• २०८१ बैशाख ४ मंगलबार

म्यान्मारका २३ सय बन्दी रिहा

kharibot

म्यानमार । म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई रिहा गरिएको छ ।  सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । 

पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ । 

राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरीबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो ।  

म्यानमारमा गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गरेपछि सेनाको कदमका विरुद्धमा आन्दोलन भइरहेको छ । 

आन्दोलनका क्रममा सयौँको मृत्यु भएको छ भने अरु हजारौ घाइते र बन्दी भएका छन् । आन्दोलन अहिले पनि जारी रहेको छ । 

सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलगायत केही शीर्षस्थ नेताहरूलाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो । सेनाले नियन्त्रणमा लिएका नेताहरूलाई भ्रष्टाचारलगायतका विभिन्न मुद्धा लगाएको छ ।

उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न माग पनि आन्दोलनकारीहरूले गरेका छन् । 

सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्टिय निकायहरुले म्यानमारसँगको सहकार्य र सहयोग पनि बन्द गरेका छन् । 

गत बर्ष भएको निर्वाचनमा सूचीको पार्टीले धेरै ठाँउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्र रूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाको माग थियो । 

सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोगसमेतले अस्वीकार गरेपछि नव गठित संसदको पहिलो बैठक तोकिएकै दिन सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै