त ब्यक्तिलाई बोलाइएन । मलाई बाबा भन्नु हुन्थ्यो “म गए पछि गेट मा ताल्चा लगा । कसैलाई भित्र आउन नदे ।” अखबारमा पनि आएको थियो "म गएपछि ताल्चा लगाइन्छ ।" 

२०५४ को नजिकैको कुरा हो । मलाई कृस्टलको गरुंगो र इट्टाले हान्ने ब्यक्तिले मेरो बाबा सामू तान्डब नृत्य गरेछन् उनको अपमान गर्यो भनेर, उनको परिवारको अपमान गर्यो भनेर चिच्याउँदै । म त्यस समय संयुक्त राज्य अमेरिकामा पढाईको सिलसिलामा  थिए । अब मेरो बाबालाई मलाई उक्त ब्यक्तिले मार्ने र ती ब्यक्ति मात्र किन अरु नाता पर्नेले पनि बाच्न नदिने विचार झन् सबल हुदै गयो । उनले त्यस पछि आफूभन्दा अगाडि जानु पर्छ र अरु सबै नातेदार पनि  नत्र मैले दुख पाउछु भनि धेरै चिन्ता गर्न लाग्नु भयो ।

आमालाई पनि तर्साई बकसपत्र उल्टाई मलाई बेघर बनाउन सक्ने भएकोले आमाभन्दा आफू धेरै समय बाच्नु पर्ने कुराहरु गर्न लाग्नु भयो । म बाँचे लाइब्ररी पनि बाँच्ने । 

एक दिन बेलुका यो सबै तँ पछि जाने गरेर दिउँ भन्नु भयो बाबाले । मैले हुन्छ तर म पछि मात्र भने । त्यसपछि भन्नुभयो-"यदि तँ ठूलो मानिस  भईस् र राजनितिमा आउन इच्छा लाग्यो भने मात्र सबै दुनियालाई दिएर जानु ।"  पश्चिम बंगालकी वर्तमान् मुख्य मन्त्री ममता बेनर्जी काली मन्दिर नजिक बस्थिन्  बाबाको अनुसार ।

आमा र मेरो शेषपछि सिधा सबै शिक्षा मन्त्रालयलाई जाँदा  कसैले मेरो हत्या गर्ने चान्स, न आमालाई तर्साएर मलाई सडकमा कसैले पुर्याउन सक्नेनै चान्स ।  बाबाले खाएको र तैले खाएको थाल एउटै हो भन्नु हुन्थ्यो। मेरो नाममा केहि राख्नु खतरा हुने र मैले पनि बाहिर जग्गा घर नजोड्ने शर्त थियो बाबाको । सबैजति मसंग छ पुस्तकालयको बृद्धि, सम्बर्धन र अरु सामाजिक सेवामा नै लगाउनू ।

 २०५४ को शेषापछीको बकसपत्र आमा र मलाई बराबर अधिकार दिइएको छ र उहांको मृत्युपछि उहांको पार्थिव शरिरको जिम्मा लगाइएको छ । बकसपत्रमा मेरो सहि छैन । आमा नुतनले मेरो नामको सही गर्नु भएको छ । मैले कहिल्यै शेषपछिको बकसपत्रहरु हेर्ने इच्छा गरेको थिइन । बाबाले भने अनुसार कार्य गर्ने, आफ्नो घर, पुस्तकालय पनि बचाउने र आफू पनि बाच्ने । अनि बाबाको इच्छा  थियो मैले किताब लेख्ने उनको बारे । “गणेशमानको छोरीले  आफ्नो बाउको किताब लेखेको जस्तै।”

बाबा जानु भयो । त्यो पनि मैले अनलाईन न्युजमा पढे । उनको पार्थिव शरिर उहांको नामको ट्रस्ट र नातेदारले धावा बोले । जस जसले जे अपमान उहांमाथि बर्साउनु थियो बर्साए । नेपाली कांग्रेस सरकारले पनि राम्रैसंग गर्नु नगर्नु अपमान गर्यो । मेरो बाबाको  आत्मालाई कति दुख भयो होला । अरुको सन्तान बाहिर छन् भने बोलाउँछन् बाबाले त झन् पार्थिव शरिर मेरो जिम्मामा दिनु भएको थियो । बकसपत्रमा लेखिएकै थियो।   

बाबाको देहावसान पछि आमाको पनि दुई बर्ष भित्र मृत्यु भयो।  हाम्रो घरमा भएको पुस्तकहरुलाई आमाको देहावसान लगत्तै काठमाडौ युनिभर्सिटीलाई डिल्लीरमण रेग्मी ट्रस्टका पदाधिकारीले लिजमा दिएछन् । त्यसलाई रोके । कुनै नातेदारलाई किताबहरु सबै खालि गरिदिने  कुरा भैरहेको पनि सुने- ट्रस्टलाई भंग गरे २०३७ सालको निष्कृय भैसकेको बकसपत्रलाई प्रयोग गरी । ट्रस्ट कायम भएको भए न लाइब्ररी रहन्थ्यो न मेरो बास । त्यस्तै एक ब्यक्तिले हाम्रो घरको पुस्तक अन्त सारी उक्त घरलाई सार्वजनिक पुस्तकालय बनाउन पनि कोशिश गरेको रहेछन् ।  तर म काठ्माडौंमा भएको हुनाले  सरकारले “आंशिक” स्वामित्व  भएको कारण देखाई ती ब्यक्तिलाई दिननसकेको रहेछ । सार्वजनिक पुस्तकालय पछि भृकुटी मण्डपमा स्थापना गरिएको रहेछ ।

मैले बाबाको स्वर्गाबास पछि गेटमा ताल्चा लगाउने बचन पूरा गर्न सकिन । आमाको देहान्त पछि पूरा गरे ।  सुरक्षा गार्ड राखे । तर मलाई हान्ने र मेरो बाबामाथि आक्रमण गर्ने ब्यक्तिले गार्ड राखेको भोलीपल्ट आई पिटे । उनको युनिफर्म च्याते । मलाई अनाधिकृत र गैरकानूनी पुर्वक ट्रस्ट हडपेको लान्छना लगाउन थालियो । मुखैमा भनियो । फोनैमा भनियो । अखबारमा आयो । यस समय मेरो हातमा दुईटा विकल्प थियो । पुस्तकालय यतिकै रहन दिने तर त्यसरी रहन दिदा अरुले स्वाहा बनाउने दृश्य अगाडी थियो । किताबहरु आगो लगाइ दिने, मलाई गाल पार्ने आदी आदी । अर्को विकल्प थियो पुस्तकालयलाई बनाएर सरकारलाई दिने ।  मैले ६ महिनासम्म आफैले काम गरेर २५ लाख खर्च गरेर हाम्रो किताबले भरिएको घरलाई संचालन गर्न तुरुन्त मिल्ने पुस्तकालयमा  परिणत गरे । सरकारले पनि मलाई अनाधिकृत नै भनेको थियो ।  मलाई तथानाम गाली गर्दै सरकारले  खटाएका हाकिमले पुस्तकालयको सांचो लिए । यस अवस्थामा चुप रहनु नै उचित ठाने ।  

सन् २००३ देखि म अनाधिकृत नै रहे । आवासको ब्यवस्था गरिदिएको एक मानिस जसको विरुद्ध  सरकारले पुलिसमा पनि रिपोर्ट गर्यो । पुस्तकालयको केही विकास भएन, केही विस्तार भएन । महत्वपूर्ण किताबहरु नष्ट भए । धूलोमा मिल्किए । धेरै हराए या जानि जानि फ्याकिये । किताबको नाममा बजारु किताबहरुले दराजहरु भरिए । लाइब्रेरी अखबार पढ्ने टोलेहरुको लागी छोडेको जस्तो भयो ।  

घरको हल्लाबाट बच्न आएका केही विद्यार्थी वा या फ्री वाईफाई चलाउन आएकाहरु पुस्तकालयमा देखिन्छन् । ती विद्यार्थीहरु पनि  पनि धूलोले जताततै पोतिएको कोठाहरुमा बस्छन्। हल भाँडामा दिइन्छ । हल बिहेको बार्षिकीसम्म मनाउने ठाउ बनेको छ । कहिले नाच कहिले गाना गजल कहिले कविता वाचन । अनि ठूलो भोल्युममा माइक । त्यस्तै  लाइब्रेरीलाई राजनितिकरण गरिदिदाँ खास गरी विशेष एक राजनैतिक पार्टी ब्यक्तिहरुले हललाई आफ्नो पेवा जस्तो गरि दुरुपयोग गरेको पाइयो र प्रतिशोधको भावनामा उत्रिएको देखियो ।

वर्तमान लाइब्रेरी  प्रमुखले सम्पादन गरेको र ट्रस्टले प्रकाशन गरेको  किताबमा मेरो बाबाको  चरित्र हत्या गर्ने दुष्प्रयास गरेको छन् । त्यसमा मेरो पितालाई असफल राजनीतिज्ञ र नाना तरिकाले गिर्‍आइएको छ । त्यस्तै सरकारले निकालेको हुलाक टिकटमा उनलाई इतिहासकारको संज्ञा दिएको छ । टिकटको पहिलो संस्करणमा भने राजनीतिज्ञ र इतिहासकार लेखिएको थियो । निम्नकोटीका ब्यक्तिहरु ट्रस्टका पदाधिकारी छन्। लाइब्ररीमा मेरो बाबाको त कुनै स्थान नै छैन भने मेरो के हालत होला । म त केवल सरकार र लाइब्ररीका कर्मचारीहरुको दयाले गरेर त्यहाँ बस्न पाएको छु । 

आज  घर भत्काइन लागेको छ ।  सरकारले घर भत्काउन मात्र १ करोड या १ करोड ५० लाख निकासा गरेको छ- सात बर्ष भैसक्यो । सरकारले मेरो घर जग्गा आफ्नो नाममा ल्याएको एक बर्ष हुन लागेछ । मैले थाहा पाएको केही दिन भयो । म अमेरिकामा हुँदा अखबारमा ११ वर्ष अगाडी सूचना निकालेको रहेछ । तर करोनाको मौका छोपि अहिले हडपी हाल्यो । तपाईको घर कसैले भत्काउन लाग्छ, तपाईलाई नसोधी, तपाई के गर्नु हुन्छ ? यो घरमा त मेरो बाबाको मात्र होइन देशको सिङो इतिहास छ । अनि मलाई निकाली आफ्नो नाममा सबै ल्याउने सरकारलाई कसले हक दियो ? यसलाई देशको गौरबमा परिणत गर्ने पनि मेरो जिम्मा हो न की विनाश गर्ने, अनि मलाई घरबाट बेघर गर्न कसले अधिकार दियो सरकारलाई ? नातेदरले मलाई दुख दिन्छन् भनेर मेरो पिताद्वारा रचिएको यो रक्षाकवचले या पुस्तकालयलाई मलाई बचाउन सकेन । झनै घातक भयो । मैले यिनै कारणहरुले गर्दा सर्बोच्च अदालतमा रिट हाल्न हालेको हुँ । 

सम्मानित सर्बोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको अवस्था छ, मलाई मेरै घरबाट गलहत्याउने, मलाई गानाभाती गालीगलौज गर्ने, म आफैंपनि दाताकै हैसियतमा हुंदाहुदै पनि मलाई आफ्नै घरभित्र आवतजावत गर्न नदिने, गेटको चावी विना म रातभरी रातभरी पनि बाहिर बस्नुपर्ने, घरभित्र आपत पर्दा वा विरामी हुंदा गेटको चावी समेत मेरो मर्जीमा नखुल्ने, मलाई मेरै घरबाट लखेटिनुपर्ने डर भएपछि सर्वोच्च अदालतको शरणमा पुगेकी हुँ । मर्ता क्या नहि कर्ताको अवस्थामा मैले कानुनी लडाईं रोजेकी छु । डा. डिल्लीरमण रेग्मीको कानुनी इतिहासको पाटोको रुपमा म खडा भएकी छु । न्यायको भीख माग्नुको कुनै विकल्प मसँग थिएन ।

सम्बन्धित समाचार