के हो जीवन ?

खरीबोट

जीवन एउटा सुन्दर प्राकृतिक अवसर हो । हामी चाहेर जन्मेका हुदैनौं, नचाहेर पनि जन्मदैनौं, चाहदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ । रजनिस ओशो भन्छ्न्, `जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ । जीवनको खोजी गर्नु एउटा कला हो।´ यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ । यसको कुनै परिभाषा हुदैन् । भोगाइको के परिभाषा हुनु । यो यसै हुन्छ । त्यसै हुन्छ । जे छ, हुन्छ र हुनेछ त्यो नै सार्थकता हो ।

जीवन के हो भन्ने प्रश्न नै सबैभन्दा ठूलो दार्शनिक प्रश्न हो । यसको अर्थ र सार्थकता के मा छ, त्यो बुझ्नु अहंम् कुरा हो । यो नै तत्व ज्ञान् सम्म पुर्याउने प्रश्न हो । समुन्द्र भित्र पसेर समुन्द्र कहाँ छ भन्ने जस्ता प्रश्नले यसको उत्तर प्राप्त गर्न गाह्रो हुन्छ । यसका आयाम हरुलाई केलाउदै भोग्दै रमाउदै आनन्दित हुँदै अगाडि जाने हो । यो गन्तव्य नभएर सुन्दर बाटो हो । त्यो कि जवरजस्त हुन्छ कि स्वच्छिक । जीवनको खोज र अनुसन्धानले हामीलाई यो बाध्यता हो कि रोजाइ सम्म पुर्‍याउँछ ।

जीवनका मानवीय, पारिवारिक र सामाजिक पाटाहरु छ्न् । बौद्धिकता,संवेदनशीलता र जिम्मेवारीहरु छ्न् । पढ्नुपर्ने,जागिर गर्नुपर्ने, विवाह गर्नुपर्ने, छोराछोरी जन्माउनु पर्ने, पालनपोषण गर्नुपर्ने, पढाउनु पर्ने अभिभाराहरु छ्न् । उत्तरदायीत्वहरु छ्न् । यी अलिकति परिवारले, अलिकति समाजले र धेरैजसो आफैंले निर्धारण गर्ने कुरा हुन् । यसलाई स्वभाविक मान्ने कि अस्वभाविक, बोझ मान्ने कि रोज, भोग गर्ने कि प्रयोग कि मोज । कसरी लिने भन्ने कुरा अहम् भयो । मानिसले पारिवारिक र सामाजिक जीवनमा नै आफ्नो जीवनको सार्थकता देख्ने कि बोझ त्यो जिम्मा स्वयंको हुन्छ । उत्तरदायित्व वहन गर्ने कुरालाई नै बाध्यता मान्ने कि रोजाइ ! जीवनको दार्शनिक खोज र भोग, दर्शन र दृष्टिकोणले यसको छिनोफानो गर्छ । जीवन प्रतिको दृष्टिकोण, आदर्श, करुणा र मूल्यले हामीलाई ड्राइभ गरेको हुन्छ ।

विचारबाट निर्देशन हुने हामी जे चाहन्छौं त्यो पाउँछौं । विचारको बिज जस्तो रोप्छौं त्यस्तै योजना रुपि रुख र लक्ष्य रुपि फल लाग्छ । अमृतवृक्ष  रोपे अमृत र विषवृक्ष रोपे विष फल्छ । कुरा छ- विचार निर्माणको । बिषयलाई कसरी ग्रहण गर्ने भन्ने कुराको । प्रत्यक्षिकरणको । आत्मसाक्षात्कारको । जीवनमा दु:ख छ । असफलता छ । अज्ञानता छ । गरिबी छ । बाध्यता छ । यी सबै सापेक्षित कुरा हुन् । समयसँगै परिवर्तन हुन्छ्न्; दु:ख- सुखमा, असफलता- सफलतामा, अज्ञानता- ज्ञानमा, गरिबी - सम्पन्नतामा, बाध्यता-रहरमा बद्लिन सक्छ। नबद्लिन पनि सक्छ । पुनः बद्लिन्छ पनि । खाली प्रक्रियामा समय लाग्छ । यो सबको लागि बोध र धैर्यताको आवश्यकता पर्छ । सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुन सक्छ । खासमा जीवन भनेकै धैर्यता र बोधको लामो यात्रा हो । अझ खास भन्दा एक सत्य जस्तै लाग्ने भ्रम हो । एक भ्रमबाट अर्को भ्रम सम्मको यात्रा हो । र हामी  यात्री ।

जसरी भैसिलाई सिंगको भारी हुदैन् त्यसरी नै हामीले पनि जीवनलाई भारी, बोझ र बाध्यताको रुपमा हेर्नू हुदैन् । चाँहे अरुले जस्तोसुकै देखोस् या वास्तविकता नै किन नहोस तथापि त्यो पनि परिवर्तन हुने कुरा हो भन्दै सुन्दर जीउने अवसरको रुपमा लिदै उच्चतम विवेकको प्रयोग गर्दै बाँच्नुपर्छ । हासो ठट्टा लाई पनि हिस्सा बनाउनु पर्छ । स्टिफन हकिङ्ग भन्छ्न, `जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो–ठट्टा गरेनौं भने ।´ यो सत्य कुरा हो ।  त्यस्तै प्रकाश सायमी भन्छ्न्- शंकर लामिछानेका यी पंक्ति जत्तिको शाश्वत साहित्य अरु लागेन, 'बाँच्नु जत्तिको ठूलो कुरा केही रहेनछ, कुमुदिनी बहिनी ।' हो, जे जति छ बाँच्नुमा छ बाँकी त के छ र ? बाचिएकै छ र त हाँस्न, रुन, गुनासो गर्न पाइएको छ । विस्टिन चर्चिलको सफलताको तीन सुत्र- हरेस नखाउ, हरेस नखाउ र हरेस नखाउले बाँच्नको लागि जोड दिएको, बाँच्नु नै सफलता भएको इङि्गत गर्छ ।

यदि हामीले बाध्यताको जीवन बाँच्छौं भने हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई सिमित गर्छौं । स्वतन्त्रता नष्ट गर्छौं । जीवनको सही अर्थ निर्माण गर्न सक्दैनौं । कुनै पनि बिषय र क्षेत्रमा गहिरिन सक्दैनौं । इतरमा रस छ, आफैमा चाहिँ छैन् भन्ने निष्कर्षमा पुग्छौं । निरस हुन्छौं।निराश हुन्छौं । त्यसपछि बाच्दैनौं-बाँचिदिन्छौं, हास्दैनौं- हाँसिदिन्छौं, खादैनौं- खाँइदिन्छौं, गर्दैनौं- गरिदिन्छौं, लाउँदैनौं- लगाइदिन्छौं । भोग्दैनौं- भोगिदिन्छौं । यी सबै भोगाइहरू र बाध्यताको जीवन बाँच्नेहरुका अनुभूति र अनुभवहरुमा आधारित छ्न् ।

जब हामी हाम्रो रोजाइको जीवन बाँच्छौं, हामीले हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई असीमित बनाउछौं । जीवनप्रतिको आत्मविश्वास जाग्छ।जागर र उत्साह आउँछ । आफैमा रस देखिन्छ । इच्छाशक्ति तीब्र हुन्छ । कुनै बिषय वा लक्ष्यलाई लिएर हामी जस्तोसुकै कठिन यात्रा नै किन नहोस गर्न तयार हुन्छौं । हामीले रोजेको प्रेमिका/ प्रेमी या रोजेको काम यसका उदाहरणहरु हुन् ।  जहाँ इच्छा त्यहाँ उपाय हुन्छ । शारीरिक रुपले कमजोर भएर पनि जीवन रोजेकाहरुको सफलता हेरौ न- अमेरिकी बैज्ञानिक स्टेफन हकिङ, अमेरिकी लेखिका हेलेन केलर, नेपाली अब्बल सष्टा झमक घिमिरे, मेक्सिको प्रख्यात कलाकार प्रिद्रा काध्रे, चर्चित बलिउड नृत्यागांना सुधा चन्दन ! यी त प्रतिनिधि उदाहरण मात्र हुन् ।

हरेक मानिसका इच्छा हुन्छन् । रोजाइ हुन्छन् । इच्छा र रोजाइलाई स्वयंले गहिरिएर हेर्ने, शुद्धीकरण गर्ने, मूल्यवान र अर्थपूर्ण बनाउने हो भने शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पूर्ति गर्न लागि पर्छ । कुनै बाध्यताको आभास हुदैन् । त्यो उसको डेस्टिनी बन्छ । चाहना र रोजाईको काममा थकाइ हुन्न । कामैबाट खुशी, आराम र मनोरञ्जन पाउँछ । जब काम पूजा र आराधना बन्छ । त्यही आनन्द पाउँछ । त्यही काम बाध्यतावस गर्नु पर्‍यो भने चैन भाग्छ । जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपूर्ण बनाउने आफ्नै हातमा हुन्छ तर जीवन स्वयं  भने ईश्वरको हातमा हुन्छ जुन भाग्यवस अहिले हामीले पाएका छौं । लाखौं र करोडौं मध्ये एकलाई प्राप्त हुन्छ । जो अहिले हामीलाई सुन्दर अवसर प्राप्त छ ।

भनिन्छ, शरीर बूढो हुँदै जान्छ । मन अझ परिपक्व हुँदै जान्छ । कहिल्यै बूढो हुदै - मन । असीमित शक्ति  मनसँग हुन्छ ।  जति भोग्दै गयो त्यति बुझ्दै गयो, जीवन झन झन अर्थपूर्ण र मूल्यवान हुँदै जान्छ। मर्ने बेलामा त जीवनको मूल्य चुलिएर सगरमाथामा बन्छ । थोरै बाताबरणले र बाँकी सबै मन र मस्तिष्कले जीवनलाई कसरी लिने र चलाउने भन्ने निर्धारण गर्छ । मानिसका आ आफ्ना बुझाइ र भोगाइ हुन्छन् । यस्तो  फरकपन हुनु नै मान्छे हुनु हो । यात्रा आफैं गर्नुपर्छ ।  यात्री त कतिबेला बाटो बन्नुपर्छ । त्यसमा पनि बाटोहरु अलग अलग हुनसक्छन्  तर गन्तव्य एउटै छ । आखिर सबैको जीवनको यात्रा असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलता तर्फ, अंशबाट पूर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । हामीलाई जीवनको बाध्यताले होइन् रोजाइले नै यी प्रक्रियाहरु तर्फ धकेल्छ ।

हामी रोज्छौं एउटा, चाहान्छौं एउटा तर अर्कै पायौं जस्तो लाग्छ । अल्पकालमा यस्तो लागेको भए पनि दीर्घकालनमा त्यो पाएरै छाड्छौं । अन्ततः आकर्षणको नियम लागू भएरै छाड्छ । तर गर्नु पर्ने मूल कुरा हो- नियमपूर्वक अभ्यास, सकारात्मक सोच, पूर्ण विश्वास, मेहनत र संघर्ष ।

खानु पर्छ, यहाँ । पछि खाउँला भनेर अहिले रहरतिर लाग्न सकिन्न । सबै रहर र रोजाइले कहाँ खान दिन्छ र ? भन्नेहरु थुप्रै भेटिन्छन्, यहाँ । रोजाईबाट खान सकिने भए त कुरै सकियो तर धेरैको रोजाइ एकातिर गर्नुपर्ने अर्कै हुन सक्छ । खानाको जोहो गर्दा गर्दै रोजेको गर्न नपाइने हुनसक्छ त्यसैले बेलैमा ध्यान दिनु जरुरी छ ।

वर्तमानमा पल प्रतिपल आफ्नो लागि बाँच्न, डर र तनावबाट मुक्त हुन, मनका कुरा बोल्न, असलमित्र बनाउन र खुशी हुन जीवनका बाध्यताहरुबाट मुक्त हुनै पर्छ । बेलैमा आफ्नो जीवनले रोजेको बाटो हिड्नै पर्छ ।

पेटभरि खान, आङभरी लगाउन र बस्नको लागि छानो, मानिसको जीवनको वास्तविक रोजाइ होइन् । तर यो नहुदा रोजाइ पूरा गर्न सकिदैन् । यी कुराको जोहो गर्न कति समय लाग्छ थाहा छैन् त्यसैमा हराइन्छ कि रोजाइसम्म पुगिन्छ । समयले नै बताउछ तर कोहि महमा डुबेको झिंगो बन्छ्न् डुबी रहन चाहान्छ्न् कोहि केहिबेर रस चुसेर फेरि खोजको उडान भर्न चाहन्छ्न् । आफैमा भर पर्ने कुरा भयो । मानिसले चाह्यो भने सक्छ ।

सिग्मण्ड फ्राइडको कथन अनुसार सबैभन्दा महत्वपूर्ण दुई कुरा- काम र प्रेम  गर्न सिक्ने,  प्रतिष्ठित वैज्ञानिक फ्रान्सिस क्रिकको जस्तै  काम गर्दा–गर्दै मर्न मन हुने,`जे कुरा शुरु हुन्छ, त्यो टुंगिन्छ पनि´ भन्ने बोध हुने हो भने असली जीवन बाँच्न सकिन्छ। । यहाँ काम- सृजनात्मक र प्रेम- समर्पित हुने, र दुख सुख दुबै बितेर जान्छ भने तत्वज्ञानको बोध नहुदा मात्र जीवन बाध्यता बन्ने हो । जीवनको लय र कला छुट्ने हो । खुशी भएर बाँच्नु एउटा कला हो र त्यो धेरै हदसम्म आफ्नो हातमा हुन्छ भन्ने छोपिने हो । अनि धेरै मानिस खुशीको खोजीमा जीवन बिताउँछन्, आँसु हात लाग्ने हो । तर खुशी भनेको त्यसरी टाढा खोज्नुपर्ने कुरा नभएर आफ्नै वरिपरि हुन्छ  र आफ्नो रोजाइको कुरा पनि हो । जब त्यो भेटिन्छ र भित्री आँखा खुल्छ अनि सुख, खुशी र आनन्द स्वयं प्रकट हुन्छ भनेर बोध हुने हो भने जीवन रोजाइ हुन्छ तर दुखको कुरा जीवन बुझ्नेले पनि शायद अन्तिममा मात्र बुझ्दा हुन् । समय सकिएपछि । 

महान ब्यक्तिहरु ओशो,बुद्ध, महावीर, कृष्ण, जीसस, सोक्रेटस, प्लेटो, अरस्तु, नित्से, आइन्स्टाइन, हकिङ, फराडे, डार्विन, फ्रायड्ले बेलैमा बुझेर रोजाईको जीवन बाँचे । समुद्रको गहिराईमा डुबेर मोति ल्याएर सबैलाई बाँडिदिए । परिणाममा हाम्रो जीवन मूल्यवान भयो । यात्रा अमरता तर्फको तय भयो । हाम्रो जीवनको सत्यको, सफलताको, पूर्णताको, उज्यालोको र अमरताको बाटो खुल्यो। अत: बेलैमा ज्ञात होस्- `जीवन बाध्यता हुँदै होइन्, रोजाइ अवश्य हो।´रोज्नुहोस, आनन्दले जीउनुहोस् ।

(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी मोरङका शिक्षक हुन्)
 

सम्बन्धित समाचार