सम्वृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रर्वतनको आवश्यकता छ- प्रा.डा. मोतीलाल शर्मा

खरीबोट

रसायनशास्त्रमा विद्यावारिधि डा. शर्मा भुसाल कपिलवस्तु जिल्ला, वाणगङ्गा नगरपालिका वडा नं. ८ बोडगाउँका स्थायी बासिन्दा हुनुहुन्छ । वहाँ विगत तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । रसायनशास्त्रसँग सम्बन्धित विभिन्न तहका कैयौं पाठ्यपुस्तकहरू यहाँको सहलेखनमा लेखिएका छन् र उच्च माध्यमिक तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा आधारित छन् र विश्वविद्यालयको पाठ्यक्रममा समेत राखिएका छन् । नेपाल केमिकल सोसाइटीको कार्यकारिणी सदस्य तथा कार्यवाहक महासविच भएर काम गरेको साथै सार्क क्षेत्रका देशहरू, युरोप तथा अमेरिकामा विभिन्न कार्यक्रम तथा तालिममा सहभागी भएको अनुभव पनि संगाल्नु भएको छ । डा. शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ, । हाल वहाँ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ । 

नेपालमा विज्ञान शिक्षा तत्कालिन त्रिभुवनचन्द्र क्याम्पसमा १९७६ सालबाट आइएस्सी पढाइबाट थालिएको थियो र विएस्सीको पढाइ वि.सं. २००४ सालबाट सुरु भयो । वि.सं. २०२२ साल मंसिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापना पश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरु भएको थियो । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ विकाससँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल शुरु भएको छ । यसलाई सुखद संकेतको रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा  विज्ञान र प्रविधिको विकास सम्बन्धी प्रा. डा. शर्मा भुसालसँग खरीबोटले नवौं विज्ञान दिवसको सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश :

नवौं विज्ञान दिवसको बारेमा केहि बताइदिनु हुन्छ कि ?    

नेपाल सरकारले २०७० सालबाट हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको  छ ।  विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नति हुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउन दिवसको रूपमा मनाउन थालिएको हो । 

विज्ञान दिवसलाई कसरी बझ्नु जरुरी हुन्छ ?

मानव सभ्यताको शुरुवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । यस अनुसार हाम्रो समाज र सभ्यतामा अनेकौं प्रकारका प्रविधिहरू प्रयोग गरिएका छन् । हाम्रा अति नै मौलिक प्रविधिहरूलाई  संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ  र पुर्खाहरूले कसरी अगाडी बढाएका रहेछन् भन्ने कुराको खोजिनीति हुनु आवश्यक छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै सिल्पिहरूको ज्ञान र प्रविधिलाई अपनाएको, संभ्रान्त राणा परिवारमा जन्मिए पनि विज्ञान र यसको प्रयोगमा रमाउने हतियार विज्ञ गेहेन्द्र शमसेर राणा लगायत विज्ञान प्रविधिको पक्षमा अनुसन्धान गर्ने, परम्परागत प्रविधिबारे चाख राख्ने र संरक्षण गर्ने सबैले यो वा त्यो रूपमा योगदान पुर्याउनु भएको छ ।

यो विज्ञान दिवसलाई चेतनाको दियो बाल्ने दिनको रूपमा सम्झिनु पर्दछ । विज्ञान–प्रविधि, ठूला पुस्तकहरू विकसित देशमा मात्रै हुन्छन् र रहन सक्दछन् भन्नै भ्रमलाई चिर्दै हामी सबैले यसको महत्वलाई बुझ्दै केही न केही योगदान दिन सक्ने बन्नु पर्दछ । देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पुर्याउन विशेष पहल गर्नु पर्ने र नयाँ तथा  युवा प्रतिभाहरूलाई आकर्षिक गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्ने दिनका रूपमा पनि बुझ्नु पर्दछ । 

विज्ञान र प्रविधिलाई देशको विकासमा कसरी जोड्न सकिन्छ ?

विज्ञान र प्रविधिको विकास भन्नाले ठूला ठूला उद्योग, कलकारखाना, भु–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने झलक्कै बुझिन आउँछ, जुनकुरा अरू देशको लागि उनीहरूको आवश्यकता अनुसार सही हुनसक्छ । तर हाम्रो देशको सन्दर्भमा सही हुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजीकरण हुन सक्नुपर्दछ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकरात्मक परिवर्तन ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम ल्याउनु पर्दछ । खासमा भन्ने हो भने सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । 

प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश पछाडी पर्नुका कारणहरू के–के हुन सक्छन् ?

देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा  एकिकृत पहल (क्ष्लतभनचबतभम बउउचयबअज.) हो । पहाडी भू–भागको आफ्नै खास महत्व छ भने तराइको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ । त्यसैगरी हिमाल, पहाड तराई सबै ठाउँमा भूगोलको विविधता सँगै आवहवामा पनि विविधता छ । यी सबै भूगोलका मानिसहरूमा समग्र विकासको लागि एक अर्को ठाउँको खास महत्व छ । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पुर्याउन नसक्नु नै हामी विकासमा पछाडी पर्नुको खास कारण हो जस्तो मलाई लाग्दछ । 

अन्य केही उदाहरणहरू लिनुपर्दा...

कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलफूलमा आधारित उद्योगहरू,पशुपालन तथा दुग्ध व्यवशाय  तथा वनपैदावारमा आधािरत उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, चिया,अलैचि,अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामन्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

विदेशको सुख सुविधामा रहेका भनौं वा रमेका प्राज्ञिक व्यक्तित्वहरू नेपाल फर्किएर योगदान गर्न सक्ने सम्भावना छ त ?

आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको  गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै विर्सन सक्दैन, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पुर्याउने हेतुले जस कसैले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्दछ । आफ्नो जीवन सार्थक वन्न पुगेको सबैले चाहने विषय हो र यसको लागि केही योगदान अवश्य पनि गर्ने चाहाना हुन्छ, तर त्यसको लागि राज्यले वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । सरकारले योगदान दिन चाहने व्यक्तिलाई पहिचान दिने खालको कार्यक्रम ल्याउनु पर्दछ । विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वहरू नेपालमा फर्किएर काम गरिरहेका उदाहरणहरू पनि प्रशस्त छन् । 

विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देश बाहिर रहनु भएका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनिमात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पुर्याउन सकिन्छ । 

विज्ञान–प्रविधिको विकासमा राजकिय निकायहरूको भूमिका कस्तो पाउनुहुन्छ ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (Nepal Academy of Science and Technology, NAST)  विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । नेपाल विज्ञान तथा प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई एक सवल संस्थाको रूपमा विकास गर्न पहल लिनु पर्दछ । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविदहरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनु पर्दछ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट (Research Centre for Applied Science and Technology, RECAST), नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकता बमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आम जनमानसले यी राज्य पोषित निकायहरू जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ । 

नेपालको सन्दर्भमा सूचना प्रविधिको विकासलाई कसरी हेर्नु हुन्छ ?

खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । थोरै भए पनि दुर्गम गाउँ घरमा पनि प्रविधिको उपयोग लिन सकिन्छ,। तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन किनकी हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौं । यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम बनाइको साटो कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पुर्याई देश विकासमा अघि बढाउन सकिन्थ्यो त्यो हुन सकिरहेको छैन । उदाहरणको रूमपा मुगु जिल्लाको कुनै एउटा ग्रामीण भेगमा कृषि फर्म खोलियो भने त्यहाँ प्राविधिक जानकारी लिन इन्टरनेटको माध्यमबाट विज्ञहरूले त्यहाँका किसानसँग प्रत्यक्ष अन्तक्र्रिया गरी उनिहरूको समस्या बुझी समाधान गर्न सकिन्छ । यस्तै खालका कृषि, स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोगहरू गरी देशलाई विकासको बाटो तिर अगाडी बढाउन सकिन्छ । 

अन्य देशबाट सिक्दै नेपालमा कसरी (सूचना प्रविधिको माध्यमबाट) विकास गर्न सकिन्छ ?

कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नु पर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण गर्न अति आवश्यक हुन्छ । उदाहरणको लागि फ्रान्स, बेल्जियम, हल्यान्ड जस्ता देशमा त्यहाँको पुनः निर्माण युग ताका जनताहरूमा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशीरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधि (Indigenous Technique) लाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरूरी छ । 

सम्बन्धित समाचार