• २०८१ बैशाख १३ बिहीबार

तेस्रो धार एमालेमा फर्कियो : नेपाल-खनाल अलग बाटोमा, गौतम अझै अलमलमा

kharibot

काठमाडौँ । नेकपा एमालेमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल बिना नै एकता भएको छ । यस अघि नेपाल र खनाल पक्षमा लागेका १० स्थायी कमिटीका सदस्यहरु एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएसँगै अब एमालेमा नेपाल र खनाल बिना एकता भएको हो ।

यसअघि माधवकुमार नेपाल पक्षमा रहेका र अहिले तेस्रो धार भनिएका १० स्थायी कमिटी सदस्य पनि सहभागी भएका हुन् ।

लामो समय देखि उनीहरुले अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै एमालेका पछिल्ला बैठकमा सहभागी भएका थिएनन् । उनीहरु ओलीले स्वछ्चारिता गरेको, दुइ दुइ पटक संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै नेता नेपालको नेतृत्वमा विपक्षी गठबन्धनसँग मिलेर लगातार ओलीविरुद्ध रहेका छन् । 

मंगलबारको स्थायी कमिटी बैठकमा सहभागी हुनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका हुन् ।

उनीहरुले सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गरेर सहमति गरेका थिए । 

आजको बैठकमा उनीहरुले यस अघि अस्वीकार गरेको पुर्व माओवादीबाट आएका नेताहरु पनि सहभागी भएका थिए । 

१० भाई फर्केपछि एमालेले के के निर्णय गर्यो ? 

मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरेको हो ।

त्यस्तै एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ । 

यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहेका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ । एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन पनि आग्रह गरेको छ ।

आग्रहमा भनिएको छ- 'एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस् । तपाईंहरुलाई पार्टीमा हार्दिक स्वागत गरिनेछ । कारबाही नहुने जानकारी गराउन चाहन्छौँ ।'

बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ ।

नेपाल र खनाल अलग बाटोमा

हाल चन्द्रागिरीमा प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरुसँग बैठक गरिरहेका नेपालले अब आफुहरु ओलीको नेतृत्वमा नफर्किने स्पष्ट गरेका छन् । नेता नेपालले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आफुहरुलाई एमालेमा बाटो छेकिएकोले नयाँ पार्टी बनाउन बाध्य भएको बताए । उनले ओलीले पटक पटक धोका दिएको भन्दै आफु पक्षबाट गएका नेताहरु पनि धेरै समय टिक्न नसक्ने बताए । 

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले चन्द्रागिरीमा जारी बैठकलाई दिल्लीबाट टेलिफोनमा सम्बोधन गर्दै मध्यपन्थका नेताहरु अवसरवादी निस्किएको टिप्पणी गरेका छन् । उनले नयाँ पार्टीलाई क्रान्तिकारीहरुको केन्द्र बनाउनुपर्ने बताउदै ओलीको भण्डाफोर गर्ने बताएका छन् । 

एकीकृत समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ । उनीहरु चन्द्रागिरीबाट सिधै आयोग पुगेर सनाखत गर्ने तयारीमा रहेका छन् ।

वामदेव गौतम अझै अलमलमा 

तेस्रो धारका नेताहरु एमालेमा फर्किए पछि अब उपाध्यक्ष वामदेव गौतमको अवस्था अझै अस्पष्ट नै रहेको छ । केहि दिन अघि सचिवालयमार्फत आफु एमालेमै रहेको बताए पनि उनी आजको स्थायी कमिटी बैठकमा अनुपस्थित नै रहेका छन् । पछिल्ला दिनमा पार्टी एकताको अभियान चलाएका नेता गौतमले यस अघि आफु पक्षका नेताहरुको बैठकमा नेपाल नेतृत्वको पार्टीमा जाने बताए पनि पछि फेरी एमालेमै रहेको बताएका थिए ।

तर उनले नेपाल नेतृत्वको नयाँ पार्टी गठन भएपछि एमालेबाट राजीनामा दिएर सोहि पार्टीमा जाने बताएका छन् । पछिल्लो एक अन्तर्वार्तामा नेता गौतमले आफु ओलीसँग नबस्ने बताएका छन् । तर उनले आफ्नो अवस्था अझै स्पष्ट गर्न नसकेको देखिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै