सबै क्षेत्र खुल्दा विद्यालय किन बन्द ?

खरीबोट

बढो अचम्म लाग्छ । बजार हेरयो खुल्ला छ । बैंक तथा वित्तिय सँस्थाहरु हेर्यो खुल्लै छन । होटल तथा रेष्टुरेन्ट हेर्यो खुल्ला छन । सडकमा गुडिरहेका यातायातका साधनहरु हेर्यो यात्रीहरु खँदिखँदाउ गरेर कुँदिरहेका छन । विभिन्न जातजातिका परम्परागत पर्वहरु हेर्यो वृहत मानिसहरुको उपस्थितिमा धुमधामसँग मनाइरहेको देखिन्छ । शहरका सडकहरुमा हेर्यो विभिन्न दलसँग सम्बन्धित विरोध जुलुसहरु दिनहुँ जस्तो चलिरहेका छन । अरु यस्तै विभिन्न प्रकारका कार्यक्रमहरु दैनिक व्यापक मानिसहरुको उपस्थितिमा चलिरहेकै छन ।

अझ भनौ देशको राजधानी जहाँबाट देशको शासन व्यवस्था संचालन गरिन्छ , जहाँ देश तथा विदेशका विशिष्ट व्यक्तिहरुको दैनिक आवतजावत हुने ठाउँमा विभिन्न दलका समर्थकहरुले हजारौंको मानिसहरुको उपस्थिति गराएर नारा जुलुस तथा र्यालीहरु निकालिरहेकै छन । गहिरीएर हेर्दा खुल्ला भएका क्षेत्रहरुमा स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरिको पाईंदैन । जनताको भिडभाड हुने क्षेत्रहरुमा यसरी खुल्ला देख्दा लाग्छ अब हाम्रो देश नेपाल कोभिड—१९ को संक्रमणबाट मुक्त भएको छ ।  बिडम्बना नै भन्नु पर्छ तर लाखौं विद्यार्थीहरुको भविष्य कोर्ने विद्यालयहरु आजका मितिसम्म बन्दछन् । सम्पूर्ण सरकारी तथा नीजि शैक्षिक सँस्थाहरु बन्द रहेका छन । 

सरकारले मानव स्वास्थ्यको सुरक्षाको ख्याल गर्दै देशमा विभिन्न मोडेलका लकडाउन जारी गरेको छ । स्थानीय  प्रशासनहरुले पनि ठाउँ अनुसार कोभिड संक्रमणको अवस्था हेरी विभिन्न क्षेत्रहरु खुल्ला गरिरहँदा विद्यालयहरु खुल्ला गर्न सकिरहेको छैन । सबै क्षेत्र खुल्ला हुँदा पनि विद्यालय किन बन्द ? यस प्रश्नको जवाफ एउटै हुन्छ विद्यार्थीहरुको जीउधनको सुरक्षा गर्न ।

शिक्षा मन्त्रालकयको २०७७ सालको तथ्याङ्क अनुसार सामुदायिक र सँस्थागत विद्यालयमा अध्ययन गर्ने बाल विकास देखि कक्षा १२ सम्मको विद्यार्थीहरुको सँख्या हेर्ने हो भने ८१ लाख २७ हजार १ सय ८३ बालबालिकाहरुले विद्यालयमा आएर शिक्षण सिकाई क्रियाकलापमा सहभागि भएका थिए भने यो वर्ष पनि लगभग यही सँख्याको सेरोफेरोमा विद्यार्थीहरु विद्यालयमा आउने पक्का थियो । तर पनि कोरोना संक्रमणको त्रासका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई महत्व दिँदै सरकारको निषेधाज्ञाका कारण यति ठूलो विद्यार्थीहरको जमात घरमै खेलेर, डुलेर अथवा शिक्षण सिाकाई गतिविधीबाट टाढा भएको अवस्था छ ।

विद्यार्थीहरुको स्वास्थ्यको महत्व देखाउँदै लामो समयसम्म विद्यालयहरु बन्द रहँदा, विद्यार्थीहरुको विद्यालयमा भौतिक उपस्थिति नहुँदैमा के हाम्रा विद्यार्थीहरु संक्रमणको जोखिमबाट जोगिन्छन त ? प्रश्न खडा भएको छ । यसको सही जवाफ हुन्छ जोगिदैनन । किनभने हाम्रा विद्यार्थीहरु के घर भित्रै थुनिएर बसेका छन त ? हाम्रा विद्यार्थीहरु बजार गर्न गएका छैनन त ? हाम्रा विद्यार्थीहरुले यात्रा गरिरहेका छैनन त ? हाम्रा विद्यार्थीहरु विभिन्न पार्क तथा मनोरन्जन गर्ने स्थानहरुमा गएर मनोरन्जन लिइरहेका छैनन त ? हाम्रा विद्यार्थीहरुले विभिन्न जातजातिले आयोजना गर्ने विभिन्न पर्वहरुमा सहभागिता जनाएका छैनन त ? राजनितिक दलका भातृ संगठनहरुलै आयोजना गर्ने सभा जुलुसहरुमा हाम्रा विद्यार्थीहरुको सहभागिता नभएको होला र ? पक्कै पनि कुनै न कुनै माध्यमबाट हाम्रा विद्यार्थीहरुको सहभागिता अवश्य पनि रहेकै छ ।

मानौ हाम्रा विद्यार्थीहरु घरमा नै बसिरहेका छन , घरबाट बाहिर निस्किएका छैनन भन्ने हो भने पनि विद्यार्थीहरुका अभिभावकहरु त पक्कै पनि समाज भित्र आयोजना गरिने विभिन्न गतिविधिहरुमा सहभागि भएका छन । यदि संक्रमणको जोखिम नै हुने हो भने दैनिक जसो भिडभाडमा सहभागि हुने अभिभावकहरुको माध्यमबाट पनि त परिवारमा संक्रमण हुन्छ । तसर्थ विद्यालयहरु बन्द गर्दैमा विद्यार्थीहरु संक्रमणबाट सुरक्षित हुन्छन भन्नेमा शंका रहन्छ । विद्यालयमा विद्यार्थीहरु आउँदा संक्रमण बढने तर घरमा बस्दा सुरक्षित हुन्छन भनेर अब पनि विद्यालयहरु बन्द राख्नु सुहाउदो भएन ।

तसर्थ राज्य तुरुन्त विद्यालयहरु खोल्ने तर्फ योजना बनाउनु पर्छ ।

कोभिड—१९ को संक्रमणको त्रासमा विद्यालयहरु बन्द गरिँदा विद्यार्थीहरु तथा अभिभावकहरुमा पनि अनेक किसिमका समस्याहरु श्रृजना हुन थालेका छन । शिक्षामा वैकल्पिक माध्यमहरुबाट शिक्षण गर्ने नाममा रेडियो शिक्षा, टेलिभिजनबाट शिक्षण, इन्टरनेटबाट शिक्षण आदिको प्रयोग भई रहेको छ । तर हाम्रो देशाको भू-बनावटको कारण के देशका हरेक कुनाकाप्चमा देशमा उपलब्ध सबै प्रविधिहरुको पहुँच छ त ? भन्ने तर्फ पनि सोँच्नु जरुरी देखिन्छ ।

रेडियो र टेलिफोनको पहुँच त लगभग देशको सबै ठाउँमा नै छ । तर अन्य सुविधाहरुको भने सबै ठाउँमा छैन । रेडियो टेलिभिजनबाट भन्दा इन्टरनेटको सुविधा प्रयोग गरि शिक्षण सिकाई क्रियाकलापमा सहभागि जनाउँदा विद्यार्थीहरुले धेरै विषयवस्तु ग्रहण गर्न सक्ने र खोज्न सक्ने हुन्छन । तसर्थ इन्टरनेट सुविधा आजको प्रमुख आवश्यकता बनेको पनि छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार देशभरका जम्मा १३ प्रतिशत विद्यालयहरुमा इन्टरनेटको सेवाको पहुँच रहेको छ । तर तिनै विद्यालयहरु बन्दछन् । त्यसै गरी अन्तराष्ट्रिय संस्था सेयर काष्टको अनुसन्धानले नेपालको कुल जनसंख्याको ४५ प्रतिशतमा मात्र इन्टरनेटको पहुँच भएको बताएको छ । यस तथ्याङ्कबाट पनि हामी प्रष्ट भन्न सक्दछौं कि वैकल्पिक शिक्षण सिकाइले पनि देशभरीका सम्पूर्ण विद्यार्थीहरुलाई समेटन सकेको छैन । सामान्य अवस्थामा पनि देशका विकट गाउँवस्तीमा समयमा नै पाठ्यपुस्तकहरु नपुग्दा विद्यार्थीहरु किताबै नपढी परीक्षा दिनु परेको बाध्यात्मक तितो यथार्थ हामीले सुन्ने गरेकै छौं ।

हाम्रो देशका सबै नागरिकको आयस्रोत एकैनासको छैन । कसैको आय प्रशस्त छ भने कसैको अत्यान्तै न्यून रहेको छ । न्यून आय स्रोत भएका नागरिकका सन्तानले पनि अरु सरह शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार नेपालको संविधानले दिएकै छ । तर लकडाउनका कारण विद्यालयहरु बन्द हुँदा प्रशस्त आयस्रोत भएका नागरिकका छोराछोरीहरुले उन्हिरुकै लगानीमा विभिन्न सुविधाहरुको उपयोग गरि आफ्ना शिक्षण गतिविधीहरुलाई निरन्तरता दिइरहेकाछन । तर आर्थीक अवस्था कमजोर भएका नागरिकका छोराछोरीहरुलाई सुविधा उपभोग गर्नु “आकाशको फल आँखा तरी मर” सरह भएको अवस्था छ । तसर्थ यसप्रकारको विभेदिकरणको अन्त्यका लागि पनि बन्द रहेका विद्यालयहरु खोलिनु जरुरी छ ।

विद्यार्थीहरु विद्यालय जाँदा प्रयाप्त गृहकार्य गर्ने गर्थे । उनिहरुले समयको पालना गरी पढ्ने, लेख्ने, घरको काम गर्ने र विद्यालय जाने आउने गर्दा उनहिरुमा आत्मविश्वास, सामाजिकीरणको भावना विकसित हुने गर्दथ्यो । तर अहिले घरमा बसेर अनलाइन पढाईको बाहनामा धेरै जसो विद्यार्थीहरुले प्रविधिको सदुपयोगको नगरी व्यापक दुरुपयोग गरी समाजिक, आर्थिक तथा मानिस रुपले ठूलो क्षति भोगिरहेको हुँदा पनि बन्द विद्यालयहरु छिटो खालिनु पर्छ ।

 देश संघियतामा गैसकेपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई सुम्पेको सन्दर्भमा आन्तरिक आर्थिक आयस्रोत प्रशस्त भएका स्थानिय सरकारहरुले आफ्नो क्षेत्रको अवस्था पहिचान गरि अनलाइनका माध्यमबाट शिक्षण् सिकाई प्रक्रियालाई अगाडि बढाइरहेका छन भने आन्तरिक आयस्रोत अत्यान्तै कम भएका, विकट ठाउँमा भएका स्थानिय सरकारहरुले खासै उल्लेख्य रुपले शैक्षिक कार्यक्रमहरु संचालन गर्न नसकिरहेको अवस्था पनि छ । यसो हुँदा एउटै देशभित्रका विद्यार्थीहरु भएर पनि कुनै ठाउँकाले पढ्न पाउने कुनै ठाउँकाले पढ्न नपाउने जस्तो ठूलो विभेदिकरण देखिएकाले पनि यस खालको विभेदिकरण अन्त्यको लागि पनि विद्यालयहरु खोलिनु पर्छ ।

देशभरी शिक्षण सिकाइको चरणमा गरिने मूल्याङ्कन प्रणली पाठ्यक्रमले तोकेबमोजिम एउटा निश्चित समयमा निश्चित तरिकाले गर्ने गरिन्छ । त्यसका लागि सबै विद्यार्थीहरुको समान किसिमबाट कक्षा संचालन भएको हुनुपर्छ । तर लकडाउनका कारण विद्यालयहरु बन्द रहँदा देशभित्रै पनि कुनै भुगोलमा पढाइ हुने कुनै भुगोलमा पढाइ नहुँने हुनाले पाठ्यक्रमले निर्धारण गरेको मूल्याङ्कन प्रणालीले गति लिन नपाउँदा समस्या सृजना हुन जाने र विद्यार्थी मूल्याङ्कन फितलो सावित हुनबाट जोगाउन पनि विद्यालयहरु खोलिनु पर्छ ।

निजी क्षेत्रबाट संचालित विद्यालयहरुमा आश्रित शिक्षक तथा कर्मचारीहरुको मासिक सेवाशर्तहरु पूरा गर्नको लागि विद्यार्थीहरुको शिक्षण शूल्क बापत लिइने रकम नै प्रमुख स्रोत हो । जब विद्यार्थीहरु नै विद्यालय नगएको अवस्थामा शिक्षण शूल्क कसरी उठाउने ? आफ्ना शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन कसरी गर्ने ? यस प्रकारका कठिनाईहरु नीजि क्षेत्रबाट संचालित विद्यालयहरुले भोग्नु परेको छ भने केही निजी विद्यालयहरुले अनलाइन शिक्षणको नाममा अभिभावकहरुको ढाड सेक्ने गरि शूल्क लिने गरेको गुनासो समेत सुन्नमा आएको हुनाले यस खालका समस्याहरुबाट मुक्त हुनको लागि र निजी विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उचित व्यवस्थापनको लागि पनि बन्द रहेका विद्यालयहरु खोल्नुपर्छ ।

अन्त्यमा, सबै क्षेत्रहरु खुलिसक्दा पनि अब पनि विद्यार्थीहरुको स्वास्थ्यको कारण देखाएर लामो समयसम्म विद्यालयहरु बन्द गर्नु पटक्कै सुहाँदो भएन । सबै क्षेत्रहरु खुलिसकेपछि विद्यार्थीहरु घरमा नै बसेर सुरक्षित हुन्छन भन्ने कसरी ग्यारण्टी गर्न नै सकिन्छ र ? विद्यार्थीहरु र तिनका अभिभावकहरु दैनिक जसो कुनै न कुनै रुपमा समाजमा हुने विभिन्न सामाजिक कार्यक्रममा सहभागिता जनाउने भएकाले हाम्रा विद्यार्थीहरु संक्रमणबाट बच्न सक्छन भन्ने विश्वासिलो आधार के नै हुन्छ र ? तसर्थ न्यूनतम स्वास्थ्यका मापदण्डहरु अपनाई यथाशिघ्र विद्यालयहरु खालेर शिक्षक तथा विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालनमा  ल्याउन अब ढिलाई गर्न हुँदैन । यसतर्फ शिक्षासँग सरोकारवाला राज्य र सबैपक्षहरुले छिटो निर्णय लिनु पर्ने आवश्यकता देखिएको छ ।

(लेखक भट्टराई श्री चन्द्र माध्यमिक विद्यालय छत्रदेव–१, चिदिका, अर्घाखाँचीका शिक्षक हुन्)

सम्बन्धित समाचार