आर्याना (अफगानिस्तान) एक अभागी भूमि

खरीबोट

केही वर्ष अगाडिसम्म जब कोही अफगानीहरूलाई भेट्दा उनीहरूको कुशलमंगलको बारेमा सोधिन्थ्यो, तब उनीहरूको जवाफ “दर अफगानिस्तान वगोयन्द, कि वजुज फरियादो फिगरङ्गा वगाङ्गा दराम् चिजे दिगर नेस्त (अफगानिस्तानमा शोकाकुल रुवाइ बाहेक अरू केही छैन,)” हुन्थ्यो र याे जवाफ आजसम्म फेरिएकाे छैन । वास्तवमै अफगानिस्तान एउटा यस्तो देश हो जहाँ आर्य कालदेखि सुरु भएको युद्ध अहिलेसम्म रोकिएको छैन । वैदिक कालमा यस भूमिमा सुरु भएको देवासुर सङ्ग्राम र दशराज्ञ युद्ध पछि अलेकजेण्डर, कुषाण, कनिष्क, हुण, गजनवी, मङ्गोल, गोर, तैमुर बाबर, उजबेक, कन्जार, नादिर शाह, अहमद खाँ, बेलायत, रुस, अमेरिका र तालिवानसम्म आइपुग्दा समेत रोकिएको छैन ।

पूर्वकालदेखि आजसम्म अफगानिस्तान स्वतन्त्र अस्तित्व र शान्तिपूर्ण जीवन बोकेर अझै बाँच्न पाएको छैन । यसैले अफगानिस्तानलाई साम्राज्यहरूको चिहान (Graveyard of emperors) पनि भनिन्छ ।

भाषाको आविष्कार भएपछि भाषालाई पद्य, गद्य र गान गरेर तीन प्रकारले प्रयोग गर्न थालियो । सुरुमा भाषा गद्यकै रूपमा व्यवहार गरिएता पनि त्यो सँगसँगै गानमा पनि भाषाको प्रयोग गरियो । संसारको हरेक भाषाका लोकगीतमा भएको एउटा अविच्छिन्न तत्त्व भनेको श्लोकको (कप्लेट) पहिलो र दोश्रो पाउको अन्तमा हुने शब्द उच्चारणको आधारमा समान हुन्छन्, जसलाई अनुप्रास भनिन्छ । अनुप्रास आदिम कालदेखि हालसम्म लोकगीत या काव्यमा प्रचलनमा रहेको छ । कथन या कवितालाई चिरकालसम्म सम्झनको लागि, गाउनको लागि, या सुललित बनाउनको लागि श्लोकको अन्त्यमा अनुप्रासको प्रयोग गरिएको पाइन्छ ।

गानको अझ विकसित रूप भनेको पद्य (कविता) हुन गयो । पद्यमा दुई पाउमा अनुप्रासको प्रयोगको साथसाथै लयमा समानता ल्याउन दुई पाउ बीचको उच्चारण लम्बाई या सिलेविक लय (फोनेटिक लेन्थ/मिटर) बराबर बनाउने प्रचलन भयो भने अर्को विकास भनेको दुई पाउको फोनेटिक लेन्थमा पनि ह्रस्व दीर्घको समेत समानता क्वान्टिटेटिभ लय (सिलेविक इक्वेलिटि) ल्याउने कार्य भयो । यही सिलेविक इक्वेलिटि ल्याउने गणितीय सूत्रलाई छन्द भनिन्छ । वेदमा छन्दमा भएका ऋचा या मन्त्रलाई ऋप् भनिन्छ, छन्दमा नभएका तर गाउन मिल्ने ऋचालाई साम भनिन्छ भने गाउन नमिल्ने या छन्दमा नभएको गद्यात्मक ऋचा या मन्त्रलाई यजुः भनिने गरिन्छ । वेदलाई त्रयी भन्नुको वास्तविक कारण यही हो । वेदका ऋचाहरूलाई ऋषिहरूले बडो परिश्रम पूर्वक कण्ठ गर्ने गराउने अभ्यासले संरक्षित गर्दै ल्याएकाले यसलाई आम्नाय पनि भन्ने गरिन्छ ।

यसरी कविता गर्ने सुशिक्षित कवि या पूजारीहरूलाई वैदिक सभ्यतामा संस्कृत भाषा प्रयोग गर्नेहरूले “आर्य” शब्दले सम्बोधित गर्न थाले । यी आर्यहरू विभिन्न सभ्यता, संस्कृतिबाट, टोटेम र जातिबाट आएका थिए, कुनै जाति विशेषका थिएनन्, त्यसैले आर्य कुनै विशुद्ध जाति होइन ।   

वैदिक कालमा अफगानिस्तानमा थुप्रै कविहरू थिए भन्ने कुरा वेद र जेन्दअवेस्तको बीजारोपण यही भूमिमा भएको कुराले पुष्टि गर्छ । पश्तो भाषामा वर्षको अर्थ चर भूमि हुन्छ । अवेस्तामा अफगान भूमिलाई ऐरीनवीजो या आर्यानुम्रवीजो (आर्यहरूको भूमि, आर्यावर्त) भनिएको छ, अर्थात् आर्यहरूको वर्ष आर्यवर्ष र आर्यवर्त दुवैको अर्थ एकै हो । वेदका ऋचा लेख्ने ऋषिहरू र जर्थ्रुस्त्र समेत रहेको यस भूमिलाई आर्यावर्ष भनिनुको अर्थ पनि यही हो । वैदिक कालमा अफगानिस्तानमै त्यहाँ जम्मा भएका पुजारी या कविहरू बाट पद्यभन्दा एक कदम अगाडि गएर छन्दको समेत विकास भइसकेको थियो । ती कविहरू मध्ये स्थानीयहरूको झुकाउ असुर सभ्यता (सुमेर सभ्यता) र वरुणतिर थियो । यस समयमा वरुण भन्दा इन्द्र शक्तिशाली भइसकेका थिए । तर स्थानीय कविहरू इन्द्रलाई देव मान्न तयार थिएनन् । केही कविहरूले (स्थानीय र स्थानान्तरण भएका आएकाहरू समेतले) भने नवोदयी इन्द्रलाई समर्थन गर्दै देव भन्न थालिसकेका थिए । दाशराज्ञ युद्धमा पख्तुको (पठान) उल्लेख पुरूको सहयोगीको रूपमा भएको छ । दिवोदास सम्भर युद्धपछि भने इन्द्रलाई मान्ने कविहरू इन्द्रको साथसाथै सप्तसिन्धुतिर झरे भने इन्द्रलाई देव नमान्नेहरू यहीँ बसे ।

वेद र अवेस्ता दुवैको लेखन सुरुवात यही भूमिमा लगभग एकै समय भएको थियो । वेदमा वक्षु, कुभा, कु्रम, रसा, गोमती, हर्यू या सरयू नामका नदीहरूको उल्लेख गरिएको छ । यी नदीहरू अफगानिस्तानकै आमू, काबुल, कुर्रम, रङ्गा, गोमल, हरिरूद नदीहरू हुन् । संस्कृत र प्राकृत–पालि साहित्यमा क्रमशः कुभा या कुहका, गन्धार, बाल्हीक, वोक्काण, कपिशा, मेरू, कम्बोज, पुरुषपुर, सुवास्तु, पुष्कलावती आदि स्थानहरू  आजका काबुल, कन्धार, बल्ख, वाखान, बगराम, पामीर, बदख्शा, पेशावर, स्वात, चारसद्दा आदि हुन् । अफगानिस्तानको हेलमन्द नदी अवेस्तामा हायतुमन्त र संस्कृतमा सतुमन्त भनेर उल्लेख भएका छन् । हस्तिनापुरका राजा सम्वरण माथि सुदासले आक्रमण गर्दा सहायता गर्न आएका पस्थ नै पठान हुन् । अफगानिस्तानमा बोलिने ब्राहुई भाषा संस्कृतको नजिक छ ।

भारतका पञ्जाबी, राजपूत र अग्रवालहरूको गोत्र नाम मङ्गल, स्थानकजई, कक्कर, सीकरी, सूरी, बहल, बामी, उष्ट्राना, खरोटी आदि गोत्र अझै पनि अफगानिस्तानका अनेक पठान कबिलाहरूमा उस्तै पाइनुले पनि वेद र अवेस्ताको श्रोत तथा मानव मूल एकै हो भन्ने स्पष्ट हुन्छ । इरानका राजा डेरियसको एउटा शिलालेखमा डेरियसले आफूलाई ऐर्य ऐर्यपुत्र् (आर्य पुत्र) भनेका छन् । अवेस्ताका ऋर्षि जरथ्रुस्त्रको जन्म उत्तरी अफगानिस्तानको बल्खमा भएका थियो । जर्थ्रुस्त्र धर्म या पारसी धर्मको प्रचलन यहीबाट भएको थियो जुन लगभग एक हजार वर्षसम्म इरानको राष्ट्रिय धर्म बनी रह्यो ।

ज्ञानको भूमि अफगानिस्तान

आर्याना, आर्यानुम्र वीजू, पख्तिया, खुरासान, पश्तूनख्वाह, रोह आदि नामले विभिन्न कालखण्डमा चिनिने अफगानिस्तान ज्ञानको अद्भुत भूमि थियो । इरानमा प्रचलित जर्थुस्त्री धर्म, जुन वेद समकक्षी मानिन्छ, का प्रवर्तक ऋषि जर्थुस्त्र यहीँका थिए । संस्कृत व्याकरणाचार्य पाणिनी पनि यहीँका थिए । दोश्रो संघाती पछि मत नमिलेर संघबाट निस्किएका नागार्जुनाले अफगानिस्तानमै आएर बुद्ध धर्मका अनेकन् जातक कथाहरू लेखे, बुद्ध धर्ममा मन्त्रको सुरुवात गरेर नयाँ मतलाई महायान भनेर अलग्याउने कार्य गरे । बुद्ध धर्ममा अवतारवाद यहीँबाट सुरुवात भयो, बुद्ध अघि पनि बुद्ध थिए भन्ने धारणा यहीँबाट विकसित भयो । पुराण र महायानका अवतारवादमा कुन पहिलो भन्ने तर्क चलिरहन्छ । बुद्धको महानिर्वाणको सय वर्षपछि महायान पथ आएको आधारमा पुराणको दस अवतारभन्दा यही अघिल्लो हो कि ! तिब्बतमा बार्हौं शताब्दीतिर बौद्ध धर्मको प्राणप्रतिष्ठा गर्ने व्यक्ति पद्यसम्भव अफगानिस्तानको स्वात उपत्यकामा जन्मेका थिए । उनको अफगानी नाम के थियो त्यति प्रस्ट छैन तर उनी त्यहाँबाट खैबर भन्ज्याङ पार गरेर भारतको काश्मीर हुँदै पहिले काठमान्डु उपत्यकामा आएका थिए । यहाँ फर्पिङमा १२ वर्ष बौद्ध धर्मको अध्ययन र ध्यान गरेर सिद्धि प्राप्त गरेपछि केरुङ नाकाबाट तिब्बत प्रवेश गरेका थिए । तिब्बतमा त्यति बेला एनिमिस्टिक र बोन धर्म अनेक आसुरी कर्मकाण्डका कारण क्षयोन्मुख  अवस्थामा चलिरहेका थिए । अफगानी बौद्ध भिक्षुले लिएर गएको बौद्ध धर्मले एनिमिस्टिक र बोन धर्मलाई प्रतिस्थापित गर्न धेरै समय लागेन । पूजापाठका विधि आदिमा स्थानीय रङ्ग का साथ बौद्ध धर्म छिट्टै नै तिब्बतको राजधर्म बन्यो र ती बौद्ध भिक्षु स्वयंलाई पनि भगवान् कै रूपमा हेर्न थालियो । पद्मसम्भव रेन्पोछे तिनै हुन् । तेर्हौं शताब्दीका महान् कवि रुमीको जन्म पनि अफगानिस्तानमै भएको थियो ।  

महाभारतमा उल्लेख भएको गान्धार यहीँ पर्दछ । धृतराष्ट्रकी पत्नी दुर्योधनकी आमा गान्धारी यहीँकी चेली थिइन् । खसहरूको खसान पनि यही अफगानिस्तान हो । अफगानिस्तानसँग नेपाल दुई कुराले जोडिएको छ । राजा सुबल र रानी धृतराष्ट्रको कैदमा मरेपछि शकुनीले उनीहरूको नलीहाडबाट पासा बनाएका थिए रे । मान्छे मरेपछि लासलाई टुक्रा पारेर चिल कौवा या जनावरलाई खुवाउने प्रचलन यहीँबाट सुरु भएको मानिन्छ । यो प्रचलन नेपाल र तिब्बतसम्म पनि बिस्तार भएको छ । हुम्ला, मुगु, मुस्ताङ र सीमावर्ती तिब्बतमा यो प्रचलन गर्नेहरू आफूलाई राजा सुवलका सन्तान या प्रजा मान्दछन्, अफगानका कद काठी र यिनीहरूका कद काठी, रोगन, बसोबास आदीमा समानता छ । अङ्ग्रेजसँग सुगाैली सन्धि भएपछि अङ्ग्रेजसँग हारको बदला लिदै अङ्ग्रेजलाई हिन्दुस्तानबाटै धपाउन राजा रणजित सिंहको फौजमा भर्ना भएका बलभद्र कुँवर अफगानसँगको युद्धमा यहीँ वीर भएका थिए ।

अफगानिस्तानको दुर्भाग्य  

मुगल सम्राट् जहाँगिरको पालामा इरानका राजदूतले जहाँगिरलाई अफगानहरू दैत्यका वंशज भएको सन्देश पठाए, जहाँगिरले यो कुरा जाँचबुझ गर्न लगाए । जाँचमा अफगान याकुब पैगम्बरका छोरा यहुदाका वंशज भएको निर्णय गरयो । कैस अब्दुलरसिद नामक मुसलमानले एक सेनापति खालिद विन बलिदकी तीन छोरी विवाह गरे र तीबाट जन्मेका तीन छोरा नै अफगानका पूर्वज मानिन्छन् । कैस वास्तवमा मुसलमान थिएनन्, उनी यहुदी थिए । वेदमा उल्लेख भएको दैत्य जाति अफगानिस्तानकै थियो । वेद या यज्ञ पूजन नमान्ने यज्ञ विरोधी राक्षस जाति पनि अफगानिस्तानकै थिए ।

अफगानिस्तानमा दुई किसिमका मानिसहरू बस्दछन्, पशुपालन गर्ने तर पक्का घर नबनाउने फिरन्तेहरू र सहरमा बस्ने अफगानहरू । यस मध्ये अधिकांश भनेका फिरन्तेहरू नै हुन् । फिरन्ते जातिहरू आफूलाई मुसलमान त भन्दछन् तर पनि आचरण भने मुसलमानको जस्तो गर्दैनन् । यिनै जाति मध्ये नोमाद जाति खुरसानमा बस्दछन् । यी जाति अतिथि सत्कारमा अति प्रसिद्ध छन्, भोजन र आश्रय दिन्छन्, सेवा सत्कार गर्छन् । तर यो सत्कार र सेवा भनेको यिनीहरूको पण्डाल या घरभित्र मात्र हो, घरबाहिर निस्कने बित्तिकै नोमाद जाति तिनै अतिथिलाई लुट्न र मार्न समेत हिचकिचाउँदैनन् । प्रागैतिहासिक बर्बरताको यो अचम्मको उदाहरण हो । यसैले पनि अफगानिस्तानमा जति थरिका जातिहरू छन् तिनले एक अर्कालाई विश्वास नै गर्दैनन् । एकांकी जीवन बिताउने पशुपालक यी पहाडी, हिमाली र दूरदराजका ससाना जातिहरू अझै पनि वैदिक युगकाझैँ छन् । यस्तो अविकसित मानसिकता, कुरान र हदिस माथिको अन्ध विश्वासले बामियान ध्वस्त हुनु भनेको शान्ति र अहिंसाको हत्या हुनु को ।

माथि नै उल्लेख गरियो कि हिन्दु धर्म, जथु्रस्त्र धर्म, बौद्ध धर्मको महायान शाखा आदिको वीज यहीँ भएको थियो । तथापि, अफगानिस्तानका अधिकांश मानिसहरू भने सदैव शास्त्र र शिक्षाबाट टाढा नै रहे । यसो हुनुमा एकातिर भौगोलिक जटिलतामा बाँचिरहेका फिरन्तेहरू बहुसङ्ख्यक हुनु नै प्रमुख कारण थियो भने अर्कोतिर अफगानिस्तान सदैव धर्म र साम्राज्यको चेपुवामा परिरहनु थियो । कुणार र पञ्जशीर घाटीमा बस्ने पहाडी जातिहरू अझै ब्राहुइ भाषा बोल्दछन्, जुन वैदिक संस्कृत सामीप्य छ । यी जातिहरू इन्द्र, वरुण, गविष, सिंह निर्मालनी, आदि देवीदेवताको काठको प्रतिमा बनाएर पूजा गर्दथे । हिन्दु आर्यहरूले पनि यस भूमिलाई प्रयोग मात्र गरे, जोराष्टरहरुले पनि यसलाई प्रयोग मात्रै गरे, बौद्ध महायानले पनि यहाँ आफ्नो शाख जमाउन सकेन । विभिन्न धर्मको अभ्यास गर्दै आएको अफगानिस्तानमा इस्लाम धर्म पनि छिर्‍यो तर अनपढ फिरन्ते जातिहरू मूर्खताका कारण इस्लामको कट्टरपन्थी भएर निस्किए ।

अफगानिस्तानमा धातुका अनगिन्ती खानीहरू छन् । यहाँ अगणनीय मात्रामा ग्याँस र पेट्रोल खानी छ, सुन र चाँदीका खानीहरू छन्, अमूल्य पत्थरका खानीहरू छन्, कोहनूर हिरा यहीँका राजाको सम्पत्ति थियो । तथापि, यो भूमि सधैँ लुटाहा साम्राज्यको अधीनमा रहन बाध्य भयो । अफगानिस्तानलाई जजसले जिते केवल लुटे मात्र । जित्नेहरूले यहाँका जनतालाई कहिल्यै माथि उक्सिने मौका दिएनन् । कठोर व्यवहार र विध्वंसक नीतिका कारण जनता केवल बाँच्नको लागि मात्र बाँची रहे । इस्लाम धर्मको आगमनपछि त यहाँको स्थिति झन दया लाग्दो भयो, मानिसको ज्यानको मूल्य नै केही रहेन । अफगानिस्तानको लागि इस्लाम र अफिम दुबै घातक रहे । कुरान र हदिसको दुई बिको भित्र बन्द भएको बुद्धि त झन् अफिम भन्दा पनि कडा ज्यानमारा विष भयो । अफिमको खेती मुजाहिद्दिन र तालिवानका लागि हतियार किन्ने साधन भए भने जनताको लागि यही अभिषाप पनि भयो । खल्की, परचमी, मुजाहिदीन र तालिबान शासनमा अफगानिस्तान एक तिहाइ खाली भयो र अहिले जो छन् ती या त भाग्न नपाएका अभागी छन् या त उही फिरन्तेहरू छन् जो बाँच्नका लागि दुखजिलो गरेर कहिले लेक कहिले बेसी झर्दै पशुपालन गरेर बाँचिरहेका छन् । अफगानिस्तानका पश्तो, ताजिक, हजारा आदि जातिहरूको परस्पर विरोधी जाति हुन् भने फिरन्ते पशुपालन जातिलाई कुनै व्यवस्थाले कुनै असर गर्दैन । भौगोलिक स्थितिले पनि अति विकट स्थानमा आदिम कालमाझैँ पशुपालन गरेर बाँचिरहेका अफगानिहरु शिक्षाबाट वञ्चित नै छन् । वेद, अवेस्ता, महायानका जस्ता थुप्रै दर्शनको जन्म दिने यो भूमिमा यहीँको आफ्नो कुनै दर्शन, धर्म या संस्कृति भने ज्युँदो रहन पाएन । 

वेददेखि आजसम्मको यति लामो यात्रामा धेरै कुराहरू बदलियो, संस्कृति र भाषाहरू साटासाट भए, तर वेद र अवेस्ताको जन्म भएको भूमि, बुद्ध धर्मको महायानको जन्मस्थान तथा बाह्रौँ शताब्दीमा बौद्ध धर्मको प्राण प्रतिष्ठा गर्ने पद्यसम्भव जन्मिएको भूमि आर्याना या आर्यानुम्र वीजु या पख्तिया, या खसान, या पश्तुनख्वाह या रोह या हालको अफगानिस्तान भने आजसम्म सदैव अभागी नै रहँदै आएको छ ।

सम्बन्धित समाचार