गरिबी बालकको सिकाईको उर्भर भूमि

खरीबोट

लेखक: प्रकाश पाण्डे

मलाई सिकाइको एउटा दार्शनिक बिचारको बोध भो।धेरै खुशी लाग्यो। म मा पलाउदै गरेको गरिबी प्रतिको सोच पुरै उल्टियो।कस्तो हामीले आफ्नै कथा र सिकाइको संघर्ष पनि भुल्दा रहेछौँ। त्यही भएर आफ्नो कथा पनि सम्झिरहनु पर्ने रहेछ । टैगोरको दार्शनिक बिचारले छोयो- बालकलाई गरीबी मै सिक्न देऊ।कुनै पनि कुरा सिक्न धनी र गरिब हुनुले खासै फरक पर्दैन् । अझ गरिवि मै छिटो र सजिलै सिक्न सकिन्छ । भने बिचार गजबको लाग्यो। मनै छोयो ।

जोन हल्टको बिद्यालयका भैतिक बिकासका कुराले बालकको सिकाइमा खासै परिवर्तन ल्याउदैन भने कुराको अध्ययन र बिचारले पनि मेरो दिमागलाई हल्लाइदियो । त्यति मात्र होइन पामेला पाउलको भनाई `बालबालिकाहरुलाई पट्यार लाग्न दियौँ त्यसवाट बाहिर आउने बाटो आफै खोज्छ, त्यसले बालकलाई सिर्जनशील बन्न मद्द्त गर्छ ।´भन्ने बिचारले पनि मेरो दिमागी सोच भत्काइदियो।त्यो अघि म बर्टनको-अल्छीले सर्वनास निम्त्याउछ, सर्भेन्टिजको -अल्छीको कुनै पनि इच्छा पूरा हुदैनन, धनी र ग्याजेटले सिकाइमा ठूलो अन्तर ल्याउँछ भन्नेमा थिए । यसरी फिरफिरे जस्तै मेरो दिमाग घुम्दा म अचम्मित छु । मेरा धेरै बर्षहरु गलत धारणा र सोचमा बितेछ्न् भन्ने लाग्छ । त्यही माथी रविन्द्रनाथ टैगोरको विचार `बालकलाई गरिबी मै सिक्न देऊ´ ले दिमागी सोच पुरै उल्टियो ।

फलाम पनि तातेपछी नै पिटेर भाडा बनाउने हो। गरिबी सिकाइको लागि तातेको फलाम हो । जसले नयाँ स्वरुप आकार प्रदान गर्छ । त्यसै भनेको होइन नी - रित्तो गोजी र भोको पेटले जति कुनै विश्वबिद्यालयले पनि सिकाउदैन् । भनिएकै छ- सुख त केवल शरीरका लागि हो आत्माका लागि दुख र मस्तिष्कका लागि चुनौती सिकाइको लागि उर्वरता हो । मार्सल प्राउस्ट भन्नुहुन्छ- "सुख शरीरको लागि हितकारी हुन्छ तर दु:खमा नै आत्माको शक्ति विकास हुन्छ ।" आत्माको शुद्धता र उर्जामा सिकाई हुँदा- कस्तो होला आफै अनुमान गर्नुहोस ।

धनीले पनि बामे नै सर्ने हो, गरिबले पनि । भलै बामे सर्ने ठाउँको अवस्था फरक पर्ने हो बालक चिल्लो गद्दामा बामे सरेको राम्रो कि धुलो माटोमा ? तीन तल्ला माथी हुर्किएको कि भुइतलामा । घरमा कार नै भए पनि हिड्न नसिकी हुन्न कि हुन्छ ? पक्कै पनि कार हुने भन्दा नहुने चाडो दगुर्छ । जति सुकै धनी किन नहोस् सिक्न दिमाग खियाउनै पर्छ । जति सुकै शैक्षिक ग्याजेट भएर पनि पढाइको लागि किताब कापी र डटपेन जस्तो हुन्न । डटपेन ले कपिमा लेखे जस्तो अरुले केही गरि हुन्न । दिमाग, हात, डट्पेन र कापीको जस्तो लेखाइको संगठनले ब्रेनको बिकासमा जुन भूमिका खेल्छ त्यो लेखाइका डिजिटल साधनले खेल्दैन् । सम्झिराख्नु एकदिन प्राकृतिक प्रक्रिया तर्फ फर्कनै पर्छ । निरन्तर मिहिनेत र अभ्यास नगरुन्जेल सम्म दिमागमा ज्ञान त्यतिकै घुस्दैन । जति कठोर अभ्यास हुन्छ त्यति नै सिकाइ चीर स्थायी र दिगो हुन्छ । आइन्स्टाइनको दिमागको अध्ययन र अनुसन्धानमा जुटेकी मेरी डायमण्डको निष्कर्षले भन्छ-अरु सामान्य मानिसको भन्दा आइन्स्टाइनको दिमागमा डेन्ड्राइट्स्को संख्या बढी हुनु उनको अभ्यास, कल्पना र संघर्षको परिमाण हो । ब्रेन प्लास्टिसिटी थ्योरीले पनि त्यही भन्छ ।

सम्पन्न र हुनेखाने हरुले बच्चाहरूलाई खान, हिड्न, डुल्न,प्राकृतिक अबलोकन गराउन र सिकाउन महँगो बिद्यालयमा भर्ना गर्न थालेका छ्न् त्यो पनि नियन्त्रणमा राखेर । यी कुरा त गरिव परिवारको बच्चाले यसै स्वतन्त्र रुपमा सिकेको हुन्छ । धुलोसँग मित्रता गास्दै पैतलाले पृथ्वीको स्पर्श गरेर रमाइलो अनुभूति गरेको हुन्छ । हिउँको डल्लालाई खुट्टाले हान्दाको आनन्द महसुस गरेको हुन्छ । दिनभर खोलामा पौडी खेलेको हुन्छ । के को स्विमिङ पूल । बास्तबमा गरिविले हामीलाई पूर्ण जीवनको र संसारको अर्थ बोध गर्ने अवसर दिन्छ तर धनाड्यका ढाँचामा जिउनु भनेको त यथार्थमा भन्दा परको नक्कली जीवन जीउनु जस्तै हुनसक्छ । मैले आफू गरिव भएको अर्थले यो भनिरहेको छैन् तपाईं विश्व बिख्यात शिक्षाशास्त्री ,दार्शनिक र महानतम ब्यक्तिहरुको बिचार र जीवनलाई हेर्न सक्नुहुन्छ । म अझ के भन्छु भने- शिक्षाको उदेश्य  मनको स्वतन्त्रता र जिम्मेवारी पूर्ण स्वनिर्णय हो । अब तपाईं आफै भन्नुहोस- कुन घरनाको बच्चा फ्रेमभन्दा बाहिर हुन्छ्न ? किन दुखी हुनुहुन्छ ? बालकलाई गरिबी मै सिक्न दिऊँ यथार्थ सिक्छ । स्व-अनुभव बाटै सिक्छ । सिकाई बलियो, अर्थपूर्ण र पूर्ण जीवनको लागि हुन्छ । घोत्लिनुहोस म आत्मरतिको लागि भनिरहेको छैन् ।

आध्यात्मिक संसार पनि बिशाल छ। यो संसारको बिचरण गर्दा आउने आनन्द असिम छ भन्ने ज्ञानबाट बालकलाई नक्कली,स्वार्थी संसारले छोपेर राखिदिन्छ्न् । आध्यात्मिक संसारलाई बेवास्ता गर्दा इश्वर, प्रेम, सत्य र आत्माको अस्तित्व ओझेलमा पर्न जान्छ । बालकको भावि जीवनको आनन्द प्राप्तिको बाटो बन्द गरिदिन्छ्न् । बालकले आफ्नो प्राकृतिक पन गुमाउँछ । परिणाममा लक्ष्य बिहिन दौडमा सामेल हुन पुग्छ र दौडिरहन्छ, जीवनभर । आफूलाई बिर्सिन्छ । सिसिफस को जस्तो अर्थहीन बाँच्न बाध्य हुन्छ । कस्तुरीले विना खोजेजस्तै खोजिरहन्छ, जीवन भर । मरुभूमिको मृग्र बन्छ । भ्रमित भएर बाँच्छ । प्रेम बिहिन ब्याकुल भएर  भौतारिन्छ जहाँ तहाँ ।

हाम्रो गुरुकुलिन शिक्षाको ढाँचा,विधि, पद्धति र मुल्यलाई गहिरिएर हेर्नू भएको छ।विद्यार्थी गुरुकै घरमा सन्तान सरह खाने,बस्ने, पढ्ने । यी बापत कुनै शुल्क तिर्नु नपर्ने । गुरुले जीवनको हिस्सा कै रुपमा एउटा आदर्श बनेर विशुद्ध भावले चेलालाई सिक्न सहयोग गर्ने,गुरुचेला सँगसँगै जिउने यो पद्धति विश्व कै अनुपम नमूना होइन र ? यो भन्दा महान सिक्ने सिकाउने ढाँचा कुनै छ र विश्वमा ? तपाईलाई थाहा छ यसको उदेश्य के थियो- आत्माको पूर्ण बिकास र मुक्ती। अहिलेको भौतिक शिक्षाको उदेश्य थाहा छ- सुख सयलका लागि भैतिक सम्पत्तिको जोहो । के मुक्ती चानचुने सम्पत्ति हो? तर अहिले.. .मनन गर्नुहोस त ...

बिद्यालयले दु:ख र गरिबी सिकाउनु पर्छ । तर बिद्यालयले यी कुराबाट भाग्न मात्र सिकाउछ । संघर्ष सिकाउदैन् । दुःखबाटै ज्ञान जन्मिन्छ । तर, आजको मानिसले यो सत्यको दार्शनिक तत्त्व आत्मसात् नै गर्न सक्दैन । त्यसैले ऊ ज्ञानी बन्न सक्दैन । तत्व ज्ञानी त परै जाओस् । राजपरिवारका सिद्दार्थ गौतम के को बिचारले गौतम बुद्ध बने । उनलाई के को दु:ख थियो र ? बुद्द्त्वको लागि कति तपस्या र दुख गरे । त्यो त स्पष्ट छ ।

मानवियता र मानविय संवेदना कतिको आवश्यक बिषय हो । शिक्षाले यो सिकाउनु पर्छ कि पर्दैन् । यसको कसिमा मुल्यांकन गर्नु पर्छ कि पर्दैन ? सिकाई अनुभव र अनुभूति निरन्तरको अभ्यास र प्रक्रियाबाट हुने होइन् र ? भोग्दै सिक्दै जाने प्रक्रिया नै सिकाइ होइन र ? कुन पृष्ठभुमिबाट आएको बालकलाई सिकाइको अनुभव र अनुभूति बढि हुन्छ ? त्यो त स्पष्ट नै छ- गरिबी र अभावको  चुनौती स्वीकार गरेर संघर्षबाट आएकोमा । प्रेम, करुणा ,दया र उत्तरदायीत्व कस्मा बढी हुन्छ ? यीनिहरुको अभावमा बढी यी सिकिने कुरा हैन र ? गरिव पृष्ठभुमिबाट आएका या धनी पृष्ठभुमिबाट आएका को मानिसहरू बढी इमान्दार, समझदार,जिम्मेवार र बफादार छ्न्, तथ्यहरु र तथ्यांकहरु खोजी गर्यौँ र निष्कर्ष निकाल्यौँ न । यथार्थ पत्तालागि हाल्छ नी ।

मलाई त लाग्छ- बालकलाई गरिबी मै सिक्न दिऊँ । जसरी कठिन परिस्थितिको सामना गरेर झुसिलकिरा पुतली बन्छ । चल्लाले आफै अण्डाको बोक्रो ठुगेर बाहिर आउँछ । फूल आफै फूल्छ र फक्रन्छ । बालकलाई पनि उसको प्राकृतिक बातावरणमा फूल्न र फल्न दिऔँ । कुनै पनि बहानामा आफ्ना इच्छा चाहनाहरु लादेर नियन्त्रण गर्न नखोजौ । उसले भनेको कुरामा हुन्न नभनौँ । यसो भनिरहदा उसलाई जिम्मेवारी र कर्तव्यबाट बिमुख गर्‍यौँ भन खोजिएको होइन् । उसको सिकाई ,अनुशासन र भविष्य उसले आफै निर्माण गर्छ, गर्न दिऊँ मात्र भनेको । उसलाई संघर्ष गर्नबाट नरोकौं । भोलि उसैले बाँच्नु पर्छ । त्यसको तयारी आज गर्छ । तपाईं हामीले तयारी गरिदिने होइन् । उसले आफै तयारी गर्नुपर्छ।

उसैको शिक्षा र सिकाइले तयारी गर्छ ,उसलाई । जसरी अण्डा हामीले फुटाएर चल्ला निकाल्दा चल्ला मर्छ । चल्लाले आफ्नै चुचोले अण्डाको खोल फुटारए संसार हेर्छ हेर्दैन् ?  नियालेर मात्र हेरौ के-के गर्छ ? यसो भनिरहदा हामी होशियार चाहिँ हुनैपर्छ ।

यो सबै मैले बिना आधार भनिरहेको छैन् । दार्शनिकहरु-कृष्ण, ओशो, कृष्णमूर्ती, टैगोर,जोन हल्ट,रोन क्लार्क, पढ्नु भो, नेपाली शिक्षाविदका कुरा सुन्नुभो अनि महानतम् शैक्षिक ग्रन्थहरु हेर्नू  । त्यति मात्र होइन अन्तर्राष्ट्रिय साहित्यकार तथा बैज्ञानिकका आदर्श र संघर्षको कथा पढ्नुभो भने थाहा पाउनु हुनेछ, बालकले कसरी गरिविबाटै  सिक्छ भनेर । उसले परिस्थिति, घटना, रोग, भोक र अभावबाट कसरी सिक्छ भनेर ।
 

सम्बन्धित समाचार